भर्खरै :

वृद्ध भत्ताभन्दा पनि आदर निकेतन र सामाजिक सुरक्षा जरुरी

सरकारले दिँदै आएको वृद्ध भत्तामा तेत्तीस प्रतिशतले बढाएको भनी यत्रतत्र चर्चा छ । वास्तवमा सरकार चल्लालाई कनिका छरेर पन्छिएको झैँ जिम्मेवारीबाट भागेको बुझ्न सकिन्छ । बुढेसकाल भनेको ऐशआराम गर्ने बेला हो । एउटा व्यक्तिले आफ्नो परिवारको लागि मरिमेट्छ । अझ भनौँ जसरी हुन्छ परिवार र सन्तानको लागि आजको लागि मात्र नभई भोलिको लागि सोच्ने गर्दछ । धन, सम्पत्ति जोहो गर्दछ ता कि भविष्यमा भैपरी आउने समस्याको हल गर्न सकोस् । देश, समाजको हित खोज्ने सचेत नागरिकले आफ्नो गाउँ, समाज र देशको प्रगतिकै लागि समय बिताउने गर्दछ । सरकारले ज्येष्ठ नागरिकहरूलाई पैसा हातमा राखेर सम्मान गर्नुभन्दा आनन्दित हुने खालको वातावरण सिर्जना गरेर आदर र सम्मान गर्ने हो । वृद्ध उमेरका व्यक्तिहरू जमघट हुने र अनुभवहरू साटासाट गर्न मिल्ने थलोको बन्दोबस्त सरकारले गरिदिनुपर्दछ । आवश्यक खानपिनको बन्दोबस्त, भरपर्दो स्वास्थ्य सुरक्षा, घुमफिर, मनोरञ्जन लिन पाउनेजस्ता आदर निकेतनको व्यवस्था राज्यले गर्नुपर्दछ । अनि, ज्येष्ठ नागरिकको सम्मान हुन्छ । आनन्द लिनुपर्ने बेलामा पैसालाई नै सबथोक ठान्दा झन् झन्झटिलो र किचलो पो सहनुपर्ने हो कि भन्ने अर्कोथरीको बुझाइ पनि छ ।
समाजमा त्यस्ता व्यक्ति पनि छन् जो बुढेसकालमा पैसामात्र कमाउने सोचका हुन्छन् । जसले देश र समाजलाई नै चुसेर खोक्रो बनाएको हुन्छ त्यस्तालाई बुढेसकालमा पनि राज्यले भत्ता दिइरहन सुहाउँदैन । उसले थुपारेको सम्पत्ति समाल्न आफ्नो दरसन्तानले पनि भ्याइरहेको हुन्न । त्यस्ता व्यक्तिलाई सरकारको चार हजार भत्ताको खासै अर्थ हुँदैन । अर्को यस्ता मानिस हुन्छन् जो उमेर रहुञ्जेल रगत पसिना बगाउँछन् । काम गर्न नसक्ने उमेर भएपछि उसलाई खानपानको राम्रो व्यवस्थासम्म हुँदैन, उचित स्वास्थ्य उपचार नपाएरै मृत्युवरण हुन पुग्दछ । समग्रमा बुढेसकालमा मानिसलाई ऐशआराम आवश्यक पर्दछ । मानवताको हिसाबले ज्येष्ठ नागरिकलाई पनि राज्यले आदर निकेतन र स्वास्थ्य सुरक्षाको बन्दोबस्त गर्नुपर्दछ ।
चुनावको मिति घोषणासँगै बजेट भाषणमा वृद्ध भत्ता बढाउनु भनेको पैसा दिएर मन लोभ्याउने, चुनाव प्रभावित गतिविधि सरकारले गरेको नागरिकको मनमा परेको छ । नागरिकले पनि ज्येष्ठ नागरिकलाई आनन्दित र ऐशआरामको जिन्दगी दिलाउनतर्फ राज्यलाई दबाब दिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *