सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणले सुरुमै प्रहार गरेको बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात निन्दनीय छ । अझै आफ्नो ज्यान जोखिममा राखेर महामारीविरुद्ध अहोरात्र लडिरहेका स्वास्थ्यकर्मीलाई जिम्मेवारी निर्वाहको क्रममा मान्छे बटुलेर भौतिक हमला गर्नु कानुनीरूपमा अपराध त हो नै, नैतिकताको आधारमा पनि यो जघन्य अपराध हो । स्वास्थ्यकर्मीहरूमाथिको हातपात यो पहिलो घटना पक्कै होइन । यसअघि पनि विभिन्न अस्पतालमा आफ्ना आफन्तको निधन भएको वा अरू कुनै निहुँमा कर्तव्यमा खटिएका चिकित्सक र नर्सहरूमाथि हातपात र गालीगलौज हुने गरेका छन् । प्रभावकारी स्वास्थ्य सेवा सबैको स्वाभाविक चाहना हो । आफ्ना आफन्तको पीडा कम गर्न आफूले सक्ने केही गर्न खोज्नु अथवा प्रभावकारी उपचार दिन खोज्नु सबैको स्वाभाविक मनस्थिति हो । तर, त्यसको अर्थ आफूले चाहेजस्तो नभएको भनी जिम्मेवारीमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि हमला गर्नु भने कुनै पनि बहाना वा कारणमा उचित हुनसक्दैन ।
नेपालगञ्जमा बिहीबारको घटनापछि त्यहाँका नर्सहरूले केही महत्वपूर्ण विषय उठाएका छन् । सरकारले बिरामी सङ्ख्याको अनुपातमा चिकित्सक र नर्सको व्यवस्था गर्न नसक्दा पनि बिरामीको निगरानी र उपचारमा केही कमजोरी भइरहेको र त्यसकारण बिरामीका आफन्तबाट कुटाइ खानुपर्ने अवस्था भविष्यमा पनि आउने सम्भावना भएको उनीहरूको भनाइ गम्भीर छ ।
बिरामीको सङ्ख्या धेरै र नर्सको सङ्ख्या कम हुँदा एकै जना नर्सले पनि धेरै बिरामीको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसरी अनुपात नमिल्दा बिरामीको पुग्दो मात्रामा हेरचाह गर्न नर्सहरूले चाहेर पनि सकिरहेका हुँदैनन् । हेरविचारको कमीले कतिबेला नचाहेर पनि अपेक्षित घटना हुन्छ । अनि त्यही निहुँमा स्वास्थ्यकर्मीमाथि हातपातका घटना दोहोरिरहेका छन् ।
जीवन जोगाउने जिम्मेवारीमा लागेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नु वा अशिष्ट शब्दको प्रयोग गर्नु कदापि पनि सभ्य व्यवहार होइन । स्वास्थ्यकर्मीहरूको व्यवहार र बोलीवचन पनि शिष्ट र सभ्य हुने अपेक्षा स्वाभाविक हो । तर, नर्स र बिरामीको अनुपात मिलाउनुपर्ने जिम्मेवारी भने अस्पताल व्यवस्थापनको हो र मूलतः राज्यको हो । नर्सहरूले बाँकेमा उठाएको यो विषयमा राज्य गम्भीर हुनुपर्छ ।
एकैजना नर्सले धेरै जना विरामी हेर्नुपर्दा नर्सको शारीरिक र मानसिक क्षमता क्षीण बन्नु प्राकृतिक विषय हो । त्यसमाथि अस्पतालहरूको भद्रगोल व्यवस्थापनको कारण पनि काम गर्न अनेकन कठिनाइ स्वास्थ्यकर्मीले झेलिरहेका हुन्छन् । कतिपय स्वास्थ्य उपकरणले प्रभावकारी काम गरिरहेको हुँदैन । बिरामीको उपचारको लागि आवश्यक स्वास्थ्य सामग्रीको पनि अभाव भइरहेको हुन्छ । यस्ता समस्याको हल नगरी नर्स र चिकित्सकमाथि मात्र जिम्मेवारीको भारी थोपर्ने काम नितान्त अमिल्दो छ । नेपाली समाजमा अझै बाँकी रहेको अरूको कामको कदर गर्न नजान्ने प्रवृत्तिको कारण अस्पतालमा यस्ता दुर्घटना बारम्बार दोहोरिरहेको छ ।
भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि हातपात गर्ने टोलीको नेता भने सत्तारुढ दलसम्बद्ध दाङ जिल्लाका कार्यकर्ता भएको पुष्टि भएको छ । सत्ताको दम्भले जहाँ पनि पेल्न खोज्ने प्रवृत्ति नेपालका शासक दलका नेता–कार्यकर्ताको रोग हो । आफ्नो दलको सत्ता भएपछि जहाँ पनि धाक–धम्कीले दबाबमा काम गराउन खोज्ने यस्तो रोगको निर्मूल नहुँदा स्वास्थ्य क्षेत्रमात्र होइन, धेरै क्षेत्र प्रभावित छन् ।
कानुनभन्दा माथि सरकार हुनसक्दैन । सत्तारुढ दलको कार्यकर्ता हुँदैमा कानुन मिच्न पाइने र नर्स कुट्दै हिँड्ने कसैलाई छुट छैन । त्यसकारण, बाँकेमा नर्स कुट्ने दोषीलाई कुनै पनि मोलाहिजा नराखी कडाभन्दा कडा कारबाही हुनुपर्छ । कुनै पनि बहानामा त्यस्ता अपराधीलाई छुट दिने हो भने आगामी दिनमा हरेक अस्पतालमा नर्स र चिकित्सक कुटिने क्रम जारी रहनेछ ।
Leave a Reply