भर्खरै :

मलाइ सास फेर्न गा¥हो भयो, छोरा

हरि साहुको चिया पसलमा चियाको चुस्कि लिँदै साथीहरू देश विदेशको राजनैतिक, सामाजिक, आर्थिक अनेक गफ गर्छन् । शब्दको अर्को अर्थ नलागेमा उनको चिया पसल विचार विमर्श गर्ने एउटा थलोको रूपमा लिए पनि अत्तिशयोक्ति नहोला । त्यसैले साथीहरू चिया खानुमा भन्दा गफ गर्न र सुन्नमा बढी रमाइलो मान्छन् । घरमा चिया खाए पनि विजय रोचक र ज्ञानवद्र्धक कुरा सुन्नको लागि पसलमा चिया खान जाने गथ्र्यो ।
अदालतमा बहस सुरु भएजस्तै पसलमा चिया पिउँदै बहस सुरु हुनथाल्यो । सुजनले चिया गिलास हातमा लिँदै भने, “शेरबहादुर प्रधानमन्त्री हुन्छ भनेर हल्ला थियो, फेरि केपी ओली नै भयो है ।” त्यसैमा कुरा थप्दै विनयले भने, “भइहाल्छ नि ! संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन नसकेपछि त धारा ७६ को उपधारा ३ बमोजिम संसदमा ठुलो दलको हैसियतले केपी ओली नै हुन्छ नि त्यो त…। ”
संविधानको धारा उपधाराको लामो बहस सुन्दासुन्दै विजयको धैर्यको बाँध टुट्यो । आफ्नो पीडा पोखे, “प्रधानमन्त्री शेरबहादुर होस् या केपी ओली ! हामीजस्ता सर्वसाधारण जनताको लागि के नै फरक पर्छ र । जुन जोगी आए पनि कानै चिरेका ! कोरोना सङ्क्रमित बिरामीहरू अक्सिजन नपाएर अस्पतालमा छटपटिरहेका छन् । कोही बिरामी आइसीयू नपाएर तड्पिरहेका छन् । कोही भेन्टिलेटरको अभावले मृत्युसँग लड्दालड्दै पराजित भएको दृश्य मेरै आँखाले देखे । दैनिक हजारौँ सङ्ख्यामा सङ्क्रमित बढिरहेकोले अस्पतालमा बिरामीको चाप बढ्दै गयो । प्रायः कोभिड सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने भएकोले अस्पतालमा अक्सिजनको अभाव भएको सूचना चिकित्सकले सम्प्रेषण गरे । बुबाको अक्सिजन सकिन लागेको खबर डाक्टरलाई दिँदा डाक्टरले अक्सिजन सकियो, अक्सिजनको व्यवस्था आफै गर्नुपर्ने भयो है भाइ भन्ने जवाफ सुन्दा म छानाबाट खसेझैँ भएँ । बुबालाई सास फेर्न गा¥हो हुनथाल्यो । अस्पतालमा म एक्लै कस्तो फसाद ! घरमा फोन गरेँ । आफन्तहरूलाई गरेँ । साथीहरूसँग पनि अनुनय विनय गरेँ । अक्सिजनको लागि छोराछोरीले दौड्धुप गरे । आफन्तहरू यताउता भौँतारिए । साथीहरूले पनि प्रयास गरे । मैले सबैलाई अक्सिजन हत्तारै भयो भनेर निरन्तर फोन गरिरहेँ । सबैको अनवरत प्रयासबाट पनि अक्सिजन उपलब्ध भएन । बुबाले मेरो हात समाएर भन्नुभयो, “विजय, मलाई सास फेर्न गा¥हो भयो । छिट्टै अक्सिजन ल्याऊ, छोरा ! मलाई गाह्रो भयो भन्दाभन्दै मेरै सामिप्यमै बुबाले प्राण त्याग गर्नुभयो । अझै मेरो मानसपटलबाट मैले त्यो अस्पतालको शय्याको दृश्य बिर्सन सकेको छैन । मेरो कानमा “विजय, मलाई सास फेर्न गाह्रो भयो, छोरा…. ।” करुणामय वाक्य गुञ्जिरहेको छ । विजयको हृदयस्पर्शी घटना सुनेर केही क्षण पसलको वातावरण स्तब्ध भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *