भर्खरै :

मानव समाजमा कोरोना भाइरसको प्रभाव

मानव समाजको पूरै इतिहासमा कोभिड–१९ महामारीले जत्तिको व्यापक र तीव्रत्तर नकारात्मक प्रभाव पारेको घटना कमै देखिएको छ ।
बिफर रोगविरुद्धको खोपको प्रचार संसारभर फैलिन धेरै वर्ष लाग्यो । तर, बिफरविरुद्धको खोपले रोगबाट जोगाएर संसारका जनताको सेवा ग¥यो, सौन्दर्य बिगार्ने बिफरबाट मानिसलाई जोगायो ।
झाडाबान्ता, मुसाबाट फैलिने प्लेग रोग र अनेक किटाणु एवम् जिवाणुबाट फैलिएका रोगहरूलाई समय–समयमा नियन्त्रण गर्न मानव समाज सक्षम रह्यो । ती रोगहरू कोरोना भाइरसजतिको छिटो फैलिएनन् वा समयमै ती रोगहरू नियन्त्रण गर्न मानिस सफल भए ।
तर, कोरोना भाइरस सङ्क्रमण अमेरिका, युरोप र एसियामा आँधीजस्तै छिटो फैलियो । यस रोगबारे मानव जातिले पहिलो चोटी थाहा पाएका थिए तैपनि केही महिना र वर्ष दिनभित्र रोगका लक्षण र निदान पत्ता लगाए र खोपसमेत बनाउन सफलता पाए । २१ औँ शताब्दीको यो एक उपलब्धि नै हो ।
संसारमा मानव जातिमा लाग्ने रोगहरूको फैलावट, द्रुतता र क्षतिको हिसाबमा कोभिड–१९ लाई सबभन्दा बढी डरलाग्दो वा ‘महामारी’ को नाम दिएको उपयुक्त देखियो ।
केही वर्षमै सबभन्दा बढी मानिस मारिएको घटनाको रूपमा पहिलो र दोस्रो विश्वयुद्धलाई लिइन्छ । ती मानिसले गराएका घटना थिए । कोभिड – १९ बाट कम समयमै लाखौँ मानिस मारिए र करोडौँ सङ्क्रमित भए । तर, उपचार तथा औषधीको अनुसन्धानको क्षेत्र अगाडि बढेको छ भने आर्थिक समृद्धि प्राप्त देशहरूका वैज्ञानिक, प्राविधिक एवम् उत्पादन क्षेत्रका योजनाविद्हरूले आ–आफ्नो बुद्धि तथा बल त्यसैमा केन्द्रित गरेका छन् ।
विज्ञान तथा प्रविधि एवम् भौतिक सम्पन्नता सँगसँगै कोभिड–१९ को नकारात्मक प्रभावले मानिसको चिन्तनमा ठूलो परिवर्तन ल्याउने निश्चित देखिँदै छ । तुलनात्मकरूपले विज्ञान, प्रविधि र सम्पन्नताकोे शिखरमा पुगेको संरा अमेरिकाले जानेर वा नजानेर कोभिड–१९ लाई बेवास्ता गर्दा कोभिडको कारण सबभन्दा बढी मानिसले मृत्युवरण गरे । वनसम्पदामा धनी, संसारकै फोक्सो मानिएको ब्राजिलमा पनि कोभिडबाट लाखौँ मारिए, करोडौँ सङ्क्रमित भए । त्यस्तै, दोस्रो सबभन्दा बढी जनसङ्ख्या भएको पुँजीवादी प्रजातन्त्र मानिएको भारतमा पनि कोभिड–१९ बाट लाखौँ मारिए, करोडौँ सङ्क्रमित भए । त्यसैगरी बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन आदि विकसित पुँजीवादी देशहरूमा पनि तुलनात्मकरूपमा धेरै मानिसको मृत्यु भयो र ठूलो सङ्ख्यामा सङ्क्रमित भए ।
तर, जनवादी गणतन्त्र चीन, प्रजग कोरिया, क्युवा, भियतनाम आदि समाजवादी देशहरूका सरकारले तत्काल रोग नियन्त्रणको अगुवाइ गरेकाले तुलनात्मकरूपमा कम समयमै रोगको रोकथाम तथा नियन्त्रण भयो । सरकारले जनताको सेवामा प्राथमिकता दिएकोले मृतक र सङ्क्रमित सङ्ख्या पनि थोरै भयो । यसको अर्थ पुँजीवादी देशहरूमा स्वास्थ्य, शिक्षा र अन्य उत्पादन एवम् सेवाको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको हुन्छ । निजी क्षेत्रले ‘लाभ’ वा नाफालाई प्राथमिकता दिन्छ । समाजवादी देशहरूमा निजी क्षेत्रलाई प्राथमिकता दिइएको हुँदैन । त्यसैले सरकार र समाज नै जिम्मेवार रहने हुँदा समयमै रोग नियन्त्रणका गतिविधिहरू भए । रोगबारे अनुसन्धान र खोपको निर्माण एवम् सङ्क्रमितको सेवाको निम्ति युद्धस्तरमा कष्टसाध्य काम गरिएको हुँदा थोरै समयमा समाजवादी देशहरूले रोग नियन्त्रण गर्ने सफलता पाए । समाजवादी देशहरूले रोग नियन्त्रणको आ–आफ्नो अनुभव विश्वलाई बाँडे, उपचार सामाग्री, यन्त्रहरू र खोप बाँडे । एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा युरोपका जनतामा समेत प्राज्ञिक तथा भौतिक वस्तुको आदानप्रदान गरी ती देशहरू मानव समाजलाई ‘लाभ’ भन्दा ‘निः स्वार्थरूपले सेवा गर्ने’ चरणमा पु¥याएको उदाहरण बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *