भर्खरै :

चीनबाट प्राप्त स्वास्थ्य सामग्री विभिन्न जिल्लाका अस्पतालहरूमा वितरण

काठमाडौँ, २९ जेठ । नेपाल मजदुर किसान पार्टीलाई छिमेकी मित्र देश चीनको विकास र शान्तिको निम्ति चीनको संस्थाबाट जेठ १९ गते प्राप्त एक लाख थान एन ९५ मास्कमध्ये विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरूमा वितरण गरिएको छ ।
शनिबार नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले चितवनका दुई अस्पतालहरू भरतपुर अस्पताल र रत्ननगर बकुलहर अस्पताललाई एन–९५ मास्क हस्तान्तरण गर्नुभयो ।
त्यस्तै उहाँले रूपन्देही जिल्लाको लुम्बिनी प्रादेशिक अस्पतालको लागि अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालमार्फत १९२० थान र रूपन्देही जिल्लाकै भीम अस्पतालको निम्ति डा. आरिफ हुसैनमार्फत १९२० थान (एन ९५) मास्क सम्बन्धित अस्पताल पुगेर हस्तान्तरण गर्नुभयो ।

चीनबाट प्राप्त स्वास्थ्य सामग्री कोभिड–१९ यो महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गर्नुहुने उपत्यका बाहिरका स्वास्थ्यकर्मीहरूलाई समेत उपलब्ध गराउने पार्टीको निर्णयअनुसार सो मास्क हस्तान्तरण गरेको बताउनुभयो ।
नेमकिपाले देश र जनताको पक्षमा निःस्वार्थरूपले काम गर्दै आएको बताउँदै उहाँले मित्र देश कोभिड–१९ महामारीको सङ्कटमा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको चिकपालाई धन्यवाद दिनुभयो ।
सचिव सुवालले यो सङ्कटको समयमा सबै देशवासी मिलेर कोभिडविरुद्ध लड्नु जरुरी रहेको बताउनुभयो ।
हस्तान्तरणको क्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले जनताको सेवा गर्ने मुख्य थलो जिल्लाका अस्पतालहरूमा नेमकिपाले स्वास्थ्य सामग्री वितरण गरेकोमा आभार व्यक्त गर्नुभयो र अन्य पार्टीको लागि पनि नेमकिपाको कदम अनुकरणीय रहेको बताउनुभयो ।
बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले निमुखा जनताको सेवा गर्दै अगाडि बढेको नेमकिपाले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो र रत्ननगर अस्पताल विकासको निम्ति पनि आवाज उठाइदिन आग्रह गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु. राजेन्द्रप्रसाद खनालले जनताको सेवामा लाग्नुहुने स्वास्थ्यकर्मीको लागि नेमकिपाले मास्क वितरण गरी सहयोग गरेको उल्लेखनीय भएको बताउनुभयो भने भीम अस्पताल सिद्धार्थ नगर रूपन्देहीका कोरोना फोकल पर्सन डा. आरिफ हुसैनले पनि स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा नेमकिपालाई धन्यवाद व्यक्त गर्नुभयो ।
चितवन जिल्लाको भरतपुर अस्पतालको लागि अस्पतालको विकास समितिका अध्यक्ष भोजराज अधिकारीलाई २८८० थान, चितवन जिल्लाकै बकुलहर रत्ननगर अस्पतालको लागि सो अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यलाई ९६० थान मास्क हस्तान्तरण गरिएको थियो ।
यसैगरी नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांको नेतृत्वमा गएको एक टोलीले विराटनगरस्थित कोसी सङ्घीय अस्पताललाई ४ हजार थान एन ९५ मास्क हस्तान्तरण गरेको छ । त्यस्तै सिरहा, धनुषा, बारा, रौतहटका जिल्ला अस्पताललाई २–२ हजार मास्क वितरण गरिएको छ । त्यस्तै गौर अस्पताललाई ३ हजार वटा मास्क वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *