ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
राजनीति निःस्वार्थ सेवाको लागि हुनुपर्छ । राजनीति स्वस्थ र नैतिक मूल्य–मान्यता तथा आचरणको लागि हुनुपर्छ । राजनीति गरीब, पीडित जनताको मुक्तिको, राष्ट्रको मुक्तिको लागि हुनुपर्छ । राजनीति देश र जनताको विकासको लागि हुनुपर्छ । तर, व्यवहारमा राजनीति त्यसतर्फ गइरहेको पाइँदैन । जनताबाट निर्वाचित अधिकांश सांसदहरू कम्युनिस्ट नामका थिए । उनीहरू कुरा र भाषणमा कम्युनिस्ट नै थिए । उनीहरू गरिब जनताको मुक्तिको कुरा गर्छन्, किसान–मजदुरको हितको कुरा गर्छन्, शोषण–भ्रष्टाचारको अन्त्यको कुरा गर्छन् । तर व्यवहार, आचरण र परिणामले त्यस्तो देखाएका छैनन् । उनीहरू व्यवहार र आचरणले कम्युनिस्टविरोधी देखिएका छन्, पुँजीवादी देखिएका छन् । उनीहरू भन्ने गर्छन्, “हामी साधु–सन्त बन्नलाई राजनीति गर्न आएका होइनौँ, राजनीति सेवा होइन मेवा बनाउन आएका छौँ ।” उनीहरूले राजनीतिलाई आम्दानी र नाफा बनाइरहेका छन् । साँच्चै उनीहरू कम्युनिस्ट भएका भए, आचरण, व्यवहार कम्युनिस्ट भएका भए देशको सबै भागमा सस्तो, सर्वसुलभ र गुणस्तरीय सरकारी विद्यालय, कलेज, विश्वविद्यालयहरू धेरै बनाउनुपर्ने थियो । गाउँ–ठाउँमा वीर र टिचिङ अस्पतालहरू बनाउनुपर्ने थियो । कृषिको विकास गर्न त्यससँग सम्बन्धित उद्योगहरू ठाउँ र हावापानीअनुसार खोल्नुपर्ने थियो । तर, त्यसो भएन । बरू भएका उद्योगहरू, मित्रराष्ट्रहरूले बनाइदिएका उद्योगहरू पनि विदेशीको राय–सुझावमा बेचेर खाए र निजी विद्यालय, कलेज, विश्वविद्यालयहरू खोले, खोेल्न दिए । निजी अस्पतालहरू खोले, खोल्न दिए । त्यसबापत शेयर, अंश, भाग, दान लिए–पाए । कमिसन खाए । फाउन्डर बने । भ्रष्टाचार गरे । त्यस्ता संस्थाहरूमा गरिबहरूको पहुँच हुँदैन । जुन कोभिडले पीडित र निधन भएका तथ्याङ्कले देखाइसकेको छ । त्यस्ता संस्थाहरूले गरिब नेपाल र नेपाली जनताको सेवा गर्दैनन् । त्यस्ता शिक्षण संस्थाहरू विदेशी कामदार उत्पादन गर्ने कारखानामात्र हुनेछन् । जन्म नेपालमा, हुकाइ–बढाइ नेपालको, लगानी नेपालको अनि उत्पादन विदेशको, सेवा विदेशको भइरहेका छन् । यस्तो परिस्थिति ल्याउने र बाध्यता पार्ने यिनीहरू अपराधी हुन्, देशद्रोही हुन् ।
देशमा समृद्धि र विकास ल्याउने हो भने सन्तुलित विकास हुनुपर्छ । यिनीहरूको विकास सहरकेन्द्रित छ । हुने–खानेको लागि मात्र विकास भएका छन्, छँदा–खानेका लागि विकास भएका छैनन्, समृद्धि आएका छैनन् । गाउँकेन्द्रित विकास भएको छैन । मुखले गाउँका गरिब जनताको, मजदुर किसानको आँसु, पीडा बुझेका छाँै भनिरहेको हुन्छ । हामी गाउँको उन्नति, प्रगति चाहन्छौँ भनिरहेका हुन्छ । हामी किसान–मजदुर अनि गरिब जनताको आँसु पुछिदिन्छौँ भनिरहेका हुन्छ । तर, व्यवहार र आचरणमा पटक्कै छैन । जनप्रतिनिधि, सभासद्, मन्त्री, प्रधानमन्त्री भएपछि उनीहरूलाई आफू जन्मे–हुर्केको गाउँ–ठाउँ पच्दैनन् । त्यहाँको हावापानी, समाज मन पर्दैन । उनीहरू अनेक कुकर्म गरेर भए पनि, भ्रष्टाचार गरेर भए पनि काठमाडौँमा घडेरी जोड्न प्रतिस्पर्धा गर्छन् । उनीहरूलाई काठमाडौँमा कम्पाउन्डसहितको बङ्गला हुनैपर्छ । काठमाडौँमा बनेका अधिकांश घर र महलहरू यस्तै भ्रष्टाचारीका छन् । कसैले यसरी भ्रष्टाचार गरेर कमाएको अकुत कालो धन विदेशी बैङ्कमा राखेका छन् भनिरहेका छन् । अबको निर्वाचनमा अपराधी, ठगहरूको लोेभ–लालच, डर–धम्कीको अगाडि नझुकी सबैले देशभक्त, असल आचरण भएका उम्मेदवारहरूलाई बहुमतले चुनेर पठाउनुपर्छ । त्यसो गर्न सकेको खण्डमा उनीहरूले यी भ्रष्टहरूलाई जेलमा कोचिने छन्, यिनीहरूको सबै कालो धन, सम्पत्ति राष्ट्रको बनाउने छन् । जबसम्म जनप्रतिनिधिहरू गाउँमा अड्डा जमाएर बस्दैनन्, गाउँमा बस्ने भावना हुँदैनन् तब गाउँमा शिक्षा, स्वास्थ्य, कृषि, बाटो–घाटो, उद्योगको विकास कसरी हुन्छ ? बस्ने काठमाडौँमा अनि विकास गाउँमा हुन्छ ? जिल्लामा हुन्छ ? त्यसैले समानुपातिक र सन्तुलित विकासको राम्रो र उपयुक्त उपाय भनेको जुन ठाउँमा जन्मे–हुर्केको हो त्यहीँ स्थायी बसोबास गरेर विकासको लागि लाग्ने हो । यस्तै कानुनमै नागरिकता जुन गाउँ–ठाउँको छ त्यही गाउँ–ठाउँमा अनिवार्य बस्नुपर्ने, अन्त बस्न नपाउने, चल–अचल सम्पत्ति अन्त जोड्न र राख्न नपाइने व्यवस्था उल्लेख गरेर लागू गरेको खण्डमा मात्र देशको सन्तुलित विकास हुनेछ अनि गाउँको विकास हुनेछ ।
देशको सन्तुलित विकास नहुनुमा सरकारहरू नै जिम्मेवार छन् । देश र जनताको निःस्वार्थ सेवा गर्छु, देशको विकास गर्छु, देशको रक्षा गर्छु भनेर कसम खाएका उच्चपदस्थ कर्मचारीहरूले पनि देश र जनताप्रति घात गरिरहेका छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा नेपाली र विदेशीसमेत डब्बल तलब–सुविधा खाने कर्मचारीहरू २० औँ हजार छन् भनी आरोप लगाइरहेका छन् । ‘जसको सिता खान्छ, उसको गीता गाउँछ’ भनेझैँ विदेशीको सीता खाएर सुराकी गरिरहेका छन् । देशको गुप्त सूचनाहरू विदेशीलाई दिइरहेका छन् भनी खबरदारी गरिरहेका छन् । देशको गुप्त सूचनाहरू विदेशमा पठाउने रअ र सीआईएका सुराकी कार्यकर्ता र नेताहरू विभिन्न दलहरूमा रहेको र देशलाई अस्थिर बनाउन चल्बलाइरहेको उनीहरू भनिरहेका छन् ।
विदेशीको इसारामा देशको हितलाई लत्याउने, व्यापार, व्यवसाय, विकास, निर्माण रोक्ने, बिगार्ने, देशको गुप्त सूचनाहरू विदेशमा पु¥याउने कर्मचारीहरू रहेको समाचारहरू आइरहेका छन् । विगतमा आ–आफ्ना मान्छेहरू, विदेशी प्रभाव र दबाबमा नियुक्त गरेका कर्मचारीहरू यसका कारकका रूपमा लिएका छन् । भारतले नाकाबन्दी गर्दा, देशमा आपत् आइलाग्दा पेट्रोलियम पदार्थ चीनलगायतका मित्र देशहरूबाट ल्याउन खोज्दा, आजको कोभिडको महामारीविरूद्धको खोप ल्याउने कुरामा होस् अक्सिजन, अक्सिजन सिलिन्डर ल्याउने कुरामा होस्, उपचार सामग्रीहरू ल्याउने कुरामा होस्, नेता–कर्मचारीहरूले बेइमानी र राष्ट्रघात गरेका कुरा जनता अनुभव गरिरहेका छन् । उनीहरू भ्रष्टाचार गर्न, कमिसन खान, विदेशी सिता खान पल्केर गीता गाएका छन् । उनीहरूलाई ठीक ठाउँमा ल्याउन नसकिएसम्म देशको उँभो लाग्ने छैन । त्यस्ता देशघाती नेता, कर्मचारीहरूलाई निलम्बनमात्र होइन, त्यससँग सम्बन्धित सम्पत्ति जफत गरेर जेलमा कोच्नुपर्छ ।
राष्ट्रसेवक भनिएका उच्चपदस्थ कर्मचारीहरू, आर्थिक कारोबार, सम्पत्तिको कारोबार गर्ने, मालपोत, नापी, राजस्व, कार, बैङ्क, भन्सार आदिका कर्मचारीहरूको काठमाडौँलगायतका देशका प्रमुख सहरहरूमा बनेका घरहरू, बङ्गलाहरू विदेशी बैङ्कमा राखेका धन–सम्पत्ति कानुनी, गैरकानुनी, लुटका उपज हुन् । त्यसैले देश गरिब, व्यक्ति धनी भएका छन् । यस्ता कानुनी, गैरकानुनी तरिकाबाट आर्जन गरेका घर–जग्गा, बङ्गला, धन–सम्पत्ति छानबिन गरेर सरकारले जफत गर्नुपर्छ । यिनीहरूले नेपाल सरकारबाट के–कति तलब सुविधा पाइरहेका छन् भन्ने कुरा सबैलाई थाहा छ । यिनीहरू व्यापारी होइनन्, उद्योग–व्यवसायी पनि होइनन् । देश र जनताको सेवक, सेवाको काममा लाग्ने कर्मचारीहरूको आर्थिक हैसियत, औकात कति छ छिमेकी जनतालाई थाहा छ । यिनीहरूलाई कारबाहीको दायरामा ल्याएर दण्ड दिनुपर्छ ।
नेपाल सरकारका कर्मचारीहरू सादा जीवन उच्च विचारले देशको सेवा गर्न प्रवेश गर्छन् । उनीहरू ठुलो ओहदामा पुगेपछि काठमाडौँ ओइरिन्छन् । आफू जन्मेको गाउँ–ठाउँ सुनसान छ । काठमाडौँलगायतका सहरहरूमा मानिसको अत्यधिक चाप छ जसलाई प्रकृतिले थेग्न सक्दैन र थेग्न सकेको छैन । अत्यधिक प्रदूषण छ । देशको सन्तुलित विकास गर्न काठमाडौँमा भएका सुविधाहरू देशको सबै भागमा पु¥याउनुपर्छ । अनि, नागरिकता जुन ठाउँको छ त्यही बस्नुपर्ने कानुनी प्रबन्ध गरेको खण्डमा त्यसलाई लागू गर्न सकेको खण्डमा कर्मचारीलगायत अन्य उच्चपदस्थ व्यक्तित्वहरू, बौद्धिक व्यक्तित्वहरू आफ्नो जन्मस्थानमै बसेको खण्डमा, गाउँमै बसेको खण्डमा विकासको लागि अगुवाइ गर्नेछन् । गाउँमा पनि सबै सुविधा प्राप्त भई सुखी र समृद्ध गाउँ बन्नेछन् । अनि, नेपाली धर्तीमा फलेको विकासरूपी मेवा एक–दुई जना टाठाबाठाले होइन सबैले चाख्न पाउनेछन् ।
अतः राजनीति निःस्वार्थ सेवाको लागि हुनुपर्छ, स्वस्थ, नैतिक मान्यताको लागि हुनुपर्छ अनि देश र जनताको हितको लागि हुनुपर्छ ।
Leave a Reply