भर्खरै :

खोपमा सरकारको कूटनीतिक असफलता

सरकारले विभिन्न देशबाट कोभिड–१९ प्रतिरोधी खोप ल्याउन गरेका प्रयास निरर्थक बन्दै गएको देखियो । भारतमा रकम भुक्तानी भइसकेको दस लाख खोप सरकारले ल्याउन सकेन । आफूले सीधै खोप दिने देशको नामावलीमा संरा अमेरिकाले नेपालको नाम समावेश गरेन । रुसबाट खोप ल्याउन गरिएको प्रयास पनि प्रचारबाजीमै सीमित भएको देखियो । चीनले हालसम्म अठार लाख खोप दिइसकेको छ । थप चालीस लाख खोपको लागि सरकारले गरेको प्रयास पनि सरकारी अधिकारीहरूको कूटनीतिक अपरिपक्वताको कारण धरापमा परेको देखिँदै छ । बेलायतबाट खोप ल्याउन प्रधानमन्त्रीले बेलायती पत्रिकामा लेखेको लेखको मसी पनि खेर गएजस्तो देखिँदै छ । यसप्रकार खोप ल्याउन सरकारले गरेका प्रयासहरू निरर्थक बनेका छन् । यो सरकारको कूटनीतिक असफलता हो । कूटनीतिक क्षेत्रमा लामो समयदेखि भइरहेको खेलबाड र भागबन्डाको परिणाम यतिबेला देश र नेपाली जनताले भोगिरहेका छन् ।
कोभिड–१९ सुरु भएयता स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तीन जना व्यक्ति पुगे । मङ्गलबार सर्वोच्च अदालतले गरेको फैसलाले हालका स्वास्थ्यमन्त्रीको पद पनि खुस्कियो । अर्थात् महामारीकालमा स्वास्थ्य मन्त्रालय सम्हाल्नेको सङ्ख्या एक थपिने भयो । परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा खोप र स्वास्थ्य सामग्री ल्याउन जटिल बनेको सङ्केत विभिन्न अभिव्यक्ति र घटनाक्रमबाट देखिएका छन् ।
कूटनीतिक सम्बन्ध केटाकेटीको खेल कदापि होइन । कूटनीतिले हुनसक्ने युद्ध रोक्ने र नहुने युद्ध चर्किन भूमिका खेल्न सक्छ । त्यसकारण, अन्तर्राष्ट्रिय सम्बन्धमा कुटनीतिक दक्षता र परिपक्वताको ठुलो महत्व हुन्छ । विडम्बना ! नेपालका शासकहरूले कूटनीतिक क्षेत्रलाई सधैँ आफ्ना नजिकका मान्छेको भर्ती केन्द्रमात्र बनाए । कुटनीतिक क्षेत्रलाई आफ्नो सेवा गरेबापत बकस दिने क्षेत्रको रूपमा मात्र बुझियो । परिणामतः अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक छवि उकासिन पाएन ।
ओली सरकारको प्रारम्भिक महिनामा काठमाडौँमा आयोजित केही अन्तर्राष्ट्रिय सम्मेलन र विदेश भ्रमणकै आधारमा सरकारका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि उँचो बनाउन ओली सफल भएको भनी गौरव पोखेका थिए । तर, देशलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो परेको बेला त्यो ‘गौरव’ कति पनि सार्थक बन्न सकेन । खोप ल्याउन सरकारले गरेका प्रयासको असफलताले यो कुरा घाम जत्तिकै छर्लङ्ग बनाएको छ ।
कूटनीतिक सम्बन्ध राष्ट्रिय हित पूरा गर्ने दबु हो । कूटनीतिक व्यवहारमा राष्ट्रिय राजनीतिको प्रतिबिम्ब पनि परेको हुन्छ । एमाले र माओवादीबीच भागबन्डामा नियुक्ति गरेका राजदुतहरूबाट राष्ट्रिय राजनीतिमा आएको विभाजन र कलहलाई अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रतिबिम्बित गरेको देखियो । माओवादीको कोटामा नियुक्त भएका राजदूतले माओवादीकै नेताको सेवा गर्ने र एमालेको कोटामा गएका राजदूतहरू पनि आप्mनै गुटअनुरूपको व्यवहार गर्दा देशको कूटनीतिक व्यवहार प्रभावित बनेको देखियो ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री र नेताहरूले खोपको विषयमा हचुवामा कुरा बाहिर ल्याउँदा काम गर्न गाह«ो भएको कुरा पत्रकारहरूलाई सुनाएका छन् । भित्र निर्णय नहुँदै हतारमा बाहिर बोल्दा त्यसको असर कूटनीतिक क्षेत्रले पनि भोग्नु परेको छ । कूटनीतिक क्षेत्रमा समदुरीको सम्बन्धको नाममा ‘यता मीठो कि उता मीठो’ पाराको अपरिपक्व व्यवहारले पनि कूटनीतिक सम्बन्धलाई समस्यामा परेको देखिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आज खोपको राजनीति भूराजनीतिकै अभिव्यक्ति हुन थालेको छ । यो संवदेनशीलतालाई सरकार र कूटनीतिक प्रतिनिधिले सजगतापूर्वक नसम्हाल्ने हो भने भूराजनीतिक तानातानमा देशले भविष्यमा थप सङ्कट सामना गर्नुपर्ने हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *