भर्खरै :

युवाहरू बिहान आठ–नौ बजेको घामजस्तै

भक्तपुर २०, असार । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले आइतबार अनलाइन प्रवचन कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा आयोजित पेइचिङको थेआनमेन चोकको भेलामा चिनियाँ युवा विद्यार्थीले ‘समाजवादका हामी नयाँ उत्तराधिकारी’ बोलको गीतसँगै नृत्य प्रस्तुत गरेर देशभक्ति प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको युवा सङ्घले चिनियाँ युवाहरूलाई पार्टीको नजिक ल्याउन महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरूले पनि नेपाली युवाहरूलाई नेपाल मजदुर किसान पाटी नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरूरी रहेको बताउनुभयो ।
सचिव सुवालले चिकपाका अध्यक्ष माओ त्सेतुङ्गले ‘युवाहरू बिहान आठ–नौ बजेको घामजस्तै भएको र संसार युवाहरूकै भएको’ बताउनुभएको स्मरण गर्दै चिकपाको ९ करोड ५० लाख सदस्यमध्ये एकतिहाइभन्दा बढी चालीस वर्षमुनिका र पार्टीको कुल सदस्यमध्ये २ प्रतिशत विद्यार्थीहरू भएको बताउनुभयो ।
उहाँले कोभिड–१९ सँगको लडाइँको अग्रमोर्चामा चिकपाका २ करोड ३० लाख सदस्य उभिएको बताउँदै संरा अमेरिकाले चीनको विकासलाई रोक्न र प्रभुत्व कायम राख्न खोजेको हुँदा चिनियाँ युवाहरू संरा अमेरिकासित आक्रोशित रहेको बताउनुभयो ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो पदावधिको अन्तिम समयमा चिकपाका सदस्य र उनीहरूका परिवारजनलाई संरा अमेरिका आउन रोक लगाउने पाखण्डी व्यवहार गर्नु गलत भएको सचिव सुवालले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भजिस अध्यक्ष न्हुछेभक्त फोजूले चीनको उहानमा भएको सैन्य खेलकुदमा भाग लिन गएका अमेरिकी सेनाहरूले चीनमा कोभिड–१९ रोग सारेको उल्लेख गर्दै पश्चिमा मुलुकहरूले चीनलाई दोषारोपण गर्नु गलत रहेको बताउनुभयो ।
उहाँले नेपालका शासक दलका नेताहरू सत्ताको फोहोरी खेलमा लागेर जनताप्रति जिम्मेवार नहुँदा कोभिड नियन्त्रण गर्न असफल भएको विचार व्यक्त गर्दै भूमाफियाहरूले विकासको नाउँमा भ्रष्टाचार गर्दै प्राकृतिक सम्पदा नष्ट पार्न थालेकाले युवाहरू सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
प्राध्यापक समाज नेपालका सुनिल दुवालले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन आत्मनिर्भर बन्दै गएको र कोभिड–१९ महामारीलाई सजिलै परास्त गरेको देखेर चिनियाँ कम्युनिस्ट पार्टीप्रति चिनियाँ युवाहरूको आकर्षण झन् बढ्दै गएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव रमेश वैद्य र गोपालसुन्दर गोसाईले पनि चीनबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *