भर्खरै :

लेनिनका जीवनका पानाहरू– २० / लेनिनको हत्या प्रयास (३० अगष्ट, १९१८)

सन् १९१८ को गर्मीयाममा हस्तक्षेपकारी विदेशी फौजहरूले, जसलाई रूसी सेता गार्डहरूको सहायता थियो, सोभियत रूसको तीन–चौथाइ क्षेत्रमा कब्जा गरेका थिए । अगष्टको महिना आउँदा नआउँदै देश लडाइँका मोर्चाहरू जलिरहेको घेराभित्र घेरिसकेको थियो । ती चिन्ताग्रस्त दिनहरूमा देशी र विदेशी दुवै किसिमका प्रतिक्रान्तिहरूले सोभियत सत्ताप्रति आफ्नो कट्टर घृणाको कारण, क्रान्तिलाई नेताविहीन बनाइदिने र यसरी त्यसलाई असफल तुल्याउने षडयन्त्र रचे र सोभियत जनतन्त्रका नेताहरूविरूद्ध आतङ्कवादी कामहरू गरे ।
पेत्रोग्रादका असाधारण आयोगका अध्यक्ष मो.सो.उरीत्स्की, जसलाई प्रतिक्रान्तिविरूद्ध लड्ने अधिकार दिइएको थियो, ३० अगष्टको बिहानै पेत्रोग्रादमा मारिए । यो समाचार मस्को पुग्ने बित्तिकै अखिल रूसी असाधारण आयोगका अध्यक्ष फे.ए.दजेर्जीन्स्की पेत्रोग्रादतर्फ हानिए ।
त्यसैदिन साँझ मस्कोमा लेनिनको हत्याको प्रयत्न गरियो ।
१९१८ को गर्मीका दिनमा मस्को पार्टी समितिले हरेक शुक्रबार राती मिल र कारखानाहरूमा सभाहरू आयोजना गथ्र्याे । जसमा लेनिनले प्रायः भाषण गर्नुहुन्थ्यो । २८ अगष्टमा लेनिनको कार्यक्रममा दुईवटा काम समावेश थिए : एउटा मस्कोको वास्मान्नी जिल्लामा (जसको नाम अहिले बाउमन जिल्ला राखिएको छ) अन्न–मण्डी भवनमा र अर्को जामोस्क्वोरेच्ये जिल्लामा पुरानो मिखेल्सन कारखाना (जसको नाम पछि भ्लादीमिर इल्यीच कारखाना राखियो) मा हुने सभाहरूमा भाषण दिने । उरीत्स्कीको हत्यालाई ध्यानमा राख्दै मस्को समितिले लेनिनको भाषण कार्यक्रम रद्द ग¥यो । तर, पनि लेनिन सभाहरूमा जानुभयो । वासमन्नी जिल्लामा भाषण गरेपछि उहाँ तुरुन्त पुरानो मिखेल्सन कारखानातिर लाग्नुभयो । यस कारखानाको हथगोला–वर्कशपमा भएको त्यस सभामा मानिसहरू ठुलो सङ्ख्यामा उपस्थित थिए । भाषणको विषय थियो ः “दुई सत्ताहरू (सर्वहारा वर्गको अधिनायकत्व र पुँजीपति वर्गको अधिनायकत्व)” । लेनिनले मजदुरहरूलाई आह्वान गर्नुभयो कि प्रतिक्रान्तिका ती शक्तिहरूलाई पराजित गर्नको निमित्त आफ्नो सारा शक्ति सङ्गठित गरौँ, जुन स्वतन्त्रता र समानताको नाराको आडमा वस्तुतः सयौँ–हजारौँ मजदुर र किसानहरूलाई गोलीले उडाइरहेको छ । उहाँले आफ्ना भाषण समाप्त गर्दै भन्नुभयो, “हाम्रो मुक्तको एउटै मार्ग छ विजय वा मृत्यु !”
सभा समाप्त भएपछि लेनिन वर्कसपबाट निस्किएर बाहिर आउनुभयो । त्यसैबेला काप्लान नाम गरेकी एकजना आतङ्कवादी स्त्रीले उहाँलाई नराम्ररी घाइते बनाई । उसले दक्षिणपन्थी समाजवादी–प्रतिक्रान्तिहरूको पार्टीको केन्द्रीय समितिको आदेशमा लेनिनमाथि गोली चलाएकी थिई । उसले लेनिनमाथि तीन गोली चलाई । दुईवटा गोलीले उहाँलाई घाइते बनाए र तेस्रो गोलीले पिँठ्युमा मात्र तर उहाँको ओभरकोटलाई प्वाल पा¥यो । यो यही ओभरकोट थियो, जुन लेनिनले उहाँ अप्रिल १९१७ मा उत्प्रवासबाट रूस फर्किदा लगाउनुभएको थियो र त्यसलाई उहाँले जीवित रहँदासम्म लगाइरहनुभयो । गोलीहरूले त्यसमाथि स्थायी निशाना छोडेका थिए ।
त्यस समय जनकमिसार परिषद्का सदस्य आफ्नो नियमित बैठकका लागि जम्मा भएका थिए । बैठक लेनिनको व्यस्ततालाई ध्यानमा राखी साढे ८ बजेको सट्टा ९ बजे राखिएको थियो । जब ठीक ९ बजे लेनिन उपस्थित हुनुभएन, तब हरेक मानिसहरूले पिर गर्न थाले । हरेक बितेका मिनेटहरूसँग सन्देह बढ्दै गयो । त्यसैबेला अकस्मात् लेनिनलाई घाइते अवस्थामा घर ल्याइएको छ भन्ने खबर आयो । एक अदम्य शक्तिले हामीलाई उहाँतर्फ तानेर लग्यो । उहाँको घरको ढोका, जुन साधारणतः बन्द हुन्थ्यो, पूर्णरूपमा खोलिएको थियो । पालेले झ्यालछेउ एकोहोरो टोलाएर हेरिरहेको थियो । म जनकमिसार परिषद्का सदस्यहरूको पछिपछि दगुर्दै उहाँको घरमा पुगेँ । लेनिन आफ्नो पलङमा पल्टिनुभएको थियो र जोड–जोडसँग कराइरहनुभएको थियो । उहाँले खतरा महसुस गर्नुभएकै थिएन, उहाँलाई मात्र घाइते हातमा पीडा महसुस भइरहेको थियो । तर त्यो घाउ अर्को थियो, जसबाट उहाँको जीवनलाई खतरा थियो ।
लेनिनलाई विस्फोटक, विषयुक्त गोली हानिएको थियो । अप्रिल १९२२ मा जब अपरेसन गरेर त्यो गोलीलाई निकालियो, जुन उहाँको घाँटीको हड्डीछेउ घुसेको थियो, तब यो पत्ता लाग्यो कि त्यसमा एउटा छेउबाट अर्को छेउसम्म गहिरो रेखा खोपिएको थियो । समाजवादी–क्रान्तिकारीहरूको अभियोगमा १९२२ को गर्मीमा भएको जाँचबाट लेनिनलाई गोली हान्ने आतङ्कवादी काप्लानले चलाएको गोलीमा कुरारे नामक विष भरिएको पुष्टि भयो । मा.इ.उल्यानोभले ‘तीन गोलीहरू’ नामक आफ्नो संस्मरणमा लेखेकी छन्, “यो अति संयोगको कुरा थियो कि उहाँ हाम्रो लागि बाँच्नुभयो । विस्फोट गोली विस्फोट भएन । कुनै अज्ञात कारणहरूले विषको तागत क्षीण भयो ।”
प्रस्तुति : आरम्भ
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *