भर्खरै :

वायु सेवा निगमको निजीकरणको विरोधमा

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको निजीकरणबारे चर्चा चुलिँदै छ । सरकारले निगम निजीकरण गर्नेबारे अध्ययन गरिरहेको समाचार सार्वजनिक भएसँगै यो विषयमाथि बहस चर्केको छ । निगम निजीकरणको पक्षमा उभिने व्यक्तिहरू निगमभित्रको अव्यवस्था, भद्रगोल, अराजकता र भ्रष्टाचारका कुरा अघि सारेर निगम निजीकरण गरे राज्यलाई फाइदा र उपभोक्तालाई सुविधा हुने तर्क गरिरहेका छन् । उनीहरूमध्ये अधिकांशले अघि सार्ने एउटा तर्क हो– “वायु सेवा निगम र थाई एयरलाइन्स एकै समयमा स्थापना भए पनि अहिले थाई एयरलाइन्स आज कहाँ पुगिसक्यो, नेपाल वायु सेवा निगम भने उही अवस्थाबाट माथि उकासिएन । त्यसकारण निजीकरण गरे ठीक ठाउँमा आउला ।” पहिलो कुरा, थाइ एयरलाइन्स थाइल्यान्ड सरकारको स्वामित्वमा सञ्चालित सेवाप्रदायक संस्था हो । यो तथ्यबाट निजीकरण भएकोले नै थाई एयरलाइन्सको व्यवस्थापन चुस्त र आर्थिक उचाइको कारण भएको होइन भन्ने सिद्ध गर्छ । दोस्रो कुरा, नेपालमा सरकारी स्वामित्वमा रहेका उद्योग–कलकारखानालाई त्यहाँभित्रका अनेकन विकृति र आर्थिक घाटाका कुरा प्रचारमा ल्याएर निजीकरण गर्नुपर्ने तर्क स्थापित गरिन्छ । अनि, निजीकरणको नाममा ती उद्योग, कलकारखाना सस्तो मोलमा निजी क्षेत्रले हात पार्ने गरेका छन् ।
कतिपय त्यस्ता उद्योग, कलकारखाना त मित्र देशहरूबाट सहयोगस्वरूप प्राप्त भएका थिए । ती उद्योग कलकारखानालाई निजी क्षेत्रमा बेचिएको केही वर्षपछि फेरि पनि आर्थिक घाटाको कारण प्रस्तुत गरेर धरासयी बनाउने गरिएको छ । यसरी नेपालमा भएका उद्योग कलकारखाना धरासयी बनेपछि त्यसको प्रत्यक्ष लाभ भने निजी पुँजी र भारतीय कम्पनीहरूलाई हुने गरेको छ । पारवहन सहजताको कारण भारतीय उद्योगको निम्ति नेपाल सहज बजार हो । नेपालको आफ्नै स्वदेशी उत्पादन धरासयी हुनुको सीधा अर्थ भारतीय उत्पादनको बजार सुरक्षित हुनु हो । कतिपय नेपाली व्यापारीका नाममा रहेका लगानी र पुँजी पनि भारतीय पुँजीपति वर्गकै हुने गरेको छ । त्यसकारण सरकारी स्वामित्वका उद्योग कलकारखानालाई निजीकरण गराउन भारतीय शासकहरूले चलखेल गर्ने गरेका छन् ।
निजीकरणको यस्तो तीतो अनुभव भएको देशमा अहिले ‘समाजवादउन्मुख’ भनिएको सरकारले फेरि अर्को जनताको सम्पत्तिलाई निजीकरणमार्फत विदेशी पुँजीको हातमा दिने चलखेल सुरू भएको छ । ‘राष्ट्रिय ध्वजाबाहक’ निगम निजी क्षेत्रलाई सुम्पिनुको अर्थ समयान्तरमा सिंहदरबार र बालुवाटार पनि निजी क्षेत्रलाई सुम्पने तयारी पो हो कि ?

 सरकारी निगमको सेवाबाट ग्राहक वाक्कदिक्क भएका छन् । हरेक वर्ष सरकारकै टेकोमा मात्र बाँचिरहेको निगम राज्यको लागि बोझ र जनताको पैसाको अपव्यय भइरहेको छ । शासक दलहरूले आफ्ना मान्छेलाई मनपरी भर्ती गर्ने, आफ्नो स्वार्थको निम्ति दुरूपयोग गर्ने अनि सरकारको सम्पत्ति जे गर्दा पनि हुने विकृत मानसिकताको कारण नै निगमले यो दुरवस्था भोग्नु परिरहेको छ । यस्ता विकृति सुधार गर्न राज्यले अग्रसरता लिनुको विकल्प छैन । विडम्बना ! राज्यले समाधान गर्नुपर्ने समस्याबाट आफू पन्छेर निजी क्षेत्रलाई बेच्न खोज्नु गलत हो । निगममा सुधारको खाँचो छ । तर, सुधारको पर्यायवाची निजीकरण होइन । निजीकरणको तीतो अनुभव भएको नेपालले फेरि अर्को सरकारी सम्पत्तिलाई सखाप पारेर निजी वा विदेशी कम्पनीको बोलवाला गर्न मार्गप्रशस्त गर्नुहुन्न ।

विमानस्थल र विमानसेवा प्रदायक संस्था भनेको देशको सुरक्षासँग प्रत्यक्ष गाँसिएका विषय हुन् । त्यही कारण भारतले विभिन्न बहानामा नेपाली विमानस्थलको व्यवस्थापन र सुरक्षा आफ्नो हातमा पार्ने प्रयास गर्दै आएको छ । भारतीय विस्तारवादको पूजा गर्ने शासकहरूको कारण भारत कतिपय कुरामा सफल पनि भएको छ । अब देशको वायु सेवा निगमलाई पनि निजी क्षेत्रको हातमा सुम्पेर देशको सार्वभौमिकतामाथि खेलबाडको प्रयास भइरहेको छ ।
निःसन्देह वायु सेवा निगममा विकृतिको रास छ । सरकारी निगमको सेवाबाट ग्राहक वाक्कदिक्क भएका छन् । हरेक वर्ष सरकारकै टेकोमा मात्र बाँचिरहेको निगम राज्यको लागि बोझ र जनताको पैसाको अपव्यय भइरहेको छ । शासक दलहरूले आफ्ना मान्छेलाई मनपरी भर्ती गर्ने, आफ्नो स्वार्थको निम्ति दुरूपयोग गर्ने अनि सरकारको सम्पत्ति जे गर्दा पनि हुने विकृत मानसिकताको कारण नै निगमले यो दुरवस्था भोग्नु परिरहेको छ । यस्ता विकृति सुधार गर्न राज्यले अग्रसरता लिनुको विकल्प छैन । विडम्बना ! राज्यले समाधान गर्नुपर्ने समस्याबाट आफू पन्छेर निजी क्षेत्रलाई बेच्न खोज्नु गलत हो । निगममा सुधारको खाँचो छ । तर, सुधारको पर्यायवाची निजीकरण होइन । निजीकरणको तीतो अनुभव भएको नेपालले फेरि अर्को सरकारी सम्पत्तिलाई सखाप पारेर निजी वा विदेशी कम्पनीको बोलवाला गर्न मार्गप्रशस्त गर्नुहुन्न । नेपाली जनताबाट निगमको निजीकरणको प्रस्तावको कडा विरोध गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *