भर्खरै :

क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा कीर्तिपुरमा प्रवचन

कीर्तिपुर, १४ असार । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा समाजवादी देश क्युवामाथि संरा अमेरिकाले लगाउँदै आएको नाकाबन्दीको विरोधमा आइतबार जुममार्फत् प्रवचन कार्यक्रम भयो । ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले क्युवामाथिको अमेरिकी नाकाबन्दी मानवीय अपराध भएको बताउँदै उक्त नाकाबन्दी अमेरिकी सरकारले तुरून्त फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “क्युवाको समाजवादी व्यवस्थालाई खत्तम पार्न संरा अमेरिकाले विगत ६ दशकदेखि नाकाबन्दी लगाई मानवताविरोधी अपराध गरिरहेको छ । क्युवाली जनता ‘समाजवाद वा मृत्यु’ को नाराहित समाजवादको रक्षार्थ दृढताका साथ लागिपरेको छ । ”
अमेरिकी साम्राज्यवादको विरोधमा संरा सङ्घको महासभामा १८४ देशका प्रमुख प्रतिनिधिहरूले क्युवाको पक्षमा मत दिनुले विश्व क्युवाको पक्षमा रहेको प्रमाणित गर्छ भन्दै केन्द्रीय सदस्य गोसाईले समाजवाद र क्युवाको विरुद्ध पुँजीवादी सञ्चारमाध्यमले गलत हल्ला फैलाइरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाले समाजवादी देश क्युवामाथि लगाइरहेको नाकाबन्दीको विरोधमा ऐक्यबद्धता जनाई समाजवादी विचारधाराको रक्षार्थ अन्तर्राष्ट्रवादी भूमिका निभाइरहेको उहाँले बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू नारायण महर्जन, राजवीर डंगोल, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जन, जिल्ला समितिका रामचन्द्र महर्जन, विश्वक डंगोल, श्यामकुमार महर्जन, हरिशरण श्रेष्ठ, मुना तामाङ, मुना बासुकलालगायतले साम्राज्यवादी अमेरिकी नाकाबन्दीको विरोधमा क्युवाको प्रतिरोधबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *