भर्खरै :

सक्वको म राजदास–९२/ भालेन्टिना साँखुमा धान रोप्न जान्थिन्

भालेन्टिनालाई साँखुको प्राकृतिक वातावरण धेरै मनपथ्र्यो । साँखु वरिपरिको वन जङ्गल, पाखा पर्वत, मणिचूड डाँडा, चाँगुनारायण डाँडा, जहरसिंह पौवा, लप्से फेदी, थु गुँ (पूर्वको जङ्गल), इता गुँ (दक्षिणको जङ्गल) थु गुँ मुनितिर लप्से फेदीबाट बगी आउने पवित्र सालीनदी अनि वज्रजोगिनी मन्दिर परिसरको वातावरणमा धेरै उनी रमाउँथिन् । प्रत्येक दिनझैँ दिउँसो खाना खाइसकेपछि उनी मलाई लिएर यी ठाउँहरूमा घुम्न जान्थिन् । मस्कोको रुसमा उनले यस्तो प्राकृतिक सुन्दर दृश्यहरू आफ्नै आँखासामु कहिल्यै देखेकी थिइनन् । हाम्रो साँखुभित्रै ५–१० ठाउँमा १०–२० रोपनी जग्गा जमीन थियो । यसबाहेक साँखु वरिपरि पालुवारी, इन्द्रायणी र वज्रजोगिनीतिर १०–२० रोपनी थप जग्गा–जमिन थियो । धेरैजसो जग्गा फाँटमा थियो भने १०–१५ रोपनी जग्गा भिरपाखामा थियो । भालेन्टिना भिरपाखाको जग्गामा फलफुलको बगैँचा र सल्लाको रुख रोप्नुपर्छ भन्थिन् । उनी सल्ला र धुपीका बोटहरूले धेरै अक्सिजन दिन्छन्, साधारण अक्सिजनमात्र होइन तीनवटा अक्सिजनका कण (एटम) मिलेर बनेको ओजन पनि उत्पादन गर्छन् भन्थिन् । त्यसकारण हप्तैपिच्छे उनी मलाई साँखुको उत्तर दिशामा पर्ने वज्रजोगिनी मन्दिर र परिसरको सल्लाका रुखहरूले भरिएको वन जङ्गलमा लिएर जान्थिन् र घण्टौँ सल्लाको रुखमुनि च्याउ खोजेर गीन सुनेर बस्थिन् ।
सङ्गीत उनलाई धेरै मनपथ्र्यो । सोभियत रुसमा जन्मे हुर्केको भए पनि उनलाई अमेरिकी र अङ्ग्रेजी गीतहरू धेरै मनपथ्र्यो । त्यसताका १९७० को दशकमा अङ्ग्रेजी म्युजीकल ब्यान्ड ‘द विटल्स’ ले विश्व हल्लाएको थियो । सोभियत मस्कोमा पनि सोभियत जनता विशेष गरेर सोभियत युवा जगत विटल्स धेरैले मनपराउँथे । त्यसकारण, हामी बस्ने होस्टेलहरूको कोठाबाट आइतबार बिदाका दिनहरूमा विटल्सका गीतहरू घन्किथे । त्यसताका रेकर्ड प्लेयरहरूमा रेकर्डहरू सुन्ने चलन थियो । सोभियत सरकार पश्चिमा संस्कृति देशभित्र नछिरोस् भन्ने चाहन्थ्यो । तर, सोभियत सरकारको आफ्नै नीतिअनुरूप हजारौँ लाखौँ विदेशी विद्यार्थीहरू आफ्नो देशमा अध्ययनको लागि भित्र्याएपछि विदेशी संस्कृति सङ्गीत स्वाभाविकरूपमा भित्रिने भइहाल्यो । सोभियत युवा पनि विशेष गरेर कलेज इन्स्टिच्युट पढ्ने वयस्क युवतीहरू विदेशी केटाहरूसँग धेरै आकर्षित हुन्थे । उनीहरू विदेशी विलासिताका सामानहरूजस्तै फेसनेबल लुगाफाटो, जुत्ता, जिन्सका कपडा आदि विदेश (विशेषगरी युरोपियन देशहरू, जर्मनी, फ्रान्स, इन्गल्यान्ड) बाट मगाउँथे ।
लुगाफाटो र कस्मेटिक सामानहरूबाहेक म्युजिकल उपकरणहरू र पश्चिमा म्युजिकल ग्रुपका गायकहरूको रेकर्डहरू उनीहरू खूब चाहना गर्थे । गोप्य तरिकाबाट विद्यार्थीहरू युरोप भ्रमण गरेर त्यस्ता सामानहरू सोभियत सङ्घ ल्याउँथे । म सोभियत सङ्घबाट नेपाल फर्कनु अगाडि दुई तीन दिन युरोप गएर (मस्कोदेखि जर्मन, बेल्जियम, होल्यान्ड, पोल्यान्ड हुँदै लण्डनसम्म) थुप्रै लुगाफाटो र रेकर्ड गीतहरू ल्याएर नेपाल फर्किन पैसा जम्मा गरेको थिएँ । त्यसबेला ४–५ सय डलरको सामान ल्याएर २०–३० हजार रुबलको व्यापार हुन्थ्यो ।
भालेन्टिना र म नेपाल फर्कँदा हामीले ५०–६० वटाभन्दा बढी रुसी र विदेशी गीतका रेकर्डहरू र ती रेकर्ड बजाउने प्लेयरहरू ल्याएका थियौँ । यसबाहेक हामीले भेफ भन्ने एउटा राम्रो खालको रेडियो ट्रान्जिस्टर र क्यासेट प्लेयर (२ इन वन) पनि ल्याएका थियौँ । भालेन्टिना साँखुका वन पाखा र खेतबारीमा डुल्न जाँदा यो रेकर्ड प्लेयर हातमा बोकेर हिँड्थिन् । विटल्स, रोलिङ्ग स्टोन, बोनी एम, रड स्टेवार्ट, डीन रीड, एल्भीस, सान्ताना, एल्टन जोनजस्ता पच्छिमा जगतका गीतहरू ठूल–ठूलो स्वरमा बजाउँदै सुन्दै उनी समय बिताउँथिन् । लप्से फेदीमा महाद्योःझ्वाल्ला भन्ने ठाउँमा नुहाउन जान्थिन् । साँखुभन्दा अलिकति माथि उत्तर–पूर्वस्थित लप्सेफेदी गाउँ भएर सालीनदी तल बग्छ । लप्सेफेदीको पानी साँखुमा भन्दा बढी निर्मल, चिसो र सफा देखिन्छ ।
त्यहाँ स–साना पानीका रमणीय झरनाहरू छन् र झरनामुनि स–साना पानीका तालजस्ता पानीका कुण्डहरू छन् । वरिपरि रुखले ढाकेका, ठूलठूला ढुङ्गाहरूको बीचबाट झरिरहेका ती पानीका धारहरूमुनि पानी भित्र डुबेर हामी धेरै समय बिताउँथ्यौँ । उनले बोकेर ल्याएको त्यही क्यासेट प्लेयर बजाएर हामी गीतहरू सुन्थ्यौँ । कहिलेकाहीँ हामी साना छोराहरू र मेरा भाइबहिनीहरू पनि लिएर जान्थ्यौँ । त्यो माहोल एक पारिवारिक पिकनिकजस्तो बन्थ्यो ।
जेठ, असार महिनातिर साँखुका फाँटहरूमा रोपाइँ सुरु भइसकेको हुन्थ्यो । १०/१५ जनाको समूह मिलेर साँखुका महिलाहरू धान रोप्दै गरेका हुन्थे । धान रोप्दै गीत पनि आफ्नै भाकामा गाइरहेका हुन्थे । यी दृश्यहरू हेर्न भालेन्टिनालाई धेरै मनपथ्र्यो  । उनी आफ्नो जुत्ता मलाई बोकाएर खेतभित्र जान्थिन् । उनी आफ्नो क्यासेट प्लेयर बजाउँदै पानीले भरिएका खेतका आली आलीबाट लड्दै हिँड्दै गर्थिन् । म पछि पछि उनका हाई हिल जुत्ता बोकेर जाने गर्थेँ । खेतमा धान रोपिरहेका आईमाईहरू हामीलाई देखेर मरी मरी हाँस्थे र मलाई चिनेका केही महिलाहरू नेवारी भाषामा भन्थे, “ए राजा काजी….!!! छु ताल आमु । विदेश वाना सयेका वयागु आमुहे ला । कलाः यागु लाकां कुबिया जुयेगु ।”
(के यही हो तपाईँ सिकेर आएको विदेश गएर….स्वास्नीको जुत्ता बोकेर हिँड्ने भनेर जिस्क्याउँथे ।)
मैले पनि हाँसीहाँसी जवाफ दिन्थेँ, “छु जुलले कलाःया लाकां कुबियां । कलाः धैम्ह द्यः मखुला ? मिसा धैम्ह भगवती, काली, सरस्वती, लक्ष्मी मखुला ?” (के भो त स्वास्नीको जुत्ता बोकेर । महिला भनेको देवता होइन र … काली, भगवती, लक्ष्मी, सरस्वती आदि ।)
मेरो कुरा सुनेर आइमाईहरू धान रोप्ने रोकेर उठेर हाँस्थे र भालेन्टिनालाई बोलाएर भन्थे, “अय् भम्चा… वा वा ज्यु वा…” । “राजा काजी झासं झासं ।”
भालेन्टिनाले सोधिन्, “के भनेका, किन हाँसेका उनीहरू” । तिमीलाई पनि धान रोप्न आउनु रे ।
उनी क्यासेट प्लेयर मलाई दिएर उनीहरूकहाँ जान्थिन्् र सबैलाई रुसी चक्लेट एउटा एउटा बाँडेर दिन्थिन् । भालेन्टिना चक्लेट र आइसक्रीम खान धेरै रुचाउँथिन् । प्रायः सबै रुसीहरू चक्लेट र आइसक्रीमप्रेमी हुन्छन् । बाटोभरि हिँउ परिरहेको बेलामा पनि काममा जाँदा जाँदै अथवा विद्यार्थीहरू पढ्न जाँदा जाँदै बीच बाटोमा बेचिराखेका चिसो आइसक्रीम किनेर खाँदै जान्थे अनि घरभित्र चिया खाँदा पनि चक्लेटसँगै चिया खान्थे । रुसीहरू चिया धेरै खान्छन् । तर, हामीकहाँ जस्तो दूध र चिनी हालेर होइन । हल्का फिका कालो चिया खान्छन् । चियामा चिनी हाल्दैनन् बरु चिया एक घुटको लिएपछि सँगै टेबुलमा राखेको चिनीको (क्युब) डल्लो मुखमा लगेर चुस्स चुस्छन् अथवा चिनीको टुक्रोको ठाउँमा चक्लेट चुस्दै फिका चिया खान्छन् ।
धेरै आइसक्रीम र चक्लेट खाने बानी भएको हुँदा धेरै रुसीहरूको दाँतको समस्या हुन्छ । भालेन्टिनाको पनि त्यही समस्या थियो । हामी अफ्रिकामा हुँदा ३२ वर्षको उमेरमा नै उनको दुइटा दाँत झरेका थिए ।
सबैलाई चक्लेट बाँडिसकेपछि भालेन्टिना धानको बीउ लिन्थिन् र उनीहरूसँगै असारे खेतको हिलो माटोमा धान रोप्दै गर्थिन्, सबै हाम्रा आईमाईहरूलाई छक्क पार्दै, उनीहरूसँग हाँस्दै खेल्दै ।

One response to “सक्वको म राजदास–९२/ भालेन्टिना साँखुमा धान रोप्न जान्थिन्”

  1. bhagawan das manandhar says:

    बांला । लुमन्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *