भर्खरै :

कुन पूर्व प्रमले बाह्य हस्तक्षेपको विरोध गरेका छन् ?

विदेशी दबाब र उठबसमा सरकार चलाइसकेका पाँच पूर्वप्रधानमन्त्रीले नेपालको विषयमा नेपालले नै निर्णय गर्नुपर्ने संयुक्त विज्ञप्ति जारी गरी आफूहरूलाई देशभक्तको परिचय दिने प्रयास गरे । ती नेताहरूले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेलमा नफस्न ओली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई मार्ग निर्देश गरे या पाठ सिकाए । विदेशी शक्ति राष्ट्रको दबाबमा परेर, उनीहरूको उठबसमा रहेर सरकारको नेतृत्व गरेका ती नेताहरू आफूलाई प्रजातन्त्रवादी, क्रान्तिकारी, सच्चा कम्युनिस्ट दाबी गर्छन् । तर, तिनीहरू पुँजीवादी राजनीति गर्छन्, पुँजीपति वर्गको सेवा गर्छन् र कामदार जनताको सेवा भुल्छन् । सरकारमा नहुञ्जेल आफूलाई कम्युनिस्ट, जनवादी, प्रजातन्त्रवादी ठान्छन् र सरकारमा पुगेपछि दलगत र व्यक्तिगत स्वार्थमा लागेर सिद्धान्त र विचार छोडी विदेशी शक्ति राष्ट्रकै पछि लाग्छन् ।
संसारका दर्जनौँ मुलुकमा साम्राज्यवादी अमेरिकाको हस्तक्षेप भइरहेको छ । पाँच महादेशमा संयुक्त राज्य अमेरिकी सेना र हतियार तैनाथ गरिएको छ । विध्वंसात्मक हतियार प्रयोग गरेरै अमेरिकाले दर्जनौँ देशमा आक्रमण गरेको छ । अरू स्वाधीन र सार्वभौम मुलुकका राष्ट्र प्रमुखको हत्या गराउने, फाँसी दिलाउने, सत्ताच्युत गराउने र आक्रमण गरेर खरानी पार्ने काम अमेरिकाले गरिरहेको यथार्थ हो । कैयौँ पटक पृथ्वी ध्वस्त गर्ने हतियार अमेरिकासँग छ । यसरी विश्वका मुलुकमा सेना तैनाथ गर्ने, आक्रमण गर्ने, तर्साउने मुलुक अमेरिका र आतङ्कित पार्ने भारतको गतिविधिको विरोध गर्ने तागत हाम्रा पूर्वप्रधानमन्त्रीहरूमा छैन । तिनै प्रधानमन्त्रीहरू वर्तमान प्रम ओलीलाई विदेशी चलखेलमा नबस्न पाठ सिकाउँछन् । अतः सबभन्दा पहिले आफू नै सच्चिनुपर्छ ।
साम्राज्यवाद र विस्तारवादको विरोध गर्नुपर्ने कम्युनिस्ट भनाउँदा ती नेताहरू समाजवादको बाटोमा अग्रसर, समाजवादी सिद्धान्तअनुसार अघि बढेका समाजवादी देशहरूको विरोध गर्न पछि पर्दैनन् । नेता माधवकुमार नेपाल प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको खुब विरोध गर्छन्, त्यहाँको शासन शैली मनपराउँदैनन् । संसारकै सबभन्दा शक्तिशाली साम्राज्यवादी अमेरिकाको विरोध गर्ने प्रजग कोरिया र क्युवाको किन उनीहरू प्रशंसा नगरी विरोध गर्छन् । साम्राज्यवादी नीतिको विरोध नगर्ने ती नेताहरू साम्राज्यवादविरुद्ध अलिकति पनि नडराइकन आवाज बुलन्द गर्ने देशहरूको विरोध गरेर आफूलाई कम्युनिस्ट र क्रान्तिकारी भन्न रुचाउँछन् ।
समाजवादी मुलुकले हतियार उत्पादन गरेन भने, आक्रमणको प्रत्याक्रमण गर्ने चुनौती दिएन भने समाजवादी देशहरूलाई साम्राज्यवादी देशहरूले ध्वस्त पार्नेछन् । विश्वका स्वाधीन र सार्वभौम मुलुकको रक्षा गर्न या अस्तित्व जोगाउन पनि समाजवादी मुलुकले हतियार उत्पादन गर्नुपर्छ, साम्राज्यवादी र विस्तारवादी मुलुकलाई तह लगाउनुपर्छ । आफ्नो देशको रक्षा गर्न पनि प्रजग कोरियाको निम्ति क्षेप्यास्त्र प्रक्षेपणको आवश्यकता छ, हाइड्रोजन बमको परीक्षणको आवश्यकता छ । प्रजग कोरियाको आकाशमा अहिले पनि युद्धको कालो बादल छाइरहेको छ । नरसंहारकारी हतियार उत्पादन गर्ने देश अमेरिकाको हाँक, धाक र धम्की रोक्न पनि समाजवादी मुलुकले हतियार उत्पादन गर्नु गलत होइन । प्रजग कोरियाले गरेको त्यो प्रगति हाम्रो देशका पूर्वप्रधानमन्त्री तथा नेताहरू मनपराउँदैनन् । यस्ता नेता र प्रधानमन्त्रीहरू पनि देशभक्त हुन्छन् ?
बाह्य शक्तिको हस्तक्षेप र चलखेलदेखि सावधान हुन आग्रह गर्ने पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्ति व्यक्तिगत निर्णय हो कि पार्टीको निर्णय हो ? पार्टीका जिम्मेवार वरिष्ठ नेता र सभापति या अध्यक्ष भएका पूर्वप्रमहरूले उक्त निर्णय गर्नुअघि पार्टीको परामर्श लिएको छ कि छैन ? व्यक्तिगत निर्णय गर्नुभन्दा पार्टीले नै निर्णय गरेको भए जाती हुन्थ्यो नि ¤ पार्टीको परामर्श या निर्णयबिना वरिष्ठ नेताहरूले प्रमको पद जोडेर व्यक्तिगत निर्णय गर्नु के उचित हो ? एक समय माओवादी नेता पुष्पकमल दाहालले स्वदेशी नेताहरूसँग भन्दा विदेशी नेता (प्रभु) हरूसँगै बातचित गर्नु बुद्धिमानी हुन्छ भनेर काठमाडौँको एक ठुलो जनसभामा व्यक्त गरेको कुरा बिर्सिसके ? नेपालको विषयमा नेपालले नै निर्णय गर्नुपर्छ भनेको के यही हो ? समाजवाद र कामदार जनताको निम्ति लड्ने प्रजगको विरोध गर्ने तीनै नेताहरू कसरी कम्युनिस्ट हुन्छन्, कसरी क्रान्तिकारी हुन्छन् ? प्रजग कोरियालाई दिनरात घेरामा पार्ने, नाकाबन्दी गरेर देशको अर्थतन्त्र ध्वस्त पार्न दुष्प्रयास गर्ने साम्राज्यवादी अमेरिकी धम्कीको कारण प्रजग कोरियाले बाध्य भएर क्षेप्यास्त्र र हाइड्रोजन बम परीक्षण गरेको हो । समाजवादी सिद्धान्त र विचारलाई व्यवहारमा लगिरहेको देशको विरोध गर्ने ती नेताहरू सच्चा कम्युनिस्ट हुन् कि नक्कली ? कोट्याइरहनु जरुरी छैन ।
नेपालको विषयमा नेपालले नै निर्णय गर्ने हो, विदेशी हस्तक्षेप अस्वीकार गर्ने हो भने, देशको स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्ने हो भने कम्युनिस्टको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्नुपर्छ, सिद्धान्त र विचारको बखान गरेर अरू देशमा हस्तक्षेप, आक्रमण गर्ने विदेशी शक्ति राष्ट्र देशहरूको पछि किन उनीहरू लागेका हुन् ? ‘जनयुद्ध’ छेड्ने बाबुराम भट्टराई अहिले कुन ठाउँमा छन्, कुन विचारबाट निर्देशित भएर कसको पक्षमा राजनीति गरिरहेका छन् ? सबैले हेक्का राख्नुपर्छ । नेपालको माया भएका नेताहरूले साम्राज्यवादी र विस्तारवादी नीतिको विरोधमा मात्र होइन समाजवादी सिद्धान्त अघि बढाउन, जनतालाई सुसूचित पार्न खोइ के अभिमान थालेका छन् ? सीमा अतिक्रमणको समेत बोल्न डराउने या आँट नगर्ने ती पूर्वप्रमहरू कसरी देशभक्त हुन्छन् ? ती नेताहरूले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई आत्मनिर्भर बनाउने, देशका सरकारी उद्योग, कलकारखाना तथा सङ्घ संस्थाहरू सञ्चालन गर्न के भूमिका निर्वाह गरे ?
नेपालको विषयमा नेपालले नै निर्णय गर्नुपर्छ भनी अरूलाई सन्देश बाँड्ने नेताहरू नेपाल र नेपालीको अहितमा रहेको एमसीसी सम्झौता पारित गर्न एउटा विदेशी कम्पनीको सर्त जस्ताको तस्तै पालना गर्न शेरबहादुरजस्ता नेताहरू किन अघि सरिरहेका हुन् ? नेपाल र नेपालीको हितमा माग गरेको देखाउने लोकाचारी नेता र पूर्वप्रधानमन्त्रीहरू बहुमत जनताको हित हुने राजनीति किन गर्दैनन्, उनीहरूको पक्षमा किन ऐन कानुन बनाउँदैनन् ? सीमा अतिक्रमणविरुद्ध एकजुट हुन ती नेताहरूले सबैलाई किन आग्रह गरेनन् ? यस कार्यमा आ–आफ्नो दल लाग्न किन उत्प्रेरित गरेनन् ? देशमा जनताको लागि आवश्यक सबै आधारभूत कुरा पूर्ति गर्न, जनतालाई केन्द्रबिन्दु बनाएर कलकारखाना खोल्नेतर्फ के ती नेताहरूको ध्यान गएको छ ? आफ्नो देशलाई थिचे पनि, मिचे पनि एकाधिकार कायम गर्न खोजे पनि शक्ति देशसामु चुईँक्क नबोल्ने, बोल्न थरथर काम्ने ती नेताहरूले देशको स्वतन्त्रता र सार्वभौम रक्षाको लागि के योगदान गरेका छन् ? वर्तमान प्रम ओलीको सरकार ढालेर पूर्वप्रमहरू सच्चिँदैनन्, देशभक्त हुँदैनन् । कुत्सित कार्य गर्न पछि नपर्ने, सिद्धान्तको मतलब नराख्ने उनीहरूलाई ओली सरकार ढाल्न पाए पुग्छ । त्यसैमा उनीहरू गर्व गर्न, उत्सव मनाउन, आफ्नो आन्दोलन सफल भएको ठान्न पर्खिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *