भर्खरै :

पराजय – ६

“भन, मैले आफूले आफैलाई कसरी सजाय दिनसक्छु ?” मोरोजकाले आफ्नो कुरा जारी राख्यो । उसको स्वरमा अझै पनि त्यही पीडा थियो । अहिले ऊ झन् दृढताका साथ बोलिरहेको थियो । तर, उसमा अब पहिलेजस्तो निष्कपटता थिएन । “म त आफ्ना खनिकहरूसित मात्र वाचा गर्नसक्छु । यसलाई म कहिल्यै तोड्नेछैन… ।”
“अनि तिमीले आफ्नो वचन तोड्यौ भने ?” लेभिनसनले केरकारको स्वरमा सोध्यो ।
“म आफ्नो वाचामा पक्का रहनेछु ।” मोरोजकाले मुख मिलाउँदै र किसानहरूको उपस्थिति अनुभव गर्दै भन्यो ।
“पक्का रहेनौ भने ?”
“रहिन भने आफूखुसी गर्नू… मलाई गोलीले उडाइदिनू… ।”
“हो, त्यतिखेर हामीले तिमीलाई गोलीले उडाइदिनेछौँ !” दुबोभले कडा हुँदै भन्यो । उसका आँखा अहिले क्रोधले होइन, बरु स्नेहले चम्किरहेका थिए र तिनमा मुस्कान छचल्किरहेको थियो ।
“भोभो, अब अर्थोक भन्न र सुन्न बाँकी रहेन !” बेञ्चमा बसेका छापामारहरू चिच्याए ।
“कुरा यत्ति थियो,” लामो बैठकको समाप्तिमा चैनको सास फेर्दै किसानहरूले भने, “फाल्टु विषय, वर्षैभरि गन्थन गर्न पुग्ने भयो ।”
“त्यसो भए यही हो हाम्रो निर्णय ? अरू सुझाव त छैन ?”
“अब त टुङ्ग्याउँछौ कि !” छापामारहरू चिच्याए । उनीहरू अब गम्भीर र मौन रहेनन् । “यो समग्र विषयले हामी वाक्क भएका छौँ । हामी भोकै पनि छौँ । हाम्रा पेटमा मुसा दगुरिरहेका छन् !”
“हैन पर्ख,” लेभिनसनले आफ्नो हात उठाउँदै र आँखा चिम्सा पार्दै भन्यो “एउटा विषय त हामीले किनार लगायौँ, तर अर्को विषय अझै हामीले किनार लगाउनु छ ।”
“अब के बाँकी रह्यो ?”
“मेरो विचारमा हामीले एउटा प्रस्ताव पास गर्नुपर्छ ।” उसले आफ्नो चारैतिर हे¥यो । “हामीले एकजना मन्त्री किन नबनाउने ?” ऊ प्रसन्न मुद्रामा फिस्स हाँस्यो । “सिस्किन यता आऊ, लेख त – फौजी कारबाही नहुँदा यताउता हिँडडुल गर्नुको साटो छोटो समयकै लागि भए पनि किसानहरूलाई मद्दत गरिनेछ भन्ने निर्णय भयो… ।” ऊ यति आत्मविश्वासका साथ बोलिरहेको थियो मानौँ आफ्ना मान्छेहरूले किसानहरूलाई मद्दत गर्नेछन् भन्नेमा ऊ ढुक्क थियो ।
“तर हामीले मद्दत मागेका छैनौँ !” एकजना किसान चिच्यायो ।
“कुरो नमिल्ला जस्तो छ,” लेभिनसनले सोच्यो ।
“चुप लाग बुझ्यौ !” अरू किसानहरूले उसको कुरा काटे, “पूरा कुरा सुन । गर्न देऊ उनीहरूलाई काम । काम गर्दैमा उनीहरूका हातखुट्टा गल्ने छैनन् ।”
“र रियाबेत्सलाई विशेष सहयोग गरिनेछ… ।”
“विशेष सहयोग किन ?” किसानहरू आवेगमा आएर कुर्लिए, “के उसले धेरै ग¥हौँ काम गर्छ र ? प्रधानको काम जसले पनि गर्नसक्छ । यो कुनै अप्ठेरो काम त हैन… ।”
“भयो, भयो ! हामी तयार छौँ… । लेखिहाल !”
छापामारहरू आफ्नो स्थानबाट उठे र आफ्ना कमान्डरतिर धेरै ध्यान नदिइकन खुट्टा बजार्दै बाहिरिए ।
“ए, भान्या !” एउटा लामो कपाल पालेको र चुच्चे नाक भएको व्यक्ति मोरोजकातिर लम्कियो र उसलाई ढोकातिर घिसार्न थाल्यो । यसले गर्दा उसको जुत्ताको सोल घिसारियो । “मेरो प्यारो, मेरो बच्चो, सुँगुर भनाउँदो !…” उसले नाक फुल्लाउँदै टाउकोबाट टोपी घुमायो र पिँढीमा एउटा हातले मोरोजकालाई च्याप्दै नाच्न थाल्यो ।
“भयो भो,” उसलाई धकेल्दै मोरोजकाले प्रसन्न मुद्रामा भन्यो ।
लेभिनसन र बाक्लानोभ हुइँकिदै बाहिर गए ।
“साँढेजस्तै बलियो छ यो दुबोभ !” बाक्लानोभले उत्तेजनामा हात हल्लाउँदै भनिरहेको थियो । “गोन्चारेन्कोसँग भिडाएमा मजा आउने थियो । कुस्तीमा कसले जित्ला, के छ विचार ?”
आफ्नै विचारहरूमा हराएको लेभिनसनले उसका कुरा सुनेन । सडकको मुलायम र चिसो धुलोमा उनीहरूका खुट्टा धस्सिदै थिए ।
मोरोजका अरूभन्दा पछाडि प¥यो । किसानहरूको अन्तिम जत्था ऊभन्दा अगाडि लाग्यो । उनीहरू अब शान्त, निश्चिन्त स्वरमा कुरा गरिरहेका थिए । मानौँ कामबाट फर्किरहेका हुन्, सभाबाट होइन ।
पहाडी पाखामा बसेका झुप्रोहरूका झ्यालहरू अन्धकारमा चम्किरहेका थिए । मानौँ भोजनका लागि निम्त्याइरहेका हुन् । तुँवालोको पछ्यौरामा लुकेको नदीको कलकल सयौँ बकुल्लाहरूको आवाजजस्तै सुनिँदै थियो ।
“मिश्काले अझैसम्म पानी पिएको छैन,” मोरोजकाले झल्याँस्स सम्झियो । ऊ बिस्तारै आफ्नो पुरानो ढर्रामा फर्किँदै थियो ।
तबेलामा आफ्नो मालिक पसेको चाल पाएर मिश्का सुस्तरी तर रिसले हिनहिनायो । मानौँ सोधिरहेको छ, “हत्तेरीका कहाँ गएका थियौ ?” मोरोजकाले अँध्यारोमा उसको मसिनो जगर छाम्यो र उसलाई बाहिर ल्यायो ।
“ए तँ पनि खुसी छस्,” मिश्काले आफ्नो गालामा धृष्टतापूर्वक रगडिरहेको चिसो थुतुनो हटाउँदै मोरोजकाले भन्यो, “तैँले पनि खालि उटपट्याङमात्र गर्न जान्या छस्, दुवैको भागको गाली चाहिँ मैलेमात्र खानुपर्छ ।”
६ लेभिनसन
लेभिनसनको कम्पनीले आराम गरेको चार हप्ताभन्दा बढी बित्यो र यसबीच उसले घोडा, गाडीहरू, भाँडाकुँडा आदि थुपारिसकेको थियो । यिनको वरपर फुटीकौडी नभएका गरिबगुरुवाहरू मडारिइरहन्थे । यिनीहरू अर्को डफ्फाका भगौडाहरू थिए । उनीहरूको शरीरमा चोटपटकबाहेक केही थिएनन् । छापामारहरू सुस्त भइसकेका थिए र चाहिने भन्दा बढ्ता सुतिरहन्थे । कतिसम्म भने पहरा दिने पहरेदारहरू पनि झुलिरहेका हुन्थे ।
लेभिनसनले खतराको खबर पाएको थियो । त्यसकारण ऊ यो बडेमानको जत्थालाई चल्मलाउन हिच्किचाइरहेको थियो । ताजा समाचारहरूले कहिले उसको शङ्कालाई पुष्टि गथ्र्यो भने कहिले तिनलाई हाँस्यास्पद साबित गर्थे । उसले धेरैचोटि आफैलाई चाहिनेभन्दा बढ्ता सतर्क भएकोमा दोष दियो । विशेषगरी जापानीहरूले क्रिलोभ्का छोडेर गए र दर्जनौँ माइलको दूरीसम्म उसका गुप्तचरहरूले शत्रु भेटेनन् भन्ने थाहा पाएपछि उसले आफैलाई रेख लगायो ।
तैपनि स्ताशिन्स्कीबाहेक लेभिनसनको अनिश्चितता अरू कसैले बुझेका थिएनन् । लेभिनसनमा समेत ढुलमुलेपन हुनसक्छ भनेर कम्पनीमा कसैले पनि पत्याउन सक्दैनथ्यो । उसले आफ्ना विचार र भावनाहरू कसैसामु खोल्दैनथ्यो । उसको उत्तर सधैँ ‘हुन्छ’ वा ‘हुन्न’ मा आउँथ्यो । त्यसैले उसलाई उसको वास्तविक महत्व बुझ्ने दुबोभ, स्ताशिन्स्की र गोन्चारेन्कोजस्ता व्यक्तिले बाहेक सबैले एक विशेष र उत्तम व्यक्ति ठान्थे ।
सबै छापामारहरू र त्यसमा पनि हाउभाउ र अनुहारले कमान्डरजस्तो बन्ने प्रयास गर्ने तन्नेरी बाक्लानोभले यस्तो सोच्ने गर्थे – “निश्चय नै ममा धेरै कमजोरीहरू छन्, सांसारिक हुँ नि, म धेरै कुरा बुझ्दिनँ, अनेक कुरामा आफूलाई नियन्त्रित राख्न सक्दिन, मैले घरमा एकजना… प्रेमिल पत्नी वा दुलही छोडेर आएको छु, उसको लागि मेरो मुटु छट्पटिन्छ, मलाई मीठो र बसाउने खरबुजा वा दूधसित रोटी अथवा साँझ गाउँले मैच्याङहरूलाई मुग्ध पार्ने झिल्के बुट मनपर्छ, तर लेभिनसनलाई ? मान्छे त त्यस्तो पो हुनुपर्छ ! तपाईँ ऊमाथि यस्तो कुनै किसिमको शङ्का गर्न सक्नुहुन्न । उसले सबैथोक बुझ्छ, उसले प्रत्येक काम सही तरिकाले गर्छ, ऊ बाक्लानोभजस्तै केटीहरूको पछाडि दौडिन्न, मोरोजकाले जस्तै खरबुजा चोर्दैन, उसको मनमा खालि एउटै ध्याउन्न हुन्छ – काम, काम र काम । तपाईँ ऊमाथि विश्वास नगर्न सक्नुहुन्न, उसको आदेश नमान्न सक्नुहुन्न, किनभने ऊ एक जिउँदोजाग्दो मान्छे हो !”
लेभिनसन कमान्डर चुनिएको दिनदेखि अर्को रूपमा कसैले कल्पना गर्न सक्दैनथ्यो – सबैलाई कमान्डर हुनु नै उसको एकमात्र विशेषता हो भन्ने लाग्थ्यो । उसले बालापनमा कसरी पुरानो फर्निचर बेच्न बुबालाई सघाउँथ्यो, कसरी बुबाले जीवनभर धनी बन्ने सपना देखिरहे, अनि ऊ मुसासँग डराउँथ्यो र उसले राम्ररी सारङ्गी बजाउन जान्दैनथ्यो भन्ने कुरा उनीहरूलाई बताएको हुन्थ्यो भने सबैले त्यसलाई मजाक ठान्ने थिए । तर, लेभिनसनले यी कुराको कहिल्यै चर्चा गर्दैनथ्यो । ऊ मौन रहने खालको व्यक्ति थियो भन्ने पनि होइन । बरु कुरा के थियो भने सबैले उसलाई ‘एक विशेष किसिमको व्यक्ति’ ठान्छन् भन्ने उसलाई थाहा थियो । उसलाई आफ्ना र अरूका कमजोरीहरू थाहा थियो । अरूलाई उनीहरूका कमजोरीहरू महसुस गराएपछि र आफ्ना कमजोरीहरू दबाए वा लुकाएपछि आफू जनताको नेता बन्न सक्छु भन्ने उसलाई विश्वास थियो । त्यसैले आफ्नो नक्कल उतार्ने तन्नेरी बाक्लानोभको उसले कहिल्यै मजाक उडाउन्नथ्यो । बाक्लानोभको उमेरमा ऊ आफैले पनि शिक्षकहरूको सिको गर्ने गथ्र्यो किनभने अहिले बाक्लानोभले आफूलाई मानेजस्तै उसले शिक्षकलाई असल मान्छे मान्ने गथ्र्यो । उमेर बढ्दै गएपछि उसले पहिले सोचेजस्तो आफ्ना गुरु उत्तम व्यक्ति रहेनछन् भन्ने थाहा पायो, तर ऊ उनीप्रति सदा कृतज्ञ रह्यो ।
बाक्लानोभले उसको हाउभाउको मात्र सिको गर्दैनथ्यो बरु जीवनका उसका समस्त अनुभवबाट पनि सिक्थ्यो । उसको लड्ने, काम गर्ने, व्यवहार गर्ने तरिका आत्मसात पनि गथ्र्यो । समयसँगै यो बाहिरी हाउभाउ लुप्त हुनेछन्, तब लेभिनसनको अनुभव बाक्लानोभकै अनुभवले समृद्ध बनेर नौला लेभिनसन र बाक्लानोभसम्म पुग्नेछन् भन्ने लेभिनसनलाई थाहा थियो । ऊ यसलाई महत्वपूर्ण र आवश्यक ठान्थ्यो ।
अगस्टको आरम्भमा एउटा झरी परेको रातमा अबेलातिर छापामार सेनाको चीफ–अफ–स्टाफ बुढो सुखोभेइ–कोभतुनकहाँबाट एउटा रिले रिसल्ला कुनै सन्देश लिएर आयो । बुढो सुखोभेइ–कोभतुनले जापानीहरूले मुख्य छापामार फौज रहेको अनुचिनोमा हमला गरेका छन्, इजभेस्तकोभायानिर घमासान युद्ध भएको छ, सयौँ छापामारहरूलाई यातना दिएर मारिएको छ र ऊ आफै गोली लागेर घाइते भई शिकारीहरूको एउटा शरदकालीन अड्डामा लुकेको छ र आफूलाई धेरै दिन बाँच्ने आशा छैन भनी लेखेको थियो ।
यो पराजयको हल्ला आगोजस्तै मैदानभरि फैलियो । यो खबर ल्याउने पहिलो व्यक्ति त्यही सन्देशवाहक थियो । रिलेको प्रत्येक रिसल्लाले छापामार आन्दोलनको सुरुदेखि अहिलेसम्म योभन्दा भयावह खबर कसैले बोकेको थिएन भनी महसुस ग¥यो । उनीहरूका बाक्ला जगरसितका घोडासमेत त्राहिमाम भए । आफ्ना दाँत देखाएर, हिलाम्य र उदास गाउँले सडकहरूमा एउटा गाउँदेखि अर्को गाउँ हुँदै तिनीहरू होसचेत हराएझैँ आफ्ना खुरले हिलो छ्याप्दै तेज दौडिन्थे ।
लेभिनसनले साढे बाह्र बजे खबर पायो र आधा घण्टापछि सइस मेतेलित्साको कमानमा रहेको रिसल्ला पल्टन क्रिलोभ्कालाई पछाडि छोडेर सिखोते–अलिनमा फैलेका सानातिना गोरेटाहरूको बाटो हुँदै पङ्खाको आकारमा फैलियो । उनीहरूको उद्देश्य खतराको समाचार स्वियागिनो सैनिक क्षेत्रका डफ्फाहरूसम्म पु¥याउनु थियो ।
विभिन्न डफ्फाहरूबाट समाचार जम्मा गर्न लेभिनसनलाई चार दिन लाग्यो । उसको दिमाग कुनै पनि बेला अझ विनाशकारी खबर सुन्ने प्रतीक्षामा रहेझैँ एकएक जाँचपड्ताल गर्दै तनावमा पथ्र्यो । तर, मानिसहरूसँग कुरा गर्ने बेला भने उसले आफ्नो अघिको गम्भीरता कायम राख्थ्यो । उसका कतै हराएजस्तै निला आँखा सदाझैँ अहिले पनि खिसी गर्ने बेला चिम्सा हुन्थे र बाक्लानोभसँग ‘उही मैली मारुस्या’ को कुरा उप्काएर जिस्किन्थ्यो । सिस्किनले एकचोटि साहस ग¥यो र आत्तिँदै लेभिनसनले किन कुनै कदम चालेको छैन भनी माग राख्यो । यो सुनेर लेभिनसनसले नम्रतापूर्वक त्यस ठिटाको टाउकोमा थपथपायो र यो कुनै केटाकेटी खेल होइन भन्यो । आफूले विषयलाई राम्ररी बुझेको छु, यी घटना कसरी हुन्छन्, अगाडि गएर यिनले कस्तो रूप लिन्छन्, यो कुनै भयानक वा असाधारण कुरा होइन र आफूले धेरै पहिले नै बचाउको लागि एउटा अचूक योजना तयार गरेको छु भनी देखाउनु नै लेभिनसनको समग्र व्यवहारको उद्देश्य हुन्थ्यो ।
वास्तवमा उसले कुनै योजना नबनाएको मात्र होइन, बरु ऊ एकदम अल्मलिएको थियो । उसको अवस्था स्कूलको त्यो बालकको जस्तो थियो जसलाई उभ्याएर धेरै कुरा अज्ञात नै रहेको हिसाब गर्न दिइएको छ । ऊ सहरबाट समाचार आउने बाटो हेर्दै थियो । छापामार कनुनिकोभ त्यो भयावह खबर आउनुभन्दा एक साताअघि सहर गएको थियो ।
कनुनिकोभ खबर आएको पाँच दिनपछि फक्र्यो । ऊ थाकेको र भोको थियो । उसको दाह्री बढेको थियो । तर, थियो त ऊ उही रातो कपाल भएको र नसमातिने केटो । ऊ दुवै अर्थमा उत्तिकै नसप्रिने खालको थियो ।
“सहरमा धरपकड भएको छ र क्रेइसेलमेन कारागारमा छ,” उसले आफ्नो बाहुलाबाट जुवाडेहरूले जस्तै फ्याट्ट दुई चिठी निकाल्दै र ओठबाट मुस्काउँदै भन्यो । ऊ रत्तिभर खुसी थिएन, तर नमुस्काई ऊ बोल्न पनि सक्दैनथ्यो ।
“जापानीहरू भ्लादिमिरो–अलेक्जान्द्रोभ्स्कोए र ओल्गामा ओर्लिसकेका छन् । सुचान क्षेत्रमा हाम्रा सबै साथी हारिसकेका छन् । सारा खेल चौपट भयो । लौ, चुरोट पिऊ,” यति भनेर उसले लेभिनसनतिर एउटा सुनौलो फिल्टरसितको चुरोट बढायो ।
लेभिनसनले खामतिर आँखा दौडायो, एउटालाई आफ्नो खल्तीमा कोच्यो र अर्को चाहिँ खोल्यो । चिठीले कनुनिकोभको रिपोर्ट पुष्टि ग¥यो । अदालती भाषा र उपरी हार्दिकतापछाडि हार र असमर्थताको तीतोपन स्पष्ट झल्किरहेको थियो ।
“सडेको समाचार छ है ।” कनुनिकोभले सहानुभूति देखाउँदै सोध्यो ।
“हो । यो कसले लेख्यो, सेदिखले ?”
कनुनिकोभले सकारर्दै मुन्टो हल्लायो ।
“प्रस्टै देखिन्छ, उसले हरेक कुरा बुँदा बनाएर भन्छ ।” लेभिनसनले ‘भाग ४ ः वर्तमान काम’ माथि औँला चाल्दै भन्यो । उसले चुरोट सुँघ्यो । “सडेको सुर्ती रहेछ, हैन ? सलाई देऊ त । आफ्नो मुख बन्द राखेकै राम्रो… जापानीहरू ओर्लेको र अरू कुराबारे पनि… । मेरो लागि पाइप किनेर ल्यायौ ?” । कनुनिकोभले पाइप किन्न नसकेको सफाइ दिन थाल्दा ऊतिर ध्यानै नदिई लेभिनसनले आफ्ना आँखा फेरि चिठीमा गाड्यो ।
‘वर्तमान काम’ शीर्षकमा पाँचवटा बुँदा थिए । तीमध्ये चारवटा बुँदा लेभिनसनलाई अव्यवहारिक लाग्यो । पाँचौँ बुँदा यसप्रकार थियो :
“छापामार दस्ताको नेतृत्वसँग यसबेला माग गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा वा जसरी हुन्छ हासिल गर्नैपर्ने कुरा भनेको साना तर असरदार र अनुशासनबद्ध लडाकु दस्ता दुरुस्त राखून् भन्ने हो । त्यसको वरिपरि पछि… ।”
“बाक्लानोभ र क्वाटर–मास्टरलाई बोलाऊ !” लेभिनसनले एकाएक गर्जिँदै भन्यो ।
लडाकु दस्ता ‘पछि’ के होला भन्ने नपढिकन उसले पत्रलाई आफ्नो मोर्चाको ढड्डामा राख्यो । समस्याहरूको जमघटबीच उसले एउटा समस्या स्पष्ट देखिरहेको थियो – ‘सबैभन्दा महत्वपूर्ण कुरा’ लाई । लेभिनसनले चुरोटको ठुटो फाल्दै भन्यो र औँलाले टेबलमा ताल दिन थाल्यो । ‘लडाकु दस्ता दुरुस्त राखून्’ – उसले कुराको चुरो समाउन सकेन । त्यो उसको दिमागमा चार अमिट शब्दको रूपमा नाचिरहेको थियो । यान्त्रिक ढङ्गले उसले दोस्रो चिठीमा औँला चाल्यो, खाममा हे¥यो । उसलाई सम्झना आयो, यो पत्र उसकी स्वास्नीको हो । “यसलाई पछि हेर्न सकिन्छ,” उसले खामलाई फेरि खल्तीमा राख्दै सोच्यो । “लडाकु दस्ता दुरुस्त राखून् ।”
प्रस्तुति :सुरेश

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *