भर्खरै :

जसपाका मन्त्रीहरू टिक्लान् ?

  • जेष्ठ २५, २०७८
  • –हर्षबहादुर केसी
  • समाचार

हरेक राजनीतिक दलको सिद्धान्त, दर्शन र विचार हुन्छ । सिद्धान्त र विचारको आधारमा राजनीति गरिएको हुन्छ । दलको सिद्धान्त र विचारकै आधारमा कुन दल मित्र शक्ति र विरोधी दल भन्ने थाहा हुन्छ । मित्र शक्तिको नापो या आधार कुनै दलको सरकारमा सामेल हुनु र नहुनु होइन । पुँजीवादी बन्दोबस्तको सरकारमा अनेक विचारका दलहरू सामेल भएको इतिहास छ । नेकाको सरकारमा माओवादी सामेल भएकै हो । नेकपाको सरकारमा माले, राजमो, मधेसी दलमात्र होइन राप्रपासमेत सामेल भएको यथार्थ हो । यसरी सरकारमा सामेल भएका जति सबै दलहरू सरकारको नेतृत्व गर्ने दलको मित्र शक्ति हुन्छ भन्ने होइन । सरकार टिकाउने, लम्ब्याउने र ढाल्ने खेलहरू भइरहेको हुँदा कुन दल कहिले सरकारमा सामेल हुन्छ भन्ने कुरा यकिन गर्न गा¥हो हुन्छ । सरकारमा पुगेका ती दलका नेताहरू सत्ता छोडेपछि धुरन्धर विरोधमा पनि लागेका छन् ।
दलहरू सरकारमा रहेसम्म मित्र र सरकारबाट बाहिरिएपछि विरोधी दल हुन्छ भन्ने होइन । एउटै दल छिनछिनमा मित्र र विरोधी हुनेछैन । यसैबीच हालै ऊर्जा तथा सिंचाइमन्त्री शरदसिंह भण्डारीले भने, “नेकपा एमाले हाम्रो मित्र शक्ति भयो ।” जसपा एमालेकोे मित्र शक्ति हो कि एमालेको मित्र शक्ति जसपा हो ? त्यो समयले बताउनेछ । भोलि जसपाको कारण सरकारको नेतृत्व गरिरहेको एमालेलाई अप्ठेरो हुने हो ? त्यो पनि पछि थाहा हुनेछ । आफ्नै दलका नेताहरूलाई ठाउँमा राख्न नसक्ने एमालेका नेताहरूले राजपाका नेता र मन्त्रीहरूलाई तह लगाउन सक्छन् कि सक्दैनन् ? राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
एमाले र जसपाको संयुक्त सरकार निर्वाचन नहुँदासम्म टिकिरहन्छ कि रहँदैन ? विचारणीय छ । जसपाका नेता र मन्त्रीहरूको क्रियाकलाप र अभिव्यक्ति सुनेर कतै एमालेका नेता र मन्त्रीहरू वाक्कदिक्क हुने होइनन् ? मन्त्रिपरिषद्को बैठकमा विचार या राय नमिलेर भनाभन हुने स्थिति त आउँदैन ? देश विकास गर्न र जनताको सेवा गर्न सरकारको बोली या स्वर मन्त्रीअनुसार फरक–फरक हुनुहुँदैन । तीन जना उपप्रधानमन्त्रीको तीनथरी सरकारको मत भयो भने कसको कुरालाई विश्वास गर्ने या सरकारी मान्यता मान्ने ? समस्या आउन सक्छ ।
सरकारले निर्वाचनको तिथिमिति घोषणा गरिसकेको सन्दर्भमा वर्तमान सरकार चुनावी सरकार हो । निर्वाचनमा सत्तारुढ दलका नेताहरू बढी अनुशासित हुनुपर्छ । निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण बनाउन निर्वाचन आयोगमात्र होइन सत्तासीन दल जुट्नुपर्छ । सत्तारुढ दल जसरी भए पनि जित्ने हिसाबले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै सिद्धान्त र विचारको आधारमा जनताको विश्वास जित्न अघि नबढी पैसाको खोलो बगाएर, लोभलालच देखाएर, झूटको खेती गर्छ भने त्यो सत्ताको दुरूपयोग हुनेछ । विगतमा झैँ पैसा बगाएर, भोज खुवाएर, सामग्री वितरण गरेर जसरी भए पनि निर्वाचन जित्ने प्रयास सत्तारुढ दलले छोड्नुपर्छ । जनताले पनि कुन दलले बहुमत जनताको प्रतिनिधित्व गरेको छ, इमानदारीपूर्वक राजनीति गरेको छ, त्यस दलका उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *