भर्खरै :

“नेपाली शासकले पनि अफ्गानी शासकको नियति भोग्न नपरोस्”

हेटौँडा, २ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले गाईजात्रा आउनअगावै शासक दलहरूले देशमा राजनीतिक गाईजात्रा प्रदर्शन गरिरहेको बताउनुभएको छ । बुधबार बसेको बाग्मती प्रदेशसभाको बैठकमा सांसद गोसाईले दार्चुला जिल्लामा तुइन काटेर भारतीय एसएसबी फोर्सले नेपाली युवाको हत्या गर्नु भारतीय विस्तारवादको दादागिरीको निरन्तरता भएको बताउनुभयो ।
“भारतसँग नझुकी नेपाली जनताको स्वाभिमान र देशको स्वतन्त्रताको लागि यथाशीघ्र आवाज उठाउन नेपाल सरकारसमक्ष माग गर्दछौँ”, सांसद गोसाईले भन्नुभयो ।

सुरेन्द्रराज गोसाई


समाजमा मात्र नभई राजनीतिमा पनि ‘पोस्ट कोभिड इफेक्ट’ देखिन थालेको भन्दै उहाँले पोस्ट कोभिड इफेक्टकै कारण नेपाली शासक दलहरूको बोली, वचन र काममा प्रभाव देखिएको नेपाली जनताबीच चर्चा भएको बताउनुभयो ।
“कोभिडमात्र होइन, पोभिड (पोलिटिकल भाइरस–राजनीतिक भाइरस) पनि फैलिएको हो कि भन्ने आशङ्का छ । त्यसले शासक दलका नेताहरूलाई सत्तालोभी र कर्तव्यच्युत बनाएको छ”, सांसद गोसाईले भन्नुभयो ।
प्रदेश सरकारसमक्ष व्यवस्थित खोप कार्यक्रम सञ्चालनको माग गर्दै उहाँले खोप अभियान अव्यवस्थित हुँदा त्यहीँबाट नै कोभिड सर्ने सम्भावना भएको बताउनुभयो ।
“बालबालिकालाई पनि यथाशक्य चाँडो खोपको व्यवस्था होस् । अझै पनि सघन उपचार कक्ष (आइसीयू) शøया र भेन्टिलेटरहरूको कमी छ । त्यसको निम्ति प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु”, गोसाईले भन्नुभयो ।
उहाँले शिक्षा क्षेत्र र पठनपाठनको विषयमा प्रदेश सरकार गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेमकिपा संसदीय सर्वोच्चताको पक्षमा रहेको चर्चा गर्दै प्रजातान्त्रिक व्यवस्थामा न्यायपालिका सर्वोच्च हुन नसक्ने र जनताको अधिकार खोस्ने कुनै पनि कदम सह्य हुन नसक्ने बताउनुभयो ।
बैठकमा नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सृजना सैंजूले देश र जनताको हितविपरीत साम्राज्यवादी शक्तिको भक्ति गर्ने शासकको नियति पतन भएको चर्चा गर्दै अफगानिस्तानका शासकहरूको पछिल्लो नियति यसको पछिल्लो उदाहरणमात्र भएको बताउनुभयो ।

सृजना सैंजू


“विश्वमा आफ्नो साम्राज्य र प्रभुत्व कमजोर हुन थालेपछि, चीनको उदय र लोकप्रियता बढ्न थालेपछि संरा अमेरिकाले एसिया फर्कको नीति लियो । सम्पूर्ण एसिया प्रशान्त क्षेत्रलाई आफ्नो तखतमा राख्न हिन्द प्रशान्त सैन्य रणनीति अघि सा¥यो । त्यही रणनीतिको आर्थिक आवरण एमसीसी हो । त्यसको उद्देश्य चीनलाई घेर्ने र एसियामा युद्ध थोपर्ने रणनीतिको समर्थन हुनेछ”, सांसद सैंजूले भन्नुभयो ।
डलरसँग सार्वभौमिकता साट्ने अपराध सरकारले गर्न नहुने भन्दै उहाँले अफ्रिका र ल्याटिन अमेरिकामा अमेरिकी डलरसँगै पुगेको हिंसा र अराजकता नेपाली भुमिमा दोहोरिन हुन्न भन्नुभयो ।
“नेपाली शासकहरूले पनि अफगानी शासकहरूको नियति भोग्न नपरून्”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *