“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
संसारका धनी देशहरूमध्ये केही देशहरूको सङ्गठन जी ७ को शिखर बैठक यो वर्ष बेलायतमा बसेको थियो । कोभिड–१९ महामारीको कारण दुई वर्षदेखि जी ७ का नेताहरू सशरीर भेटेका थिएनन् । यो वर्षको बैठकमा सबै नेताहरू सशरीर सहभागी बने । तर, बितेका यी दुई वर्षमा भने विश्वको परिस्थितिमा ठूलो अन्तर आइसकेको छ । यी दुई वर्षमा संसारले कोभिड–१९ को ठूलो सङ्कट सामना ग¥यो । संसारका सबै देशहरू यसबाट प्रभावित भए । विश्वको आर्थिक, सामाजिक र राजनीतिक जीवनलाई महामारीले अस्तव्यस्त बनायो । महामारीमाथि पूर्ण विजय नहुँदासम्म कुनै पनि देशले पूर्ण गतिमा आर्थिक विकासको दौडमा लाग्न सक्ने अवस्था छैन । त्यसकारण जी ७ को बैठकमा महामारी नियन्त्रणबारे छलफल हुनु स्वाभाविक थियो । विडम्बना ¤ संसारका सबभन्दा धनी कहलिएका देशहरूको बैठकले कोभिड–१९ महामारीलाई पूर्णतः निर्मूलन गर्न फराकिलो निर्णय भने गर्न सकेन । आफ्नो लागि आवश्यकताभन्दा बढी खोप सञ्चय गरिसकेका धनी पुँजीवादी देशहरूले आगामी वर्ष सन् २०२२ को अन्त्यसम्ममा एक अर्ब खोप न्यून विकसित देशलाई दिने निर्णय गरेको छ । महामारीको कारण दैनिक हजारौं हजार मानिसले जीवन गुमाइरहेको परिस्थितिमा आफ्नो लागि सञ्चय गरेका आवश्यकताभन्दा बढी खोप तत्काल वितरण गर्ने निर्णय गर्नुको सट्टा उनीहरूले एक वर्षभन्दा लामो समयको म्याद तोकेको छ । यसबाट ती देशहरू महामारी नियन्त्रणमा अझै पनि गम्भीर नभएको प्रस्ट हुन्छ ।
दोस्रो विश्व युद्धपछि संरा अमेरिकाले ब्रटिन उडमा एउटा सम्मेलनको आयोजना गरी युद्धमा ध्वस्तप्रायः बनेका देश र भर्खर उपनिवेशवादबाट मुक्त भएका देशलाई कर्जा सहायता दिन बहुराष्ट्रिय आर्थिक संस्थाहरू बनाएको थियो । विश्व व्यापार सङ्गठन, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता वित्तीय निकाय स्थापना गरी संरा अमेरिकी नेतृत्वमा पश्चिमा पुँजीवादी देशहरूले संसारका धेरै देशमा आफ्नो आर्थिक प्रभुत्व विस्तार गरेका थिए । उनीहरूको मुख्य उद्देश्य तत्कालीन सोभियत समाजवादको उदयलाई रोक्नु र संसारमा शोषणमूलक व्यवस्था दिगो बनाउनु थियो । सोभियत सङ्घको अस्थायी हारपछि उनीहरू एक अर्थमा आफ्नो लक्ष्यमा सफल भए । तर, समाजवादलाई जरैदेखि सिध्याउने लक्ष्यमा भने उनीहरू असफल रहे ।
आज पश्चिमा शक्तिहरूको निम्ति चीन ‘अर्को सोभियत सङ्घ’ बनेर उदाएको छ । जी ७ को बैठकमा यसपटकको मुख्य मुद्दा नै चीनको उदयलाई कसरी रोक्नेमात्र होइन, कसरी पछार्ने भन्ने थियो । सन्काहा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कारण केही समय अस्तव्यस्त, विभाजित र अन्योलमा फसेको जी ७ मा यसपालि नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी बने । बाइडेन ट्रम्पजस्ता रुखा त छैनन् तर संसारलाई नाफामुखी र शोषणमूलक बनाउने सन्दर्भमा उनीहरूको नीति र सिद्धान्तमा कुनै भिन्नता छैन । महामारी सामनाको निम्ति एउटा उदाउँदो शक्ति चीनलाई पनि सामेल गरी एकजुट भएर अघि बढ्नुपर्ने परिस्थितिमा जी ७ को बैठकमा चीन र रुसलाई निषेधमात्र गरिएन, बरु उनीहरूलाई असफल बनाउने प्रपञ्च पनि बुनियो ।
जी ७ का नेताहरूले नचाहेर पनि आजको विश्व परिवर्तन भइसकेको छ । अब जी ७ देशहरूको प्रभुत्व र हैकम संसारमा चल्ने स्थिति छैन । उनीहरूसँग प्रतिस्पर्धा गर्नेमात्र होइन, बरु उनीहरूलाई धेरै क्षेत्रमा उछिन्न सक्ने देशहरू पनि संसारमा उदाइरहेका छन् । हिजोका आफ्ना उपनिवेश देशहरूको आजको यो प्रगतिलाई जी ७ देशहरूले सहजरूपमा लिन नसके पनि संसारको आजको यथार्थ यही हो । उनीहरूले यसलाई स्वीकार्नुको अर्को विकल्प नै छैन ।
जी ७ बैठक कर्मकाण्डी बैठकमा सीमित भएको पर्यवेक्षकहरूको भनाइ त्यसअर्थमा सही छ । हेर्दा भयानक भए पनि जी ७ आजको संसारको लागि कागजी बाघजस्तै भएको छ ।
Leave a Reply