भर्खरै :

समाजवादी विचार बस्ती बस्तीमा पु¥याउनुपर्छ

गणतन्त्र स्थापना भएकै दुई दशक हुन लाग्यो । तर, नेपाल अझै साक्षर देश बनेको छैन । शासकहरू साक्षर देश बनाउने नारा तयार गर्छन् । नारा तयार गरेको वर्ष दुई चार जना मन्त्रीहरू साक्षर अभियानमा लागेको फुक्छन् । त्यसपछि त्यो अभियान बीचमै तुहिन्छ । साक्षर देश बनाउने नारा फुकेको पनि एक दशक भयो । अझ त्यो भन्दा पहिले पनि फुकेको थियो । साक्षर देश बनाउने अभियान नारामा सीमित हुन्छ, कुनै पूर्वाधार तथा योजना बनिँदैन । सरकारको काम कहिले जाला घाम भनेझैँ अनि सरकारको योजना निर्धारित समयमा कहिल्यै पूरा हुँदैन । सत्तारुढ दल र सरकारको ध्यान सरकार टिकाउने र ढाल्नेतर्फ केन्द्रित भएको हुँदा सरकारी योजना समयमा पूरा नभएको हो ।
नेपालजस्तै सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया आज विद्याको देश बनेको छ, शिक्षाको देश बनेको छ । तीन चार दशकदेखि नै प्रजग कोरियामा बुद्धिजीवीकरण गर्ने अभियान चलाइएको थियो । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्न शिक्षाविद्हरूलाई जिम्मेवारी दिइएको थियो । बुद्धिजीवीकरण अभियान सफल पार्न कारखाना, खेत र माछा मार्ने माझीहरूको निम्ति स्कूल र कलेज सञ्चालन गरिएको थियो । मुलुकभरि नै अध्ययन गर्ने व्यवस्था मिलाइएको थियो । अध्ययन गर्नको निम्ति जन अध्ययन गृहको व्यवस्था थियो । यो अध्ययन गृह पनि समाजका सदस्यहरूलाई बुद्धिजीवीमा परिणत गर्ने एक महत्वपूर्ण केन्द्र थियो । यो श्रमिक जनताको सांस्कृतिक र प्राविधिक स्तर उठाउन र मानिसलाई बुद्धिजीवी बनाउने एक विश्वविद्यालयजस्तै हुन्छ ।
सबैले अध्ययन गर्दैमा या उच्च शिक्षा हासिल गर्दैमा सम्पूर्ण समाज बुद्धिजीवीमा परिणत नहुने हुँदा औपचारिक शिक्षाबाहेक थप अध्ययन गर्ने बानी बसाल्ने काम गरिएको हुन्थ्यो । क्रान्तिकारी बानी बसाल्न या क्रान्तिकारी बनाउन पार्टी, जनता र सेना सबैले अध्ययन गर्नुपर्छ भन्नेतर्फ जोड दिइएको हुन्छ । जनताको ज्ञान, प्राविधिक तथा सांस्कृतिक स्तर उठाउन अध्ययन गर्नुपर्छ भन्ने कार्यक्रमअनुसार उमेर पुगेका पुरुष र महिलालाई पनि अध्ययन गराइन्छ । प्रजग कोरियाको विश्वविद्यालय राष्ट्रिय कार्यकर्ताहरूलाई तालिम दिने केन्द्रहरू हुन् र वैज्ञानिकहरूले अध्ययन गर्ने थलाहरू हुन् ।
जनताको राजनीतिक, सैद्धान्तिक र सांस्कृतिक स्तर उठाउन नै नेपाल मजदुर किसान पार्टीले विभिन्न समाजवादी देश क्युवा, प्रजग कोरिया, चीन, सोभियत सङ्घको संविधान प्रकाशित गरेको हो । विभिन्न देशका कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलन, समाजवादी आन्दोलनमा योगदान पु¥याउने नेता, राष्ट्रप्रमुख, पत्रकारहरूको जीवनी या योगदानसम्बन्धी विभिन्न पुस्तकहरू नेमकिपाले प्रकाशित गरिरहेको हो । नेमकिपाले पार्टी स्थापना भएदेखि निरन्तर प्रकाशनमा जोड दिइरहेको छ । पार्टीका यस्तै महत्वपूर्ण प्रकाशनहरू पार्टी स्थापना दिवसको अवसरमा यो वर्ष जिल्ला–जिल्लामा पुस्तक प्रदर्शनी गरिएको थियो ।
हो, हामीमा अध्ययन गर्ने बानी बसाल्नुपर्छ । कति कार्यकर्ताहरू समय भए पनि अध्ययन गर्दैनन् । बरु चिया गफमा भुल्छन्, डुलेर, सुतेर, ऐश आराम गरेर जीवन बिताउँछन् । पार्टीका सयौँ पुस्तकहरू प्रकाशित भइसकेका छन् । कति कार्यकर्ताहरू नयाँ पुस्तक प्रकाशित भएपछि एक दुई घण्टा सरसरती पढ्छन् तर सबै पढ्दैनन् या पूरा गर्दैनन् । पुस्तक प्रकाशित भएपछि पढ्ने बानीको विकास गर्न टोल–टोलमा, गाउँ – ठाउँमा प्रकाशित कृतिको अन्तरक्रिया गरिनुपर्ने देखिन्छ । प्रजग कोरियाका जनता त्यत्तिकै एकगठ भएका होइनन्, त्यहाँका जनता र पार्टी कार्यकर्ताहरू सबै त्यत्तिकै साम्राज्यवादविरोधी भएका होइनन्, कम्युनिस्ट पार्टीप्रति सबै जनता त्यत्तिकै एकढिक्का भएका होइनन् । त्यहाँ अध्ययन गर्ने र गराउने छुट्टै बन्दोबस्त हुन्थ्यो र अध्ययन गराइन्थ्यो ।
प्रजग कोरियामा नयाँ पुस्तालाई क्रान्तिकारी बनाउने हिसाबले या कम्युनिस्ट बनाउने उद्देश्यले शिक्षकहरूले काम गरिरहेका छन् । त्यहाँ पेशेवर क्रान्तिकारीहरूको बन्दोबस्त छ । केटाकेटी र युवायुवतीलाई पनि देशभक्त बनाउने शिक्षा दिइन्छ । शिक्षकहरू विद्यालयमा दिने शिक्षाबाहेक अरू समयमा पनि अध्ययनमा जोड दिन्छन्, मार्गनिर्देश गर्छन् । त्यसैले प्रजग कोरियामा शिक्षकहरूलाई नयाँ पुस्तालाई हुर्काउन नदेखिने अज्ञात उद्यमीमात्र होइन अज्ञात क्रान्तिकारी ठान्छन्, मान्छन् । त्यहाँका विश्वविद्यालय, शिक्षक तालिम कलेजहरू शिक्षकहरू तालिम गर्ने केन्द्र हुन् र नयाँ पुस्ता हुर्काउने केन्द्र हुन् ।
समाजवादी शिक्षा तल्लो तहका जनतासम्म पु¥याउनु महत्वपूर्ण कदम हो । शिक्षक र विद्यार्थीहरूलाई पार्टी तथा नेताप्रति बफादार बनाउन सच्चा कम्युनिस्ट बनाउन, जनतामा देशभक्तिको भावना जगाउन र कुनै पनि विदेशी शक्ति राष्ट्रको आक्रमणको प्रतिकार गर्न वैचारिक, सैद्धान्तिक र सांस्कृतिक शिक्षा दिनु जरुरी छ । नेपालमा कम्युनिस्ट भनिने दलहरू धेरै भए पनि आफूलाई ठुला र सत्ताधारी भन्ने दलका नेताहरू सिद्धान्त र विचारको कुरा गर्दैनन् । आफू मातहतका नेता र कार्यकर्ताहरूलाई सिद्धान्तनिष्ठ बनाउँदैनन्, सच्चा कम्युनिस्ट बनाउँदैनन् । उनीहरू राजनीतिमा लागेर अकुत सम्पत्ति कमाउने प्रयत्न गर्छन् । विकासको नाउँमा विकासकै रकममा रमाउँछन् या कमिसनमा भुल्छन् । २०४६ को ऐतिहासिक जनआन्दोलनबाट बहुदलीय व्यवस्था प्राप्त भएपछिका शासकहरूले शिक्षा र स्वास्थ्यमा ध्यान दिएका भए, उद्योग, कलकारखाना खोल्नेतर्फ ध्यान दिएका भए शिक्षाको विकास भइसक्थ्यो, स्वास्थ्य उपचारको राम्रो व्यवस्था भइसक्थ्यो, स्वदेशमै काम माम पाउँथे र देश आत्मनिर्भर भइसक्थ्यो । तर, तीन चार दशकसम्म सरकारको ध्यान सत्तामै अल्झियो, भागबन्डामा फस्यो । सरकार ढाल्ने र टिकाउने खेलमा केन्द्रित भयो । प्रत्येक वर्षझैँ सरकारको हेरफेर भइरह्यो । उहिलेको त्यो कमजोरी, त्रुटि अहिले पनि यथावत छ ।
देशका सबै कम्युनिस्ट पार्टीहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विचारअनुसार राजनीति गरेका भए, जनतालाई सुसूचित पार्ने काम गरिरहेका भए जनता सचेत र सङ्गठित भइसकेका हुन्थे, जनता सिद्धान्तनिष्ठ हुन्थे । कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–गाउँ र बस्ती बस्तीमा पुग्थ्यो र समाजवादी क्रान्तिको लागि पूर्वाधार तयार हुन्थ्यो । आफूसँग दसौँ लाख सक्रिय कम्युनिस्ट कार्यकर्ता भएको दाबी गर्ने, अहिलेसम्मकै सबभन्दा ठुलो, शक्तिशाली र एकलौटी कम्युनिस्ट सरकार दाबी गर्ने दलले कम्युनिस्टको आचरणअनुसार खोइ काम गरेको ? सङ्ख्या देखाउने, ठुलो ठान्ने तर कम्युनिस्ट गतिविधि शून्य भएपछि देशमा कसरी कम्युनिस्ट पार्टी बलियो हुन्छ ? कसरी कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? अनि बहुदलीय प्रजातन्त्र स्थापना भएको तीन दशक बिते पनि देश कसरी साक्षर मुलुक बन्छ ? सत्तारुढ दलले साक्षर नेपाल पनि बनाउन नसकेको स्थितिमा प्रजग कोरिया बुद्धिजीवीहरूको समाज बन्नेतर्फ लागिरहेको छ । यो प्रजग कोरियाको मजदुर पार्टी, सरकार, जनता र सेनाको प्रतिबद्धताको फल हो । त्यस्तो प्रतिबद्धता नेपालमा पनि खाँचो छ । देशका सबै कम्युनिस्ट पार्टीहरू समाजवादी क्रान्तिको निम्ति मनोगत स्थिति तयार गर्नेतर्फ लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *