भर्खरै :

सक्वको म राजदास–९१ / सक्वमा भालेन्टिना धेरै रमाइन्

सक्वमा एक वर्ष बसेर भालेन्टिनाले नेवारी बोल्नमात्र होइन नेवारी धर्म संस्कृति पनि बुझ्ने प्रयास गरिन् । हाम्रो सयौँ वर्ष पुरानो नेवारी शैलीको चारतले माटो र इँटाले जोडेको होचो–होचो सिलिङ्ग भएको घरमा उनी निकै रमाएर बसिन् । हाम्रो घरको अँध्यारा सानो कोठाहरूमा उनले आफूले रुसबाट ल्याएको भ्याकुम क्लिनर प्रयोग गरेर कोठाको कुना काप्चामा रहेका धुलो र माकुराको जालो सफा गरिन् । घरका सबै लुगाफाटाहरू, सिरक र डसनाका खोलहरू, इलेक्ट्रिक वासिङ्ग मेसिनमा राखेर दिनभरि लाग्ने काम एक दुई घण्टामा धोई पखालिन् । मेरा आमा, दिदीबहिनीहरूलाई घरमा टाउकोमात्र नुहाउने होइन जिउभरि साबुन दलेर नुहाउनुपर्छ भनेर शालीनदी खोलामा लगेर नुहाउन सिकाइन् । भाइहरूलाई पढ्नु लेख्नुपर्छ भनी काठमाडौँ गएर पुस्तकहरू किनी पढ्न हौसला दिइन् ।
मेरो घरमा ६ जना दाजुभाइमा म जेठो छोरा हुँ । त्यसमध्ये उच्च शिक्षा हासिल गरेर इन्जिनियर बन्ने ममात्र थिएँ । एक जना भाइ काठमाडौँमा इन्टरमेडियट साइन्स पढेर बसेका थिए । उनलाई म आफैले गाउँ–घरमा धेरै दुःख दियो भनेर काठमाडौँ ल्याएर पढाएको थिएँ । म सोभियत सङ्घ जानुअगाडि अरू भाइहरू सानै थिए भने कोही–कोही खेतीपातीमा लागेका थिए ।
हाम्रो एउटा घर थियो । दुई आमाको तर्फबाट ११ जना सन्तानको ठूलो परिवार थियो ।
सँगै एउटै टोलमा मामाको घर थियो । तर, मामाहरू कोही नभएको हुँदा घर खाली थियो र ठाउँ–ठाउँमा खेतबारीहरू थिए । त्यसबेला जग्गा जमिनको केही भाउ थिएन । आधा जग्गा जमिन हामी आफै जौत्थ्यौँ भने आधा जमिन मोहीको रूपमा अरूले कमाउँथे । वर्षैपिच्छे बाली बुझाउन ल्याउँथे । आफ्नो बुबा र आमाको तर्फबाट गरी साँखुभरि १०–२० रोपनी जग्गा जमिन थियो । तर, खेतबाट आएको आयस्रोतले ठूलो पारिवारिक अवस्था धान्न मुस्किल भइरहेको थियो ।
परिवारको यो परिस्थिति देखेर एक दिन भालेन्टिनाले मसँग सोधिन्, “यो तिमीहरूको घर सम्पत्ति कसको हो र पछि भविष्यमा कसको अधिकार हुन्छ र कसले पाउँछ ?” मैले भनँे, “यो सबै सम्पत्ति अहिले बुबा आमाको नाममा पैतृक सम्पत्तिको रूपमा रहन्छ । पछि सबै दाजु भाइहरूको बरोबर अधिकारमा जान्छ र आफू आफू मिलेर बाँडीचुँडी खान्छौँ ।” यतिमात्र होइन, यस घरका छोराहरूले मात्र सम्पत्तिमा हक अधिकार पाउँछन् र छोरीहरूले केही सम्पत्ति पाउँदैनन् । यो कुरा सुनेर भालेन्टिना अचम्म भइन् ।
यो कुरा सुनेर उनी झनै अचम्मित भइन् किनभने सोभियत रुसमा एक त घर जग्गा प्रायः सबै सरकारको हुन्छ र त्यहाँ पैतृक सम्पत्ति हुँदैन । सन् १९१७ को महान् अक्टोबर क्रान्तिपछि देशको सबै सम्पत्ति राष्ट्रियकरण भएको थियो । क्रान्तिपछिका केही वर्षहरूमा गृहयुद्ध गर्नु परेको कारण देशमा खाद्यान्नको अभाव भई भोकमरीको अवस्था श्रृजना भयो । तत्काल खाद्यान्नको समस्या हटाउन क्रान्तिका महान् नेता भ्लादिमीर इलिच्छ लेनिनले ‘नयाँ आर्थिक प्रणाली’ (न्यू इकोनोमिक पोलिसी–नेप) लागू गरे । उनले सीमित मात्रामा खेतीयोग्य जमिन जनतामाझ वितरण गरी त्यसमा कृषि उत्पादन गरी निजी खेतबारी गर्न पाउने नियम बनाएका थिए । तर, त्यस्तो जमिनमा बनाइएको सम्पत्तिमाथि छोराछोरीको पैतृक सम्पत्तिको हक दाबी लाग्दैनथ्यो । सम्पत्तिको हकदारले जो जसलाई पनि दिनसक्थे । आफ्नै छोराछोरीलाई नै दिनुपर्छ भन्ने छैन ।
मेरो कुरा सुनेपछि भालेन्टिनाले भनिन्, “एउटा घर, त्यो पनि ५–६ जना दाजुभाइलाई बाँड्नुपर्ने र त्यसरी बाँड्दा कसले कति नै पाउलान् र ?”
उनले मलाई भनिन्, “राज तिमी र म दुवै इन्जिनियर, दुई छोराहरू । हामी इन्जिनियरिङ्ग काम गरेर आफै कमाएर खान सक्छौँ । हामी आफ्नो व्यवस्था आफै गरौँला र तिम्रा भाइ र परिवारलाई पनि सकेको मद्दत गरौँला, तर तिमीले यो तिम्रो बुबा मुमाको सम्पत्तिमा लोभ नगर । छोडी देऊ, यो सबै सम्पत्ति तिम्रो भाइहरूको लागि । तिम्रो बुबामुमाले दुःखकष्ट गरेर तिम्रा भाइहरूको भाग छिनेर तिमीलाई धेरै पढ्न लेख्न मद्दत गरे । तिमी आज इन्जिनियर बन्यौ । तिम्रा कोही पनि भाइले तिमीले जसरी पढ्ने लेख्ने अवसर पाएनन् । त्यसकारण, यो पैतृक सम्पत्तिमाथिको तिम्रो हक छोडी देऊ । तिमीले छोड्दा तिम्रा भाइहरूले केही अंश बढी पाउनेछन् ।”
मेरो स्वभाव पनि जन्मेदेखि अलि सरल नै थियो । ममा लोभ लालचको भावना कहिल्यै थिएन र भएन पनि । मैले भनेँ, “हुन्छ म बुबालाई यो तिम्रो कुरा सुनाउँछु ।” एक दिन म र भालेन्टिना एकान्तमा बसेर बुबालाई बोलाएर भालेन्टिनाले मलाई भनेको सबै कुरा भनेँ । बा, तपाईँलाई कस्तो लाग्यो ब्वाल्याको कुरा (भालेन्टिनाको बोलाउने नाम ब्वाल्या हो । सोभियत सङ्घ वा रुसमा सबै जनाको आधिकारिक नाम एउटा हुन्छ र बोलाउने नाम प्रायः छोटकरीमा अर्कै हुन्छ । भालेन्टिनाको ब्वाल्या भनेजस्तै भ्लादिमीरको बोबा, भ्वाल्योद्या, गलिनाको गाल्या, नाताषाको नाद्या, तमाराको तोमा आदि ।)
मेरो कुरा सुनेर बुबा अक्कमक्क हुनुभयो, उहाँलाई मैले साँचो कुरा गर्दै छु भनेर विश्वासै लागेन । हामीले यस्तो कुरा गर्छन् भनेर बुबाले सपनामा पनि सोचेको थिएन होला । हामीलाई टोलाएर हेर्दै गर्दा बुबाले आँखामा आँसु झार्नुभयो र भन्नुभयो, “राजा ¤ तिमीहरूको यो गुण कसैले कहिल्यै बिर्सने छैनन् । म धेरै खुसी छु, तिमीहरूदेखि र विशेष गरेर ब्वालालाई धेरै धन्यवाद छ ।”
त्यसदिन हामी काठमाडौँमा थियौँ । उसो भए जाऔँ न त चारखाल अड्डा । हामी यो लिखितरूपमै गरिदिन्छौँ भनी मैले र भालेन्टिनाले बुबालाई सँगै दिल्लीबजारको तत्कालीन मालपोत कार्यालय चारखाल अड्डामा लिएर गयौँ । एउटा लेखनदासलाई बोलाएर हाम्रो कुरा भन्यौँ, “मेरो र भालेन्टिनाको इच्छानुसार हामी पैतृक सम्पत्तिमा केही हक दाबी गर्दैनौँ र सबै मेरो भागमा पर्ने पैतृक सम्पत्ति आफ्ना भाइहरूको लागि छोडी दिन्छौँ ।”
यो विवरणसहितको कागजपत्र बोकी हामी मालपोत हाकिमकहाँ गयौँ र यसमा स्वीकृति जनाई सही छाप गरिदिन विनम्र आग्रह ग¥यौँ । हाकिमले दुई तीन पटक पढे हाम्रो लिखितम् । कहिले मतिर हेर्नुहुन्थ्यो भने कहिले भालेन्टिनातिर र अन्तमा बुबातिर हेरेर भन्नुभयो, “को हुन् तपाईँका उहाँहरू ?”
“जेठो छोरा राजदास र बुहारी भालेन्टिना ।”
हामीतिर हेरेर मुस्कुराउँदै मालपोत हाकिमले भन्नुभयो, “भाइ म एउटा कुरा भनौँ है । म एउटा कुरा यसमा थपिदिउँ है, मिल्छ ?”
हुन्छ सर ¤ नियमकानुनअनुसार जसरी मिल्छ त्यसरी गरिदिनुहोस् । हाम्रो आशय सरले बुझी हाल्नुभयो । हामीलाई नियमकानुन सबै थाहा छैन । त्यसमाथि मेरी श्रीमती भालेन्टिनालाई यहाँको कानुन थाहा हुने त कुरै भएन । उहाँको एउटा चाहना हो कि मेरो नाममा आउने पैतृक सम्पत्ति भाइहरूको भागमा जाऊन् । किनकि हामी दुवै इन्जिनियर हौँ । हामी आफैँ कमाएर खान सक्छौँ । भाइहरूले पढ्ने लेख्ने मौका पाएनन् ।
यति भनिसकेपछि मालपोतको हाकिम साहेबले आफ्नो रातो कलमले रातो अक्षरमा निवेदनको बीच पानामा लेखिदिनुभयो, “मैले आफ्नो पैतृक सम्पत्तिबापत ५००० रूपैयाँ अक्षरेपि पाँच हजार रूपैयाँ लिएर यो कागजपत्र लेखिदिएँ ।”
“ल हेर्नुस् त यसरी मैले लेखिदिएँ हुन्छ ?” भनी हाकिमले हामी तीनै जनालाई देखाउनुभयो र आफ्नो हस्ताक्षर र छाप लगाएर कागजको दुई प्रति हामीलाई दिनुभयो । एकप्रति कागज खल्तीमा राखेर बुबा साँखुतिर लाग्नुभयो र हामी आफ्नो काठमाडौँ डेरामा फर्केर गयौँ । त्यसबेला म र भालेन्टिना दुवै जना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित ‘व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र’ मा कार्यरत थियौँ । केही वर्ष उक्त केन्द्रमा काम गरिसकेपछि सन् १९८३ मा हामी दुवै जना संयुक्त राष्ट्र सङ्घमा स्वयम्सेवकको रूपमा काम गर्न दक्षिण अफ्रिकाको वोत्स्वाना देशमा रमाना भयौँ । त्यहाँ काम गर्दागर्दै सन् १९८५ को डिसेम्बरमा एक सवारी दुर्घटनामा परेर भालेन्टिनाको असामायिक दुःखद निधन भयो ।

3 responses to “सक्वको म राजदास–९१ / सक्वमा भालेन्टिना धेरै रमाइन्”

  1. bhagawan das manandhar says:

    अहो!!! अति मार्मिक । शिक्षा प्रद । मेरो आंखामा आँसु आयो, सुखद । धन्य बाल्या ।

  2. Dm banepali says:

    Prerena dayek !

  3. श्रीभक्त भडेल says:

    अत्यन्तै मार्मिक एक सच्चा कम्युनिस्टको पैत्रिक सम्पत्तिको अंश छोडपत्र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *