भर्खरै :

निगम घाटामा पठाएर दोष चिनियाँ जहाजमाथि

नेपाल वायुसेवा निगममा विदेशी रणनीतिक साझेदार ल्याउने र निगमलाई निजीकरणको बाटोमा धकेल्ने प्रयास भइरहेको छ । निरन्तर घाटामा जान थालेको बहाना बनाएर नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्नेतर्फ सरकार अघि बढेको छ ।
सामान्य नेपाली नागरिकलाई पनि थाहा छ निगम निरन्तर घाटामा जानु धेरै कारण छन् । घाटामा गएको निगमलाई नाफामा ल्याउने भन्दै कैयौँ महाप्रबन्धक ल्याइए र उनीहरूले व्यावसायिक योजनाहरू अघि सारे । अगाडि बढाइएका व्यावसायिक योजनाहरू पनि विफल भए । तीमध्ये एउटा योजना हो– चिनियाँ विमान किनेर निगमलाई नाफामा लैजाने । निगमलाई प्रतिस्पर्धी र सशक्त बनाउने योजनासहित ६ वर्षअघि १.५ प्रतिशतमा करिब ४ अर्ब ऋण खोजेर चिनियाँ विमान ल्याइएको थियो । विमान सञ्चालन गरेबापत यो अवधिमा कम्तीमा ऋण तिरेर नाफामा जानुपर्नेमा निगमलाई साढे २ अर्ब रुपैयाँ ऋण थपिएको बताइएको छ । विभिन्न बहाना बनाएर चीनबाट किनेको विमान सञ्चालन नगरेको घामजतिकै छर्लङ्ग छ । कहिले पाइलटहरूलाई भड्काएर विमान चलाउन अस्वीकार गर्न लगाइएको थियो भने कहिले विमान बिग्रियो भनेर थन्क्याइएको थियो । पार्टपुर्जा नपाइएको हो भने सरकारले कूटनीतिक सक्रियतामार्फत चीनबाट त्यो मगाउन सक्थ्यो तर त्यसो गरेको लाग्दैन । अहिले आएर निगमले अब विमान चलाउन नसक्ने भनेर हात उठाएको छ ।
निगमका अनुसार ६ वर्षको सञ्चालन घाटामात्रै १ अर्ब ३ करोड रुपैयाँ छ । अप्रत्यक्ष खर्चसमेत जोडिँदा खुद घाटा २ अर्ब ४८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अझ विमान किन्न ल्याइएको ३ अर्ब ७२ करोड रुपैयाँ ऋण बाँकी नै छ । निगमका अनुसार चिनियाँ विमानका कारण निगमको पछिल्लो ६ वर्षमा करिब ७ अर्ब बढी खर्च भएको छ  । यो अवधिमा निगमको सञ्चालन घाटा मात्रै १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । जबकि सोही अवधिमा ८७ करोड रुपैयाँको पनि व्यापार गर्न सकेको छैन ।
निगमले प्रकाशित गरेको आर्थिक वर्ष २०७१–७२ देखि २०७५–७६ सम्मको विवरण केलाउँदा यो अवधिमा ६ वटा विमान सञ्चालन गरेर ८१ करोड २६ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, यी विमान चलाउन प्रत्यक्ष १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ र अप्रत्यक्ष १ अर्ब १२ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । निगमसित भएका अन्य जहाजको खर्चबारे निगमले छुट्टै विवरण दिन निगम र निगम सञ्चालक समिति आवश्यक ठान्दैन । निगम घाटामा जानुमा सरकारको बेवास्ता र निगम नेतृत्वको असफलता र गैरजिम्मेवारी मुख्य कारण हुन् । आफ्ना असफलताहरूलाई ढाकछोप गरेर दोष जति चिनियाँ जहाजमाथि थोपेर सरकार र निगमको नेतृत्व पानीमाथिको ओभानो बन्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *