आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(यो वर्ष जून महिनामा दोस्रो विश्वयुद्धको दोस्रो मोर्चा खोलिएको ७७ औँ वर्ष र सोभियत सङ्घमाथि नाजी आक्रमणको ८० औँ वर्ष पुग्छ । यही मोर्चाको प्रकाशमा दोस्रो विश्वयुद्धलाई हेर्दा इतिहासप्रति आलोचनात्मक हुन सघाउ पुग्नेछ ।)
बेलायती र अमेरिकी नेतृत्वका सैनिकहरू ६ जून १९४४ मा उत्तर–पश्चिम फ्रान्सको नोरमेन्डीमा ओर्लिन थाले । यसैलाई दोस्रो विश्वयुद्धको ‘दोस्रो मोर्चा’ को आरम्भ भन्ने गरिन्छ । अमेरिका पक्षधर इतिहासकारहरूले नोरमेन्डीको लडाइँलाई नै दोस्रो विश्वयुद्धको ‘निर्णायक लडाइँ’ भनी प्रचार गर्छन् । बेलायतीहरूले पनि यस्तै गौरवगान गाएको पाइन्छ । यिनै दाबीलाई तथ्यको तराजुमा तौलिनु यस लेखको लक्ष्य हो ।
‘दोस्रो मोर्चा’ दुई वर्षअघि खोलिएको हुन्थ्यो भने दोस्रो विश्वयुद्धमा केही लाख मानिसको मात्र मृत्यु हुने थियो । यस्तो दाबी गर्ने इतिहासकारहरू पनि छन् । ‘दोस्रो मोर्चा’ नखोल्नाले नै त्यस युद्धमा पूर्वी युरोपेली देशका करोडौँ करोड निर्दोष जनताले ज्यान गुमाउनुप¥यो, ठूलो धनसम्पदाको क्षति भयो । हिटलरलाई बेलैमा तह नलगाउँदा वैज्ञानिकहरूले आणविक अस्त्र बनाउने आवश्यकताबोध गरे । त्यस्तो थियो भने किन यो मोर्चा पहिले खोलिएन ? यो मोर्चा खोल्न बेलायत, अमेरिकालगायत पश्चिमा देशहरूलाई केले रोकेको थियो ? आखिरीमा यो मोर्चा कसरी खोलियो ? यो मोर्चाको महत्व केमा छ ? यी प्रश्नहरूले दोस्रो विश्वयुद्धको गाँठी कुरा बुझ्न सघाउनेछन् । बेलायत र अमेरिकी साम्राज्यवादीहरू जर्मनी (हिटलर) लाई रुससँग भिडाएर आफू जोगिन चाहन्थे, रुसको सेनाबाट बेलायत आफ्नो क्षेत्र जोगाउन चाहन्थ्यो ।
जर्मनीलाई छुट
फासीवादी इटली र नाजीवादी जर्मनीलाई रोक्न सक्ने एउटा सशक्त गठबन्धन बनाउन सोभियत सङ्घले युद्धभन्दा अगाडिदेखि नै सम्भव सबै उपाय लगाएको थियो । बेलायत, फ्रान्स, अमेरिकाजस्ता देशहरूसँग गठबन्धन बनाउने सम्पूर्ण प्रयास विफल भएपछि २३ अगस्त १९३९ मा सोभियत सङ्घले जर्मनीसँग अनाक्रमण सन्धि ग¥यो । यद्यपि, हिटलरले आफूमाथि आक्रमण गर्नेछ भन्नेमा सोभियत सङ्घलाई कुनै किसिमको शङ्का थिएन । त्यसैले उसले भित्रभित्र प्रतिरक्षाको तयारी सुरु ग¥यो । अन्ततः सोभियत सङ्घको अनुमान सही साबित भयो । अनाक्रमण सन्धि भङ्ग गर्दै २२ जून १९४१ मा नाजी सेनाले सोभियत सङ्घमाथि हमला ग¥यो ।
सन् १९४१ डिसेम्बरभन्दा अगाडि सोभियत सङ्घले युरोपमा ‘दोस्रो मोर्चा’ खोल्न तीनपटक कुरा उठाइसकेको थियो । तर, तीनै पटक यो प्रस्तावलाई सिधै अस्वीकार गरियो । १९४१ सेप्टेम्बरमा नाजी सेनाले लेनिनग्रादमाथि हमला गर्ने तयारी गरिरहेको बेला सोभियत सङ्घले बेलायतलाई ‘दोस्रो मोर्चा’ खोल्न प्रस्ताव ग¥यो । बेलायती प्रम विन्सटन चर्चिलले सैनिक अभाव देखाएर कुनै पनि हालतमा ‘दोस्रो मोर्चा’ खोल्न नसकिने बताए । बरु बेलायतले सोभियत सङ्घलाई सैन्य सामग्री दिएर सघाउने ‘वचन’ दियो । चर्चिलले वीर लालसेनाले आगामी हिउँदसम्ममा जर्मनीको दिन सक्काइदिने भनी पत्रमा फुक्र्याएका थिए । (केही अङ्क अगाडि ‘श्रमिक’ साप्ताहिकमा यो पत्र ‘विश्वयुद्धका पत्राचारहरू’ शीर्षकमा छापिएको थियो ।) सेप्टेम्बरको बेलायती सेनाको निम्न स्थितिले चर्चिलको दुःख–देखाई जर्मनीविरुद्धको बेलायतको ‘झूटो युद्ध’ साबित गर्छ ः
बेलायतभित्रै २० लाखभन्दा बढी सैनिक थियो । १५ लाख होमगार्ड थियो । वायुसेनामा ७ लाख ५० हजार जनशक्ति थियो । जलसेनामा ५ लाख जनशक्ति थियो । सन् १९४१ मा बेलायती उद्योगले १५ हजार ट्याङ्क, हतियारबन्द गाडीहरू, झन्डै १९ हजार सानाठूला बन्दुक र २० हजारभन्दा बढी विमानहरू उत्पादन गरेको थियो ।
चर्चिलको पत्रको उत्तरमा रुसी प्रधानमन्त्री जोसेफ स्तालिनले बेलायतको यस्तो आनाकानीले जर्मनीलाई छुट प्राप्त हुने बताउनुभयो । नभन्दै सन् १९४१ को डिसेम्बरमा नाजीहरूले ३९ डिभिजन र ६ वटा अलग्गै ब्रिगेड पश्चिम युरोपबाट सोभियत सङ्घको सिमानामा ओसा¥यो । यसमध्ये १६ डिभिजन फ्रान्सबाट मात्र सारिएको थियो । फ्रान्स एक वर्षअघि नै जर्मनीको कब्जामा परिसकेको थियो । यसरी पश्चिमबाट आक्रमण हुँदैन भन्नेमा ढुक्क भएपछि जर्मनीले आफ्नो ८० प्रतिशत थल सेना सोभियत सङ्घको सिमानामा केन्द्रित ग¥योे ।
बेलायतको पछि लाग्ने ‘वचन’
सोभियत परराष्ट्रमन्त्री मोलोतोभ १९४२ को मे र जून महिनामा बेलायत र अमेरिकाको भ्रमणमा हुनुहुन्थ्यो । यस क्रममा अमेरिकासँग १९४२ भित्रै युरोपमा ‘दोस्रो मोर्चा’ खोल्ने सम्झौता भयो । यसपालि पनि बेलायतले दुःख देखायो । १८ जुलाई १९४२ को मार्सल स्तालिनलाई लेखिएको पत्रमा प्रम चर्चिलले लामो रुवाबासी गरे । मे महिनामा बेलायतदेखि सोभियत सङ्घसम्म सहयोग सामग्री लिएर जाने जहाजमा जर्मनीले आक्रमण गरेको थियो । यस हमलाबाट अतालिएका चर्चिलले यस्तै आक्रमण जर्मनीले आन्ध्र महासागरतिर पनि गरेमा आफ्नो देश भोकभोकै मर्नुपर्ने र ‘दोस्रो मोर्चा’ खोल्न नसकिने बताए । त्यति मात्र होइन, जर्मनीकै डरले रुसलाई उत्तरी जलमार्गबाट सैन्य सामग्री सहयोग गर्न नसकिने चर्चिलको तर्क थियो । पत्रमा उनले १९४३ को वसन्त याममा मात्र ‘दोस्रो मोर्चा’ खोल्ने जानकारी गराए ।
चर्चिललाई लेखिएको जवाफी पत्रमा आफ्ना अफिसरहरूलाई विश्वासिलो नलागेको र जोखिमै नमोली युद्ध हुँदैन भनी उनको डरछेरुवा चालामाथि स्तालिनले घोचपेच गर्नुभयो । त्यसैगरी ‘दोस्रो मोर्चा’ को विचार उल्टिने त होइन भनी स्तालिनले आशङ्का जाहेर गर्नुभयो ।
२० अप्रिल १९४२ सम्म चलेको मस्कोको लडाइँमा सोभियत सङ्घ विजयी भयो । ३० लाख सैनिक सहभागी भएको यो लडाइँमा ५ लाख नाजी सेना खतम भए । यो नाजी पराजयले गर्दा ‘अपराजयी’ नाजी सेनाको तीव्र ‘ब्लिजक्रीग’ आक्रमणको कथा झूटो साबित भयो । अब नाजी सेना मोडिएर स्तालिनग्रादतिर लाग्यो । स्तालिनग्रादको लडाइँ चालु थियो । यस्तैमा मार्सल स्तालिनले प्रम चर्चिललाई एउटा स्मृतिपत्र पठाउनुभयो । त्यसमा उहाँले ‘दोस्रो मोर्चा’ को महत्वबारे तीनवटा बुँदा उल्लेख गर्नुभयो । एक, जर्मन सेनालाई पूर्वी मोर्चाबाट फुटाएर पश्चिमतिर तान्ने । दुई, जर्मन नाजीवादविरोधी प्रतिकारको केन्द्र पश्चिम युरोपलाई बनाउने यसरी लालसेनालाई राहत दिने विषयमा अमेरिकासँग सहमति भइसके तापनि ‘दोस्रो मोर्चा’ नखोल्नाले सोभियत जनता र सेना अप्ठ्यारोमा परेको स्तालिनको तर्क थियो । सो मोर्चा खोल्न सम्भव भए पनि प्रम चर्चिललाई आफूले मनाउन नसकेको र मस्को आएका अमेरिकी राष्ट्रपति फ्राङ्कलिन रुजवेल्टका प्रतिनिधि ह्यारिमेनले समेत चर्चिलकै हो मा हो मिलाउनु विडम्बना भएको स्तालिनले स्पष्ट उल्लेख गर्नुभयो ।
१४ अगस्त १९४२ को जवाफी स्मृतिपत्रमा प्रम चर्चिल निकै छुच्चो देखिए । उनले बेलायत र अमेरिकाले ‘दोस्रो मोर्चा’ खोल्ने कुनै ‘वचन’ नदिएको बरु ‘सकेसम्म खोल्ने’ भनी बोलेको लेखे । पत्रमा उनले मोलोतोभसँगको कुराकानीको पूरै दस्तावेजको हवाला दिए । सोही पत्रमा उनले बेलायत र अमेरिकाले उत्तर अफ्रिकामा दुवै देशका सैनिक जम्मा गरेर ‘अपरेसन टर्च’ सुरु गर्ने तय गरेको जानकारी गराए । वास्तवमा ‘अपरेसन टर्च’ ६ हप्तामा जर्मन कब्जा गरेको फ्रान्सका उत्तर अफ्रिकी उपनिवेशहरू हात पार्ने बेलायतको कुटिल चाल थियो । अल्जेरिया र मोरक्कोजस्ता फ्रान्सेली उपनिवेशहरूमा अमेरिकी र बेलायती सेना सङ्ख्यात्मकरूपमा सानो शत्रु सेनामाथि विजयी भयो । यस लडाइँमा उनीहरू मिलेर ९ इटालियाली र २ जर्मन डिभिजनसँग भिडेका थिए भने त्यति नै बेला लालसेना (क्रुस्कमा मात्रै) एक्लै ५० डिभिजन नाजी सेनासँग भिड्दै थियो । यही अपरेसनका क्रममा इतिहासमा पहिलोचोटि संरा अमेरिका बेलायतमाथि हावी हुन गएको इतिहासकारहरूको भनाइ छ । जर्मनीले डिसेम्बर १९४१ मा अमेरिकाविरुद्ध युद्ध घोषणा गरे तापनि १ करोड २० लाख सेना भएको अमेरिका १९४२ को नोभेम्बरमा आएर मात्र उत्तर अफ्रिकाबाट युद्धमा पसेको थियो ।
सन् १९४३ को वसन्त याम आयो । वनजङ्गलमा पालुवा लागे तर ‘दोस्रो मोर्चा’ को कुनै सुरसार देखिएन । कहिल्यै घाम नअस्ताउने देश बेलायत र औद्योगिक महाशक्ति अमेरिकाको अर्को ‘वचन’ फासफुस भयो । यसबीच सोभियत सङ्घले जर्मनीसँग विश्वयुद्धका लेनिनग्रादको लडाइँसहित तीन ठूला लडाइँहरू जितिसकेको थियो । अमेरिकी राष्ट्रपति रुजवेल्टको शब्दमा भन्नुपर्दा “दोस्रो विश्वयुद्धको आक्रामक छाललाई उल्ट्याइदिएको” स्तालिनग्रादको १६२ दिने ‘निर्णायक युद्ध’ मा जर्मनी र उसका सहयोगी देशले १५ लाख सैनिक गुमाए तथा तिनका ९० हजारभन्दा बढी अफिसर र सिपाहीलाई लालसेनाले घेराबन्दीमा पा¥यो । इतिहासमा यस्तो कहिल्यै भएको थिएन । यो लडाइँ १९४२ को फेब्रुअरीमा टुङ्गियो । यसले संसारभर एउटा आशाको तरङ्ग छायो । स्तालिनग्रादसम्म रक्षात्मक लडाइँ लडिरहेको सोभियत सङ्घ र आक्रामक लडाइँ लडिरहेको जर्मनी अब विपरीत दिशामा लड्दै थिए । स्तालिनग्रादको पराजयपछि पूर्वी मोर्चामा जर्मनी कहिल्यै आक्रामक हुन सकेन ।
केही पत्राचारहरू
११ जून १९४३ मा राष्ट्रपति रुजवेल्ट र प्रम चर्चिललाई लेखिएको पत्रमा मार्सल स्तालिनले युद्धको सङ्क्षिप्त तर यथार्थ तस्बिर खिच्नुभयो । पत्रको सार यसप्रकार छ ः
“यहाँहरूले १९४३ भित्र जर्मन सेनालाई सोभियत सङ्घबाट मोड्न र घुँडा टेकाउन दोस्रो मोर्चा खोल्ने निर्णय गरेको विषयमा गत जनवरीमा सन्देश पठाउनुभएको थियो । पछि त्यसको मिति १९४३ अगस्त हुने भनी तय गरेको सन्देश पठाउनुभयो । मौसमको गडबडीका कारण सो मोर्चा ढिलोमा १९४३ को सेप्टेम्बरसम्ममा खोलिने बताउनुभयो । गत मे महिनामा यहाँहरूले भाका सारेर १९४४ को वसन्त यामसम्म पु¥याउनुभएको छ ।
यहाँहरूको निर्णयले सोभियत सङ्घमा असाध्यै विपद् थपिएको छ । सोभियत सङ्घ आफ्ना सम्पूर्ण स्रोतसाधन खर्चेर विगत २ वर्षदेखि जर्मनी र उसका सहयोगी देशहरूको मुख्य शक्तिसँग जुधिरहेको छ । सोभियत सङ्घ आफ्नो लागि मात्र लडिरहेको छैन बरु मित्र राष्ट्रहरूको लागि पनि लड्दै छ । तर, यहाँहरूको निर्णयले लालसेनालाई यस काममा एक्लो तुल्याएको छ, शक्तिशाली शत्रुविरुद्ध खालि एउटै हातले लड्नुपर्ने बनाएको छ ।
दोस्रो मोर्चा खोल्ने भाका सारेर र यति धेरै बलिदान दिएको हाम्रो सेनालाई बेलायती र अमेरिकी सेनाले दिने भनेको सहयोगबाट वञ्चित गरेर सोभियत जनता र सेनामाथि कति नकारात्मक छाप परेको छ भनी मैले भनिराख्नुपर्छ र ?
जहाँसम्म सोभियत सरकारको कुरा छ, युद्धको भविष्यमा असर गर्ने यति महत्वपूर्ण निर्णयमा सोभियत सङ्घलाई सहभागी बनाइएन, न यस विषयमा उसको सल्लाह नै लिइयो । त्यसैले सोभियत सरकार यस निर्णयमा सहमत हुन सक्दैन ।”
मार्सल स्तालिनको यस पत्रपछि प्रम चर्चिलले निकै रुखो टिप्पणी गरेर एउटा ससानो भनाभन सुरु गरे । १९ जून १९४३ को गोप्य सन्देशमा चर्चिलले आफू र अमेरिका मिलेर भूमध्यसागरमा इटालीलाई हराउनै थालेको जानकारी गराए । जर्मन सहरहरूमाथिको आफ्नो बमबारीले नै सोभियत सङ्घलाई फाइदा पुगिरहेको बढाइचढाई गरे । उनको सन्देशको मुख्य हिस्साको सार यसप्रकार छ :
“तपार्इँको निराशा म राम्ररी बुझ्छु । तर, हामीले परिस्थितिले दिएसम्म गरेकै छौँ । लाखौँको सङ्ख्यामा मान्छेहरूलाई इङ्लिस नहर पार गरी मर्न पठाएर रुसलाई सहयोग पुग्छ भन्ने मलाई लाग्दैन । मेरो विचारमा अहिलेको परिस्थितिमा विजय हात पार्न नसक्ने कमजोर शक्तिलाई नहर तर्न लगाउनु मर्न पठाउनु नै हो । जर्मनहरूले यो वर्ष फ्रान्समा ठूलो शक्ति तैनाथ गरेका छन् र युरोपेली रेलमार्गको उपयोग गरेर सजिलै त्यहाँ थप सैनिक ल्याउन सक्छन् । यस्तोमा हामी अगाडि बढेर केही बन्दरगाह कब्जा ग¥यौँ नै भने पनि छोडेर भाग्नुपर्ने स्थिति आउनेछ भन्ने मेरो मात्र होइन, हाम्रा सैन्यविद्हरूको समेत राय छ । बेलायतीहरूको पराजय र हत्याले लालसेनालाई कसरी सघाउ पुग्छ, मलाई थाहा छैन । सैन्यविदहरूको सल्लाहलाई नाघेर तपाईँको भनाइअनुसार गयौँ भने यहाँ बेलायतमा ठूलो असन्तोष चर्किनेछ । मैले तपाईँलाई सधैँ भन्दै आएको छु, म नहर तरेर आक्रमण गर्ने कुनै पनि अनुमति दिन सक्दिनँ किनभने मेरो विचारमा त्यसले केवल अर्थहीन नरसंहारतर्फ धकेल्नेछ ।”
के सोभियत सरकारले आफ्ना जनतालाई जर्मन सेनासामु मर्न पठाइरहेको थियो ? जनसङ्ख्याकै दृष्टिले हेर्ने हो भने पनि के रुसका जनता बढी थिए ? चर्चिलको पत्रबाट यस्तै अर्थ निस्किन्थ्यो र यो निकै गम्भीर आरोप थियो । त्यसमाथि रुजवेल्टले चर्चिलको पत्रमा आफ्नो पूर्ण सहमति भएको जनाउँदै २० जूनमा स्तालिनलाई एक गोप्य सन्देश पठाए । उनीहरू दुवैलाई स्तालिनले २४ जूनमा एउटा सन्तुलित निजी सन्देश पठाउनुभयो । सो सन्देशको सुरुमा जर्मनीलाई घुँडा टेकाउने गरी व्यापक कारबाही गर्ने विषयमा बेलायत र अमेरिकाले कहाँकहाँ उल्लेख गरेका थिए, स्तालिनले ती प्रसङ्ग उद्धृत गर्नुभयो । ती घटनापछि रुसी मारमा परेर जर्मनी झन्झन् कमजोर बन्दै गएको तथ्य अघि सारेर ‘दोस्रो मोर्चा’ को लागि उपयुक्त परिस्थिति बनेको स्तालिनको तर्क थियो । त्यसैले सोभियत सङ्घले १९४३ भित्रै ‘दोस्रो मोर्चा’ खुल्नेमा विश्वास लिनु आफ्नो हक भएको स्तालिनले उल्लेख गर्नुभयो ।
सन्देशको दोस्रो खण्डमा स्तालिनले चर्चिललाई मुखभरिको जवाफ दिनुभयो । पत्रको पछिल्लो खण्डको सार निम्नानुसार छ :
“लाखौँ मान्छेलाई मर्न पठाउने भनी तपाईँले सोध्दै गर्दा म यति कुरा सम्झाइदिन मात्र सक्छु –
१९४२ को जून महिनामा तपाईँले तयारी हुँदै छ, दशौँ लाख बेलायती र अमेरिकी सेनाले कारबाही सुरु गर्नेछन् भन्नुभएको थियो, लाखौँ मान्छेले होइन ।
गएको फेब्रुअरी महिनामा तपाईँले लाखौँ मान्छेले होइन, बरु प्रचुर फौजले कारबाही गरेर पश्चिम युरोप हत्याउने बताउनुभएको थियो ।
अहिले आएर ‘बेलायतीहरूको पराजय र हत्याले लालसेनालाई कसरी सघाउ पुग्छ, मलाई थाहा छैन’ भन्नु सोभियत सङ्घप्रतिको आरोप एकदम निराधार छ र तपाईँले नै माथि बताइएका पुराना र जिम्मेवार निर्णयहरूसँग यो कुरा बाझिँदैन त ?
पश्चिम युरोप कब्जा गर्ने निर्णय लिने बेला तपाईँ र राष्ट्रपति रुजवेल्टले सोभियत सङ्घलाई सहभागी बनाउनुभएन वा वासिङटन सम्मेलनमा सोभियत सङ्घको प्रतिनिधि बोलाउनुभएन भन्ने विषयलाई म बढी चर्चा गर्न चाहँदिनँ । यद्यपि, तपाईँले जर्मनीविरुद्धको युद्धमा सोभियत सङ्घको भूमिका र दोस्रो मोर्चासँग जोडिएको उसको स्वार्थ निकै ठूलो छ भन्ने कुरालाई बेवास्ता गर्नै सक्नुहुन्न ।
साझा शत्रुविरुद्धको युद्धमा यति महत्वको निर्णयमा आफूलाई सहभागी नबनाइनुमा सोभियत सरकारले चित्त बुझाउन सक्दैन भन्ने कुरा दोहो¥याउनु नपर्ला !
तपाईँले मेरो ‘निराशा राम्ररी’ बुझ्छु भन्नुहुन्छ । मैले भन्नैपर्छ, यहाँ कुरा सोभियत सरकारको निराशाको मात्र होइन, मुख्य कुरा त मित्र राष्ट्रहरूप्रतिको विश्वासको हो, यो विश्वासमा नराम्रो धक्का लागेको छ । कसैले बिर्सनुहुँदैन, यो प्रश्न कब्जामा परेको पश्चिम युरोप र रुसका लाखौँ जनताको रक्षा गर्नुसँग जोडिएको छ, लालसेनाको ठूलो बलिदानी घटाउनुसँग जोडिएको छ । यो बलिदानीको तुलनामा बेलायती र अमेरिकी सैनिकहरूको बलिदान नगन्य हो ।”
मार्सल स्तालिनको यो गहकिलो र रोबिलो पत्रको उत्तरमा प्रम चर्चिलले २७ जूनमा एउटा गोप्य सन्देश पठाए । सन्देशमा उनले सोझो औँलाले घिउ आउँछ भने किन औँला बङ्ग्याउने आसयको आलटाले कुरा गरे । विज्ञहरू र संसद्तिर औँल्याउँदै चर्चिल यसरी पन्छिन्छन् ः
“म तपाईँप्रति इमानदार छु, मेरो विचार केवल बेलायती र अमेरिकी सेनाको विज्ञहरूको सल्लाहमा आधारित थियो । सोभियत सङ्घमाथि आक्रमण हुनुभन्दा अगाडिसम्म बेलायत एक्लै लड्दै थियो, तैपनि त्यहाँ हमला भएलगत्तै मैले सोभियत सङ्घलाई सक्दो सहयोग दिँदै आएको छु । मित्र राष्ट्रप्रतिको तपाईँको आलोचनाले मलाई छुँदैन । हाम्रो सैन्य स्वार्थमा ठेस पुग्ने भए पनि यो कुरा संसद्मा राख्दा मलाई अप्ठ्यारो हुँदैन ।”
चर्चिलको ‘एक्लै लड्दै थियो’ भन्ने दाबी सरासर झूट थियो । ३ सेप्टेम्बर १९३९ मा बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरे तापनि उनीहरूले जर्मनीविरोधी लडाइँमा सिन्को भाँचेका थिएनन् । उनीहरूको नौटङ्की वा मुकदर्शन प्रवृत्तिकै कारण विश्वका छापाहरूमा ‘फोनी वार’ (नक्कली युद्ध), ‘सित्सक्रीग’ (बसीबसी युद्ध), ‘स्ट्रेन्ज वार’ (विचित्र युद्ध) जस्ता शब्दहरू जन्मेका थिए । खासमा उनीहरू जर्मनीले सोभियत सङ्घमाथि आक्रमण गर्नेछ, आफूहरूलाई छुने छैन भनी ढुक्क थिए । जेहोस्, ‘दोस्रो मोर्चा’ खोल्ने भाका सारेकै कारण १९४३ मा फेरि पनि जर्मनीले ३६ वटा सैन्य डिभिजन पश्चिमबाट लगेर सोभियत सङ्घविरुद्ध उता¥यो ।
प्रस्तुति : गणेश
Leave a Reply