भर्खरै :

नीति तथा कार्यक्रमबारे भनपालाई एक सुझाव

  • असार १६, २०७८
  • –पृथ्वीसुन्दर दुवाल, हाल दूधपाटी
  • पाठक विचार

आर्थिक वर्ष २०७८÷७९ को लागि भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको एकप्रति मेरो हातमा पनि आइपुगेकोमा खुसी छु । कार्यक्रमलाई सरसरतीरूपमा अध्ययन गर्ने क्रममा एक युवा भएको कारण मेरो ध्यान विशेषगरी युवा तथा खेलकुद लक्षित कार्यक्रमहरू के कस्ता छन् भनी खोज्नमै तल्लीन रह्यो ।
भक्तपुर नगरपालिकाले विगतदेखि वर्तमानसम्म युवा तथा खेलकुदको क्षेत्रमा पु¥याएको योगदान सराहनीय छ । नगरपालिकाले खेलकुद विकासको लागि प्रशिक्षण तथा नगरस्तरीय हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आएकोमा हामी अनभिज्ञ छैनौँ । युवाहरूलाई लक्षित गरेर सञ्चालन गरेका फोटोग्राफी तालिम,काष्ठकला, पथप्रदर्शक, विभिन्न भाषा, रेडियो प्रस्तोता, कपाल काट्ने, पाक शिक्षा, सिलाइ, कौसी खेती, विपद् व्यवस्थापनलगायत विभिन्न सीपमूलक तालिमहरूबाट हामीजस्ता कैयौँ युवाहरू लाभान्वित भएका छौँ । यसको लागि हामी युवाहरू भनपाप्रति कृतज्ञ छौँ ।
वर्तमान समयको परिप्रेक्षलाई नियाल्ने हो भने धेरैजसो युवाहरू कामको लागि विदेशिएका छन् । देशकोे सक्रिय शक्तिको पसिना विदेशी भूमिमा बढ्नु विडम्बनाको कुरा हो र राज्यस्तरबाटै यस विषयमा चासो लिनुपर्ने हो । राज्य यस विषयमा शिथिल रहेको कारण हामी युवाहरू राज्यप्रति विश्वस्त रहन सकेका छैनौँ । स्थानीय निकाय भनेको जनताको नजिकको सरकार हो । तसर्थ, कम्तीमा हामी भनपावासी युवाहरूलाई कुनै पनि व्यवसाय गरी स्वदेशमै इलम गरी खान भनपाले तालिमको साथै सहुलियत ऋणको पनि बन्दोबस्त गरिदिएमा हामीजस्ता युवाहरू लाभान्वित हुने थियौँ । आशा छ, गरिब तथा जेहेनदार विद्यार्थीका लागि जस्तै आगामी कार्यक्रममा हाम्रा लागि पनि सहुलियत ऋणको व्यवस्था हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *