भर्खरै :

खोपको लागि सरकारको हारगुहार

सरकारले अबको केही दिनमा कोभिड–१९ विरूद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरसविरूद्धको खोप अभाव भइरहेको बेला सरकारले हप्ता/दस दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख मात्रा भेरोसेल खोप उपलब्ध गराउने भएको छ ।
करिब एक करोड खोप खरिद
सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५०/५० लाख मात्राको दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको बताइएको छ ।
खोप खरिदको लागि चीन, अमेरिका, रूस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरेको सरकारी स्रोतले बताएको छ । सरकारले चीनको सिनोफर्म, अमेरिकाको जोन्सन एन्ड जोन्सन, रूसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारसँग पत्राचार गरिसकेको छ ।
सरकार ती मुलुकमध्ये चीन र अमेरिकाबाट खोप ल्याउन केन्द्रित रहेको सरकारका जिम्मेवारी अधिकारीले बताए । सन् २०२१ भित्र लक्षित समूहलाई खोप लगाउने सरकारको योजना रहेको र कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ ।
खोप खरिदको लागि अर्थ मन्त्रालयले रू. ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले खोप जतिसक्दो चाँडो खरिद गर्ने तयारी भइरहेको छ ।
पहिलो मात्रा ‘कोभिशिल्ड’ लगाएका साढे १४ लाखले खोप अभावले अहिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतको सिरम इन्स्टिच्युटले सरकारले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध नगराएपछि दोस्रो मात्राको खोप रोकिएको छ ।
भारतसँग पनि उच्च तहमा वार्ता
उहाँले भारतबाट ‘कोभिशिल्ड’ ल्याउनको लागि नेपालले उच्च तहमा छलफल भइरहेको बताइएको छ । भारतबाट खोप नआएको खण्डमा कोभिशिल्डसँग मिल्दोजुल्दो खोप खरिद गर्न पनि सरकार तयारी अवस्थामा रहेको एक मन्त्रीले बताए । परराष्ट्रमन्त्रीले एस्ट्राजेनिका उत्पादन हुने मुलुकसँग खोप ल्याउने पहल भइरहेको र बेलायती विदेशमन्त्रीसँग केही दिन अघिमात्र नेपालमा खोपको अभावलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएको जानकारी दिए ।
त्यस्तै सरकारले अमेरिकाले खरिदको लागि सम्झौता गरेको (बुक) एस्ट्राजेनिका नेपालमा ल्याउनेबारे अमेरिकी विदेश उपमन्त्री छलफल गरिरहेको छ । अहिले अमेरिकासँग ६ करोड मात्रा एस्ट्राजेनिका खोप बुक र मौज्दात रहेको छ । अमेरिकाले अरू खोप लगाइरहेकोले एस्ट्राजेनिका लगाएको छैन । परराष्ट्रमन्त्रीले भने, “त्यहाँ प्रयोग नहुने तर हामी त्यसै खोप नपाएर छटपटिने अवस्था अन्त्य गर्नको लागि नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई एस्ट्राजेनिका उपलब्ध गराइदिनुहोस् भनेका छौँ ।” यद्यपि नेपाललाई एस्ट्राजेनिका खोप उपलब्ध गराउनका लागि अमेरिकाको प्रक्रिया लामो हुने भएकोले केही समय लाग्ने बताइएको छ ।
कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिका
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा एस्ट्राजेनिका लगाइने जानकारी दिए ।
उनले भने, “पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप लगाउने हाम्रो प्रयास हुनेछ । यही कोभिशिल्ड पाइएन भने कोभिशिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनिका खोप लगाउँछौँ ।” उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *