भर्खरै :

कोरोनासँग मेरो लडाइँ

मानिस एउटा सुन्दर फूल हो, मान्छे फुल्न र फल्न नपाइकन नझरोस् ।
मानिस मरणशील प्राणी हो, जन्मिन्छ, हुर्किन्छ, युवा हुन्छ, वृद्ध हुन्छ र एक दिन समय आएपछि मर्छ । यो संसारको प्राकृतिक नियम हो । तर, विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहरको महामारीले बच्चा, युवा, वृद्धवृद्धा कसैलाई बाँकी राखेन । सबैलाई त्राहिमाम बनायो । जीवन छ त यो संसार देख्न पाइन्छ । जुस्तोसुकै परिस्थिति, अवस्था, चुनौती आइपरे पनि हतास, निरास नभइकन, नआत्तिएर समस्या तथा चुनौतीसँग सामना गर्ने धैर्य हुनुपर्दछ ।
मेरो बसाइ काठमाडौँ टोखा नगरपालिका वडा २ मा छ । कोरोना भाइरसबाट बच्न मास्क, स्यानिटाइजर प्रयोग गर्दागर्दै र सामाजिक दुरी कायम गर्दागर्दै पनि यो रोग मलाई कहाँबाट कसरी स¥यो, थाहा भएन । कुन बेला गल्ती भएछ पत्तै भएन ।
गत वैशाख १४ गते शुक्रबार बिहानदेखि टाउको दुख्न थालेको थियो । जीवनमा कहिले पनि त्यसरी टाउको दुखेको अनुभव गरेको थिइनँ । टाउकोको पछाडि भाग पूरै दुख्ने, शरीरको प्रत्येक भाग दुख्ने, ज्वरो आउने क्रमले शरीर कमजोर हँुदै गयो । अक्सिजन लेभल कम हुँदै गयो । ज्वरो पनि १०४ डिग्रीसम्म पुग्यो । अनि मलाई शङ्का लाग्यो । यो कोरानाको लक्षण होला भनेर वडा कार्यालयमा सम्पर्क गरी म, मेरो छोरा ईश्वर र साथी कमलबहादुर डंगोलसमेतले जेठ ३ गते स्वाब परीक्षण गरायौँ । नतिजा पोजिटिभ आयो । घरमा पनि सबै परिवारलाई जानकारी गराएँ । होम आइसोलेसनमै बस्ने गरी घरमै बस्ने निधो गरेँ । साथी र आफन्तहरूले फोनबाट सल्लाह सुझाव दिनुभयो । नआत्तिनुस्, प्रतिरोध क्षमता बढाउने विभिन्न किसिमका पोसिला खानाहरू खानुस् भनेर सल्लाह दिनुभयो । डाक्टरको सल्लाहअनुसार औषधि खाँदै थिएँ । तर, रोगले झन् च्याप्दै लग्यो । एक्कासि खोक्दाखोक्दै श्वास फेर्न गाह्रो हुनथाल्यो । अब घरमा बसेर यो रोग ठीक हुँदैन भन्ने लागेर छोरा विश्वासलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सलाई फोन गर्न लगाएँ । एम्बुलेन्स आइपुग्यो । एम्बुलेन्सबाट आइसोलेसनमा पुगेपछि डाक्टरले मेरो रक्तचाप, अक्सिजन, ज्वरो जाँच गर्नुभयो । अत्यन्तै नराम्रो अवस्थामा थियो । आइसोलेसन केन्द्रको बेडमा बसेपछि मलाई डाक्टर र नर्स आई अक्सिजन दिन थालियो । कोरानाको सुई दिनको ३ वटा लगाउन थालियो । समय – समयमा नर्सले औषधि दिनुहुन्थ्यो ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा गएर उपचार गरेँ । मैले नयाँ जीवन पाएको अनुभव गरेँ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकांश बिरामीको अवस्था खराब थियो । कोहीलाई अक्सिजन दिइरहेको, कोही बेडमा घोप्टो परेर सुतिरहेका, कोही वाफ लिइरहेका, कोही पीडा सहन नसकेर रोइरहेका थिए । यस्तो परिस्थितिमा आफूले आफैलाई समाल्नुको विकल्प थिएन । आइसोलेसनमा बसेको दुई दिनपछि छातीको एक्सरे गराएँ । डाक्टरको भनाइअनुसार एक्सरे सामान्य नै थियो । सबै बिरामीको अवस्था नराम्रो भएको, अक्सिजन राख्दाराख्दै पनि श्वास फर्न गाह्रो भएको, त्यहाँबाट निको नभएका बिरामीलाई अर्को अस्पतालमा रिफर गरेको, अस्पतालमा बेड नपाउनु, अक्सिजन नपाउनु, आइसीयू र भेन्टिलेटेरको अभावमा मृत्युवरण गरेको समाचार अनलाइन समाचारहरूबाट सुनेको हुनाले अब हामी पनि स्वास्थ्य सामग्रीको अभाव भयो भने अस्पताल लाँदालाँदै मर्ने हो कि भन्ने लाग्यो । यस्तो अवस्थामा सरकारले पहिला नै प्रत्येक सरकारी अस्पतालहरूमा अक्सिजन प्लान्ट, आइसीयू र भेन्टिलेटरको व्यवस्था गरिदिएको भए नेपाली त्यसरी अकालमा मर्दैनथे होला भनी मनमा कुरा खेलाइरहेँ ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक संरचना राम्रो हुँदाहुँदै पनि स्वास्थ्य केन्द्रभित्र केही अभाव भएको महसुस गरेँँ । एक्सरे मेसिन छ । भिडियो एक्सरे, आईसीयू भेन्टिलेटर पनि भएको भए यस स्वास्थ्य केन्द्रमा आउने कुनै पनि बिरामी अकालमा मर्नुपर्ने अवस्था आउँदैनथ्यो । केन्द्रीय, प्रदेश र स्थानीय सरकार, जनता अनि क्लव, सङ्घ–संस्था, सहकारी सबै मिलेर यस स्वास्थ्य केन्द्रलाई एउटा नमुना, सुलभ, व्यवस्थित र पूर्वाधारयुक्त अस्पताल बनाउन सके आम जनतालाई अझ राम्रो सेवा मिल्ने थियो ।
यसरी कोराना सङ्क्रमित भई स्वास्थ्य केन्द्रमा उपचार गर्दागर्दै समय बितेको पनि थाहै भएन । स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार गर्दै बसेको पनि एक हप्ता बित्यो । एक हप्तापछि क्रमिकरूपमा मेरो स्वास्थ्यमा सुधार आयो । मैले आइसोलेसनमा बस्ने अन्य बिरामीलाई भेटेर रोगको बारेमा के कस्तो छ भनेर सोधपुछ गर्न थालेँ । एकले अर्कोलाई माया गर्ने र सहानुभूूति लिनेदिने ग¥थ्यौँ । हामी टोखा वडा २ बाट म, काइला डंगोल र माइँला श्रेष्ठ अनि वडा ३ बाट १ जना, वडा १ बाट १ जना, मनमैजु, बालाजु, धापासी, नारायणथान, गोँगबु, बौद्धबाट आएका बिरामीहरू उपचारमा थियौँ । मभन्दा पहिला आउनुभएका साथीहरू निको भई घर फर्किने क्रम जारी थियो । छिटो निको भई फर्किने आफ्ना पनि विश्वास थियो । आइसोलेसनको अवधि पूरा गरी १४ दिनपछि जेठ १८ गते कोरोनाको लडाइँमा जित भएको महसुस गर्दै घर जान पाउने आशाले म खुसी भएँ । त्यही दिन स्वास्थ्य केन्द्रको एम्बुलेन्सले घर पु¥यायो । घर पुगेपछि मेरो परिवार, आफन्त सबै खुसी हुनुभयो । डाक्टरको सल्लाहअनुसार, अझै २ हप्ता होम क्वारेन्टिनमा बस्नुपर्छ भनेकोले अहिले व्यवस्थित तरिकाले घरमै बसिरहेको छु । मलाई पहिलाभन्दा राम्रो हुँदै छ । आत्मविश्वास, सकारात्मक सोच, पोसिलो खानपान तथा नियमित औषधि सेवनले यो रोग जित्न सकिने रहेछ । आफन्त, घर परिवारको माया, साथीहरूको सहयोग र हौसलाले पनि यो रोगलाई जित्न सकिने रहेछ ।
कोरोना सङ्क्रमणलाई हेलचेक्राइँनगरौँ, आफू बचौँ अरूलाई पनि बचाऔँ, कोरोनाको लक्षण देख्नासाथ स्वास्थ्य केन्द्र वा अस्पताल वा डाक्टरकहाँ गई चेकअप गरी परामर्श लिऔँ, रोगको उपचार गर्न ढिला भएको खण्डमा अकालमा ज्यान पनि जानसक्छ । समयमै उपचार गर्नसके यो रोग निको हुन्छ । भीडभाडमा नजाऔँ ! चोक–चोकमा मास्क नलगाई गफ गर्ने र सहभागी हुने काम नगरौँ । कोरोनाबाट बच्न मास्क लगाऔँ, सामाजिक दुरी कायम गरौँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ !
नेपाली जनताले कोरोनाको महामारीले समयमा उपचार गर्न नपाएर, अस्पतालमा अक्सिजनको अभाव भएर, बेड नपाएर, आईसीयू तथा भेन्टिलेटर नपाएर, स्वास्थ्य सामग्रीको अभावमा बिरामीले अकालमै ज्यान गुमाइरहेको अवस्थामा सरकार र शासक दलहरू पद, पैसा, व्यक्तिगत स्वार्थ, पार्टीको स्वार्थ, सत्ता र कुर्सीको लागि कुकुरझगडा गर्दै छन् । यसरी सरकार र मन्त्रीहरूले जनताको जीवनसँग खेलबाड गर्दै छन् ।
मैले कोरोना रोगसँग लड्दै गर्दा मेरो मनमा अनेक कुराहरू खेल्यो । नेपालको राजनीतिक अस्थिरताका कारण आम नेपाली जनताले दुःख भोग्नुपरेको छ । यदि नेपाली जनताले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्न सकेका भए, साँच्चिकै नेपाली जनता राजनैतिकरूपमा सचेत र सङ्गठित भएका भए, काम गरी खाने जनताको सरकार भएको भए, समाजवादी समाज निर्माणमा अग्रसर हुन सकेको भए आज जनताले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार पाउँथे । हिजो पञ्चायती व्यवस्थादेखि आजसम्म सत्तामा गएर आलोपालो सरकार चलाउने राष्ट्रघाती, विदेशी दलालहरूलाई सम्पूर्ण नेपालीले बेलैमा चिन्न सक्नुपर्दछ । जनताले फेरि यिनीहरूप्रति विश्वास र भरोसा राख्छन् भने हामीले वास्तविक अमन चैनको अनुभूति गर्न पाउने छैनौँ । आम जनता सङ्गठित र सचेत भएको खण्डमा एक दिन त्यो समय आउनेछ । ढिलै भए पनि जनताको वास्तविक प्रजातन्त्र आउनेछ ।
आइसोलेसनको बसाइ अवधिभर आफ्नो ज्यानलाई जोखिममा राखी कोभिडको बिरामीलाई उपचारमा खट्नुहुने डाक्टर र नर्सहरू, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आएर अनुगमन गर्नुहुने टोखा नपाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, टोखा नपा वडा २ का वडा अध्यक्ष दीपकराज, सरसफाइ मजदुरलगायत सम्पूर्णमा हृदयदेखि नै आभार प्रकट गर्दछु । मलाई सम्झेर समय – समयमा फोन गर्नुहुने माया गर्नुहुने शुभचिन्तक, आफन्त र अनलाइनमार्पmत शीघ्र स्वास्थ्यलाभको शुभकामना दिनुहुने शुभचिन्तक, सहकर्मी साथीहरूप्रति हृदयदेखि नै धन्यवाद दिन चाहन्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *