भर्खरै :

बाग्मती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौँडा, २९ जेठ । बाग्मती प्रदेशसभाको शनिबार बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । नेपाल मजदुर किसान पार्टीले प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको थियो । शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले संशोधन तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
नेमकिपाको तर्फबाट प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा एउटा बालोद्यान तथा शिशुस्याहार केन्द्र स्थापना गर्नुपर्ने, स्थानीय पालिकाद्वारा सञ्चालित अस्पताललाई सवलीकृत गर्न भौतिक, प्राविधिक तथा मानव संशोधन उपलब्ध गराउनुपर्ने संशोधन राख्नुभएको थियो । त्यस्तै सवल तथा पूर्वाधार सम्पन्न पालिकालाई विश्वविद्यालय सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराई शिक्षा क्षेत्रमा प्रदेशलाई अगाडि बढाउनुपर्ने संशोधन नेमकिपाको थियो ।
सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राख्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका ज्येष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गर्नुभएको थियो । बाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *