जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भाइ–बहिनीहरू,
भावनाले काम गर्नु र पैसाको निम्ति काम गर्नुमा धेरै फरक छ । त्यसो त नाफाकै निम्ति सरकार र कम्पनीहरूको सहयोग पाएर कतिपय युरोपेली जहाजीहरू एसिया, अफ्रिका, ल्याटिन अमेरिका र अस्ट्रेलियाका कुनाकाप्चासम्म पुगे । तिनीहरू उपनिवेशवादीहरू थिए । युरोपेली उपनिवेशवादीहरूले नै आजको अमेरिकाका आदिवासीहरूलाई लखेटेर दुर्गम ठाउँमा पठाए, आदिवासीहरूको हत्या गरे र भूमि कब्जा गरे । यसरी आदिवासीहरूमाथि युरोपेलीहरूले शासन गरे ।
त्यस्तै, युरोपेलीहरूले संसारको सबैभन्दा विशाल मरुभूमि पार गरे, अफ्रिकाका घना जङ्गल, पहाड–पर्वत र ठूल्ठूला डरलाग्दा नदीहरू पार गरे – त्यो पनि पैसा, पद र नाफाकै निम्ति थियो । भनिन्छ – पुँजीवादी व्यवस्थामा १० गुनादेखि सयगुना नाफा देखेपछि लोभी र लालचीहरू फाँसीमा झुन्डिन पनि तयार हुन्छन् ।
तर, दास र सामन्ती युगमा भोक–प्यास नभनी धर्मभिरुहरू स्वर्गमा जान सकिने कुराको प्रचारमा लाग्थे । राजा–महाराजाहरू धर्म प्रचारको नाममा आ–आफ्नो साम्राज्य फैलाउने काम गर्थे । आजपनि कतिपय क्रिश्चियन धार्मिक संस्थाहरू गुप्त र खुलारूपले संसारभरि नै धर्म प्रचार गर्दै छन्– त्यो पनि आ–आफ्ना युरोपेली पुँजीवादी र अमेरिकी सरकारको निम्ति ¤ सन् २०१९ मा जर्ज फ्लोयडको हत्या काण्डपछि अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति भवनको एक कुनामा उभिई दुवै हातले क्राइश्चेली धर्मग्रन्थ बाइबललाई अङ्गालेर तस्बिर खिचाउँदै धार्मिक भावना भएका जनतालाई शान्त पार्न खोजेका थिए ।
कम्बोडिया कब्जा गर्दा फ्रान्सेली उपनिवेशवादी सरकारले फ्रान्सेली चर्चकै गुरु पुरोहित र धर्मलाई प्रयोग गरेको थियो । दक्षिण कोरिया, जापान, हङकङ, फिलिपाइन्स, सिङ्गापुर, थाइवान आदि देशमा पनि चर्च र पादरीहरूले भित्रभित्र साम्राज्यवादी र उपनिवेशवादीहरूलाई सहयोग गर्न जनतालाई भाँड्ने गर्थे ।
तिनीहरूले साधारण र अन्ध–विश्वासी जनतालाई चर्च र क्रिश्चियन धर्मलाई विश्वास गरेमा पछि ईश्वरले स्वर्गमा लैजाने झूटा आश्वासन दिने गर्थे ।
देश र समाजमा परिवर्तन चाहने, वैज्ञानिक र राजनीतिबाट प्रभावित युवा र नेताहरू व्यक्तिगत लाभ–हानीको विचार नगरी, भावना र विषयवस्तुमाथि प्रतिबद्ध भएर आफ्नो बलिदान गर्थे । पुरुषमात्रै होइनन् बरु महिला पनि आफ्ना पति तथा प्रेमीहरूसँगै ठूल्ठूला कष्ट सहेर सयौँ माइल पैदल हिँड्थे, निर्वासन र जेलमा भेटघाट गर्न जान्थे र आफूले सकेको योगदान पु¥याउँथे ।
यस प्रकारका महिला र प्रेमिकाहरूको समर्पण, त्याग र बलिदानको उदाहरण बनेका थिए – रुसको राजा–जारहरूको निरङ्कुशतन्त्रको विरोध र संवैधानिक राजतन्त्र एवम् गणतन्त्रको निम्ति सङ्घर्ष गर्नेहरू । रुसी सरकारका माथिल्ला जर्नेल, कर्नेल, दरबारकै विश्वासपात्र, अङ्गरक्षक दलका सदस्यहरू समेत जार (राजा) र राजतन्त्रविरुद्ध षड्यन्त्रमा लागेका थिए । पक्राउ परेकाहरू मध्ये केहीलाई ज्यान सजाय दिइयो, केहीलाई अत्यन्त जाडो हुने पूर्वी साइबेरियामा निर्वासन (निष्कासन) गरियो, एक गाउँ वा क्षेत्रमा बस्न बाध्य पारियो ।
सजाय पाएका आफ्ना पति तथा प्रेमिकाहरू बसेका ती कष्टकर ठाउँमा गएर राजनैतिक बन्दीहरूको सेवामा समर्पित भएर लागे । त्यहाँ विचार र भावनाले काम गरेको थियो– पैसा, पद र नाफाले होइन । पुँजीवादी व्यवस्थामा अहिले कोरोनाकै ‘माहामारीमै कालोबजारी’, ‘मूल्य चढ्यो आकाश र निचोरिँदै जनता’, शीर्षक समाचारले पुँजीपति वर्ग र सरकारलाई उदाङ्गो पारेका छन् । (अन्नपूर्ण पोष्ट, ९ जेठ २०७८)
त्यसरी नै फ्रान्सेली गणतन्त्रवादीहरूले पनि विचारकै आधारमा नयाँ समाजको निम्ति आफूलाई समर्पित गरे ।
ग्रिसेली दार्शनिक सोक्रेटिस, पोलायन्डका कपर्निकस, इटालीका जिओडार्ने ब्रुनो र ग्यालिलियोले अन्धविश्वासको विरोध गरे । कपर्निकस र ग्यालिलियोले पृथ्वी गोल छ, त्यो आफै घुम्दै छ र पृथ्वीले सूर्यलाई पनि घुम्छ भन्ने सच्चाइको प्रचारमा आफूलाई समर्पित गरे । यी सबैको निम्ति ती दार्शनिक र वैज्ञानिकहरूले पैसा, नाफा र पद खोजेका थिएनन्, बरु सत्यबारे सबैलाई बताउन खोजेका थिए ।
त्यस्तै, माक्र्स र एँगेल्सले संसारका मजदुर वर्गले सचेत र सङ्गठित भएर अगाडि बढेमा मजदुर वर्गकै शासनसत्ता स्थापना हुन्छ भन्ने यथार्थ बताउन आफूलाई समर्पित गर्नुभयो र उहाँहरूका जहानहरूले पनि आ–आफ्ना श्रीमान्हरूको उद्देश्य पूरा गर्नको निम्ति आफूहरूलाई समर्पित गर्नुभयो । लेनिनका प्रेमिका क्रुप्स्कायाले पनि लेनिनको सुख–दुःखमा साथ दिनुभयो र रुसको समाजवादको स्थापनामा योगदान दिनुभयो । त्यस्तै, चिनियाँ जनताका क्रान्तिकारी नेता र प्रथम राष्ट्रपति सनयात सेनलाई सहयोग गर्न उहाँकी पत्नी सुङ चिङ लिङले श्रीमान्को मृत्युपछि पनि वामपन्थी राष्ट्रवादी पार्टीको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त मोर्चाको नेतृत्व गर्नुभयो । सुङ चिङ लिङको परिवार चीनको एक अति धनाढ्य थियो । तर, चीन र चिनियाँ जनताको बृहत्तर हितको निम्ति उहाँले अन्तिम दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीलाई सहयोग गर्नुभयो । सहयोद्धा लिङको निधनपछि चिनियाँ कम्युनिस्ट पार्टीले उहाँकै इच्छाअनुसार पार्टीको सदस्यता प्रदान गरी सम्मान ग¥यो । कोरियाली मजदुर पार्टीका किम इल सङ र किम जोङ सुकको प्रेम र समर्पणलाई कोरियाली जनताले सा¥है स्मरणीय र उदाहरणीय मान्छन् ।
पोलायन्डमा जन्मनुभएकी क्रान्तिको निम्ति सङ्घर्ष गर्ने रोजा लुक्जम्वर्गले जर्मनीको मजदुर आन्दोलनको नेतृत्व गर्दै समाजवाद स्थापनाको निम्ति सहिद हुनुभयो । रोजाको सङ्घर्षको अन्तिम अवस्थासम्म प्रेमी लियो जोगिचेस साथै हुनुहुन्थ्यो ।
विभिन्न देशका स्वतन्त्रता आन्दोलन र क्रान्तिकारी सङ्घर्षहरूमा प्रेमी र प्रेमिकाहरूबारे बढी प्रचार नगरिएको प्रस्ट देखिन्छ । रुसी क्रान्ति र चिनियाँ क्रान्तिको सिलसिलामा जारशाहीको यातनागृह एवम् चिनियाँ प्रतिक्रियावादी सेनाको घेरामा पर्दा पनि आत्म–समर्पण गर्नुभन्दा केटा र केटीले आपसमा समर्पणको भावना देखाएका वर्णनहरू पाइन्छन् ।
माक्र्सका कतिपय रचना साफी गर्दागर्दै जेनी माक्र्सको हात गलेको हुन्थ्यो, माक्र्सका पहिलो पाठक जेनी नै हुनुहुन्थ्यो, बैठक तथा घेटघाटमा भेट्न आउने साथीहरूको सत्कार आदि सबै काम जेनीले नै गर्नुहुन्थ्यो । जेनी कार्ल माक्र्सको सहयोद्धा, सहयोगी, घरको बन्दोवस्त गर्ने र केटाकेटीको स्याहार गर्ने सबै हुनुहुन्थ्यो, माक्र्स बिरामी हुनुहुँदा जेनी आफैले नर्सको काम गर्नुहुन्थ्यो । यसरी राजनैतिक कार्यकर्ताको परिवार, पे्रमी र प्रेमिका एक सिक्काका दुई पाटा हुन् । आपसी सहयोग र बलिदानविना राजनैतिक सफलता गा¥हो हुन्छ । अस्तु !
तिमीहरूलाई माया गर्ने दाजु
Leave a Reply