भर्खरै :

सापारु औपचारिकतामा सीमित गरी मनाउने निर्णय

भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७८ सामान्य औपचारिकतामा सीमित गर्नेबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक भयो ।
बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ रोग काठमाडौँ उपत्यकालगायत देशैभरि दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको सङ्क्रमणको कारण मृत्यु हुने मृतकको सङ्ख्या दिनदिनै बढिरहेको वर्तमान विषम परिस्थितिमा यस वर्षको सापारु र गाईजात्रा अवधिभर घिन्ताङघिसि र अन्य सांस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा सीमित गरेर मनाउन दाफा भजन, सांस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीलाई अनुरोध गर्ने निर्णय ग¥यो ।
बैठकमा सापारुको अघिल्लो दिन भक्तपुर दरबार क्षेत्रबाट निकालिने तलेजुको घिन्ताङघिसी पनि यो वर्ष महामारीलाई ध्यानमा राखी ननिकालिने सहमति भएको बताइएको छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण र सुरक्षित ढङ्गले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरूसँग चरणबद्धरूपमा छलफलमा रहेको बताउनुभयो ।
भक्तपुर नपाले नगरका सबै वडाहरूमा व्यवस्थित ढङ्गले खोप अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले जनतालाई कोभिडबारे सचेतना जगाउन नियमितरूपमा माइकिङ, गाईजात्रा प्रदक्षिणा मार्गमा निर्माण सामग्री हटाउन र सापारुको दिन भीड नहुने गरी पर्व मनाउन आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले आफ्नो स्वास्थ्यको सुरक्षाको निम्ति जनता स्वयम् सजग हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा रहेको हुँदा कोभिड महामारीका कारण गाईजात्रा पर्व भीडभाड नहुने गरी औपचारिकतामा सीमित गरी मनाउनुपर्नेमा जोड दिनुभयो । नगरका विभिन्न ठाउँमा हेल्थ डेस्क सञ्चालन, अडियो भिडियोमार्फत सचेतना अभिवृद्धि गर्ने, सम्भावित अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा टोली परिचालन आदि विषयलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले हाम्रो संस्कृति बचाउन जात्रालाई औपचारिकतामा सीमित गरी मनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
बैठकमा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, काठमाडौँ उपत्यका खानेपानी लि., नेपाल विद्युत् प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य निकायहरूले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत् कटौती नगर्न, अव्यवस्थित तार र केबुलहरूको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सरोकारवालाहरूसँग बसेको सो बैठकले सापारुको दिन भक्तपुर नगरपालिकाले प्रदक्षिणा मार्गको ठाउँ – ठाउँमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था, निर्माण सामग्रीलगायत अन्य सामाग्रीहरू व्यवस्थापन, मास्क, स्यानिटाइजर वितरण, साबुनपानीले हात धुने व्यवस्था, सरसफाइलगायत प्रचार प्रसारको लागि माइकिङ गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
जनैपूर्णिमा (गुन्हिपुन्हि) र गाईजात्रा अवधिभर आवश्यक शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्था जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, अव्यवस्थित तार र केबुलहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायत सम्बन्धित सेवा प्रदायकले भदौ ५ गतेभित्र व्यवस्थित गर्ने निर्णय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *