भर्खरै :

पराजय– ४

एक्लोपन
अस्पतालको जीवनको निर्विघ्न र शान्तिपूर्ण दिनचर्याले गर्दा मेतचिकले जुन मानसिक शान्ति पाएको थियो, मोरोजकाको आगमनले त्यसमा ज्वारभाटा उत्पन्न भयो ।
“उसले मलाई खिसी गर्ने आँखाले किन हे¥यो ?” घोडामा चढेर अर्दली गएपछि मेतचिकले सोच्यो, “उसले मलाई एउटा अप्ठ्यारो स्थितिबाट बाहिर निकालेको थियो । तर, यत्तिकैमा उसले मलाई खिसी गर्ने अधिकार पाउँछ त ? यहाँ सबैले उस्तै व्यवहार गर्छन्… ।” उसले आफ्ना पातला र चप्रक्क सुकेका औँला र कम्बलमुनि काठका पट्टाहरूबीच बाँधेका आफ्ना खुट्टाहरू हे¥यो । र, आफूले भरसक दबाउने प्रयास गरेका उसका पुराना गुनासाहरू फेरि नयाँ रङका साथ ब्युँतिए र उसको हृदय दुःख र कष्टले विह्वल भयो ।
कोदालीको फालीजस्तो सपाट अनुहार र काँडाजस्तै तीखा आँखा भएको व्यक्तिले कुनै शिष्टाचारबिना जबरजस्ती उसको कोटको कलर समातेको बेलादेखि नै मेतचिकनिर जो आए पनि तिरस्कार लिएर आउँथ्यो, मद्दत गर्न आउँदैनथ्यो । कसैलाई पनि उसका गुनासाहरू सुन्ने खुल्दुली थिएन । ताइगाले वातावरणमा प्रेम र शान्ति छचल्काइरहेको अस्पतालमा समेत मान्छेहरू केवल कर्तव्तवले नै ऊमाथि सहानुभूति देखाउँथे । र, जौको खेतमा उसको रगत बगेपछि ऊ असाध्यै एक्लिएको थियो । यो बिरानोपना उसलाई सबैभन्दा निरस र कष्टकर लाग्थ्यो ।
ऊ पिकासँग भलाकुसारी गर्न चाहन्थ्यो । तर, बुढो पिका आफ्नो पछ्यौरा बिछ्याएर र आफ्नो मुलायम टोपीको सिरानी हालेर ताइगाको किनारमा एउटा रूखमुनि चैनले सुतिरहेको थियो । उसको थाप्लोको गोलो टल्किने मुडुलो भाग चाँदीजस्तै चम्किलो कपालले प्रकाशपुञ्जजस्तै घेरिएको थियो । एउटा हातमा पट्टी बाँधेको युवक र अर्को खुट्टा खोच्याइरहेको युवक सँगसँगै ताइगाबाट बाहिर निस्के । उनीहरू बुढो पिकानिर अडिए र उनीहरूका आँखा बिठ्याइँ गर्ने भावले नाच्न थाले । खुट्टा खोच्याइरहेको युवकले जमिनबाट एउटा दुबो टिप्यो र आफ्नो आँखीभौँ फैलाउँदै हाँच्छ्युँ गर्ने मुद्रा बनाएर पिकाको नाकमा दुबोले काउकुती लगायो । पिका निद्रामै भुटभुटियो । उसको नाकमा चस्का दौडियो । उसले आफ्ना हात हल्लायो र आखिरीमा कति जोडले हाँच्छ्युँ ग¥यो भने सबैजना गलल्ल हाँस्न थाले । दुवै युवकहरू मच्चिँदै हाँस्न थाले र कम्मर जोडेर चकचके केटाहरूजस्तै पछि फर्कीफर्की हेर्दै ब्यारेकको झुप्रोतिर दौडे । एउटा युवकले आफ्नो हात सम्हालिरहेको थियो र अर्को चाहिँ अपराधीको जस्तो हाउभाउ बनाएर उफ्रिँदै दौडिरहेको थियो ।
“ओ, चिहान खनुवा !” पहिलो युवकले झुप्रोसामु बेन्चमा खारचेन्कोलाई भार्याको छेउमा बसिरहेको देखेर चिच्यायो, “हाम्रा चेलीबेटीसँग किन चप्किँदै हिँड्छस् ? हेर हेर, कस्तो कमलो छे यो,” ऊ नर्सनिर बस्दै र आफ्ना फुर्तिला हात उसको कम्मरमा राख्दै चिप्लो स्वरमा बिरालोजस्तै बोल्यो । “हामी तिमीलाई माया गर्छौँ, हामीसँग तिमी एउटै त पोथी छौ । त्यो फोहोरी अभागीलाई लखेट, उसलाई उसकै आमाकहाँ पठाइदेऊ, नर्कमा जाओस् भनिदेऊ !” त्यहीँ हातले उसले खारचेन्कोलाई घचेटेर धपाउने कोसिस ग¥यो । तर, डाक्टरको सहायक अर्कोतिरबाट भार्यासँग टाँसियो र एउटा खित्का छोडेर आफ्नो मुख बायो अनि मन्चुरियाली सुर्तीले पहेँलिएका दाँत देखाउन थाल्यो ।
“अनि म बिचरीको जिन्दगानी चाहिँ के होला ?” खुट्टा खोच्याउने युवकले नाके स्वरमा भन्यो । “यो संसारमा कुनै निसाफ, कुनै सत्यता छैन । एउटा घाइतेलाई कसले टेर्छ ? के विचार छ साथीहरू, नागरिकहरू ?” आफ्ना भिजेका परेला सन्काउँदै र आफ्ना हातले हास्यास्पद चालामाला देखाउँदै ऊ बोल्दै गयो ।
उसको साथीले उसलाई टाढा हटाउन लात्तीले हान्यो । डाक्टरको सहायक अप्राकृतिक तवरले धोद्रो स्वरमा हाँस्यो र उसले भार्याको ब्लाउजभित्र आफ्नो हात घुसायो । उसले तीनैजनातिर नरम र थाकेका नजरले हेरिरही । उसले खारचेन्कोको हात हटाउने प्रयास पनि गरिन् । अनि मेतचिकले आश्चर्यपूर्वक एकटक हेरिरहेको देखेर अकस्मात् ऊ जुरुक्क उठी, आफ्नो ब्लाउज मिलाई । उसको अनुहार गोलभेँडाजस्तै रातो भयो ।
“बोकाहरू, मौरीजस्तै महमा चप्किन्छौ !” ऊ आवेशमा पुत्ताई र टाउको झुकाएर झुप्रोतिर दौडी । उसको गुन्यो ढोकामा अड्कियो । उसले रिसाउँदै गुन्यो तानी र ढोकालाई कति जोडले बन्द गरी भने ढोकामा जमेको कत्ला पनि टकटकियो ।
“नर्स त यस्ती पो हुनुपर्छ !” खोच्याउने युवकले सुनाउने गरी भन्यो । उसले नसा सुँघेझैँ अनुहार बनायो अनि घिनलाग्दो र दब्दो स्वरमा हिँहिँ गर्न थाल्यो ।
यो पूरै घटनाभरि मेपलको रूखमुनि चारपत्रे गद्दीको ओछ्यानमा पल्टेको घाइते छापामार फ्रोलोभले शून्य र हाँसोरहित आँखाले हेरिरह्यो । उसको पीडाले त्रसित अनुहार आकाशतिर फर्केको थियो । उसको हेराइ मुर्दाको हेराइजस्तै कान्तिविहीन र भावशून्य थियो । फ्रोलोभको घाउ सघीन थियो । उसले यस कुराको चाल त्यसबेला पाएको थियो जतिबेला ऊ पेटको असह्य वेदनाले छटपटाइरहेको थियो र उसका आँखाहरू आकाशको सुनसान गहिराइमा अडिएका थिए । फ्रोलोभले अपलक दृष्टिले आफूतिर हेरिरहेको मेतचिकले महसुस ग¥यो । मेतचिकको शरीरमा सिकसिकोजस्तो दौडियो । कहालिएर उसले आफ्नो अनुहार अन्तै फर्कायो । “अल्लारेहरू फेरि उही चालढालमा उत्रिँदै छन्… ।” फ्रोलोभले कामेको स्वरमा भन्यो र संसारलाई आफू जीवित छु भनी साबित गर्न खोजेझैँ उसले आफ्ना औँलाहरू चलायो ।
मेतचिकले सुनेको नसुनेझैँ बहाना ग¥यो ।
फ्रोलोभले त्यसपछि ऊतिर ध्यान दिएन । तैपनि मेतचिकमा धेरै बेरसम्म उसलाई त्यो दशामा हेर्ने आँट आएन । उसलाई घाइतेले अझै पनि दाँत देखाएर भूतजस्तै हाँस्दै आफूलाई क्वारक्वार्ती हेरिरहेको होला भन्ने लाग्यो ।
ढोकामा ढङ्ग नपु¥याई झुकेको डाक्टर स्ताशिन्स्कीले ब्यारेकको झुप्रोबाट पाइला बाहिर निकाल्यो र लामो चक्कुजस्तै फ्याट्टै सीधा भयो । ऊ झुक्न पनि सक्छ भन्ने कुरा विचित्रै देखियो । लामा पाइला चाल्दै ऊ उनीहरूतिर लम्कियो र आफू त्यहाँ किन आएको हुँ भन्ने बिर्सेर एउटा आँखा झिम्झिमाउँदै दङ्ग परेर उभियो ।
“उधुम गर्मी छ….” अन्तमा ऊ भुनभुनायो र आफ्ना पाखुरा मोडेर गलत तरिकाले कपाल मुसार्दै उसले आफ्नो टाउकोमा हात घुमायो । उनीहरूले एक यस्तो व्यक्तिलाई सताउँदै हुँदैन जो एकैचोटि सबैकी आमा र स्वास्नी बन्न सक्दिन भनी सम्झाउन ऊ बाहिर निस्केको थियो ।
“बसेको बसै गर्दा ज्यान पाट्टिन्छ कि ?” मेतचिकनिर आएर र आफ्नो सुक्खा तातो हात उसको टाउकोमा राख्दै डाक्टरले सोध्यो ।
मेतचिक यो अप्रत्याशित सहानुभूतिले प्रभावित भयो ।
“ए, मलाई यसको चिन्ता छैन, सन्चो हुनेबित्तिकै म हिँडिहाल्छु,” उसले फ्याट्टै भन्यो, “तर तपाईँ… सधैँ जङ्गलमा… ।”
“तर यस्तै आइलाग्यो भने के गर्ने ?”
“के आइलाग्यो भने ?” मेतचिकले आफ्नो मनमा उठेको प्रश्नलाई मुखले दोहो¥यायो ।
“जङ्गलमा बस्नुप¥यो भने भन्न खोजेको हुँ ।” स्ताशिन्स्कीले आफ्नो हात हटायो र पहिलोचोटि मेतचिकतिर साँचो मानवीय जिज्ञासाले हेर्न थाल्यो । उसले आफ्ना काला चम्किला आँखाहरू मेतचिकका आँखामा गाड्यो । उसका आँखाहरू उदास र कतै बरालिएझैँ देखिन्थे । मानौँ ताइगामा सिखोते–अलिन पर्वतमालामाथि धुवाँ छोड्ने दाउरापातको धुनीछेउ लामा रातहरू कटाउने कुनै एक्लो मान्छेको समस्त मौन एक्लोपन तिनै आँखाबाट छचल्किरहेको थियो ।
“म बुझ्छु,” मेतचिकले उदास स्वरमा भन्यो र उसको ओँठमा उदास, मित्रतापूर्ण मुस्कुराहट फैलियो । “तर, के तपाईँ कुनै गाउँमा बस्न सक्नुहुन्न ? मतलब… व्यक्तिगत रूपमा तपाईँलाई नै भन्न खोजेको चाहिँ होइन,” उसले डाक्टरलाई अजीव प्रश्नलाई बीचमै काट्दै भन्यो, “अस्पताललाई भन्न खोजेको हुँ ।”
“यो ठाउँ बढी सुरक्षित छ । तिमी कहाँबाट आएका हौ ?”
“म सहरबाट आएको हुँ ।”
“सहर छोडेको धेरै भयो ?”
“हजुर, एक महिनाभन्दा बढी भयो ।”
“क्रेइसेनमेनलाई चिन्छौ ?” स्ताशिन्स्कीले फुरुङ्ग पर्दै सोध्यो ।
“अँ… तर त्यति राम्ररी चाहिँ चिन्दिन ।”
“उसको हालचाल के छ ? उसलाई बाहेक तिमी अरू कसलाई चिन्छौ ?” डाक्टरले आफ्नो आँखा झन् चाँडो झिम्झिमाउन थाल्यो र एकाएक रूखको एउटा ठुटोमा यसरी बस्न थाल्यो मानौँ उसका घुँडामा कसैले पछाडिबाट धक्का दिएको हो ।
“म भोनसिकलाई, एफ्रिमोभलाई चिन्छु…” मेतचिकले सुरु ग¥यो, “गुर्येभलाई, फ्रेनकेललाई, त्यो चस्मा लगाउनेलाई चिन्दिन, बरु त्यो होचो मान्छेलाई चिन्छु… ।”
“तर, तिनीहरू त सबै म्याक्सिमालवादी हुन् ¤” स्ताशिन्स्कीले अचम्म मान्दै भन्यो, “तिमीले उनीहरूलाई कसरी चिन्यौ ?”
“म उनीहरूकै पछिपछि डुल्ने गर्थेँ, त्यसैले….” मेतचिकले आत्तिँदै भन्यो ।
“ए,” स्ताशिन्स्कीले अनिश्चित स्वरमा सुस्तरी भन्यो, “कुरा त्यसो पो…  ।” उसको स्वर अब एक अपरिचितको स्वरमा फेरियो । “जेहोस्, तङ्ग्रिँदै जाऊ…” उसले उठ्दै तर मेतचिकतिर नहेरिकन भन्यो । ऊ फटाफट झुप्रोतिर यसरी हानियो मानौँ उसलाई मेतचिकले बोलाउला भन्ने डर थियो ।
“मैले भास्युतिनालाई पनि चिन्छु ¤” आफ्नो हातबाट फुत्किन थालेको वस्तुलाई समाउन चाहेझैँ मेतचिक उसको पिठ्यूँ पछाडि चिच्यायो ।
“हो, हो,…” स्ताशिन्स्कीले आफ्नो टाउको घुमाएर सुस्तरी भन्यो । तर, उसले आफ्नो चाल झन् बढायो ।
मेतचिकले आफू डाक्टरको सहानुभूति प्राप्त गर्न असफल भएको चाल पायो । ऊ खुट्टा फर्काएर ओछ्यानमा बस्यो र उसको मुख पीडाले विकृत भयो ।
एकाएक पछिल्लो महिनाको उसका सारा अनुभवले उसलाई अचम्मित पारे । एकचोटि फेरि उसले आफ्नो हातबाट फुत्किन खोजिरहेको वस्तु समाउने प्रयास गर्न थाल्यो । उसको ओठ फर्फरायो, आँसुको भल रोक्दै आँखाका ढकनीहरू छिटोछिटो झिम्झिमाए । तैपनि, आँसु खसिहाल्यो र उसको गालामा आँसुको भल बग्यो । उसले आफ्नो मुख कम्बलले ढाक्यो र संयम गुमाएर सुस्तरी रुन थाल्यो । अनि, कसैले आफ्नो कमजोरी नदेखोस् भनेर उसले आफ्नो सिँकसिँकी र हिकहिकी रोक्ने चेष्टा ग¥यो ।
ऊ अबेरसम्म चिन्तित हुँदै रोइरह्यो र उसका विचारहरू उसको आँसुजस्तै नुनिलो र तीतोपनाले भरिए । पछि अलि शान्त भएर ऊ नचलिकन पल्टिरह्यो । उसको टाउको अझै पनि कम्बलले ढाकेको थियो । भार्या धेरैचोटि उसको नजिक आई । उसले सजिलै उसको पादचाप चिन्थ्यो । नर्स यसरी हिँड्थी मानौँ उसले आजीवन ठेला धकेल्दै हिँड्ने कसम खाएकी छ । उसको ओछ्यान नजिक उभिएर पलभरलाई अडिई, अनि गइहाली ।
पछि पिका गहु«ङ्गा पाइला सार्दै उसको नजिक आयो ।
“सुतिरहेका छौ ?” उसले कोमल, स्पष्ट स्वरमा सोध्यो ।
मेतचिक निदाएझैँ गरी पल्टिरहेको थियो । पिका अलिबेर रोकियो । मेतचिकले आफ्नो कम्बलमाथि साँझका लामखुट्टेहरूले भनभन गरेको सुनिरहेको थियो ।
“ठीक छ, सुत… ।”
अँध्यारो भएपछि भार्या र अर्को कुनै व्यक्ति उसको ओछ्याननिर आए । सुस्तरी चारपाई उठाएर उसलाई ब्यारेकको झुप्रोभित्र लगे । भित्र गुम्म र न्यानो थियो ।
“जाऊ… फ्रोलोभको स्थिति बुझ । म आइहाल्छु,” भार्याले भनी ।
अलिबेर उभिएपछि उसले सावधानीपूर्वक मेतचिकको मुखबाट कम्बल हटाई ।
“तिमीलाई के भएको छ, प्यारो पाभेल ? सन्चो छैन कि क्या हो ?”
उसले पहिलोचोटि मेतचिकलाई यस नामले बोलाएकी थिई ।
मेतचिकले अँध्यारोमा उसको मुहार देख्न सकिरहेको थिएन, तर ऊ त्यहाँ छे भन्ने उसलाई महसुस थियो । उनीहरू झुप्रोमा एक्लै छन् भन्ने कुरा पनि उसले चाल पाएको थियो ।
“हो, स्वास्थ्य बिग्रिँदै छ,” उसले दबेको र निराशापूर्ण स्वरमा भन्यो ।
“खुट्टा दुख्यो र ?”
“हैन, दुखेको छैन ।”
ऊ ह्वात्तै झुकी र आफ्नो गह्रौँ र कोमल स्तनले उसको छाती थिच्दै उसको ओठ म्वाइ खाई ।
किसान र ‘कोइला खानेहरू
आफ्ना सन्देशहरूको जाँचबुझ गर्ने मनसायले लेभिनसन निर्धारित समय अगावै सभामा पुग्यो । किसानहरूसँग घुलमिल भएर उसले तिनको विचार के छ भनी थाहा पाउन चाहन्थ्यो ।
समितिको बैठक पाठशालाको भवनमा भएको थियो । लेभिनसन त्यहाँ पुग्दा धेरै मान्छे आइसकेका थिएनन् । खेतबाट छिट्टै आएका थोरै मान्छेहरूमात्र थिए । उनीहरू साँझको गोधुलीमा सिँढीहरूमा बसेका थिए । खुला ढोकाबाट भित्र रियाबेत्स ध्वाँसो जमेको चिम्नीमा बत्ती बाल्नमा व्यस्त देखिन्थ्यो ।
“ओसिप अब्रामिचलाई सलाम !” किसानहरूले श्रद्धापूर्वक झुक्दै र काला, श्रमले कठोर औँलाहरू लेभिनसनतिर बढाउँदै भने । उसले सिँढीहरूमा चुपचाप बसेका सबैसँग हात मिलायो ।
नदीको अर्को किनारबाट किसान बालाहरूले सुसेलेको गीतको आरोहअवरोह आइरहेको थियो । वातावरणमा घाँसको गन्ध व्याप्त थियो । धुलोको पातलो पर्दा फैलेको थियो । दाउरापातका चाङहरूबाट धुवाँ उडिरहेको थियो । नदीमा यात्री बोक्ने नाउका थाकेका घोडाहरूले खुट्टा बजारेको आवाज आइरहेको थियो । साँझको न्यानो गोधुली, मालताल भरिएका गाडीहरूको घ्यारघ्यार, पेट भर्ने गरी चरेका र दूध नदुहेका गाईहरूको लामो बथान, यी सबैले किसानहरूको दिनभरिको काम सकिएको सूचना दिइरहेका थिए ।
“अहिले थोरैमात्र मान्छे आएका छन्,” दलानमा आएर रियाबेत्सले भन्यो, “नौलो कुरो पनि भएन । आज धेरै मान्छे जम्मा गर्न सकिन्न । धेरै मान्छे घाँस राखेको खलाहरूमा नै सुत्नेछन् ।”
“कामको दिनमा किन समितिको बैठक डाकेको ? जरुरी विषय छ र ?”
“एउटा विषय किनार लगाउनै पर्नेछ…” प्रधानले हिचकिचाउँदै भन्यो, “मकहाँ बसेको हाम्रो एक साथीले बिठ्याइँ गरेको छ । एक हिसाबले कुरो गम्भीर होइन, तर अलि चित्त दुख्ने खालको छ ।” उसले मुख लेप्राएर लेभिनसनतिर हे¥यो र चुप भयो ।
लेभिनसनले कुरा बुझ्यो । अनि एकअर्काको कुरा बीचमा काट्दै किसानहरूले आफ्ना गुनासाहरू ऊसामु राख्न थाले । सबै दुखेसाहरू घाँस जम्मा गर्ने र कारखानामा मालसामानको अभाव भइरहेको विषयमा थिए ।
“घाँस काट्न हामीले जुन औजार चलाउँछौँ, तिनलाई देख्नुभयो भने कुरा बुझ्नुहुन्छ ओसिप अब्रामिच । कसैसँग पनि गतिलो हँसिया छैन, सबै भाँचिएका र जोडजाड गरेका औजार छन् । यो काम होइन, अत्याचार हो !”
“सेम्योनले एउटा गतिलो हँसियालाई त्यस दिन भाँच्दियो ! उसलाई जहिल्यै हतारो हुन्छ । मिहिनेत गर्ने मामिलामा त ऊ दैत्यजस्तै छ । खेतको बीचमा मेसिनजस्तै हिँड्छ अनि एक्कासि उसको हँसिया ढुङ्गामा गएर ठोकिन्छ… अब त्यसलाई मर्मत गरेर पनि साध्य छैन… ।”
“हो, त्यो मजाको हँसिया थियो… ।”
“खै मेरो घरका मान्छेहरूले कसरी काम चलाएका छन् कुन्नि,” सोचमग्न रियाबेत्स फतफतायो, “के उनीहरूले सप्पै घाँस काटे ? यो साल घाँस हर्लक्कै बढेको छ… । उनीहरूले आइतबारसम्म ठूलो खेतको काम सके पनि हुने !… साँच्चै भनेको, यो लडाइँले त हामीलाई मारेरै छोड्ने भयो ।”
अँध्यारोबाट निस्कँदै प्रकाशको काम्दो परिधिभित्र नयाँ आकृतिहरू देखापरे । तीमध्ये केही सीधै खेतबाट आएका थिए । उनीहरूले पोकापन्तुरा समातेका थिए र लामा, मैला, सेता लबेदा लगाएका थिए । आफूसँगै उनीहरूले हल्लीखल्ली, अलकत्रा र ताजा घाँसको मीठो बास्ना लिएर आएका थिए ।
“ईश्वरले सबैलाई दीर्घायू बनाऊन् !…”
“हो, हो ! तन ? उज्यालोमा आऊ त, तिम्रो अनुहार हेरौँ । हेर त माखाले यसको अनुहार कस्तो बनाइदिएको छ । मैले तिमीलाई त्यहाँबाट उम्केर भागेको देखेको थिएँ, आफ्नो पुच्छर हल्लाउँदै… ।”
“ओ बदमास, मेरो खेतको घाँस किन काटिस् ?”
“तेरो खेत रे ! गफ नजोत ! म त आफ्नो खेतबाट एक इन्च पनि अगाडि गएको थिइनँ । हामी अर्काको सम्पत्तिमा आँखा गाडिन्न । हाम्रो खेतै पुगीसरि छ ।”
“तिमीलाई बेसरी चिन्या छौ ! … साला पुगीसरि छ भन्छ ! हाम्रो बगैँचाबाट तेरा सुघुरहरू लखेटेर साध्य लाग्दैन । अब त तिनले मेरो खरबुजाको खेतमा बच्चा ब्याएर भाँडभैलो गर्नेछन् । पुगीसरि छ भन्छ !”
एउटा अग्लो, दुब्लो र कुम लत्रेको व्यक्तिको छायाँ भीडमाथि प¥यो । अँध्यारोमा उसका आँखा चम्किरहेका थिए ।
“जापानीहरू,” उसले भन्यो, “अस्ति सुनदुगा पुगेका छन् । चुगुएभका मान्छेले यसै भन्छन् । उनीहरू आए, स्कूलको भवन कब्जा गरे र तुरुन्तै चेलीबेटीलाई जिस्काउन थाले । ‘रुसी कान्छी, रुसी मैँया…! हरामीहरू ।” उसले घृणापूर्वक थुक्यो र दाउरा चिर्न थालेझैँ आफ्ना पाखुरा जोडले घुमायो ।
“उनीहरू यहाँ पनि आउनेछन्, धप्पै आउनेछन् !…”
“हामीमाथि नै यस्तो किन हुन्छ !”
“हामी किसानका लागि शान्ति भन्ने हुँदैन… ।”
“सबैभन्दा दुर्गति किसानकै हुन्छ । उफ, यो लडाइँ कसैगरी सत्यनास भए हुन्थ्यो ¤”
“मुख्य कुरो, यसबाट भाग्ने उपाय छैन । ताबाको माछा भुघ्रोमा । रोजे पनि के रोज्ने ?”
लेभिनसनले चुपचाप सुनिरह्यो । उनीहरूले उसलाई बिर्सिसकेका थिए । ऊ एकदम होचो, महत्वहीन देखिँदै थियो । अँध्यारोमा उसको टोपी, रातो दाह्री र घुँडामाथिसम्म ढाक्ने भुत्ले बुटमात्र देखिन्थ्यो । तर, किसानहरूको चर्काचर्की सुन्दै गर्दा लेभिनसनले उनीहरू आत्तिएको छ्याघै चाल पायो । यो कुरा उसले मात्र बुझ्नसक्थ्यो ।
“स्थिति बिग्रेजस्तो छ,” उसले मनमनै दोहो¥याइरह्यो । “असाध्यै बिग्रिसकेको छ । भोलिसम्म मैले स्ताशिन्स्कीलाई चिठी लेख्नैपर्छ । घाइतेहरूलाई सकेसम्म लुकाउनु भनी भन्नुपर्ला । केही दिनलाई हामी पनि लुक्नुपर्ला । सर्लक्कै ओझेल हुनुपर्ला… । पहराका डफ्फाहरूलाई बलियो बनाउनुपर्ला… ।”
“बाक्लानोभ !” उसले आफ्नो सहायकलाई बोलायो, “एक मिनेटलाई यहाँ आऊ । कुरा के भने… अलि वर आऊ । मेरो विचारमा गोठ र तबेलामा हामीले एउटाको सट्टा अलि धेरैै पहरेदार राख्नुपर्ला । हामीले क्रिलोभ्कासम्म एउटा घोडचढी गस्ती दल पनि पठाउनुपर्ला । खासगरी रातमा । हामी पछि परिसकेका छौँ… ।”
प्रस्तुति : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *