भर्खरै :

अफगानिस्तानबाट सेना फिर्ता : संरा अमेरिकाको पराजय

अझै पनि कन्क्रिट पर्खाल र धारिलो तारले घेरिएको बगराम वायुक्षेत्र (जसलाई बगराम हवाई आधार पनि भनिन्छ) बितेका २० वर्ष अफगानिस्तानमा तैनाथ संरा अमेरिकी सेनाको घर थियो ।
जुलाई महिनाको सुरुमा त्यो हवाई आधार अफगानी शक्तिलाई हस्तान्तरण गरियो ।
“हवाइ आधारमा त्यस्तो महत्व केही पनि कुरा बाँकी छैन”, हवाई आधारमा अहिलेका कमान्डर जनरल मिर अस्सादुल्लाह कोहिस्तानीले भने । “अफगानी सेनाले प्रयोग गर्न नसक्ने गरी अथवा अमेरिका लान महँगो हुने भएकोले अमेरिकी सेनाले सबै भौतिक निर्माण र सैनिक सामग्री ध्वस्त बनाएका छन्”, उनले भने ।
“हवाई अड्डाका काम नलाग्ने सामान सबै स्थानीय ठेकेदारलाई बेचिएको छ”, स्थानीय कवाडी सामानका व्यापारी गुल मोहम्मदले भने ।
तर, अमेरिकी सेनाले अफगानिस्तानमा छोडेको वास्तविक जटिलता भने संसारकै चिन्ताको विषय बनेको छ ।
सर्वत्र असफल
अप्रिलमा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको सेप्टेम्बर १ सम्ममा युद्धग्रस्त अफगानिस्तानबाट आफ्ना सेना पूर्णरूपमा फिर्ता गर्न आदेश दिएका थिए । त्यो दिन न्यु योर्क र वाशिङ्टनमा भएको आतङ्कवादी हमलाको बीसौं वार्षिकी हो । त्यही हमलापछि कथित आतङ्कवादविरोधी युद्ध सुरु भएको थियो ।
९÷११ आतङ्कवादी हमलाका कथित मुख्य योजनाकार मानिएका ओसामा बिन लादेनको खोजीको नाममा संरा अमेरिकी सेनाले अफगानिस्तानमाथि कब्जा जमाएको थियो र आतङ्कवादी हमला भएको केही साताभित्रै तालिबान सरकारलाई ध्वस्त बनाएको थियो ।
हालसम्म ९० प्रतिशतभन्दा बढी अमेरिकी सेना फिर्ता भइसकेको छ । फिर्ता प्रक्रियाको अन्तिम मितिभन्दा केही दिनअघि अगस्ट ३१ भित्रै सबै सेना फिर्ता हुने बाइडेनले घोषणा गरेका छन् ।
मे महिनामा संरा अमेरिकी सेना फिर्ता हुन थालेदेखि नै अफगानिस्तानमा तालिबानहरू सक्रिय हुन थालेका छन् । जसले अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बन्दै गएको छ ।
तालिबान स्रोतअनुसार अफगानिस्तानको ८५ प्रतिशत भूभाग सो समूहको नियन्त्रणमा आइसकेको छ । मस्को पुगेको तालिबानको एउटा प्रतिनिधिमण्डलले शुक्रबार अफगानिस्तानका ३९८ जिल्लामध्ये २५० जिल्लामा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । यद्यपि, यो दाबीको पुष्टि भने भइसकेको छैन ।
अमेरिकी सेना हतारमा घर फर्किनुलाई अफगानिस्तान र वरपर संरा अमेरिकाको पराजयको रूपमा अथ्र्याएको छ ।
“संरा अमेरिकाले सन् २००१ को अन्त्यतिर आतङ्कवादलाई पराजित गर्ने भन्दै अफगानिस्तानमाथि कब्जा जमाएको थियो । अनि तालिबानको शासन अन्त्य गरेको थियो । अल–कायदाको सञ्जाल ध्वस्त बनाएको थियो”, सेवानिवृत्त सैनिक जनरलका साथै सैनिक र राजनीतिक विश्लेषक अतिकुल्लाह ओमारखिलले भने ।
उनका अनुसार सन् २००१ मा अफगानिस्तानमा तालिबान र अल कायदामात्र थिए भने अहिले २० भन्दा बढी सशस्त्र समूह अस्तित्वमा छन् । तीमध्ये इस्लामिक स्टेट पनि एउटा हो ।
बीस वर्षपछि अफगानिस्तानमा अझै पनि लडाइँ र हिंसा चलिरहेको बेलामा संरा अमेरिका छोडेर गएको छ ।
सेवानिवृत्त सैनिक अधिकारीले अफगानिस्तानमा संरा अमेरिका नेतृत्वको सेनाको विरासत निर्मम लडाइँ र हिंसाभन्दा पर केही पनि देखिएन । उनले अफगानिस्तानमा चालु लडाइँ र विध्वंसको कारण संरा अमेरिकी सेनाको कब्जा भएको बताए ।
विस्मृत प्रतिबद्धता
संरा अमेरिकाले अफगानिस्तानको मिसनलाई आतङ्कवादविरुद्ध प्रतिरक्षात्मक सैनिक परिचालन बनेको थियो । यो मिसनले अफगानिस्तानमा शान्ति र स्थायी समाज स्थापना गर्ने अपेक्षा गरिएको थियो ।
पेन्टागनले हालै दुई दशकको अवधिमा आफ्ना २ हजार ४ सत्न्दा बढी सिपाही मारिएको र बीस हजार सिपाही घाइते भएको बताएको छ ।
अफगानिस्तान र अन्य अन्तर्राष्ट्रिय अधिकारवादी समूहले निकै कडाइका साथ गरेको हिसाबअनुसार बीस वर्षको अफगान युद्धमा ४७ हजार ६ सय सर्वसाधारण नागरिक मारियो र झन्डै त्यो सङ्ख्याको दोब्बरभन्दा बढी मानिस घाइते भएका छन् । ब्राउन विश्वविद्यालयका अन्तर्राष्ट्रिय र सार्वजनिक मामिला वाटसन प्रतिष्ठानले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सिङ्गो युद्धको चित्रण निर्मम थियो । युद्धको न कुनै खास उद्देश्य रह्यो न उपलब्धि नै देखियो ।
“भियतनामपछि सैनिक पराजय भोगेर संरा अमेरिकी सेना फिर्ता भएको अफगानिस्तान दोस्रो देश भएको छ”, विश्लेषक खान मोहम्मद दानेसजोले भने ।
“अफगानिस्तानमा संरा अमेरिकी मिसनको पराजय र सेनाको फिर्ताले द्वन्द्वग्रस्त देशलाई अझ बढी लडाइँको खतरामा पारेको छ”, उनले भने ।
“अफगानिस्तानमा संरा अमेरिकी मिसनको मूल लक्ष्य आतङ्कवाद निर्मूल गर्ने, शान्ति स्थापना गर्ने र शान्तिपूर्ण एवम् समृद्ध समाज स्थापनामा अफगानी जनतालाई सहयोग गर्ने भनिएको थियो । तर, लडाइँ चालु रह्यो र अफगानी जनताको पीडा अझै पनि कायम छ”, उनले भने । वर्षौंअघि संरा अमेरिका र अफगानिस्तानबीच भएको दुईपक्षीय सुरक्षा सम्झौतामा वाशिङ्टनले ‘जतिबेला आवश्यक पर्छ’ त्यत्तिबेला सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, सेना फिर्ता हँुदा यो प्रतिबद्धताको पालना भने गरिएन । दानेसजोले संरा अमेरिका आफुभित्रै लडाइँको कारण अफगानिस्तान छोडेर गएको बताए । अमेरिका हिंसात्मक विद्रोह, भय र गरिबीको युद्धबाट डराएर भागेको उनको भनाइ छ ।
संरा अमेरिका र तालिबानले गत वर्ष फेबु्रअरीमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतामा तालिबानले आतङ्कवादी समूहसँग सम्बन्ध तोड्दै गएको अवस्थामा संरा अमेरिकी सेना क्रमशः अफगानिस्तानबाट फिर्ता हुने उल्लेख थियो । सो सम्झौतायता हरेक दिनजस्तो हुने भीषण लडाइँको कारण अफगान सरकार र तालिवानबीचको सम्झौतासहित इरानसँगको पछिल्लो सम्झौतामा खासै प्रगति हुनसकेन ।
“अफगानिस्तानको सुरक्षा अवस्था खराबबाट अझ खराबमा परिणत भएको छ । विशेषतः बगराम हवाई अड्डाबाट सेना फिर्ता भएपछि अवस्था थप खराब बनेको छ”, काबुलका बासिन्दा अमिन अघाले भने ।
आफ्नो जिम्मेवारी र कर्तव्यबाट पन्छिएर संरा अमेरिकाले अफगानिस्तानबाट हतारमा फिर्ता भयो । त्यसले अफगानी जनता र वरपरका देशलाई अझ भद्रगोल अवस्थामा पु¥याएको छ ।
स्रोतः सिन्ह्वा
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *