‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
गाउँमा, हाम्रो छिमेकमा एउटा परिवार बस्थ्यो । घरमुली साइँला बालाई बुढ्यौलीले छोप्दै जाँदा हाम्रो गाउँ तन्नेरी हुँदै गयो । हुनेखानेहरूले छोराछोरी अष्ट्रेलिया, अमेरिका पठाउन थाले । रेमिट्यान्सले सडकको छेउछाउका घरहरू भटाभट अग्लिन थाले, आल्मुनियमका झ्याल र सिसाका झालरले हाम्रो गाउँ सहर देखिन थाल्यो ।
साइँला बाको लबस्तरो छोरो कतै जान सकेन । सरकारी कारखानामा बाबुको काम सम्हाल्दै थियो, कारखाना निजीकरण भएपछि उसको त्यो जागिर पनि खोसियो । सरसापटी गरेर ऊ खाडीतिर लाग्यो । खाडी माने मलेसिया । गाउँका धेरै निम्न मध्यम परिवारका अर्धशिक्षितहरू उतै थिए । पहिलोचोटि घरबाहिर निस्केको उसले गएको वर्षदिनभित्रै के बिराम गरेछ कुन्नि, जेल प¥यो । परिवारले आसै मारेको थियो । तर, साथीहरूले चन्दा उठाएछन् र जेलबाट निकालेर उसलाई घर पठाइदिए ।
ऊ घर फर्किँदासम्म भाउजूले घर धान्ने बन्दोबस्त मिलाइसकेकी थिइन् । दाइजोमा पाएको गरगहना र लोग्नेको वर्षदिनको कमाइ खर्चेर घरका अघिल्ला दुई कोठामा सटर हालिन् र कोठा भाडामा दिइन् । यसैले घरखर्च चल्दै थियो । बिस्तारै परिवारमा केटाकेटीको च्याँच्याँ सुनिन थाल्यो । घरको पछिल्तिरका दुई कोठा साँघुरा हुनथाले ।
भाउजुले बुद्धि खियाइन् र सटर हालेका कोठाहरूमा पार्टिसन गरेर बीचमा साँघुरा गल्लीजस्ता अँध्यारा दुई कोठाहरू निकालिन् । एउटामा साइँला बा बस्ने भए, अर्कोलाई भान्साकोठा बनाइयो । परिवारलाई दुई ठुला कोठा पुगिसरी हुने भयो । साइँला बा साँघुरो गल्लीमा स्टोरको समानजस्तै धुमधुम्ती बस्न थाले । बुबाको बिजोग देखेर छोराको मन नदुखेको होइन, तर भाउजुको अघिल्तिर ऊ भिजेको मुसाजस्तै हुन्थ्यो ।
जबजब ममीले मलाई यो कथा सुनाउनुहुन्छ, उहाँको गहमा आँसु टल्पलाउँछ । साइँला बाका छोरी थिएनन् । त्यसैले सानोमा मेरी ममीलाई साइँला बाले साक्खै छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो । महिनाको आखिरीमा तलब आउँदा केही न केही किनिदिनुहुन्थ्यो । मावलीमा हुर्केकी मेरी ममीले बाबाममी दुवैको माया साइँला बाबाट पाउनुभयो । त्यसैले साइँलाबाप्रतिको उहाँको भावना हामी महसुस गर्नसक्छौँ । ममीले यो कथा सुनाउन थाल्नुभयो भने अरू काम थाती राखेरै पनि सुनिदिन्छौँ ।
आज अचानक यहाँ भैँसेपाटी तल ममीले नभनिकनै मलाई त्यो कथाको झल्को आयो ।
कुरा के भने, धेरै दिन घरमा बस्दाबस्दा बोर भएपछि म कतै बाहिर जाने सोचमा थिएँ । कतै खुला हरियालीमा, जहाँ पानीको कलकल, चराहरूको चिरबिर र बतासको सिरसिर होस् । हरदिन हाम्रो कोलोनीका एकैनासका बाक्साजस्ता घरहरू देखेर म दिक्क भइसकेको थिएँ । उस्तै आकारप्रकार, उस्तै रङरोगन, उस्तै झ्याल, उस्तै कौसी, उस्तै…. । सबै उस्तै छन् – मान्छेको ब्रान्डेड खानपिन, फेसन, चालचलन, रेडिमेड एक्सप्रेसन – मानौँ हलिउड, बलिउड वा यस्तै कुनै उडको कैँचीले मिलाएर छाँटिएको हो ।
हाम्रो कोलोनी भएको डाँडाभन्दा ठीक पारिपट्टिको डाँडामा अर्को कोलोनी छ – होम कोलोनी । त्यहाँ मेरी क्लासमेट सलोनीको घर छ । उसको भाइले अस्तिमात्र एउटा युट्यूब पोस्ट शेयर गरेको थियो फेसबुक वालमा । उसले आफ्नो कोलोनीदेखि हाम्रो कोलोनीसम्म ड्रोन उडाएर एउटा भिडियो बनाएको रहेछ । मलाई भिडियो मनप¥यो । सलोनी र मबीच यति सुन्दर डाँडा, खोला र खेतहरू रहेछन् । मलाई त्यहाँ जाउँजाउँ भयो । तर, बाबाको अनुमतिबिना जान पाउने पनि होइन ।
अघिपछि भए बाबाले अनुमति दिनुहुन्नथ्यो । हाम्रो दिक्दारी बुझेर उहाँले ममी र भाइबहिनीसँगै पारिको डाँडासम्म जाने अनुमति दिनुभयो ।
यसरी दिन ढल्किने बेला हामी मुनि पाखामा ओर्लियौँ । त्यहाँ खोलामा खेतबाट काम गरेर फर्केका मानिसहरू हातखुट्टा पखाल्दै थिए, युवायुवतीहरू वस्तुभाउका लागि घाँसका टेडी बियरजस्ता भारीहरू बोकेर फर्किँदै थिए । खोलाको किनारमा एउटा मैदानजस्तो स्थानमा भलिबल कोर्ट बनाएर मेरै उमेरका गोल अनुहारका विपन्न केटा र केटीहरू स्वच्छन्द खेलिरहेका थिए । त्यहाँ हाँस्न र उफ्रिन कसैलाई थुनछेक थिएन । हामी यस्तो गर्न किन सक्दैनौँ ? यति खुलेर हाँस्न र खेल्न किन सक्दैनौँ ? किन हामीलाई आफ्ना भावनामा पर्खाल लगाउन सिकाइन्छ ? किन प्लास्टिक जीवनको साँचोमा ढालिन्छ ? जलन नै त नभनूँ, तर सायद, उनीहरूलाई देखेर ममा टुच्च इष्र्या पलायो ।
अगाडि एउटा थुम्को थियो । छेउछाउमा टनेलभित्र सागसब्जी र तरकारीहरू अनेक रङमा सजिएका थिए । बीचबीचमा टिनका टहराहरू छिरलिएका थिए । उकालोमा बाटोको छेउको ढिकमा कटेजजस्तो बिसौनी थियो । त्यहाँ दिनभरि काम गरेर सुस्ताइरहेका महिलाहरू थिए । उनीहरू हामीजस्ता थिएनन्, तर उनीहरूको जस्तो उन्मुक्त हाँसो र कुराकानी हाम्रो कोलोनीभित्र पाउन मुस्किलै छ ।
त्यहाँबाट एउटा डाँडालाई फन्को मारेर हामी सलोनीको कोलोनीनिर गयौँ । त्यहाँको सबैभन्दा अग्लो डाँडामा मान्छेहरूको चहलपहल थियो । डाँडामाथि थरीथरीका मान्छेहरू बसेका थिए । सलोनी पनि छिमेकीहरूसँगै आएकी थिई । सबैमा रिक्रिएसनको भोक थियो । सबैजना हामीजस्तै देखिन्थे । उस्तै फेसन, उस्तै चालचलन, उस्तै एक्सप्रेसन । सबैले केही न केही खानेकुरा बोकेका थिए । हामीले लगेको लेज, कुर्कुरे, डिउ सबै त्यहीँ सक्यौँ । छेउमा अनेकथरी कुकुरहरू हामीतिर हेरेर बसिराखेका थिए । तर, तिनलाई दिन हामीसित प्लास्टिक र बोटलहरूबाहेक केही थिएन । पैसा तिनलाई काम लाग्दैन ! सलोनीसँगै आएको बाबुले एउटा सानो कुकुरलाई सुमसुम्याउन खोज्यो । बाबुकी ममीले ‘हात मैलो हुन्छ बाबा’ भन्नुभयो ।
हामी यङस्टरहरू अलग्गै बसेर कुरा गर्नथाल्यौँ । सलोनी हिजोआज साउथ इन्डियन गुरुदेवको कुराले ओभरलोड भइराखेकी छ । उसको कुरा आधा बुझियो, आधा बुझिएन । ऊ भन्दै थिई – वी अल आर समहाउ कनेक्टेड टु इच अदर, द होल कोसमोस इज इन्टरट्वाइन्ड, वी शुड हाय्भ द फेथ इन्नफ टु रियलाइज एन इन्जोय दिस कनेक्सन ।
मलाई ऊ पहिलोचोटि मिस्टेक लागी । सायद त्यसैले ह्याङ पनि । ऊ फ्रेस थिइन । ऊभन्दा कति हो कति फ्रेस र न्याचुरल मैले बाटोमा देखेका केटीहरू थिए । घाँस बोकिरहेका, दौँतरीहरूसँगै भलिबल खेलिरहेका केटीहरू । सायद आफ्नो अनुभवभन्दा बाहिरका कुरा उनीहरू जान्दैनन् । तर, सलोनी अरू कसैको कुरा दोहो¥याएर माय्च्योर देखिन्थी । यो कुरा ऊ आफैले रियलाइज गरेकी थिइन् । यो सोचेर मलाई उसको कुरामा रुचि हरायो । नत्र उसको क्लासी शैलीले मलाई तान्ने गर्छ ।
चन्द्रागिरीको डाँडाबाट घाम ओझेलियो । तल खेतका फराकिला पाटाहरूमा छरिएका किसानहरूले पनि घर फर्किने सुरसार गर्न थाले । फर्किने बेला हामीले एउटा बस्तीबीचको बाटो समात्यौँ । म पछिपछि हिँडिरहेको थिएँ । छाप्राहरूमा मानिसहरू गोबर स्याहार्दै थिए, कोही बारी खन्दै थिए । केटाकेटीहरू स–सानो ढिकमाथि उफ्रिरहेका थिए । पँधेरामा बोटल, ग्यालिन, ड्रम, जार र गाग्रीहरूको घुइँचो थियो । माथि डाँडाबाट आएका अङ्कलहरू बाटोमा बाइक राखेर एउटा भट्टीमा तास खेल्दै थिए । खोलानिर पुग्दा म निकै पछि परिसकेको थिएँ । ममी, भाइबहिनी र छिमेकी आन्टीहरू सबैजना आआफ्नो डिजिटल वल्र्डको गसिपमा व्यस्त हुनुहुन्थ्यो । एकप्रकारले उहाँहरूले मलाई बिर्सिसक्नुभएको थियो । उहाँहरू खोलाको पुल नाघेर एउटा मोडमा मोडिएपछि ममा के धुन सवार भयो कुन्नि, म त्यहीँ रोकिएँ ।
म बिस्तारै खोलाकिनारमा आएँ र वारि आएर एउटा चिया पसलमा छिरेँ । पसलको भाइलाई चिया बनाउन भनेर म दायाँतिरको थुम्को उक्लिँदै गरेकी फुच्चीलाई एकटक हेर्न थालेँ । त्यो फुच्चीले आफूजत्तिकै ठूलो बोरा बोकेकी थिई । वातावरणमा सुँगुरको कोलाहल र खोलाको कलकल व्याप्त थियो । खोलाको ध्वनि सुन्न लालायित मेरा कान सुँगुरहरूको पट्यारलाग्दो क्वाँककुँकले भरियो । तर, त्यो फुच्ची हाँसीखुसी तिनै सुँगुरको खोरहरूतिर जाँदै थिई । मानौँ, उसलाई डरलाग्दा गुफाहरूमा पस्ने बानी परिसकेको छ ।
चिया आयो । मेरो अघिल्तिर पाँचजना मजदुर टाइपका मान्छेहरू जुवाको खालमा जमिरहेका थिए । टेबलमा बसेको एउटा तालु खुइलेको छेउमा रक्सीको ग्लास र सितनको प्लेट रहेछ । अर्थात्, यहाँ चिसो र तातो दुवै सुविधा रहेछ । उनीहरूको कुरा सुन्दा उनीहरू यही नजिकैको क्रसर मिलका मजदुरहरू हुन् भन्ने बुझियो । रात परेपछि उनीहरूको काम सुरु हुने रहेछ– लोडअनलोडको काम । पूरै देश ठप्प भए पनि नाफाघाटा चलेकै छ । रातमा यहीँबाट ट्रिपर गुडेको आवाज हाम्रो कोलोनीसम्म पनि पुग्छ कहिलेकाहीँ । त्यसले निद्रा बिथोलिने गर्छ । तर, यहाँका मान्छे पो कसरी सुत्छन् ? भयङ्कर प्रश्न उठ्यो ।
ममीहरूले डाँडामाथिको पिपलको बोट पनि छिचोलेपछि चियाको ग्लास लिएर म बाहिर आएँ । मैले बाँकी चिया पिउन सकिनँ । नियालेर हेरेपछि थाहा भयो, खासमा त्यो चियापसल एउटा दुर्गन्धित पोखरीजस्तो खाडलमाथि थियो । माथि डाँडाबाट झर्ने सबै फोहरमैला यही खाडलमा जम्दो रहेछ । हाम्रो कोलोनीबाट झर्ने ढल पनि खोलाभन्दा अलि पल्टिर खस्ने रहेछ ।
दुर्गन्धले गर्दा मैले नाक थुन्नै लागेको थिएँ, त्यो फुच्ची केटी सुँगुरहरूलाई दाना खुवाएर खेल्दै उफ्रिँदै चिया पसलतिर आई । उसैलाई देखेर मैले नाकसम्म लगेका औँलाहरू कपालमा घुसाएँ । अचानक ऊप्रति ममा सम्मान भाव पलाएको थियो ! म सोच्दै थिएँ, ‘हामी दिनभरि डिजिटल दुनियाँमा चहारिरहन्छौँ । भाइबहिनी गेमिङ गर्छन्, सोशल साइटमा भुल्छन् । छिमेकी आन्टीहरूले ममीलाई पनि सिरियलहरूको लत लगाइदिनुभएको छ । बाबा शेयर बजारमा भुल्नुहुन्छ । तर, त्यो केटीले केही गरिरहेकी छे, केही अर्थपूर्ण… ।’ सायद देशलाई टेवा दिइरहेकी छे । उसलाई थाहा छैन, तर उपत्यकामा पस्न खोज्ने दुईचार बाहिरी सुँगुरलाई आफ्ना कलिला हात र मधुर मुस्कानले उसले रोकिराखेकी छे ।
एकै गाउँमा, एउटै ठाउँमा बसेर पनि हामी कति अलग, एक्ला र अपरिचित हुनसक्छौँँ ! हाम्रै कोलोनीमुनि एउटा बेग्लै संसार छ, जुन सायद हाम्रोभन्दा बढी बान्किलो र अर्थपूर्ण छ, तर हामीलाई थाहा छैन । मैले सलोनीलाई सम्झेँ । त्यो फुच्चीलाई हेरेँ । सलोनीका शब्दहरूले त्यो फुच्चीमा अर्कै अर्थ पाएका थिए । त्यो फुच्चीलाई आफ्नो कोसमोस थाहा छैन । आफू ठुलो समाजसँग इन्टरट्वाइन्ड भएको उसले रियलाइज एन इन्जोय गर्छे–गर्दिन, म जान्दिनँ । तर ऊ इन्टरट्वाइन्ड छे, समाजसँग, धर्तीसँग नङमासु छे । उसका जराहरू भुइँमा भित्रैसम्म गडेका छन् । हामीले गेमिङ नगर्दैमा दुनियाँमा केही फरक पर्दैन, तर उसले हातखुट्टा नचलाएमा कतै न कतै धक्का लाग्छ । उसलाई, समाजलाई र देशलाई अलिकति ठेस लाग्छ ।
मेरो विचारचक्र चलिरहेको थियो, त्यो फुच्ची मलाई दायाँ पारेर पसलमा पसी । आफ्ना हातखुट्टा धोएर ऊ भित्र गई । टीभीमा दाजुले हेरिराखेको ‘ड्रङ्कन मास्टर’ मुभी फेरेर कुनै कार्टुन च्यानल लगाई र सिरक ओढेर बिस्तरामा लुपुक्क भई । फेरि दाजुले अ¥हाएपछि ऊ बिस्तराबाट निस्की र मेरो चियाको पैसा लिएर चानचुन फिर्ता दिई । उसलाई हामीलाई जस्तो डिजिटल संसारको लत लाग्न सक्दैन । उसको भौतिक संसार दुर्गन्धित छ, कोलाहालपूर्ण छ, तर संसारसँग हामीभन्दा बढ्ता जोडिएको छ । त्यसैले ऊ ताजा छे । मैले ऊसामु आफूलाई होचो पाएँ अनि थोरै इष्र्यासहित बाहिर आएँ ।
हाम्रोजस्तो परिवारले गर्नसक्ने यही इष्र्या हो सायद । हामीलाई सानैदेखि लोभी बन्न सिकाइन्छ । यही लोभले हामीलाई अल्छी र पाखण्डी बनाइरहेछ, एकप्रकारले यही पाखण्डले हाम्रो मनुष्यत्व मारिरहेछ । बाबाले संसार अलि धेरै देख्नुभएको छ । कम्पनीको कामले देशभर घुम्नुभएको छ । उहाँको कम्पनीले खोलाको यो कोरिडोरमा बनेका तटबन्धहरूजस्तै कन्स्ट्रक्सनको ठेक्का लिन्छ । डाँडामा बसे पनि पाखामा के हुन्छ, बाबाले बुझ्नुभएको छ । तर, घरमा उहाँले कहिल्यै यसको कुरा गर्नुहुन्न । जानीनजानी उहाँ हामीलाई गुलाफ बनाउन चाहनुहुन्छ, सायद सिसाको गुलाफ, सुगन्ध नभएको गुलाफ, मनुष्यत्व नभएको मानव, लोभमात्र गर्ने एउटा अगस्ती मानव ।
विचारहरूमा डुब्दै म खोलामाथि उक्लेँ । खोलाको प्रकृतिलाई छेक्न यहाँ तटबन्ध हालिएको छ र पुलबाट टाढा गाउँको बीचमा सलोनीको कोलोनी झिलिमिली देखिन्छ । तर यो पुल कोलोनीको हाम्रो घर र हाम्रो जीवनजस्तै छ– तटबन्धमा टिकेको, खोलाको पार्टिसनमा अडिएको । पार्टिसन भन्यो कि मलाई ममीको कथा झल्याँस हुन्छ । साइँला बाले पार्टिसन भत्काउन सक्नुहुन्न । एक कमजोर व्यक्तिले भत्काउन सक्ने कुरा पनि भएन । तर, नियमप्रिय सर्वशक्तिमान नदीले त बाटो फेरिरहन्छ ! के प्रकृतिले यो बाँध भत्काउलिन् ? भत्काइन् भने यो पुलको के होला, हाम्रो घरको के होला, हाम्रो जीवनको के होला ? …हाम्रो जीवन भत्किने रे ?! वाओ… !!! अघिल्ला प्रश्नहरूको पिरलो मेट्दै मलाई पछिल्लो प्रश्नले एकदम राहत दियो, अप्रतीम आनन्द दियो– निर्जन समुद्रबीच एउटा गुल्जार टापु भेटेझैँ । राहतको यही रमरम प्रकाश लिएर म लुरुलुरु कोलोनीभित्र पसेँ, हाम्रो गुफाभित्र पसेँ ।
Leave a Reply