विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग देशको समसामयिक विषयमा विभिन्न सञ्चारमाध्यमले गरेको कुराकानी सान्दर्भिक भएकोले सम्पादन गरी प्रस्तुत गरेका छौँ – सम्पादक)
सर्वोच्चको परमादेशबाट बनेको देउवा नेतृत्वको गठबन्धन सरकारलाई यहाँले कसरी लिनुभएको छ, बताउनुहुन्छ कि ?
सर्वोच्चको परमादेशबाट बनेको देउवा नेतृत्वको गठबन्धन सरकार विदेशीको स्वार्थअनुरूप आएको हो । अदालतले दिएको फैसला राजनीतिकरूपमा मान्य हुँदैन । त्यसकारण, राजनीतिक विषयमा हात हाल्नुअगाडि परिणाम के होला भनेर सोच्नु बुद्धिमानी हुन्छ । वर्तमान न्यायाधीश चोलेन्द्रशमशेरको टोलीले गरेको फैसलाले गर्दा जनताले म्यान्डेट नदिएको व्यक्ति सरकारमा पुगेको छ । नेपालको सन्दर्भमा यसले गलत नजिर बसाल्ने देखिन्छ । गलत व्यक्तिको चयन हुनुको कारण देउवा सरकारले मन्त्रीमण्डल बनाउन नसकिरहेको हो । त्यतिमात्र नभई देउवा सरकारले आफ्नै संसदीय दलको सचिवालयसमेत बनाउन सकिरहेको छैन । अदालतले प्रधानमन्त्री घोषणा गर्नेजस्तो असंवैधानिक काम इतिहासमा कुनै पनि देशमा भएको छैन । हुन त कम्युनिस्ट भन्ने जुन शब्दावली एमालेले प्रयोग गरिरहेको छ, व्यवहारले त्यो कम्युनिस्ट नै होइन । कुनै पनि व्यक्ति या दल सत्तामा गइसकेपछि आफ्नो निम्ति भन्ने कुरो होइन, सत्तामा गएर लटरपटर गर्नै हुन्न, गलत छ भन्ने इतिहासले साबित गर्छ । चुनाव भएको भए को ठिक को बेठिक भन्ने कुरोको टुङ्गो लाग्थ्यो । राम्रो गरे राम्रै र नराम्रो गरे नराम्रै हुने हुनाले जस अपजसको भागीदार न्यायालय नै हो । उसैले जिम्मा लिनुपर्दछ ।
पूर्व प्रम केपी ओलीले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको कुरो ठिक हो ?
यसले ठिक्कै अर्थ राख्दछ । उहाँको राजनीतिक अडान स्पष्ट छ । उहाँले जुन अडान लिनुभएको छ, त्यो ठिक्कै छ । किनकि, ओलीले सरकारमा बस्दा एउटा कुरो गर्ने अनि बाहिर बस्दा अर्को कुरो गर्ने गर्नुभएन, उही कुरो गर्नुभयो । त्यो ठिक छ ।
अहिले सरकारले आफ्नै मन्त्रीमण्डल गठन गर्न सकेको छैन । गठबन्धनको सरकारको सुरुमा पाँच दल अहिले तीन दलको साझा कार्यक्रम र सहमतिबारे यहाँको के टिप्पणी छ ? माधवजीलाई दल मान्नु हुन्छ – हुन्न त्यसमा तपाईँ के भन्नुहुन्छ ?
यो सरकार भनेको पुच्छरजस्तो मात्रै हो । अघिल्लो सरकारको बाँकी बक्यौताको रूपमा आएको हुनाले पूर्णरूपमा यसले काम गर्नसक्तैन । जनताले तेस्रो पार्टीलाई म्यान्डेट दिएकै होइन । जनताले अघिल्लो बहुमतको सरकारलाई म्यान्डेट दिएका हुन् ।
अदालतदेखि यस सरकारको निम्ति भूमिका खेल्ने व्यक्तिहरू जस्तै – बाबुराम भट्टराईसमेतले देउवा सरकारलाई प्रतिगमनको ‘दोस्रो भेरियन्ट’ भनी आलोचना गर्नुको अर्थ के हो ?
यसको अर्थ बाबुराममा अब कुनै सिद्धान्त बाँकी रहेन । बाबुराम भट्टराईले समाजवादको कुरो गर्नुहुन्छ तर माक्र्सवाद पुरानो भयो, यसको कुनै काम छैन पनि भन्नुहुन्छ । हिजो आफूलाई माओवादी भन्नेहरू आज कता बिलाए ? माओ त्सेतुङ आफैले माओवाद मान्नुभएको थिएन । काङ्ग्रेस सत्तामा गएपछि समर्थन गर्ने सत्ताबाहिर रहँदा लासलाई जस्तै बेवास्ता गर्नु गलत प्रवृत्ति नै हो । यसकारण, सिद्धान्तहीन एकताले काम गर्दैन । त्यसभन्दा त फूट धेरै राम्रो किनकि त्यसले आफूमा स्पष्टता प्रदान गर्दछ ।
दुईतिहाइ बहुमतको नेकपाको सरकारमा छँदा पूर्व प्रम ओलीलाई सबले तानाशाही, प्रतिगमनकारी भनी आलोचना गरेका छन् यसबारे प्रस्ट्याइदिनुहुन्छ कि ?
वास्तवमा संसारका हरेक सरकार तानाशाह हो । किनकि, उसले ऐन कानुन आफूलाई लगाउँदैन । भारतको मोदी सरकार पनि तानाशाह नै हो । कोरोना महामारीबाट मरेका मानिसहरू कति बगाइयो, कति जलाइयो त्यसको वास्तविक तथ्याङ्क लुकायो । सञ्चारमाध्यम आफ्नो हातमा लियो । प्रजातन्त्रको हिमायती भन्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले पनि आफूलाई प्रजातन्त्रवादी भन्थे तर हिटलरलाई ठिक मान्थे । त्यसबाट के प्रस्ट हुन्छ भने अमेरिकी ट्रम्प सरकार पनि तानाशाही नै हो । तर, जसले राजनीतिशास्त्र पढेका हुन्छन्, तिनीहरूले तानाशाही भन्दैनन् ।
दलहरू विभाजनको अवस्थामा आए, अब बचेखुचेका काङ्ग्रेसहरू पनि विभाजनतर्फ उन्मुख हुनुको कारण के हुनसक्छ ?
दलहरू विभाजनको अवस्थामा पुग्नुमा विभिन्न कारण हुनसक्छन् । यसका पछाडि व्यक्तिगत, धार्मिक, क्षेत्रीय स्वार्थ र सैद्धान्तिक अष्पस्टताजस्ता कारण हुनसक्छन् । काङ्ग्रेसले भन्नलाई प्रजातान्त्रिक समाजवाद भन्दै आए पनि व्यवहारमा ठिक उल्टो ग¥यो । उत्पादनका साधनहरू, कल कारखानाहरू सबै निजीकरण गर्ने वा बन्द गर्ने काम ग¥यो । प्रचण्डजी माओवाद भन्नुहुन्छ तर विदेशीको स्वार्थमा चल्नुहुन्छ ।
आमरूपमा कम्युनिस्ट हौँ भनेर दुईतिहाइको सरकारमा गएको नेकपा अहिले आएर क्षतविक्षत अवस्थामा छ, एकथरी मान्छेहरू नेपालको कम्युनिस्ट आन्दोलन समाप्त भयो भन्ने खालका अभिव्यक्ति दिँदै छन् । यसबारे तपाईँ के भन्नुहुन्छ ?
आफ्नो पार्टीभित्र ‘झगडा’ हुनु स्वाभाविक हो । कतिपय प्रजातान्त्रिक देशमा प्रजातन्त्रको निम्ति सदनसमेत विघटन गरिएका छन् । अहिले पनि कतिपय देशमा धेरै मान्छे कोरोनाबाट मरेका छन् । त्यसैले त्यहाँको सरकारले लकडाउन घोषणा ग¥यो । जनता अदालतमा गएका छन् । अदालतमा गए पनि सङ्कटकाल लागु गरिएको छ । त्यसले मानव अधिकारसमेत हनन भयो भन्ने सञ्चारमाध्यममा आयो । नागरिकको जिउधनको सुरक्षा सरकारले गर्नुप¥यो । आफूलाई आगोको संज्ञा दिई कसैले पनि गैरजिम्मेवारपूर्ण व्यवहार देखाउनुहुन्न । पहिलेका काङ्ग्रेसहरू पूर्वपन्थी अर्थात् भारतपक्ष हुन्थे भने अहिलेका काङ्ग्रेसहरू पश्चिमपन्थी अर्थात् अमेरिकापक्ष देखिन्छन् । कोइराला परिवारलाई भारतसित जोडेर हेर्ने गरिन्थ्यो भने देउवा परिवारलाई पश्चिमसित जोडेर हेरिन्छ । हरेक पार्टीलाई अन्योलमा पारेर कुनै दिन एउटा ठूलो पार्टी बनाउन पनि सक्छन् । यस्ता सबै क्रियाकलाप राजनीतिमा हुने गर्दछ ।
यहाँले चाणक्य नीतिबारे बरोबर बताउनुहुन्छ । नेमकिपाभित्र यस खालको बाह्य कुरोले कतिको प्रभाव पारेकोे छ ?
कुटिल राजनीति भनेकै चाणक्य नीति हो । राजनीतिमा चाणक्य मरेका छैनन् । चाणक्यहरू सबै ठाउँमा छन् । एमाले विभाजन वा विसर्जनका लागि प्रचण्डले ठ्याक्कै चाणक्य नीति लागु गरेको आरोप एमालेका संस्थापन पक्षले लगाएको छ । पुँजीवादी हरेक राजनीतिक पार्टीमा घुसपैठ हुन्छ । राजा महाराजाका पालामा पनि सरकारलाई खतम पार्नका लागि गुप्तचरी गराउने, अपराधका गतिविधि गर्न लगाउने गरिन्थ्यो, अशान्ति गराउने र सरकार ढाल्ने गरिन्थ्यो ।
यहाँले भन्नुभएजस्तै एमाले विभाजन गराउन प्रचण्डले ठ्याक्कै चाणक्य नीतिको चलखेल गरेका हुन् भन्ने एमाले संस्थापन पक्षको आरोप छ, यसबारे स्पष्ट पारिदिनुहुन्छ कि ? एमाले विभाजन गराउने ‘जागीर’ प्रचण्डलाई अर्कैले दिएको हो त ?
प्रचण्ड, उनी आफै उठेका नभई कसैले ठड्याइदिएका व्यक्ति हुन् । हातहतियार अरूले दिएको, तालिम पनि अरूले दिएको, पैसा पनि अरूले दिएको, बासको बन्दोबस्त अरूले गरिदिएको हो । जसरी चन्द्रमा अरूको प्रकाश छोड्नेबित्तिकै समाप्त हुन्छ, त्यसरी नै अरूको तागतबाट उठ्ने व्यक्ति पनि छिट्टै समाप्त हुन्छ । सबैसँग नेमकिपाको भिन्न मत छ । किनकि, नेमकिपा सरकारमा जाने पार्टी होइन । यो खान नहुने वस्तु हो भन्ने थाहा हुँदाहुँदै फेरि त्यही खानु गलत हुन्छ । जो आफूलाई कम्युनिस्ट भनेर फलाकिरहेका छन्, त्यहीअनुसार समाजलाई दिन सक्नुपर्दछ । उत्पादनका श्रोत साधन राष्ट्रियकरण गर्नु, सबैलाई योग्यताअनुसार काम दिनु कम्युनिस्टको काम हो तर, कामअनुसार ज्याला दिन्छौँ भनेर पार्टीमा ल्याउने अनि त्योअनुसार नपाएपछि गद्दार भयो, विश्वासघात ग¥यो भन्नु स्वाभाविक हो । कि त यो व्यवस्थामा यी कुरो सम्भव छैन भनी स्पष्ट गर्नुप¥यो ।
यहाँले चाणक्य चलखेलको कुरो राख्नुभयो । आफ्नो पार्टीमा देखिने गरी यस्तो खालको चलखेल भएको छैन, नेमकिपा यसबाट पृथक छ भन्ने लाग्छ यहाँलाई ? यो कसरी सम्भव हुन्छ ?
जहाँ प्रकाश हुन्छ, त्यहाँ छाया अवश्य हुन्छ नै । जो सरकारमा जान्छ उसले त्यहाँबाट धेरै फाइदा लिन खोज्छ अनि भ्रष्टाचार गर्ने नै भयो । पँुजीपति वर्ग, माफिया सबै शासक दलभित्र पस्छन् । नेमकिपाले यो पुँजीवादी व्यवस्थामा सरकारमा गएर केही हुन्न भनिरहेकै छ । चुनावलाई देश र जनताको हितमा उपयोग गर्ने नीति नेमकिपाको हो । हामी समाजको आमूल परिवर्तनका लागि सङ्घर्षलाई जारी राख्नुपर्छ भनी जनतालाई स्पष्ट गर्दै छौँ । यसकारण, चुनावमा जनतालाई ठगेर हुन्न, शिक्षा र चेतना दिनुपर्दछ । यस हिसाबले हामी चुनावमा भाग लिन्छौँ । सबैले त्यस्तो गरिदिएको भए देश आजको अवस्थामा आउँदैनथ्यो ।
नेमकिपा सरकारमा नजाने पार्टी भएकोले त्यस्तो खालका मान्छेहरू यसमा छिर्न सक्तैनन् । एमाले काङ्ग्रेसहरूले नेमकिपा फुटाएको उदाहरण छ । जुम्लामा काङ्ग्रेसले र दैलेखमा एमालेले क्रमशः प्रतिनिधिसभाका सदस्य भक्तबहादुर रोकाया र विनोद शाहीलाई पैसाले किनेका थिए । कालिकोटमा नेमकिपाका कार्यकर्ताहरूलाई माओवादीले घेरा हालेर लगे । विचारले सहमत भए जानुहोला नत्र परिणामले गलत हुने भन्ने कुरो हामीले बतायौँ । हामीले व्यक्तिको विरोध गरेका छैनौँ, विचारको विरोध गरेका हौँ । हामीलाई राजनीतिमा लाग्दा ‘कुकुरले नपाएको दुःख पाउँछ’ भनेर आमाबुबा – नातागोताले रोक्न खोजे पनि हर किसिमको दुःख कष्ट झेल्न तयार भएको हुनाले यहाँसम्म टिक्न सकेको अनुभव हुन्छ । जहाँ गए पनि इमानदारीपूर्वक काम गर्नुपर्दछ । कति मान्छे त गल्ती भयो कामरेड भन्ने पनि छन् । चौँथो महाधिवेशनमा हामीले भोट दिएका खड्गबहादुर लामाले नेमकिपालाई धोका दिए । सुन सयचोटि जोखिन्छ तर मान्छेलाई एकचोटि जोख्ने हो । त्यसैले हामीले गलत मान्छेसित सम्झौता गर्नु हुँदैन । सर्पलाई तकियामुनि राखेर सुत्न सकिन्न । नेमकिपा एक्लै भए पनि जनताको सेवा गर्ने हो । चित्त बुझ्दैन भने अलग्ग हुनु र जे छ बहुमतको आधारमा निर्णय लिनु उचित हुन्छ । कि त राजीनामा गर्नुपर्ने हुन्छ कि त पार्टीले कारबाही गर्नुपर्ने हुन्छ । साम्यवादी सिद्धान्तअनुसार भौटै दिनुपरे पनि खराबमध्ये असल यो हो भन्ने हिसाबले जानुपर्दछ । चुनावमा दलहरूको घोषणापत्रअनुसार काम नभएपछि खण्डन गर्ने, विरोध गर्ने काम हुन्छ । नेपालमा वैचारिक अभ्यासहरू धेरै कममात्र भएका छन् । शासक दलहरू जनादेशमा जान नचाहनुको कारण चुनावमा धेरै पैसा खर्च गर्नुपर्छ र यदि हारियो भने त सम्पत्ति खतम हुन्छ भनेरै हो । अस्ति चुनावमा लिएको ऋण नै तिर्न सकेका छैनन् होला कतिले ¤ पैसा खर्च गरेर चुनाव लड्ने बानीले गर्दा यिनीहरूमा चुनाव जितिएला भन्ने सोचै हुँदैन । कार्यकर्तालाई पैसा बाँड्ने, मासुभात खुवाउने, तेल राखिदिने, पानीभन्दा बढी बीयरमा खर्च गर्ने हुनाले आत्तिएका छन् । भोलि कुनै देशसँग लडाइँ भयो भने लड्ने नेपाली सेना भनेकै हुँदैन । किनकि युवाहरूलाई यी पुँजीवादी पार्टीहरूले भ्रष्ट पारिसकेका छन् । शासक दलहरूले एकदमै गलत गरेका छन् ।
गलत गरेका छन्, यो प्रणालीले दिनुपर्ने सेवा दिएको छैन, यो व्यवस्था नै समस्या हो भन्ने बुझाइ राख्ने दल हो तपाईँको । सारा जीवन दिनुभयो तर कम्युनिस्ट आन्दोलन जीर्ण भयो भन्ने गरिन्छ, कम्युनिस्ट आन्दोलन अब के हुन्छ कसरी अगाडि बढ्छ ? नेपालको कम्युनिस्ट आन्दोलन कुन चरणमा आइपुगेको छ, बताइदिनुस् न !
व्यापारीहरूले नाफा नलिई व्यापार गर्दैनन् । राजनीतिक नेता कार्यकर्ताले व्यापारीले जस्तो नाफा खोज्ने होइन । समाज रूपान्तरणको प्रक्रियामा ऐतिहासिक काल लाग्न सक्छ भन्ने बुझेर यसमा लागेका हौँ । धान र गहुँजस्तै ६÷६ महिनामा बाली फर्काउने काम राजनीतिमा सम्भव छैन । आमूल परिवर्तनका लागि ऐतिहासिक युग नै लाग्न सक्छ । त्यसको मतलब हाम्रै पालामा सबै कुरो ठिक हुन्छ भन्ने होइन । कार्ल माक्र्सले आफ्नै पालामा, आफ्नै छोराको पालामा साम्यवाद आउँछ भन्नुभएको थिएन । बुद्ध जन्मेको २५ सय वर्ष भइसक्यो तर अहिलेसम्म चोर बढिरहेकै छन्, हत्याहिंसा बढेकै छ भनेर बुद्धलाई गाली गर्ने पनि छन् । यो त झूटा मान्छे हो, भन्छन् । तर, वास्तविकता त्यसो होइन । बुद्धले त्यति शिक्षा नदिएका भए झन् योभन्दा बढ्ता ‘पाप’ हुन्थ्यो, अपराध बढ्थ्यो । धर्ममा पनि केही काम लाग्ने चीज बाँकी रहेको हुनाले समाज बाँकी रहेको हो । नत्र त समाजमा लुँछाचुँडी भइसक्थ्यो । त्यसकारण, ‘बुद्ध धर्म’ को महत्व छ । यसले दक्षिण एसियामा मात्र सीमित नभई एसियाबाहिर पनि प्रभाव कायम राखेको छ । बुद्ध अनिश्वरवादी हुन्, भौतिकवादी हुन् । तर, उनले पूजा गर्न लगाए । चाणक्यहरू चलाख हुन्छन् । भिक्षुहरूमा जातको भेद नगर्ने भनिन्छ तर काठमाडाँैमा दलित भिक्षु र अन्यबीचको भेद कायमै छ । समाजमा आमूल परिवर्तनको आवश्यकता त्यसबेलासम्म रहन्छ, जहिलेसम्म समाजमा आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर रहँदैन । वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ ।
समाजवाद ल्याउँछौँ, समाजवादउन्मुख संविधान ल्याउँछौँ भन्नेहरूले जुन किसिमको बेइमानी गरे के त्यसले कम्युनिस्टको लक्ष्य, भावना र मर्ममाथि प्रहार गरेको छैन ? के नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ ?
समाजवाद कुनै एक देशमा मात्र पनि स्थापना हुन सम्भव भएको कुरो सोभियत सङ्घले देखाइदियो । तर, एकचोटि समाजवादमा पुगिसकेको देश पनि सामाजिक साम्राज्यवादमा पतन हुनसक्ने यथार्थ रुसी कम्युनिस्ट पार्टीको इतिहासबाट स्पष्ट हुन्छ । साँचो मानेमा कम्युनिस्टको लक्ष्यमा एक दिन जरुर पुगिन्छ किनकि मानिस जन्मेपछि मर्छ, कम्युनिस्ट पनि कहिलेकाहीँ पराजित हुनसक्छ । जसरी मानिस स्वास्थ्यप्रति सचेत नहुँदा एक पटक रोग लागिसकेपछि निको हुने र फेरि पनि रोगी हुने, मर्नेे सम्भावना हुन्छ, त्यसरी नै जनतालाई राजनीतिकरूपमा सचेत नपारेसम्म कम्युनिस्ट आन्दोलनमा अन्योलको स्थिति रहने निश्चित छ । नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यअनुसार कार्यक्रम लिएर गाउँगाउँमा गई जनताको सेवा गरिरहेको छ । बन्दुक बोकेर लडाइँ गर्दा समेत परिवर्तन भएन । बन्दुक बोकेरै ल्याएको शासन व्यवस्था सधैँ टिक्न सक्छ भन्ने होइन । राजा पृथ्वीनारायण शाहले पनि बन्दुककै भरमा राज गरेका हुन् तर खोइ त टिक्न सकेनन् ¤ नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढाउन भारतको वामपन्थी आन्दोलन र सर्वसाधारणको समर्थन चाहिन्छ । अन्तर्राष्ट्रिय समर्थन लिन सकेमात्र क्रान्ति या समाजवादमा पुग्न सकिन्छ ।
Leave a Reply