भर्खरै :

आठौँ अधिवेशन अन्त्य, अध्यादेश जारी हुने

काठमाडौँ, ३२ साउन । सर्वोच्च अदालतको असार २८ गतेको परमादेशबमोजिम पुनःस्थापना भई साउन ३ देखि सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको आठौँ अधिवेशन साउन ३२ गते अन्त्य भयो ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय ‘एसएसबी’ द्वारा दार्चुलाको तुइन काटिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको ड्रोन छानबिनमा भारत सरकारबाट सहयोग नभएको बारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने उल्लेख गर्नुभयो ।
काठमाडौँको फोहोर नउठाई सडकमै राखिएको र अझै नउठाइनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले फोहोरलाई मोहोर बनाउनेहरू कता गए ?, सरकार ठगहरूको घेरामा परेको त होइन ? भनी जिज्ञासा राख्नुभयो ।
“काठमाडौँको प्रदूषणकै कारण यहाँका मानिसहरू मृत्युको मुखमा पुग्नेछन् । भूमाफियाहरूको निजी प्लटिङमा सञ्चालित डोजरको कारण यहाँका डाँडाहरू पहिरो जाने र अन्ततः चोभारको निकास बन्द भई काठमाडौँ पुनः तलाउ बन्ने खतरा छ,” सांसद सुवालले सरकारलाई सचेत गराउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “अफगानिस्तानमा वैध र अवैधरूपमा नेपाली पठाउने म्यानपावर कम्पनीहरू कुन कुन सरकारी नेता नजिकका हुन् ?, हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै ‘एमसीसी’ भएको हुँदा यो सम्झौता अघि बढाउनेहरू अफगान राष्ट्रपति र उपराष्ट्रपतिजस्तै देश छाडेर भाग्नुपर्ने हुन्छ ।”
शून्य समयमा नेकाका सांसद भीमसेनदास प्रधानले भूमाफियाहरूको निजी प्लटिङको निम्ति डोजर चलाइँदा काठमाडौँ उपत्यकाको सौन्दर्य हरियाली डाँडासमेत विनाश भएको र तापक्रम बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अन्य सांसदहरूले अफगानिस्तानमा रहेका करिब १५ हजार नेपालीको अविलम्ब उद्धार गर्नुपर्ने, बेलायती गोर्खा सैनिकलाई समान सुविधा हुनुपर्ने माग राखी लण्डनमा धर्ना बसिरहेको, नेपालको गाई, गोरू बङ्गलादेशमा तस्करी भइरहेको, अफगानिस्तानमा सोभियत सङ्घ र अमेरिकी हस्तक्षेप टिक्न नसकेको, अछाम जिल्ला अस्पतालमा डाक्टर अभाव रहेको, राप्ती नदीमा पुल निर्माण गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आफू मन्त्री हुँदा केही नगरेका कतिपय सांसदहरूले लिम्पियाधुरासम्म नापी टोली पठाउनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने आदि कुरा राख्नुभयो ।
आठौँ अधिवेशन अन्त्यलगत्तै देउवा सरकारबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने र तत्पश्चात् एमाले माधवकुमार नेपालको नेतृत्व र जसपाका महन्थ ठाकुरको नेतृत्वमा नयाँ दुई पार्टी जन्मने चर्चा पनि चल्यो । देउवा सरकार गठबन्धनसँगै आव २०७८÷०७९ को बजेटलाई संशोधन गरेर अध्यादेश जारी हुने चर्चा छ ।
यसअघि ओली सरकारले संसद् अन्त्य गरी जारी गरेको अध्यादेशको विरोध गरेका नेका, माओवादी, जसपा र राजमोको गठबन्धन सरकारले संसद् अन्त्य गरी अध्यादेश जारी गर्ने विचार आकाशमा थुकेको थुक आफ्नै मुखमा पर्ने सरह हुने चर्चा पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *