स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सत्तारूढ दल एमालेको विवाद जनतालाई अल्मल्याउने बाटो भएको स्पष्ट भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमको विरोध भन्दै माधव – झलनाथ समूह नेपाली काङ्गे्रससँगै आन्दोलनरत छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेर आफ्ना सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका उनीहरूका आफ्नै समूहका नेताहरू बागमती प्रदेशमा भने मुख्यमन्त्री डोरमणी पौडेलको बचाउनमा लागे । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध गरे पनि एमालेका ५७ जना सांसदहरू नै एकै ठाउँमा उभिएर पारित गरे । यसभन्दा अगाडि मुख्यमन्त्री पौडेललाई हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव–झलनाथ समूहले प्रस्ताव फिर्ता लिएका थिए । बागमती प्रदेशससँगै गण्डकी र प्रदेश १ मा पनि एक भएर नीति तथा कार्यक्रम पारित गरेका छन् ।
नेकपा विभाजनपछि माओवादीले नेतृत्व गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार गठन गर्ने प्रयास भएको थियो । एमालेकै माधव–झलनाथ समूहका सांसदहरूले माओवादीको सत्ता जोगाउन ‘फ्लोर क्रस’ गरे । राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत नदिई बागमती प्रदेशमा स्वतन्त्रलाई र लुम्बिनीमा नेपाली काङ्गे्रसका उम्मेदवारलाई माधव–झलनाथ समूहले मत दिए ।
माधव–झलनाथ समूहको यो द्वैध चरित्र पदकै लागि भएको स्पष्ट हुन्छ । दुईतिहाइको सरकार हुँदा पनि जनताका लागि केही नगरेका एमाले र माओवादीले झगडाको नाटक गरेर जनतालाई झुक्याइरहेका छन् । नौ–नौ महिनाको अस्थिर सरकारले देशको विकास नभएको भनी स्थिर सरकारको नारा दिएर चुनावी मोर्चामा लागेका एमाले र माओवादीले दुईतिहाइ बहुमत पाए पनि नेताहरूको स्वार्थकै कारण सरकार अस्थिर भयो । तीन वर्ष तीन महिनामा प्रम ओलीले आफ्नो सत्ता जोगाउन १६ पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । ओलीले सरकारबाट माओवादी बाहिरिएपनि राजपाको महन्थ समूहलाई च्यापेर अहिले सरकार टिकाइरहेका छन् ।
शासक दलहरूले साना दलले सरकार गठन पुनर्गठनमा भूमिका खेल्यो भनी संविधान र कानुनविपरीतको मत सीमा (थे्रस होल्ड) ल्याए । प्रजातन्त्र विपरीतको मत सीमा झूटा हो भन्ने आज प्रस्ट भएको छ । ‘गुन्डा नाइके’ को छवि बनाएका गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई एमालेले आफ्नो सरकार जोगाउन २ पटक मन्त्री बनायो । मन्त्री नपाएको झोकमा कित्ता परिवर्तन गरी नेपाली काङ्गे्रसको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा ‘मनाङे’ सामेल भए । सरकार टिकाउनकै लागि ओलीले श्रीमान् श्रीमतीलाई पालैपालो मन्त्री बनाए । पार्टी परिवर्तन गरेपछि प्रदेशसभा सदस्यबाट हटाइएकालाई समेत मन्त्री बनाएको हुँदा मतदाताले मतको अपमान भएको महसुस गरेका छन् ।
विभिन्न दलका नेता सम्मिलित जसपामा पनि सत्तामा जानकै लागि झगडा भइरहेको स्पष्ट छ । आफ्नो माग पूरा भएको भन्दै ओली सरकारमा महन्थ ठाकुर समूह मन्त्री खान गए । उपेन्द्र यादव समूह ओली सरकार ढालेर देउवाको नेतृत्वमा बन्ने सरकारमा मन्त्री खान खुट्टा उचालिरहेका छन् । एक पटक होइन पटक – पटक सरकारको नेतृत्व गरेकाहरूले देश र जनताको लागि केही गरेनन् । राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकारको नारा दिएर फेरि सरकारको नेतृत्व गर्छु भनी जनतालाई झुक्याउन खोजिरहेका छन् ।
सरकार चलाउन र टिकाउनका लागि गुन्डा, डन, भ्रष्टाचारी, माफिया आदिको सहारा लिनु विडम्बना हो । सरकारमा गएका पार्टीहरूको यस्ता गतिविधिले ‘नाङ्गा नाचे हजार दाउ’ भन्ने उखान चरितार्थ भएको छ । देश र जनताको हितमा काम नगर्ने यस्ता पार्टीलाई आउँदो चुनावमा बहिष्कार गर्नु समयको माग हो ।
Leave a Reply