भर्खरै :

जुट्दा र फुट्न लाग्दाको अभिव्यक्ति सबै झूट !

केही दिनअघिसम्म एमालेका माधव नेपाल र केपी ओली पक्षबीच अन्तरकलह चर्केर पानी बाराबारको स्थितिमा पुगेको थियो । एमालेका नेताहरूबीच भइरहेको पारोको त्यो उत्तारचढाव एकाएक सेलायो । ‘एमाले विवाद सुल्झाउने दिशातर्फ’, ‘कार्यदलमा सहमति प्रयास’, ‘सहमति जुटाउने अन्तिम कसरत’ शीर्षकमा समाचारहरू छापिरहेकै बेला ‘जसपा विवाद अब इजलाससम्म’, ‘अन्ततः जसमा विभाजनतर्फ’, ‘जसपा विवाद ः मिलन असम्भव, विभाजन सम्भव’ जस्ता शीर्षकका समाचारहरू पनि सोही दिनका पत्रिकाहरूमा छापिए । सवाल यहाँ कुनै दल फुट्नु र जुट्नुसित होइन । कुनै दल मिल्न लाग्यो र कुनै दल फुट्न लाग्यो भन्नेतर्फ होइन । दलहरू मिल्न पनि सक्छन्, फुट्न पनि सक्छन्, यो स्वाभाविक हो । तर, जुटेको दल एकाएक किन फुट्छ र फुटेको या फुट्न लागेको दल एकाएक कसरी जुट्छ ? दल जुट्दा र फुट्दा दलको सिद्धान्त र विचार कहाँ थन्काइयो ? कहाँ लुकाइयो ? किन बिर्सियो ?
दल जुट्दा या मिल्दा तिनै दलका नेताहरूले विचार मिलेकोले एक भएको फुके । तिनै दलका नेताहरू फुट्न लाग्दा एकले अर्कोलाई कम्युनिस्टविरोधी, कम्युनिस्ट भाँड्ने समूहमात्र भनेनन् कम्युनिस्ट नै नभएको फुके । केपी ओलीले माधव नेपाल र पुष्पकमल दाहाललाई माधव नेपाल र पुष्पकमल दाहालले केपी ओलीलाई केमात्र भनेनन् । एकले अर्कोलाई छेडेको हानथापले, लगाएको आरोपले एमालेभित्र माधव नेपाल पक्ष र केपी ओली पक्षबीच कहिल्यै मिल्ने लक्षण देखिँदैन । कम्युनिस्टको कुनै सिद्धान्त, विचार, संस्कार प्रक्रियाभित्र नबसी मनपरी गर्न थाले, मनपरी भन्न थाले । आज तिनै दलका नेताहरू एकाएक कसरी नरम भए, एकाएक कसरी नजिक पुगे या मित्रजस्ता भए ?
नेपाल र ओली पक्षबीच मिल्न विगतको पार्टी निर्णय र कारबाहीमात्र फिर्ता लिएर ओली र नेपाल पक्षका नेताहरू के सद्दे हुन्छन् ? हिजो ठूलठूला सभामा ती नेताहरूले बोलेका, आरोप लगाएका विचारलाई मूल्याङ्कन गर्दा ती नेताहरू कुन तहमा छन् ? तिनीहरूको स्थान कहाँ छ ? तिनीहरूले इज्जत फालेर बोले या सिद्धान्त र विचार छोडेर बोले ? के हिजो बोलेका, आरोप लगाएका अभिव्यक्तिहरू सबै झूट या बाढी पहिरोले बगाए ? विगतका विचार र आरोप–प्रत्यारोप सुनेका अन्य नेता, कार्यकर्ता र जनता के भन्दा हुन् ? के ती विचार र आरोप–प्रत्यारोप सबै झूट हुन् भनेर दुवै पक्षका नेताहरूले माफी माग्न पर्दैन ? यसरी छलछामको राजनीति गर्ने हो ? कार्यकर्ता र जनतालाई भ्रममा पार्ने हो ? ठूला दलका ठूला नेताहरू कस्ता चरित्रका हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *