भर्खरै :

कोरोनाबारे अनावश्यक हल्ला गर्न नहुने

कोरोना नयाँ सरुवा रोग हो । यो विश्वव्यापी बनेको छ । कोरोनाबाट करोडौँ मानिस सङ्क्रमित भए र लाखौँको मृत्यु भयो । यो रोगबाट बच्नु र बचाउनुपर्छ, बच्ने उपाय अवलम्बन गर्नुपर्छ । तर, कोरोना लाग्यो भनेर आत्तिहाल्नु हुँदैन । रोग लाग्नेबित्तिकै मरिहाल्छ भन्ने होइन । नेपालको सन्दर्भमा यो रोगबाट मृत्यु हुनुका विभिन्न कारणमध्ये डराएर या आत्तिएर पनि हो । आत्मबल नहुँदा या रोग लागेर निरास हुनाले पनि रोगले पेलेको बताइएको छ । रोगबाट मृत्युको अर्को कारण दीर्घ रोग हो । दीर्घ रोगीलाई यो रोगले पेलेपछि मृत्यु भएको देखिन्छ । रोगीलाई समयमै अस्पताल या जनस्वास्थ्य केन्द्रमा पु¥याउन नसक्दा, अस्पतालमा पु¥याएर पनि बेलैमा औषधिउपचार नहुनाले पनि कोरोनाले मरेको अर्को यथार्थ हो । पछिल्लो पटक त अक्सिजन अभाव भएर मरेको सङ्ख्या बढेको हो । यसबाट कोरोनाकै कारण मान्छे मरेको भन्दा पनि अर्कै धेरै कारणले मरेको थाहा हुन्छ । त्यसको अर्थ कोरोना रोग केही होइन भनेर बेवास्ता गर्ने होइन, भएभरका सतर्कता अपनाउनुपर्छ ।
कोरोना सङ्क्रमित र मृत्युको सङ्ख्या एकाएक बढेपछि या अस्पताल–अस्पतालमा मर्नेको सङ्ख्या बढेपछि अरूभन्दा कोरोना सङ्क्रमितहरू आत्तिए । कोरोनाबाट मर्ने पालो अब आफ्नो होला भनी पिर लिन थाले । त्यही पिरले कोरोना पीडित थप पीडित भए । मर्ने उमेर नहुँदै परिवार र धनसम्पत्ति छोड्नुपर्ने भयो, परिवारमा थप पीडा हुने भयो भनेर पिर लिएकोले मरेको सङ्ख्या बढेको हुँदा कोरोना भयानक रोग हो, डरलाग्दो रोग हो, यो रोगले छोएपछि पक्का मर्छ भन्ने अनावश्यक हल्ला गर्न नहुने मत पनि छ । बच्ने, बचाउने उपाय र अस्पतालमा स्वास्थ्य सामग्री तथा अक्सिजनको बन्दोबस्ततर्फ ध्यान दिनुभन्दा आवश्यकताभन्दा बढी हल्ला गर्दा, रोगलाई बढाइचढाइ गर्दा कति कोरोना पीडितहरू आत्तिए, डराए भने कति मानसिक रोगी पनि भए । त्रास नबाडौँ, आत्मबल बढाऔँ भनी रोग निको भएका बिरामीहरूले सन्देश बाँड्नु ठिक्कै हो ।
रोगबारे प्रचार नगरी पनि नहुने । प्रचारको नाउँमा अनावश्यकरूपमा बढाइचढाइ गरेर हल्ला पनि पिट्न नहुने । सामाजिक सञ्जालमा मरेका व्यक्तिलाई बोकेर लगिरहेको, साइकलमा राखी लगिरहेको, मरेको शरीर लान नमानेको, शव जलाइरहेको दृश्यले पनि मानिसमा चिन्ता र पीडा बढेको मनोचिकित्सकहरूको राय छ । यस्ता दृश्य र त्यसमाथि सञ्चारमाध्यमले पिडै पीडाको समाचार प्रसारण गर्दा या प्रचारप्रसार गर्दा कमजोर मन भएका कति मानिसमा पीडामाथि पीडा थपेको टोल–टोलमा चर्चा परिचर्चा भइरहेको छ । अनावश्यक तस्वीर, दृश्य, घोच्ने, झस्काउने कुराले कति मानिसको मनोबल गिरेको र निरासा छाएको अनुभूति पनि मानिसले गरेका छन् । अतः आत्मबल बढाउने, हौसला दिने, प्रेरणा दिने कुरा गरेर मन हलुङ्गो बनाउने काम गर्नुपर्छ । पीडितलाई छटपटाउने कुरा गर्नुहुँदैन । विभिन्न सञ्चारमाध्यमले पनि नकारात्मक कुरालाई प्राथमिकता दिएर प्रचार नगरी सकारात्मक पक्षलाई जोड दिनुपर्छ, खुसी बाँड्नुपर्छ, उत्साहित गर्नुपर्छ, सुखानुभूति बनाउनुपर्छ । यस्ता सद्मार्ग पनि एक प्रकारको औषधि हुनसक्छ र रोग निको हुने बाटो बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *