भर्खरै :

पराजय – ९

८ अर्को बासतिर
घोडाको टाङमुनिबाट एउटा तन्किएको अनन्त फितासरि सडक तेज चालले पछि सर्किँदै गयो । माथि फैलिएका रूखका हाँगाबिँगाले मोरोजकाको अनुहारमा सप्को हानिरहेका थिए । तैपनि, उसले आफ्नो रन्थनिएको घोडालाई ललकारिरह्यो । उसको मनमा क्रोध, अपमान र प्रतिशोधको ज्वाला दन्किरहेको थियो । मेतचिकसँगको उसको भनाभनको एकएक बिझाउने शब्द घरिघरि उसको रन्किँदो दिमागमा फर्किरहेको थियो । मोरोजकालाई मेतचिकप्रतिको आफ्नो घृणा जति जोडदार शब्दमा व्यक्त गर्नुपथ्र्यो त्यति गरिन कि भन्ने लाग्यो ।
उदाहरणको लागि उसले मेतचिकलाई जौको खेतमा कसरी ऊ अर्धबेहोस स्थितिमा मोरोजकासँग टाँसिएको थियो, कसरी मेतचिकका आँखामा आफ्नै तुच्छ र हीन ज्यानको निम्ति नाङ्गो डर भरिएको थियो भनी सम्झाउन सक्थ्यो । मेतचिकले सके आफ्नो मुटुनजिक आफ्नो ज्याकेटको खल्तीमा राखेको त्यो घुम्रिएको कपालसितकी युवती र मेतचिकको प्रेमलाई उसले व्यङ्ग्यवाण हानेर छेँड्न सक्थ्यो । र, त्यो सफासुग्घर युवतीलाई फोहोर गालीहरू दिन सक्थ्यो ।
मोरोजकाले झल्याँस्स सम्झायो, मेतचिकले आफ्नी स्वास्नीसँग चक्कर चलाएको हुनाले चित्त नै दुख्ने गरी त्यस सफा युवतीको उसलाई पर्वाह नहोला । एक तिरस्कृत प्रतिद्वन्द्वीमाथि द्वेषपूर्ण विजयको भावनाले मोरोजका मख्ख परेन । बरु, माफै गर्न नसकिने गरी आफ्नो अपमान भएको उसले अनुभव ग¥यो ।
मिश्काले आफ्नो मालिकको अन्यायले चित्त दुखाएर लगामले आफ्ना चोट लागेका जबडालाई चिर्दा पनि आफ्नो चाल तीव्र पारिरह्यो । लगाम खुकुलो भएपछि उसले आफ्नो चाल सुस्त बनायो । मालिकले ललकारेको नदेखेर ऊ देखावटी आत्तुरीमा हिँड्न थाल्यो । जस्तै गहिरो चोट खाए पनि मान्छेले आफ्नो स्वाभिमान कायम राख्ने प्रयत्न गर्छ । उसले साँझपख सधैँ नचाहिँदो स्वरमा चिरबिराउने ठेउवाहरूतिर बढी ध्यान दिएन । तिनको चिरबिर उसलाई अचाक्ली फोस्रो र आडम्बरी लागिरहेको थियो ।
ताइगा आफ्नो किनारै किनार फैलेको भोजपत्रको वनमा खुलेर पस्यो । रूखका बीचबाट चम्किलो रातो सूर्यको प्रकाश सीधै मोरोजकाको मुखमा पर्दै थियो । यहाँ सबथोक सुखद, निर्मल र आनन्ददायी थियो । मान्छेको सक्कलका नखरमाउला नीलकण्ठ चराको कुनै चिह्न यहाँ थिएन । मोरोजका शान्त भयो । मेतचिकलाई उसले जुनजुन गाली गर्न चाहन्थ्यो तिनले आफ्नो बदलापूर्ण रङ गुमाए । ती अब फिक्का र नराम्रा हुन थाले । ती असाध्यै अर्थहीन थिए । मेतचिकसँग भनाबैरी गरेकोमा उसलाई पछुतो लाग्यो । आफू अन्तसम्म ‘आफ्नो नीतिमा टिक्न नसकेको’ मा उसलाई खेद भयो । उसलाई जति गर्नुपर्ने हो त्यो भन्दा पनि बढी भार्याको चिन्ता लागेर आयो । ऊ अब फर्केर कहिल्यै आफूसँग आउँदिन भन्नेमा पनि ऊ ढुक्क थियो । भार्या नै अरू सबैभन्दा उसको नजिक थिई । ऊ खानीको उसको पुरानो जीवनसँग गाँसिएकी थिई । त्यतिबेला ऊ ‘अरू सबैसँग बराबर’ हुनेगथ्र्यो, सबथोक सीधासादा र सरल लाग्थ्यो । त्यसैले भार्यासँग अलग हुँदा उसलाई जीवनको एउटा लामो र अविच्छिन्न सिलसिला चुँडेको र नयाँ जीवन सुरु नभइसकेको लाग्दै थियो ।
घामले मोरोजकाको टोपीको बिटमुनिबाट उसका आँखामा चिहाउँदै थियो । अपलक र जमेका आँखाजस्तो घाम अझै पनि पर्वतशृङ्खलामाथि झुन्डिरहेको थियो । तैपनि खेत सुनसान र बिराना थिए ।
उसले जौको खेतमा आधा बालीमात्र काटिएको र काटिएको जौका मुठाहरू असरल्ल छरिएको देख्यो । एउटा चाङमाथि कुनै आइमाईको फरिया भूलवश राखिएको छ । आलीनिरको खलोमा एउटा हेँगालाई आत्तुरीमा गाडेर छोडिएको छ । जौलाई एकातिर उल्टाएर चाङमाथि एउटा कौवा टुहुरोजस्तै एक्लै र चुपचाप बसेको छ । मोरोजकाको दिमागमा यो दृश्यले कुनै छाप पारेन । पुराना स्मृतिहरूमा जमेको धुलोको पाप्रो उसले कोतरेको थियो र सम्झनाहरू सुखद छैनन्, बरु निरस र अभिशप्त छन् भन्ने चाल पाएको थियो । उसले आफूलाई परित्यक्त र एक्लो अनुभव ग¥यो । उसलाई आफू एउटा विशाल र बिरानो खेतमा दौडिरहेको र खेतको भयावह चकमन्नताले उसको एक्लोपनलाई चर्काइरहेको महसुस भयो ।
अकस्मात् एउटा थुम्कोपछाडिबाट कुनै घोडाको टापको आवाज सुनियो र मोरोजको होसमा आयो । उसले झट्काउँदै आफ्नो शिर माथि उठायो र अघिल्तिर गस्तीमा हिँडिरहेको एउटा घोडसवारको तन्किँदो आकृति देख्यो । उसको कम्मरमा एउटा टिमिक्कको पटुका बाँधिएको थियो । ऊ ठूला आँखासितको हृष्टपुष्ट घोडामाथि चढेको थियो । यो जम्काभेट कति अचानक भयो भने घोडा भड्केर आफ्ना पछिल्ला खुट्टामा उभियो ।
“राक्षसको अवतार !” गस्ती सिपाहीले खस्न थालेको आफ्नो टोपी समाउँदै गाली ग¥यो, “के तिमी मोरोजका हौ ? भरसक छिटो घर फर्क । त्यहाँ ठूलो गडबड हुँदै छ ! भगवान् कसम, कोही चिनिन्न !”
“के हुँदै छ ?”
“केही भगौडाहरू उताबाट गए र उनीहरूले भसक्कै कुरा सुनाए – भसक्कै । भन्थे जापानीहरू जति बेला पनि यहाँ आउन सक्छन् रे । किसानहरू खेतबाट घरतिर हानिए र आइमाईहरू डाँको छोडेर रुन थाले । कस्तो बिजोग थियो कस्तो ! खोला तार्ने नाउका नाविकहरूको त उनीहरूले होसचेतै खाइदिए । अझै पनि तिनीहरूले उनीहरू सबैलाई नदी तार्न सकेका छैनन् होला । म ढुक्क छु, अझै तारिसकेका छैनन् । ग्रिस्काले सरासर दस माइलजति चक्कर लगाइसक्यो, तर जापानीहरूको कहीँकतै नामनिसान थिएन… नामनिसान नै छैन । सबैले गफ हाँक्छन् ! झूटो बोल्छन्, मठ्याहाहरू ! यस्तो गर्नेलाई गोलीले उडाइदिनुपर्छ । तर, उनीहरूमाथि किन गोली फाल्ने बिनसित्ति… हो किन बिनसित्ति गोली फाल्ने ।” गस्ती सिपाहीले आवेशमा आएर थुकिरहेको थियो, आफ्नो कोर्रा झट्कार्दै थियो । उसले आफ्नो टोपी टाउकोबाट निकाल्दै फेरि लगाउँदै गरिरहेको थियो, आफ्ना जगल्टाहरू जथाभावी हल्लाइरहेको थियो । सबै कुरासँगै लाग्थ्यो उसले यस्तो थप्न चाहिरहेको थियो, “यसो यता त हेर साथी ! मैँयाहरू मलाई देखेर लठ्ठ पर्दै छन् !”
मोरोजकाले सम्झ्यो, यही ठिटोले दुई महिनाअघि उसको टिनको मग चोरेको थियो र पछि उसले आफू ‘जर्मन मोर्चाको जमानादेखि’ मोरोजकासँगै भएको कसम खाएको थियो । उसलाई मग गुमाउँदा पछुतो भएन तर त्यसको सम्झनाले उसलाई कम्पनीको जीवनको परिचित ढर्रातिर तान्यो । खासमा गस्ती सिपाही बोल्न थालेदेखि नै उसले ऊतिर ध्यान दिएको थिएन, मोरोजका आफ्नै विचारमा डुबिरहेको थियो । कम्पनीको जीवन ! महत्वपूर्ण पत्रहरूको रिले दौड, कनुनिकोभ फर्किनु, ओसोकिन पछि हट्नु, यी हल्लाहरू दुईचार दिनदेखि कम्पनीका दानापानी बनेका थिए । यी सबै कुरा उसको मुटुबाट खतराको एउटा लहरजस्तै पार भए र अघिल्लो दिनको मैलो त्यसमा मिसियो ।
“भगौडाहरू ? के भनेको ?” उसले गस्ती सिपाहीलाई सोध्यो ।
गस्ती सिपाहीले छक्क परेको स्वाङ पार्दै आफ्ना आँखा फट्टायो र एकाएक जड भयो । भर्खरै खोलेर फेरि टाउकोमा राख्न थालेको उसको टोपी हावामै झुलिरह्यो ।
“तँ त खालि आफ्नो बैँस देखाउने मौका खोजिरहन्छस्, गधा मोरो !” मोरोजकाले घिनाएको स्वरमा भन्यो । उसले मुर्मुरिँदै घोडाको लगाम तान्यो र केही मिनेटमा नदीको तीरमा पुग्यो ।
माल बोक्ने नाउ खियाउने नाविकको शरीर भुत्ले थियो र उसले आफ्नो सुरुवालको एउटा बाहुला मोडेर माथि सारेको थियो । उसको घुँडामा एउटा ठूलो पिलो देखिन्थ्यो । एउटा तीरदेखि अर्को तीरसम्म ओहोरदोहोर नाउ खियाइरहँदा ऊ निश्चय नै हत्तुहैरान भएको थियो । अझै पनि उसले धेरैलाई नदीपारि पु¥याउनु थियो । नाउ किनारमा आउँदाघरि मान्छे, झोलीतुम्बा, ठेला, च्याँच्याँ गरिरहेका लालाबाला र तिनका खेलौनाको लस्कर त्यसमा जाइलाग्यो । जो पनि नाउमा सबैभन्दा पहिले चढ्ने प्रयासमा थियो । सबैले चिच्याउँदै, लड्दै–पड्दै एकअर्कालाई ठेल्दै थिए र नाविकको स्वर सुकिसकेको थियो । सुव्यवस्था मिलाउन उसले आफ्नो घाँटी तन्किने गरी कुर्लिँदै थियो । एउटी च्याप्टो नाकसितकी किसान आइमाईले घर फर्किने कि किनारमा उभिएका मान्छेलाई आफ्नो रामकहानी सुनाउने, निधो गर्न सकिरहेकी थिइन । यसअघि उसले भगुवाहरूमध्ये दुईचारजनासँग गन्थन गरिसकेकी थिई । यताउतिका कुरामा अल्झिँदा ऊ तेस्रोचोटि पनि नाउमा बस्न पाइन । उसले आफूभन्दा पनि बडेमानको एउटा बोरा भुइँमा फाली । बोरामा उसका सुँगुरहरूलाई खुवाउने चुकन्दरका पातहरू थिए । कहिले ऊ प्रार्थना गर्दै बर्बराउँथी, “हे भगवान्, परमेश्वर !” अहिले ऊ चौथोचोटि पनि नाउमा बस्ने पालो छुट्ने गरी आफ्नो कथा फेरि सुरुदेखि अन्तिमसम्म सुनाउन थाली ।
यो भागाभाग देखेर मोरोजकालाई आफ्नो स्वभावअनुसार (यत्तिकै मजा लिन) उनीहरूलाई तर्साउन मन लाग्यो । तर, के सोचेर हो कुन्नि, उसले त्यसो गरेन । ऊ घोडाबाट तल ओर्लियो र भीडलाई ढाडस दिन थाल्यो ।
“यो झूटो फतफत बन्द गर, यहाँ कुनै जापानी–सापानी छैन ।” उसले किसान आइमाईलाई चुप लगायो । कुराको बढ्दो जोसले त्यस आइमाईलाई ज्वरो आइसकेको थियो । “विषालु ग्यासको गफ लाउँछ्यौ ! ग्यासको रटान लगाउनी ! केही कोरियालीहरूले भुस सल्काएका होलान्, ऊ भने ग्यासको कुरा गर्छे बा !”
आइमाईलाई छोडेर किसानहरू मोरोजकाको वरिपरि जम्मा भए । उसलाई अचानक आफू एउटा महत्वपूर्ण र जिम्मेवार व्यक्ति बनेको प्रतीत भयो । यो असाधारण भूमिकाबाट प्रसन्न हुँदै र आफूले ‘उनीहरूलाई तर्साउने’ लोभ दबाउन सकेकोमा रमाउँदै उसले भगुवाहरूका कथाहरूको खण्डन गर्न र तिनलाई हाँसो–मजाकको विषय बनाउन थाल्यो ।
अन्तमा, ऊ सबैलाई शान्त पार्न सफल भयो । अर्कोचोटि नाउ किनारमा आउँदा पहिलेजस्तो भागाभाग भएन । मोरोजकाले आफैले नाउमा राखिएको वजनको निरीक्षण ग¥यो । आफ्ना खेतहरू एकाबिहानै छोडेर आएकोमा किसानहरू पछुताउन लागे । उनीहरूले आफ्नो झिँज्याहट गालीको फोहोरा फाल्दै आफ्ना घोडामाथि पोख्न थाले । बोराकी मालिक्नी, त्यो च्याप्टो नाकसितकी आइमाई पनि दुइटा घोडाको शिर र कुनै किसानको चौडा पिठ्यूँको बीच नाउमा बसी ।
लौरोको सहारामा झुकेर उभिएको मोरोजकाले माल बोक्ने नाउहरूको वरिपरि फनफनी घुमिरहेको फिँजको सेतो भुमरी हेरिरहेको थियो । कसैले पनि भीडमा अरूभन्दा अघि लाग्ने प्रयास गरेन । उनीहरूको मिलेको ताँती देखेर आफूले नै भर्खरै किसानहरूलाई पङ्क्तिबद्ध गरेझैँ ऊ झल्याँस्स भयो । यो विचार उसलाई सुखद लाग्यो ।
गोठनजिक पालो दिन आएका गस्ती सिपाहीहरूसँग उसको भेट भयो । उनीहरू दुबोभको पल्टनका पाँच जवान थिए । उनीहरूले हाँसोठट्टा र मैत्रीपूर्ण गालीगलौजका साथ उसलाई अभिवादन गरे । उनीहरू मोरोजकालाई भेट्दा सधैँ खुसी हुन्थे र एकअर्कालाई सुनाउन उनीहरूसँग गालीगलौजबाहेक अर्थोक हुन्नथ्यो । उनीहरू सबै स्वस्थ र बलिया जवान थिए । त्यो साँझको हावा शीतल र स्वच्छ थियो ।
“भर्सेलो परोस् !” इष्र्यालु आँखाले उनीहरूलाई पछ्याउँदै मोरोजका चिच्यायो । उसलाई रमाउँदै उनीहरूसँगै जान, हाँसखेल र गालीगलौजमा उनीहरूलाई साथ दिन, शीतल र स्वच्छ साँझको हावामा उनीहरूसँगै घोडा कुदाउन मन लाग्यो ।
छापामारहरूसँगको यो भेटले गर्दा मोरोजकाले अस्पतालबाट फर्किदा स्ताशिन्स्कीको पत्र नल्याइकन आएको कुरा सम्झियो । यसको अर्थ उसले अपजस खेप्नुपथ्र्यो । उसलाई अपमानित गर्दै धन्नै कम्पनीबाट निकालिएको त्यस बैठकको याद आयो । उसको मन मर्दै गयो । मोरोजकालाई यो एक महिनामा आफूले भोगेका सबै घटनामध्ये सबभन्दा महत्वपूर्ण त्यही घटना लाग्यो । अस्पतालमा जेजस्तो भएको थियो, त्योभन्दा पनि महत्वपूर्ण ।
“मिश्का, मेरो साथी !” घोडाको निधारको बाल समाउँदै उसले भन्यो, “सबै कुराबाट मेरो मन मरिसकेको छ, भाइ म सबथोकबाट मिच्छिसकेँ ।”
मिश्काले आफ्नो मुन्टो झट्कायो र घ्यार्रघुर्र ग¥यो ।
छाउनी पुग्दानपुग्दै मोरोजकाले निधो गरिसकेको थियो । ऊ ‘सबथोक दाउमा राखेर’ आफ्नो पल्टनका सबै जवानहरूबीच फिर्ता पठाइयोस् र अर्दलीको जिम्मेवारीबाट छुटकारा दिइयोस् भनी माग गर्ने टुङ्गोमा पुग्यो ।
छाउनीको दलानमा बाक्लानोभले भगौडाहरूसँग सोधपुछ गर्दै थियो । उनीहरूको हतियार खोसिएको थियो र उनीहरूलाई हिरासतमा लिइएको थियो । सिँढीमा बसेर बाक्लानोभले उनीहरूको नाम दर्ता गर्दै थियो ।
“तन फिलिमोनोभ,” एकजनाले आफ्नो घाँटी भरसक तान्दै काम्दो र निन्याउरो स्वरमा भन्यो ।
“के ?” बाक्लानोभ त्यस व्यक्तितिर लेभिनसनले जस्तै आफ्नो पूरै शरीर फर्काउँदै गर्जियो । (आफ्ना प्रश्नहरूको विशेष महत्वमाथि जोड दिन लेभिनसनले त्यसो गथ्र्यो भन्ने बाक्लानोभको विश्वास थियो । लेभिनसनले त्यसो गर्नुको कारण भने अर्कै थियो । धेरैअघि उसको घाँटीमा चोट लागेको थियो जसले गर्दा उसले आफ्नो घाँटी घुमाउन सक्दैनथ्यो ।)
“फिलिमोनोभ ? तिम्रो बुबाको नाम के हो ?”
“लेभिनसन कहाँ छन् ?” मोरोजकाले सोध्यो । कसैले ढोकातिर मुन्टो हल्लाउँदै इसारा ग¥यो । आफ्नो कपाल मुसार्दै ऊ झुप्रोभित्र पस्यो ।
लेभिनसन एउटा कुनामा टेबलमाथि झुकेर बसेको थियो । उसले मोरोजकालाई देखेन । अल्मलिएर उभिएको मोरोजकाले आफ्नो कोर्रा खेलाउन थाल्यो । कम्पनीका सबैले जस्तै उसले पनि कमान्डरलाई एक असाधारण व्यक्तिको रूपमा हेथ्र्यो । उसको जीवनका समस्त अनुभवले यस्ता मान्छे हुँदैनन् भनी उसलाई सिकाएको थियो । त्यसैले उसले आफैलाई लेभिनसन पनि एकजना खारिएको धूर्त र चलाख व्यक्ति हो भनी विश्वास दिलाउने चेष्टा गथ्र्यो । तर, कमान्डरका आँखाबाट कुनै कुरा लुक्दैन र उसका आँखामा पर्दा हाल्न लगभग असम्भव छ भन्ने कुरामा उसलाई विश्वास थियो । आश्चर्यको कुरा के थियो भने लेभिनसनसँग कुनै विषयमा केही सोध्नुपर्दा मोरोजकाका हातखुट्टा फुल्लिन्थे र उसको बोली लर्बरिन्थ्यो ।
“मुसोजस्तै अझैसम्म कागज कोतर्दै छौ ?” अन्तमा ऊ बोल्यो, “मैले तिम्रो चिठी पु¥याएर आएँ ।”
“कुनै उत्तर ?”
“छैन… ।”
“राम्रो ।” लेभिनसन नक्सा हटाउँदै उभियो ।
“हेर लेभिनसन,” मोरोजकाले भन्न सुरु ग¥यो, “म तिमीसित केही माग्न चाहन्छु । मेरो माग पूरा ग¥यौ भने कसम खाएर भन्छु, जुनीभरिलाई तिम्रो साथी बन्नेछु !”
“जुनीभरिलाई ?” लेभिनसनले मुस्काउँदै दोहो¥यायो । “ल भन, के चाहन्छौ ?”
“मलाई आफ्नो पल्टनमा फिर्ता पठाइदेऊ ।”
“पल्टनमा ? किन ?”
“ज्या, लामो कथा छ । म मिच्छिसकेको छु, सुन्यौ । लाग्छ, म कुनै छापामार नै होइन, बरु एउटा…” मोरोजकाले आफ्नो हात हल्लायो र उसका आँखीभौँ तन्किए । उसलाई गालीको शब्द निकालेमा सबै कुरा चौपट हुने पिर थियो ।
“अर्दलीको काम कसले गर्छ त ?”
“एफिमकालाई यो काम दिन सकिन्छ,” उत्साहित हुँदै मोरोजकाले भन्यो, “गजबको घोडसवार छ, साँच्चै भनेको – पुरानो फौजमा उसले अब्बल घोडसवारीको इनाम पाएको थियो !”
“जुनीभरिलाई साथी बन्छौ नि ?” लेभिनसनले यसरी दोहो¥यायो मानौँ उसको लागि सबैभन्दा महत्वको कुरा यही हो ।
“मलाई नगिज्याऊ, औतारी राक्षस !” मोरोजका पड्कियो । “आफू यहाँ जरुरी कामले आएको छु, तिमी चाहिँ हिँहीँ गर्छौ… ।”
“लल, नजोसिऊ – जोस तिम्रो लागि हानीकारक छ । दुबोभसँग एफिमकालाई पठाइदिन भन्नू र… तिमी जाऊ ।”
“तिमी सच्चा साथी हौ… तिमीले मलाई उपकार गरेका छौ !” मोरोजका खुसी हुँदै चिच्यायो, “कमान्डर त यस्तो पो हुनुपर्छ ! लेभिनसन ! गजब छौ !… ” आवेशमा आएर उसले आफ्नो टोपी खोल्यो र फ्यात्त भुइँमा फाल्यो ।
लेभिनसनले टोपी उठायो र भन्यो, “बेकुफ !”
प्रस्तुति : सुरेश

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *