भर्खरै :

नेपालका शासक दल किन यस्ता ?

विशेषतः नेकपा (एमाले) र जनता समाजवादी दलभित्रको आन्तरिक द्वन्द्वको कारण आज देश राजनीतिक अनिश्चयको दलदलमा फस्दै गरेको सर्वत्र अनुभव गरिँदै छ । अङ्कगणितीय बहुमतको लागि एमाले र माओवादी केन्द्रबीच ‘एकता’ पछि बनेको नेकपा पुरानै एमाले र माओवादी केन्द्रमा विभाजित भयो । ‘सिद्धान्तमा आधारित नभएको एकताको आयु लामो नहुने’ विश्लेषण पुष्टि भयो । आज एमाले र माओवादी केन्द्रबीच पानी बाराबार र हिलो छ्यापाछ्यापको तिक्त सम्बन्ध छ । एमालेभित्र पनि नेताहरूबीचको तिक्तता लाजमर्दो बन्दै गएको छ । एमाले प्रस्टतः ओली र माधव–झलनाथ खेमामा विभाजित बनेको छ । उनीहरूबीच आपसमा निषेधको सम्बन्ध चुलिँदै गएको छ ।
राजपा र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक द्वन्द्व पनि उत्कर्षमा पुगेको छ । ओली सरकारसँग सहकार्यको विषयमा दुई खेमामा विभाजित बन्न पुगेको जसपाको एउटा खेमाले ओली सरकारलाई समर्थन गरेको छ भने अर्को विरोधी मोर्चामा सामेल छ । एउटा खेमाले अर्को खेमालाई निष्काशन गर्ने क्रम चालु छ ।
राजनीतिक पार्टीभित्र वैचारिक सङ्घर्ष र मतान्तरलाई अस्वाभाविक मानिँदैन । वैचारिक सङ्घर्षले राजनीतिक दललाई जीवन्त बनाउँछ । समाजमा रहेका हरेक थरी प्रवृत्ति कुनै पनि राजनीतिक दलभित्र प्रत्यक्ष वा परोक्षरूपमा प्रतिबिम्बित हुनु अस्वाभाविक होइन । आखिरमा राजनीतिक दल पनि समाजकै उत्पादन हो । तर, राजनीतिक दलभित्रको वैचारिक सङ्घर्षलाई अशोभनीय ढङ्गले छताछुल्ल पोख्दै हिँड्नु सांस्कृतिक समस्या पनि हो । त्योभन्दा पनि महत्वपूर्ण कुरा सैद्धान्तिक र वैचारिक बहस र मतभेदभन्दा आपसी स्वार्थ र व्यक्तिगत रिसइवीको कारण नेपालका शासक दलहरूबीचको द्वन्द्व तल्लो स्तरमा गिर्ने गरेको देखिन्छ । वर्गीय आधार, राजनीतिक सिद्धान्त, विचारधारामा कुनै अन्तर नभए पनि नेताहरूको जुङ्गाको लडाइँले पार्टीभित्र द्वन्द्वको रूप लिइरहेको देखिन्छ । मन्त्री बन्न पाउने भए ठीक, नभए बेठीक, आफूलाई फाइदा हुने भए ठीक, नभए बेठीकको खोटो चिन्तनको कारण राजनीतिक दलभित्र लाजमर्दो झगडा भइरहेको देखिन्छ ।
साना र निजी स्वार्थमा अल्झिएका नेताहरूलाई विदेशी शक्तिले पनि सजिलै उपयोग गर्नसक्छन् । तिनै नेताहरूको बुईँ चढेर हस्तक्षेपकारी शक्तिहरूले देशको आन्तरिक मामिलामा ठाडै हस्तक्षेप गर्ने बाटो खनेका हुन्छन् । कुनै वैचारिक जग र आधार नभएका नेताहरू त्यस्ता विदेशी शक्ति केन्द्रको आशीर्वाद पाउन लालायित पनि हुन्छन् ।
एमाले र जसपाभित्रको अहिलेको द्वन्द्व यस्तै प्रकृतिको द्वन्द्व हो । उनीहरूका बैठकमा कहिल्यै पनि जनताले सामना गरिरहेका समस्याको समाधानको निम्ति कसरी काम गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको, विज्ञहरू बोलाएर परामर्श गरेको अथवा आपसमा गाँठो परेका सैद्धान्तिक विषयमा मन्थन भएको सुनिएन । सत्तासुखकै वरपर बरोबर बैठक हुन्छन् । सत्ताको कुरा मिलेसम्म एकता नभए विभाजनको सिलसिलाले नेपाली जनता शासक दलप्रति घृणा गर्ने अवस्थामा पुगेका छन् ।
नेपालका शासक दलहरू किन यस्ता भए ? नेपालको सामाजिक–आर्थिक र राजनीतिक इतिहासको कुन चरित्रको कारण यो समस्या भोग्न नेपाली जनता बाध्य छन् । नेपाली समाजको सांस्कृतिक स्तरको कमजोर अवस्था नै के यसको मूल कारण हो ? अथवा संसारका सबै पुँजीवादी राजनीतिक दलको नियति यस्तै हो ? छलफलको विषय हुन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *