भर्खरै :

सन् १८४० देखि १९४९ सम्म : नेपाल र चीनको तुलनात्मक अध्ययन

मुख्तियार भीमसेन थापाको निर्मम हत्या भएको साल सन् १८३९ को एक वर्षपछि चीन र बेलायतबीच अफिम व्यापारको विषयलाई लिएर लडाइँ सुरू भयो । भित्रभित्रै खोक्रो बन्दै गएको छिङ वंशको दरबारले भारत र बर्मामा खेती गरेर बेलायतले चीनमा ल्याउने गरेको अफिम रोक्न सकेको थिएन । रोक्न खोज्दा लडाइँ सुरू भयो । चिनियाँ लेखक चाङ पाइचिया बेलायतसँगको अफिम युद्धपछि चीन पुरानो सामन्तवादी युगबाट अर्ध–उपनिवेशवादी र अर्ध–सामन्ती युगमा प्रवेश गरेको भन्छन् । २६७ वर्ष पुरानो छिङ वंशलाई त्यत्तिबेला जसरी बेलायतलगायतको पश्चिमा युरोपेली उपनिवेशवादी शक्तिले कमजोर बनाउँदै थियो, त्यही बेला नेपालको शाहवंशीय दरबारलाई पनि बेलायतले कमजोर बनाउने अनेक चालबाजी बुनिरहेको थियो ।
नेपालमा सबभन्दा पहिला बेलायती सरकारी प्रतिनिधि बहादुर शाहको मुख्तियारीकालमै आएको भए पनि त्यतिबेला बेलायती प्रतिनिधि कर्कप्याट्रिकको बसाइ लामो भएन । तिब्बतसँगको लडाइँमा सहायताको लागि बोलाइएका बेलायतका प्रतिनिधि युद्ध समाप्त भएपछि मात्र काठमाडौँ आइपुगेकाले नेपालको दरबारले पनि कर्कप्याट्रिकलाई त्यति वास्ता गरेन । केही साता बसेर उनी फर्के । यद्यपि, उनले आफ्नो तत्कालीन नेपाल भ्रमणबारे एउटा किताब भने लेखे । तर, सुुगौली सन्धिपछि भने काठमाडौँमा बेलायतको उचाइ नै अर्कै भइसकेको थियो । सुगौली सन्धिअनुुसार काठमाडौँमा बेलायतको स्थायी मुकाम नै खोलियो जसलाई रेसिडेन्सी भनिन्थ्यो ।

सन् १९५१ मा प्रजातन्त्र स्थापनापछि आयोजित महिलाहरूको जुलुस
(तस्वीरः साधन प्रधान संग्रह/नेपाल तस्वीर पुस्तकालय)
मुख्तियार भीमसेन थापा बेलायती उपनिवेशवादप्रति नकारात्मक धारणा राख्थे । उनी एसियाका सबै देशका शासक मिलेर बेलायती उपनिवेशवादलाई लखेट्नुपर्ने विचार राख्थे । विचारमात्र राखेका थिएनन्, उनले बर्मामा दूत पठाएर त्यस्तो सङ्घर्षको लागि व्यवहारिक अग्रसरता पनि लिएका थिए । सुगौली सन्धिअघि ग्वालिएर, पञ्जाबलगायतका राज्यहरूमा पत्राचार गरी बेलायती उपनिवेशवादीहरूलाई एसियाबाट लखेट्नुपर्ने प्रस्ताव पठाएका थिए । तिब्बतमा रहेका चिनियाँ अम्बामार्फत चीनको सम्राटलाई पनि त्यही आशयको पत्राचार गरेका थिए । विडम्बना ! त्यत्तिबेलासम्म भारतका अधिराज्यहरू र तिब्बतको दरबारमा समेत बेलायतीहरूको घूसपैठ भइसकेको थियो । फलतः ग्वालिएरका राजाले भीमसेन थापाको पत्र नै बेलायतीहरूको हातमा पु¥याए । पञ्जाबका राजा रणजीत सिंह बेलायतको विरोधमा त थिए । तर, उनले बेलायतसँग नेपालको लडाइँमा सहायता गरेर ठुलो शक्तिसँग खतरा मोल्न चाहेनन् । सम्भवतः तिब्बती दरबारभित्रको बेलायती घूसपैठ र दीर्गचा हमलाको कारण नेपालप्रति नकारात्मक सोच बनाएका चिनियाँ अम्बाले भीमसेन थापाको पत्र तिब्बतबाट अघि नानकिङ पठाएनन् । यसप्रकार उपनिवेशवादविरूद्ध संयुक्त लडाइँ लड्न भीमसेन थापाको अवधारणाले सार्थक रूप लिन पाएन । बरू, बेलायतविरूद्ध लड्ने हिम्मतको मूल्य भीमसेन थापाले नराम्ररी चुकाउनुप¥यो । सन् १८३७ मा सत्ताच्युत भएको दुई वर्षपछि उनको कल्पना पनि गर्न गा¥हो तरिकाबाट हत्या भयो ।

सन् १९१९ मे ४ को चिनियाँ विद्यार्थी आन्दोलन । तस्वीरः इन्टरनेट


भीमसेन थापाले तिब्बतमा बसेका चिनियाँ अम्बामार्फत सम्राटलाई पठाएको पत्र पेइचिङमा समयमै पुग्न पाएको भए उपनिवेशवादीलाई लखेट्ने उनको भावनाले केही मूर्त रूप लिने थियो होला ? यो प्रश्नको उपादेयता अब काल्पनिकमा मात्र सीमित छ । तर, बेलायती अफिम व्यापार रोक्नुपर्ने मत बोकेको छिङ दरबारभित्रको खेमालाई समयमै सजग र सक्रिय बनाउन भीमसेनको त्यो पत्रले पनि केही टेवा पु¥याउन सक्थ्यो । त्यसो त अफिमकै कारण सरकारी कर्मचारीदेखि सर्वसाधारणसमेत कुनै पनि शक्तिसँग लड्ने सामथ्र्य गुमाइसकेको चीनले एसियाबाट बेलायतीलाई लखेट्न अग्रसरता लिन्थ्यो वा लिंदैनन्थ्यो, त्यो पनि इतिहासमै छोडिएको काल्पनिक मात्र हो । तथापि, उपनिवेशवादविरोधी सङ्घर्षको थालनीको लागि सानो देश नेपालका मुख्तियारले चीनको दरबारलाई सोच्न र छलफल गर्न प्रोत्साहित गर्नसक्नेसम्मको अपेक्षा भने गर्न सकिन्छ । अन्ततः दुई वर्ष चलेको पहिलो अफिम युद्ध (१८४०–४२) मा चीन पराजित भयो । नानकिङ सम्झौता भयो । चीनले एक सय वर्षको लागि हङकङमात्र गुमाएन, चीनको राजनीतिमा बेलायतलगायत पश्चिमा शक्ति बलियो बन्दै गयो ।
सन् १८५६ देखि १८६० मा बेलायतसँग भएको दोस्रो अफिम युद्ध, त्यसको झन्डै बीस वर्षपछि फ्रान्ससँग भएको युद्ध (१८८३–१८८५), दस वर्षपछि भएको चीन–जापान युद्ध (१८९४–९५) र सन् १९०० मा आठ वटा उपनिवेशवादी शक्तिले गरेको संयुक्त हमलाले छिङ वंश र सम्पूर्ण चीन थिलथिलो बनिसकेको थियो । हरेक युद्धपछि चीनले आफ्नो भूगोल गुमाउँदै गयो र सार्वभौमिकता कमजोर बन्दै थियो ।

दोस्रो अफिम युद्धमा चीनको ऐतिहासिक लु को (मार्को पोलो पुल) मा चिनियाँ र बेलायती सेनाबीचको लडाइँ । स्रोतः इन्टनेट


चीनको छिङ वंशले त्यस्तो परिस्थिति सामना गर्दै गर्दा नेपालको शासक वर्गीय इतिहास भने दरबारिया षड्यन्त्रकै वरपर अलमलिएको देखिन्छ । भीमसेन थापाको हत्या पछि पण्डित रङ्गनाथ पौडेलले नेपालको सत्ता सम्हाले । तर, विशेषतः राजा राजेन्द्रकी जेठी रानी साम्राज्यलक्ष्मी र कान्छी रानी राज्यलक्ष्मीलाई अघि सारेर तत्कालीन दरबारिया भारदारहरूबीचको गुटगत असहिष्णु सम्बन्धको कारण संसारमा भइरहेका कुरा नेपालमा अत्तोपत्तो थिएन । त्यसमाथि काठमाडौँमै अड्डा जमाएर बसिसकेको बेलायती रेसिडेन्सीले नेपाली दरबारभित्रको गुटगत झगडामा मज्जा मानिरहेको थियो । बेलायती प्रभाव यति फैलिसकेको थियो कि तत्कालीन नेपालमा न त भीमसेन थापाले जस्तै उपनिवेशवादविरूद्ध लड्न आह्वान गर्ने हैसियतका कोही भारदार थियो, न बेलायती रेसिडेन्सीले नै त्यस्तो मौका दिने अवस्था थियो । विशेषतः पाँडे र बस्नेतहरूबीचको काटमारको सम्बन्ध केही वर्ष चल्यो । अन्ततः सन् १८४६ मा कोत पर्व भयो । जङ्गबहादुर राणा देशको प्रधानमन्त्री मात्र बनेनन्, बरू एक सय चार वर्षसम्मको लागि नेपालमा राणाहरूको एकछत्र शासन चल्यो ।
जङ्गबहादुरको पालामा तिब्बतसँग एकाध सीमा र व्यापारसम्बन्धी सम्झौता भए पनि उसको ध्यान मूलतः दक्षिण अर्थात् बेलायती शासकहरूको सेवातिर नै केन्द्रित रह्यो । नेपालमा जङ्गबहादुर राणा र उनका सन्ततिको षड्यन्त्र, हत्या, जालझेल र बेलायतको ताबेदारीको शासन चल्दै गर्दा चीन भने एक पछि अर्को गर्दै तत्कालीन संसारका अधिकांश उपनिवेशवादी शक्तिहरूको हमला सामना गरिरहेको थियो । सन् १९०० मा आठ वटा उपनिवेशवादी शक्तिहरूले चीनमाथि हमला गर्दा नेपालमा वीरशमशेरको शासन चलिरहेको थियो । त्यत्तिबेला बेलायत, संरा अमेरिका, जर्मनी, रूस, जापान, इटाली र अस्ट्रिया मिलेर चीनको राजधानी पेइचिङमा समेत कब्जा जमाएको थियो ।

आफ्ना छोराहरूसँग राणा प्रधानमन्त्री चन्द्रशमशेर । तस्वीरः विकिपेडिया
राणा शासन जतिसुकै क्रूर र दमनकारी भए पनि राणा शासकहरू सुरूदेखि नै आफूलाई असुरक्षित महसुस गर्थे । कोत पर्वमै अधिकांश प्रमुख भारदारहरूको हत्या भइसकेपछि पनि जङ्गबहादुर राणाकै पालामा अरू सम्भावित सबै विपक्षीहरूलाई सखाप बनाइसकिएको थियो । जङ्गबहादुरको अवसानपछि जङ्ग र शमशेर खलकबीचको द्वन्द्वले पनि आफ्नै बान्की लियो । तर, राणाहरूमध्ये सबभन्दा लामो समय शासन गरेका चन्द्र शमशेरको शासनकालमा आएर नयाँ प्रजातान्त्रिक भावनासहित राणा शासनको विरोध गर्ने झिनो आवाज सुनिन थाल्यो । त्यो आवाजको सुनुवाइ हुने कुरै थिएन । दमन भयो । नेपालमा चन्द्र शमशेरको जगजगी शासन चल्दै गर्दा चीनमा भने सन् १९०५ मा सन यात सेनको नेतृत्वमा चिनियाँ क्रान्तिकारी लिगको स्थापना भयो । त्यही राजनीतिक पार्टीले चीनमा सन् १९११ मा राजतन्त्रविरोधी सङ्घर्षलाई सफलतामा पु¥यायो । त्यसको ३१ वर्षपछि नेपाल प्रजा परिषद्को स्थापना भयो । झन्डै चालीस वर्षपछि भारतको बनारसमा नेपाली काङ्ग्रेसको स्थापना भयो । सन् १९१२ मा सन यात सेनको नेतृत्वमा गणतन्त्र चीन स्थापना भयो । छिङ वंशसँगै चीनको लामो राजतन्त्रात्मक शासन समाप्त भयो । चीनमा राजतन्त्र स्थापना भए पनि साम्राज्यवादी र उपनिवेशवादी शासन भने अझै पनि कायम नै थियो । साङ््घाइलगायत सहरमा विभिन्न साम्राज्यवादी शक्तिहरूले खण्ड खण्डमा कब्जा जमाएर बसेका थिए । उत्तर–पूर्वी चीनमा जारकालीन रूसकै नियन्त्रण थियो । चीनभित्रै पनि विभिन्न क्षेत्रमा युद्धसरदार र महासामन्तहरूको बलियो पकड थियो । उनीहरूको आफ्नै सेना थियो । त्यस परिस्थितिमा अमेरिका र बेलायतको जस्तो प्रजातन्त्र स्थापना गर्ने सन यात सेनको सपना साकार हुनसक्ने थिएन । सन यात सेनको राजीनामासँगै चीनमा युआन शिकाई नामको युद्धसरदारको शासन सुरू भयो । चीनको माटोमा पश्चिमा प्रजातन्त्र टिक्न सकेन । बरू, उपनिवेशवादी शक्तिको जगजगी र चिनियाँ जनताप्रतिको दमन र अवहेलना बढ्दै गयो । चीनमा यस्ता उथलपुथल चल्दै गर्दा नेपालमा पनि झिनो स्वरमै भए पनि प्रजातन्त्रको पक्ष र राणाशासनको विरोधमा आवाज उठ्न थालिसकेको थियो । विशेषतः भारतमा बेलायती उपनिवेशवादविरूद्ध चलेको स्वतन्त्रता आन्दोलनको प्रभाव नेपालमा पनि क्रमशः फैलिंदै थियो । बेलायती शासकलाई रिझाएर भारतमा बसेर नेपालको प्रजातन्त्रको लागि लड्ने युवाहरूलाई दबाउने राणा शासकहरूको प्रयासबीच गुप्तरूपमा राजनीतिक गतिविधि बढिरहेको थियो ।
चीनमा विशेषतः सन् १९१९ को मे महिनामा भएको विद्यार्थी आन्दोलनले चिनियाँ युवाहरूमा नयाँ विचारको बिजारोपण भयो । पहिलो विश्व युद्धमा चीन विजेता देशहरूको पक्षमा लडेको भए पनि भर्सिलिज सन्धिमा चीनको भूभाग पनि उपनिवेशवादी शक्तिहरूले आपसमा भागबन्डा गरेको विरोधमा चीनमा त्यो आन्दोलन भएको थियो । चीनमा नवीन विचारको उदयको आधार तयार गरेको त्यो आन्दोलन हुँदै गर्दा नेपालमा चन्द्रशमशेरको शासन उकालो लागिरहेको थियो । पहिलो विश्वयुद्धमा बेलायती उपनिवेशवादको पक्षमा नेपाली युवाहरूलाई पठाएर ताबेदारी गर्न सकेकोमा चन्द्रको शासन अझ बलियो बनिरहेको थियो । तर, चीनमा सन् १९१९ को त्यो आन्दोलनपछि नयाँ विचारको प्रभाव फैलिएजस्तै नेपालमा पनि प्रजातान्त्रिक आन्दोलनको चाहना विभिन्न माध्यमबाट व्यक्त भइरहेको थियो । त्यसको दुई वर्षपछि सन् १९२१ को जुलाई महिनामा चीनमा कम्युनिस्ट पार्टी स्थापना भयो । छिमेकी देश रूसमा भएको अक्टोबर समाजवादी क्रान्तिले चीनका युवाहरूलाई पनि प्रभावित बनाएको थियो र रूसको जस्तो नयाँसमाज बनाउने उद्देश्यका साथ कम्युनिस्ट पार्टी स्थापना भयो । त्यत्तिबेलासम्म पनि नेपालमा चन्द्रशमशेरकै झन्डै ३० वर्ष लामो शासन कायम नै थियो ।
चीनमा कम्युनिस्ट पार्टी स्थापना भएको २८ वर्षपछि नेपालमा कम्युनिस्ट पार्टीको सन् १९४९ मा स्थापना भयो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको ३० वर्षपछि चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनगणतन्त्र स्थापना भयो । झन्डै त्यही अवधिमा नेपालमा राणाशासन समाप्त भयो र प्रजातन्त्र स्थापना भयो । सन् १८४० देखि १९४९ सम्मको एक सय वर्षको अवधिलाई चीनको इतिहासमा आधुनिककाल भनिन्छ । अफिम युद्धपछिको त्यो एक वर्षको कालखण्ड चीनको इतिहासकै कालो कालखण्ड थियो । चीनले उपनिवेशवादी शक्तिहरूको हमला र आफ्नै देशका युद्धसरदार र सामन्तको अत्याचारको सामना गर्दै गर्दा नेपालले पनि बेलायती उपनिवेशवादको कठपुतली क्रूर राणा शासनको सामना गर्नुप¥यो । चीनमा प्रतिकूलता जति सघन बन्दै गयो, नवीन विचार र चेतनामाथिको छलफल त्यति नै फराकिलो बन्दै गएको देखिन्छ । तर, नेपालमा राणाहरूको नवीन चेतना र विज्ञानविरोधी शासनको कारण नेपालको प्रगति र परिवर्तनको बाटो राणाकालीन सय वर्षमा अवरूद्ध रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *