भर्खरै :

मार्ग निर्देशनबारे भाइ–बहिनीलाई चिठी’ फेरि अध्ययन गर्दा

अग्रजहरू वा पुराना पुस्ता आफ्नो अनुभव, विचार, सिकाइ, संस्कार, ज्ञान आदि नयाँ पुस्तालाई हस्तान्तरण गर्छन्, कसैले मौखिक त कसैले लिखितरूपमा । कसैले पुस्तक नै हस्तान्तरण गर्छन् नयाँ पुस्तालाई । यसरी नयाँ पुस्ताले हरपल विभिन्न विषयमा मार्गदर्शन पाइरहेका हुन्छन् । यस्तो मार्गदर्शन पाएपछि नयाँ पुस्तामा कम गल्ति हुन्छ र उनीहरू आफ्नो काम पूरा गर्न सफल हुन्छन् ।
नयाँ पुस्तालाई मार्गदर्शन गर्न सिपालु मजदुर–किसानका प्रिय साहित्यकार हरिबहादुर श्रेष्ठले ‘मार्ग निर्देशनबारे भाइ–बहिनीलाई चिठी’ नामक पत्र साहित्य पस्केर मार्ग निर्देशन दिने प्रयास गर्नुभएको छ । उक्त पत्र साहित्य जनप्रकाशन गृह, भक्तपुरले पहिलो संस्करणको रूपमा २०६३ असारमा प्रकाशित गरेको थियो । २०७३ वैशाखमा प्रकाशित तेस्रो संस्करण फेरि अध्ययन गर्ने मौका पाएको छु ।
पत्र साहित्य पल्टाउँदै जाँदा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने ‘मार्ग निर्देशन कार्यक्रम’ मा सहभागी भएका तस्बिरहरू मानसपटलमा फेरि ताजा भए । २०५५ र २०५६ सालतिर सम्पन्न त्यस्ता कार्यक्रमहरूमा सहभागी भएर सिक्ने–बुझ्ने राम्रो अवसर पाएको थिएँ । जतिबेला म ९÷१० कक्षाको विद्यार्थी थिएँ । त्यस्ता मार्गनिर्देशन कार्यक्रमबाट विज्ञान, वाणिज्य, मानविकी, शिक्षा आदि सङ्कायको विषयमा प्रशिक्षित हुने अवसर मिलेको थियो । सोही कार्यक्रमको प्रभावले प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि घरपरिवारले ‘विज्ञान सङ्कायमा उच्च शिक्षा हासिल गर’ भने पनि आफूले शिक्षा सङ्कायमा पाइला टेकेँ । तर, शिक्षक भएर सेवा गर्ने उद्देश्य भने सपनामा मात्र सीमित रह्योे !
आफ्नो अनुभव र विचार समेटेर आत्मीय शैलीमा लेखिएका साहित्यकार श्रेष्ठको चिठी रचनाले एकातिर नयाँ पुस्तालाई दायित्वबोध गराएको छ भने अर्कोतिर नेपाली साहित्यमा निकै कम सङ्ख्यामा रहेको पत्र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको प्रकाशकीयमा विशेष चर्चा गरिएको छ । साहित्यकार श्रेष्ठले विशेष गरी प्रवेशिका परीक्षा दिएर कुन विषय लिएर उच्च शिक्षा हासिल गर्ने भनी अन्योल र अलमलमा बसेका विद्यार्थीलाई लक्षित गरी विभिन्न विषयमा परिचयसहित यो चिठी लेख्नुभएको कुरा पनि प्रकाशकीयमा उल्लेख गरिएको छ ।
प्रथम संस्करणको भूमिकामा मननयोग्य विचार प्रस्तुत गरिएको छ– “विज्ञान र प्रविधिको क्षेत्रमा होस् या मानविकी, सबै क्षेत्रमा विशिष्ट र पहिलो श्रेणीका विद्यार्थी हुन आवश्यक छ । राम्रा विद्यार्थी भन्नुको अर्थ प्रतिभाशाली क्षमता भएका हुन् । प्रतिभामा परिश्रम, निरन्तरता र इच्छाको पनि ठूलो भूमिका हुन्छ ।”
साहित्यकार श्रेष्ठले ‘मार्ग निर्देशनबारे भाइ–बहिनीलाई चिठी’ मा दाइ श्याम नेपालीमार्फत भाइ राजु र बहिनी दीपाको नाममा चिठी लेख्नुभएको छ । साहित्यमा दुवै जना प्रवेशिका परीक्षा पहिलो श्रेणीमा राम्रो अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थी हुन् ।
महत्वपूर्ण जनशक्ति वा देशलाई अति खाँचो भएका विषय अध्ययन गरी देश र जनताको सेवा गर्ने विचार गर्नु अति उत्तम हुने धारणा दाइ श्याम नेपालीमार्फत व्यक्त गरिएको छ ।
अहिले देशले सिद्धान्तनिष्ठ, नैतिकवान्, इमानदार, देशभक्त, कर्मठ, बुद्धिमान नेता खोजिरहेको अवस्था छ । त्यसैले साहित्यकार श्रेष्ठ आफ्नो विचार यसरी व्यक्त गर्नुहुन्छ, “विज्ञान र प्रविधि क्षेत्रमा मात्रै प्रगति भएर हुन्न । ती उपलब्धिलाई जोगाउने र त्यसलाई अगाडि बढाउने राम्रो राजनैतिक नेतृत्व, समाज वैज्ञानिक, अर्थशास्त्रीहरूको आवश्यकता छ ।”
साहित्यकार श्रेष्ठले मानविकी सङ्कायअन्तर्गत पर्ने राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, पत्रकारिता, कानुन आदि विषयमा महत्वपूर्ण जानकारी दिनुभएको छ ।
राजनीतिशास्त्र
पुस्तकमा समाजमा राजनैतिक दर्शन र आदर्श राज्य व्यवस्थाको बारेमा व्यापक जनतालाई शिक्षित पार्न सकिएको भए नागरिक र मतदाताहरू पैसा र पदको लोभमा बाटो बिराउने थिएनन् भन्ने तितो सत्य व्यक्त गरिएको छ ।
चिनियाँ नेता माओले भन्नुभएको छ– “बुद्धिजीवीहरू मूर्ख हुन्छन् ।” यस विषयमा एउटा चिठीमा स्पष्ट पार्न खोजिएको छ, “एमए र पीएचडी होल्डर बुद्धिजीवीहरू व्यापार र उद्योगले भन्दा राजनीतिमा लागेर छिट्टै धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले राजनीतिमा लागेका छन् । त्यस्तै, देशी र विदेशी गैरसरकारी संस्थाहरूमार्फत साम्राज्यवादी देशहरू बन्दुक र डलरले हस्तक्षेप गर्नुभन्दा पहिले यहाँका सबै स्थिति र तथ्याङ्क थाहा पाउने गर्छन् र बुद्धिजीवीहरूलाई किन्ने गर्छन् । तिनीहरू नै पछि विदेशी एकाधिकार पुँजीका दलाल हुन्छन् । शासक दलहरू एमाले, नेका, माओवादी, मधेसवादी आदि पार्टीहरूले देशी र विदेशी गैरसरकारी संस्थाहरूको प्रभावमा परेर जिल्ला – जिल्लामा गतिविधिहरू गरेबाट तिनीहरू मन्दविष भएको, ललीपपमा फसेको स्पष्ट हुन्छ ।”
चिठीमा कलेजमा राजनीतिशास्त्र विषय पढ्ने विद्यार्थी कम हुँदै गएकोले विशेष जोड दिँदै भनिएको छ, “सबै नीतिहरूको राजा भनेको राजनीति हो । त्यसैले देशलाई उँभो लगाउन एउटा राम्रो दिशानिर्देश गर्नसक्ने राजनैतिक, दार्शनिक वा चिन्तक नेता, लेखक र कार्यकर्ताहरूको खाँचो छ । यसको लागि राजनीतिशास्त्रका धेरै ज्ञाता र विद्वानहरू आवश्यक छ ।”
अर्थशास्त्र
महान् नेता तथा अर्थशास्त्री कार्ल माक्र्सले भन्नुभएको छ, “समाजमा हरेक कुरा आर्थिक स्थितिले निर्धारण गर्छ ।” कुनै देश सामाजिक, राजनैतिक र आर्थिकरूपमा अगाडि छ वा पछाडि, अगाडि बढ्छ वा पछाडि पर्छ भन्ने विषय पनि त्यस देशको अर्थतन्त्र तथा अर्थनीतिले निर्धारित गर्ने कुरा चिठीमा स्पष्ट र सरल भाषामा बुझाउन खोजिएको छ ।
चिठीमा उदाहरणको रूपमा प्रजग कोरिया र क्युवाको तस्बिर देखाइएको छ, “प्रजग कोरिया र क्युवाजस्ता क्षेत्रफल र जनसङ्ख्याको हिसाबले नेपाल जस्तै वा नेपालभन्दा साना देशले संरा अमेरिकाको ४०–५० वर्षसम्मको आर्थिक नाकाबन्दी, आक्रमण तथा अन्तरध्वंसको सामना गर्दै आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्दै छन् । ती समाजवादी देशहरू अरू देशको भिक्षा र दानमा होइन, आफ्नै मिहिनेत र खुट्टामा उभिएका छन् । देशको हरेक क्षेत्रको प्रगति र विकास त्यस देशको जनमुखी आर्थिक नीति र समाजवादी अर्थनीतिको परिणाम हो । त्यस्तै, त्यहाँ विदेशी पुँजी र ‘डलर साम्राज्य’ लाई हरियो खेतमा साँढेलाई जस्तो छाडा छोडिएको छैन ।”
माक्र्सवादी आर्थिक सिद्धान्त अध्ययन गरेर मात्र समाजवादी अर्थतन्त्र र समाजवादी अर्थनीतिबारे जानकारी लिन सकिन्छ तथा पुँजीवादी आर्थिक सिद्धान्तको ज्ञानविना समाजवादी आर्थिक सिद्धान्त बुझ्न नसकिने भएकोले हाम्रा क्याम्पसहरूमा पढाइने पुँजीवादी अर्थशास्त्रको गम्भीर भएर अध्ययन गर्न आवश्यक भएको चिठीमा जोड दिइएको छ ।
इतिहास
“इतिहास मानव जातिको अनुभवको सूची, ज्ञान र सार हो । त्यसले आज बाटो देखाउँछ र भोलिको निम्ति बाटो तयार गर्न सहयोग पु¥याउँछ । हिजोको अनुभवअनुसार मानिसहरू आज काम गर्छन् र आजको स्थिति हेरेर भोलिको अनुमान गर्छन् ।” – चिठीमा इतिहासको परिभाषा सरल शब्दमा दिइएको छ ।
दासमोचन गर्ने वीर योद्धाहरू, देशको स्वतन्त्रता र मुक्तिको लागि लड्ने नेताहरू, प्रजातन्त्र र समाजवादको निम्ति आफूलाई समर्पण गर्ने अथक अग्रदूत र सेनानीहरू सदा आ–आफ्ना देश र विदेशका सचेत जनताको मनमस्तिष्कमा जीवित रहने पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकमा अहिलेको नेपाललाई विभिन्न विकसित देशहरूको कालखण्डसँग यसरी तुलना गरिएको छ, “बेलायतको ४०० वर्ष, संरा अमेरिकाको २५० वर्ष, फ्रान्सको २०० वर्ष र जर्मनीको १५० वर्ष पहिलेको स्थितिसँग नेपाललाई दाँज्न मिल्छ । त्यस्तै रूसको १०० वर्ष र चीनको ९० वर्ष पहिलेको स्थितिसँग देशलाई तुलना गर्नु आवश्यक छ ।”
इतिहासका केही पात्रहरू सिकन्दर, चङ्गेज खाँ, नेपोलियन, विस्मार्क, हिटलर र मुसोलिनी आदिको अस्थायी विजय र पतनबारे बुझाउन चिठीमा यसरी स्पष्ट पारिएको छ, “विकास, समय तथा इतिहासको धारको विरोधमा हिँड्ने जस्तोसुकै महान् भनिएका व्यक्ति केही समय सफल देखिए तापनि अन्ततः ती व्यक्ति र तिनीहरूका उपलब्धिहरू माटोमा मिल्दै जान्छन् भने विकासको नियमसम्मत चिन्तन वा उपलब्धिहरू मात्रै पछिसम्म रहिरहने गर्छ ।”
“सत्तामा बस्ने र बसिसकेका व्यक्तिहरूले इतिहासबाट सिक्न चाहेनन् । त्यस्तै इतिहासका ज्ञाता र इतिहासका प्राध्यापकहरूले समेत मूकदर्शक भएर आ–आफूले दिनसक्ने योगदान दिन कन्जुस्याइँ गरिरहे । इतिहासका प्राध्यापकहरू बोल्नुपर्ने समयमा नबोल्नु, सत्यको पक्ष नलिनु र असत्यको विरोध नगर्नु हो ।” शासक दलहरू एमाले, नेका, माओवादी, राप्रपा, मधेसवादी दलहरूले इतिहासबाट सिक्न नचाहेको र गल्ति दोहो¥याइरहेको तथा इतिहासका प्राध्यापक र ज्ञाताहरूले तिनीहरूलाई मार्गदर्शन नगरेको प्रति साहित्यकार श्रेष्ठले चिठीमार्फत गुनासो व्यक्त गर्नुभएको छ ।
भूगोल
नेपाल सरकारले देशमा सन्तुलित विकास गर्न नचाहेको वा कसैले त्यसमा अवरोध गरेको वा काम नै गर्न नजानेको थाहा भएन तर देशको दुर्गम क्षेत्र र त्यहाँका जनता अझै पछाडि पर्नु र गरिब हुनुको कारण देशको सन्तुलित विकास नहुनु मुख्य रहेको विज्ञहरू बताउँछन् ।
जिल्लाहरूको हावापानी, माटोको गुण, चट्टान र जनसङ्ख्याको स्थिति तथा स्वभाव, बाटा–घाटा, उब्जनी, प्राकृतिक स्रोत र सोअनुसारको विकास निर्माणमा प्राथमिकता केलाइदिने व्यक्तिहरू नै भूगोलविद् वा भूगोलवेत्ताहरू भएको कुरा चिठीमा उल्लेख गरिएको छ । त्यस्ता भूगोलविद्हरू नेपालमा सा¥है कम मात्रै छन् ।
एउटा देशमाथि अर्को देशले आक्रमण गर्दा वा त्यसविरुद्ध रक्षा गर्दा पनि भूगोलका ज्ञाताहरूको ठूलो भूमिका रहने कुरा चिठीमा स्पष्ट पारिएको छ । उदाहरणको रूपमा चिनियाँ जनताका महान् नेता माओ र अन्य चिनियाँ नेताहरूको भूगोलको ज्ञान र रणकौशलको कारण कैयौँ देशका साम्राज्यवादी हमलाहरू असफल भएका थिए । त्यस्तै, सन् १९५४ मा भियतनाममा फ्रान्सेली आक्रमणकारीहरू ‘डियन वियन फू’ भन्ने ठाउँमा पराजित भए ।
नेपालको पूर्व, पश्चिम र दक्षिणको सीमा भारतसँग जोडिएको छ भने उत्तरमा चीनसँग । पुस्तकमा साहित्यकार श्रेष्ठ नेपाल–भारत सीमा विवाद र भारतीय थिचोमिचोबारे यसरी विस्तार गर्नुहुन्छ, “भारतसँग नेपालको सीमा विवाद छ । हाम्रा कति सर्भेसम्बन्धी कर्मचारीहरू भारतबाटै तालिम प्राप्त छन् र तिनीहरू भारतीय दृष्टिकोणबाट समेत प्रभावित छन् । यसकारण, नेपाल–भारत सिमानाको ६०–७० ठाउँमा भारतबाट थिचोमिचो भएको छ । मन्त्रालयका सचिव र विभागीय प्रमुखस्तरका निर्देशकहरू समेत भारतको प्रभावमा छन् ।”
पत्रकारिता
हामीले दैनिक, साप्ताहिक, मासिक, वार्षिक आदि पत्रपत्रिकाहरू प्रकाशित भइरहेको देखेका छौँ । प्रायः पत्रपत्रिकाहरू रक्सी, चुरोट, बियर आदिको विज्ञापनले भरिएको पाउँछौँ भने कुनैमा त्यस्ता विज्ञापन नै हुँदैन । पत्रिकाहरू पनि कुनै विचार प्रचार गर्न त कुनै पैसा कमाउन प्रकाशित भएका देखिन्छन् । पुस्तकमा पत्रकारिताबारे गहकिलो विचार यसरी प्रस्तुत गरिएको छ, “पत्रकारिता पनि आस्था र व्यावसायिक गरी दुई भागमा विभाजित छन् । ‘आस्था’ वा ‘मिसन पत्रकारिता’ एउटा निश्चित वैचारिक उद्देश्य लिएर अगाडि बढेको हुन्छ भने ‘व्यावसायिक पत्रकारिता’ मा रोजगारी, उद्योग, व्यापार वा नाफाको निम्ति पुँजी लगानी गरिएको हुन्छ । ‘आस्थाको पत्रकारिता’ ले कुनै एउटा राजनैतिक दर्शनको आधारमा एक आदर्श समाज निर्माण गर्न समर्पित गर्छ भने ‘व्यावसायिक पत्रकारिता’ ले साहु–महाजन, उद्योगपति वा व्यापारीहरूसँग पैसा वा विज्ञापन लिएर आफ्नो नाफालाई प्राथमिकता दिएको हुन्छ ।”
माक्र्स र एँगेल्सले जर्मनी क्रान्तिको बेला ‘राइन समाचार’ (राइन जाइटुङ्ग) पत्रिका प्रकाशित गर्नुभएको, लेनिनले रूसमा फिलिङ्गो (इस्क्रा) पत्रिका प्रकाशित गर्नुभएको र स्तालिन र माओले पनि समाचारपत्रदेखि पार्टी मुखपत्रसम्मको प्रकाशनमा काम गर्नुभएको जानकारी मिल्दा पाठक उत्साहित हुनु स्वाभाविक नै हो ।
त्यस्तै, अमेरिकी पत्रकारहरू जोन रिड, विलियम राइस, एड्गर स्नो र अन्ना लाउस स्ट्रङ्गले विदेशी भूमिमा गएर मजदुर र किसानको पक्षमा सशक्त कलम चलाएको कारण उहाँहरूलाई संसारका जनताले सधैँ सम्झिरहेको कुरा पनि पुस्तकमा विस्तारमा उल्लेख गरिएको छ ।
वर्षौँसम्मको महाविद्यालय र विश्वविद्यालयको अध्ययनमा नसमेटिएका अनेक विषयहरूमा समेत एक जना पत्रकारको एउटा रिपोर्ट वा एउटा पुस्तिकाले ठूलो जानकारी दिने कुरा पनि पुस्तकमा समावेश गरिएको छ ।
कानुन
देशमा नेपालको संविधान २०७२ लागु छ । संविधान भनेको स्थिर हुँदैन, समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ । नेपालमा पटक–पटक संविधान परिवर्तन भइसकेको छ । संरा अमेरिकाको संविधानलाई २०० वर्षपछि पनि सा¥है कम संशोधन भएको र संसारको एक नमुना संविधान मानिन्छ । विज्ञका अनुसार संविधान र ऐन–कानुन हेरेर देशको सामाजिक, आर्थिक र राजनैतिक अवस्था ज्ञात हुन्छ ।
ऐन–कानुन कसरी निर्माण हुन्छ भन्नेबारे पुस्तकमा स्पष्ट उल्लेख गरिएको छ, “देशको ऐन–कानुन देशको धर्म र परम्परामा आधारित हुन्छ । देशको धर्म र परम्परा रीतिरिवाज र संस्कृति उत्पादनका साधन तथा उत्पादन सम्बन्धले निर्धारित गर्छन् ।”
भनिन्छ, कानुनका नौ सिङ हुन्छ । त्यसैले सोझा–सिधा जनता जाली फटाहाहरूबाट कानुनीढङ्गले सताइएका र ठगिएका हुन्छन् । साथै, निर्दोष व्यक्तिहरू सजाय भोगिरहेका हुन्छन् ।
हरिबहादुर श्रेष्ठको प्रस्तुत पुस्तकमा जलस्रोत, कृषि, पर्यटन, भूगर्भशास्त्र, पुरातत्व, मूर्तिकला र चित्रकला, साहित्य, नर्सिङ सेवा र प्रयोगशाला प्राविधिक, वनविज्ञान र शिक्षाशास्त्रबारे पनि महत्वपूर्ण जानकारी तथा विचार दिएर मार्गदर्शन गर्न खोजिएको छ । साहित्यकार श्रेष्ठको पत्र साहित्य अध्ययन गर्दा कक्षाकोठामै बसेर विभिन्न विषयमा सिक्ने मौका पाएको अनुभव जो कसैलाई पनि हुन्छ । यस पुस्तकले देशको अवस्थाबारे राम्रो जानकारीका साथै युवालाई देशभक्तिको भावना पनि दिन खोजेको छ । तसर्थ, साहित्यकार श्रेष्ठबाट मार्गदर्शन पाउन ‘मार्गनिर्देशनबारे भाइ–बहिनीलाई चिठी’ अध्ययन गरी छलफल गर्न आवश्यक छ । नेपाली साहित्यमा पत्र साहित्यलाई धनी बनाउन साहित्यकार श्रेष्ठले अरू विषयहरूमा पनि कलम चलाउनुहुने अपेक्षा गर्दछु । अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *