भर्खरै :

देउवा नेतृत्वको गठबन्धन सरकार विदेशीको स्वार्थअनुसार आएको हो

‍‍‍‍‍‍‍‍‍‍‍‍
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग देशको समसामयिक विषयमा विभिन्न सञ्चारमाध्यमले गरेको कुराकानी सान्दर्भिक भएकोले सम्पादन गरी प्रस्तुत गरेका छौँ – सम्पादक)
सर्वोच्चको परमादेशबाट बनेको देउवा नेतृत्वको गठबन्धन सरकारलाई यहाँले कसरी लिनुभएको छ, बताउनुहुन्छ कि ?
सर्वोच्चको परमादेशबाट बनेको देउवा नेतृत्वको गठबन्धन सरकार विदेशीको स्वार्थअनुरूप आएको हो । अदालतले दिएको फैसला राजनीतिकरूपमा मान्य हुँदैन । त्यसकारण, राजनीतिक विषयमा हात हाल्नुअगाडि परिणाम के होला भनेर सोच्नु बुद्धिमानी हुन्छ । वर्तमान न्यायाधीश चोलेन्द्रशमशेरको टोलीले गरेको फैसलाले गर्दा जनताले म्यान्डेट नदिएको व्यक्ति सरकारमा पुगेको छ । नेपालको सन्दर्भमा यसले गलत नजिर बसाल्ने देखिन्छ । गलत व्यक्तिको चयन हुनुको कारण देउवा सरकारले मन्त्रीमण्डल बनाउन नसकिरहेको हो । त्यतिमात्र नभई देउवा सरकारले आफ्नै संसदीय दलको सचिवालयसमेत बनाउन सकिरहेको छैन । अदालतले प्रधानमन्त्री घोषणा गर्नेजस्तो असंवैधानिक काम इतिहासमा कुनै पनि देशमा भएको छैन । हुन त कम्युनिस्ट भन्ने जुन शब्दावली एमालेले प्रयोग गरिरहेको छ, व्यवहारले त्यो कम्युनिस्ट नै होइन । कुनै पनि व्यक्ति या दल सत्तामा गइसकेपछि आफ्नो निम्ति भन्ने कुरो होइन, सत्तामा गएर लटरपटर गर्नै हुन्न, गलत छ भन्ने इतिहासले साबित गर्छ । चुनाव भएको भए को ठिक को बेठिक भन्ने कुरोको टुङ्गो लाग्थ्यो । राम्रो गरे राम्रै र नराम्रो गरे नराम्रै हुने हुनाले जस अपजसको भागीदार न्यायालय नै हो । उसैले जिम्मा लिनुपर्दछ ।
पूर्व प्रम केपी ओलीले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको कुरो ठिक हो ?
यसले ठिक्कै अर्थ राख्दछ । उहाँको राजनीतिक अडान स्पष्ट छ । उहाँले जुन अडान लिनुभएको छ, त्यो ठिक्कै छ । किनकि, ओलीले सरकारमा बस्दा एउटा कुरो गर्ने अनि बाहिर बस्दा अर्को कुरो गर्ने गर्नुभएन, उही कुरो गर्नुभयो । त्यो ठिक छ ।
अहिले सरकारले आफ्नै मन्त्रीमण्डल गठन गर्न सकेको छैन । गठबन्धनको सरकारको सुरुमा पाँच दल अहिले तीन दलको साझा कार्यक्रम र सहमतिबारे यहाँको के टिप्पणी छ ? माधवजीलाई दल मान्नु हुन्छ – हुन्न त्यसमा तपाईँ के भन्नुहुन्छ ?
यो सरकार भनेको पुच्छरजस्तो मात्रै हो । अघिल्लो सरकारको बाँकी बक्यौताको रूपमा आएको हुनाले पूर्णरूपमा यसले काम गर्नसक्तैन । जनताले तेस्रो पार्टीलाई म्यान्डेट दिएकै होइन । जनताले अघिल्लो बहुमतको सरकारलाई म्यान्डेट दिएका हुन् ।
अदालतदेखि यस सरकारको निम्ति भूमिका खेल्ने व्यक्तिहरू जस्तै – बाबुराम भट्टराईसमेतले देउवा सरकारलाई प्रतिगमनको ‘दोस्रो भेरियन्ट’ भनी आलोचना गर्नुको अर्थ के हो ?
यसको अर्थ बाबुराममा अब कुनै सिद्धान्त बाँकी रहेन । बाबुराम भट्टराईले समाजवादको कुरो गर्नुहुन्छ तर माक्र्सवाद पुरानो भयो, यसको कुनै काम छैन पनि भन्नुहुन्छ । हिजो आफूलाई माओवादी भन्नेहरू आज कता बिलाए ? माओ त्सेतुङ आफैले माओवाद मान्नुभएको थिएन । काङ्ग्रेस सत्तामा गएपछि समर्थन गर्ने सत्ताबाहिर रहँदा लासलाई जस्तै बेवास्ता गर्नु गलत प्रवृत्ति नै हो । यसकारण, सिद्धान्तहीन एकताले काम गर्दैन । त्यसभन्दा त फूट धेरै राम्रो किनकि त्यसले आफूमा स्पष्टता प्रदान गर्दछ ।
दुईतिहाइ बहुमतको नेकपाको सरकारमा छँदा पूर्व प्रम ओलीलाई सबले तानाशाही, प्रतिगमनकारी भनी आलोचना गरेका छन् यसबारे प्रस्ट्याइदिनुहुन्छ कि ?
वास्तवमा संसारका हरेक सरकार तानाशाह हो । किनकि, उसले ऐन कानुन आफूलाई लगाउँदैन । भारतको मोदी सरकार पनि तानाशाह नै हो । कोरोना महामारीबाट मरेका मानिसहरू कति बगाइयो, कति जलाइयो त्यसको वास्तविक तथ्याङ्क लुकायो । सञ्चारमाध्यम आफ्नो हातमा लियो । प्रजातन्त्रको हिमायती भन्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले पनि आफूलाई प्रजातन्त्रवादी भन्थे तर हिटलरलाई ठिक मान्थे । त्यसबाट के प्रस्ट हुन्छ भने अमेरिकी ट्रम्प सरकार पनि तानाशाही नै हो । तर, जसले राजनीतिशास्त्र पढेका हुन्छन्, तिनीहरूले तानाशाही भन्दैनन् ।
दलहरू विभाजनको अवस्थामा आए, अब बचेखुचेका काङ्ग्रेसहरू पनि विभाजनतर्फ उन्मुख हुनुको कारण के हुनसक्छ ?
दलहरू विभाजनको अवस्थामा पुग्नुमा विभिन्न कारण हुनसक्छन् । यसका पछाडि व्यक्तिगत, धार्मिक, क्षेत्रीय स्वार्थ र सैद्धान्तिक अष्पस्टताजस्ता कारण हुनसक्छन् । काङ्ग्रेसले भन्नलाई प्रजातान्त्रिक समाजवाद भन्दै आए पनि व्यवहारमा ठिक उल्टो ग¥यो । उत्पादनका साधनहरू, कल कारखानाहरू सबै निजीकरण गर्ने वा बन्द गर्ने काम ग¥यो । प्रचण्डजी माओवाद भन्नुहुन्छ तर विदेशीको स्वार्थमा चल्नुहुन्छ ।
आमरूपमा कम्युनिस्ट हौँ भनेर दुईतिहाइको सरकारमा गएको नेकपा अहिले आएर क्षतविक्षत अवस्थामा छ, एकथरी मान्छेहरू नेपालको कम्युनिस्ट आन्दोलन समाप्त भयो भन्ने खालका अभिव्यक्ति दिँदै छन् । यसबारे तपाईँ के भन्नुहुन्छ ?
आफ्नो पार्टीभित्र ‘झगडा’ हुनु स्वाभाविक हो । कतिपय प्रजातान्त्रिक देशमा प्रजातन्त्रको निम्ति सदनसमेत विघटन गरिएका छन् । अहिले पनि कतिपय देशमा धेरै मान्छे कोरोनाबाट मरेका छन् । त्यसैले त्यहाँको सरकारले लकडाउन घोषणा ग¥यो । जनता अदालतमा गएका छन् । अदालतमा गए पनि सङ्कटकाल लागु गरिएको छ । त्यसले मानव अधिकारसमेत हनन भयो भन्ने सञ्चारमाध्यममा आयो । नागरिकको जिउधनको सुरक्षा सरकारले गर्नुप¥यो । आफूलाई आगोको संज्ञा दिई कसैले पनि गैरजिम्मेवारपूर्ण व्यवहार देखाउनुहुन्न । पहिलेका काङ्ग्रेसहरू पूर्वपन्थी अर्थात् भारतपक्ष हुन्थे भने अहिलेका काङ्ग्रेसहरू पश्चिमपन्थी अर्थात् अमेरिकापक्ष देखिन्छन् । कोइराला परिवारलाई भारतसित जोडेर हेर्ने गरिन्थ्यो भने देउवा परिवारलाई पश्चिमसित जोडेर हेरिन्छ । हरेक पार्टीलाई अन्योलमा पारेर कुनै दिन एउटा ठूलो पार्टी बनाउन पनि सक्छन् । यस्ता सबै क्रियाकलाप राजनीतिमा हुने गर्दछ ।
यहाँले चाणक्य नीतिबारे बरोबर बताउनुहुन्छ । नेमकिपाभित्र यस खालको बाह्य कुरोले कतिको प्रभाव पारेकोे छ ?
कुटिल राजनीति भनेकै चाणक्य नीति हो । राजनीतिमा चाणक्य मरेका छैनन् । चाणक्यहरू सबै ठाउँमा छन् । एमाले विभाजन वा विसर्जनका लागि प्रचण्डले ठ्याक्कै चाणक्य नीति लागु गरेको आरोप एमालेका संस्थापन पक्षले लगाएको छ । पुँजीवादी हरेक राजनीतिक पार्टीमा घुसपैठ हुन्छ । राजा महाराजाका पालामा पनि सरकारलाई खतम पार्नका लागि गुप्तचरी गराउने, अपराधका गतिविधि गर्न लगाउने गरिन्थ्यो, अशान्ति गराउने र सरकार ढाल्ने गरिन्थ्यो ।
यहाँले भन्नुभएजस्तै एमाले विभाजन गराउन प्रचण्डले ठ्याक्कै चाणक्य नीतिको चलखेल गरेका हुन् भन्ने एमाले संस्थापन पक्षको आरोप छ, यसबारे स्पष्ट पारिदिनुहुन्छ कि ? एमाले विभाजन गराउने ‘जागीर’ प्रचण्डलाई अर्कैले दिएको हो त ?
प्रचण्ड, उनी आफै उठेका नभई कसैले ठड्याइदिएका व्यक्ति हुन् । हातहतियार अरूले दिएको, तालिम पनि अरूले दिएको, पैसा पनि अरूले दिएको, बासको बन्दोबस्त अरूले गरिदिएको हो । जसरी चन्द्रमा अरूको प्रकाश छोड्नेबित्तिकै समाप्त हुन्छ, त्यसरी नै अरूको तागतबाट उठ्ने व्यक्ति पनि छिट्टै समाप्त हुन्छ । सबैसँग नेमकिपाको भिन्न मत छ । किनकि, नेमकिपा सरकारमा जाने पार्टी होइन । यो खान नहुने वस्तु हो भन्ने थाहा हुँदाहुँदै फेरि त्यही खानु गलत हुन्छ । जो आफूलाई कम्युनिस्ट भनेर फलाकिरहेका छन्, त्यहीअनुसार समाजलाई दिन सक्नुपर्दछ । उत्पादनका श्रोत साधन राष्ट्रियकरण गर्नु, सबैलाई योग्यताअनुसार काम दिनु कम्युनिस्टको काम हो तर, कामअनुसार ज्याला दिन्छौँ भनेर पार्टीमा ल्याउने अनि त्योअनुसार नपाएपछि गद्दार भयो, विश्वासघात ग¥यो भन्नु स्वाभाविक हो । कि त यो व्यवस्थामा यी कुरो सम्भव छैन भनी स्पष्ट गर्नुप¥यो ।
यहाँले चाणक्य चलखेलको कुरो राख्नुभयो । आफ्नो पार्टीमा देखिने गरी यस्तो खालको चलखेल भएको छैन, नेमकिपा यसबाट पृथक छ भन्ने लाग्छ यहाँलाई ? यो कसरी सम्भव हुन्छ ?
जहाँ प्रकाश हुन्छ, त्यहाँ छाया अवश्य हुन्छ नै । जो सरकारमा जान्छ उसले त्यहाँबाट धेरै फाइदा लिन खोज्छ अनि भ्रष्टाचार गर्ने नै भयो । पँुजीपति वर्ग, माफिया सबै शासक दलभित्र पस्छन् । नेमकिपाले यो पुँजीवादी व्यवस्थामा सरकारमा गएर केही हुन्न भनिरहेकै छ । चुनावलाई देश र जनताको हितमा उपयोग गर्ने नीति नेमकिपाको हो । हामी समाजको आमूल परिवर्तनका लागि सङ्घर्षलाई जारी राख्नुपर्छ भनी जनतालाई स्पष्ट गर्दै छौँ । यसकारण, चुनावमा जनतालाई ठगेर हुन्न, शिक्षा र चेतना दिनुपर्दछ । यस हिसाबले हामी चुनावमा भाग लिन्छौँ । सबैले त्यस्तो गरिदिएको भए देश आजको अवस्थामा आउँदैनथ्यो ।
नेमकिपा सरकारमा नजाने पार्टी भएकोले त्यस्तो खालका मान्छेहरू यसमा छिर्न सक्तैनन् । एमाले काङ्ग्रेसहरूले नेमकिपा फुटाएको उदाहरण छ । जुम्लामा काङ्ग्रेसले र दैलेखमा एमालेले क्रमशः प्रतिनिधिसभाका सदस्य भक्तबहादुर रोकाया र विनोद शाहीलाई पैसाले किनेका थिए । कालिकोटमा नेमकिपाका कार्यकर्ताहरूलाई माओवादीले घेरा हालेर लगे । विचारले सहमत भए जानुहोला नत्र परिणामले गलत हुने भन्ने कुरो हामीले बतायौँ । हामीले व्यक्तिको विरोध गरेका छैनौँ, विचारको विरोध गरेका हौँ । हामीलाई राजनीतिमा लाग्दा ‘कुकुरले नपाएको दुःख पाउँछ’ भनेर आमाबुबा – नातागोताले रोक्न खोजे पनि हर किसिमको दुःख कष्ट झेल्न तयार भएको हुनाले यहाँसम्म टिक्न सकेको अनुभव हुन्छ । जहाँ गए पनि इमानदारीपूर्वक काम गर्नुपर्दछ । कति मान्छे त गल्ती भयो कामरेड भन्ने पनि छन् । चौँथो महाधिवेशनमा हामीले भोट दिएका खड्गबहादुर लामाले नेमकिपालाई धोका दिए । सुन सयचोटि जोखिन्छ तर मान्छेलाई एकचोटि जोख्ने हो । त्यसैले हामीले गलत मान्छेसित सम्झौता गर्नु हुँदैन । सर्पलाई तकियामुनि राखेर सुत्न सकिन्न । नेमकिपा एक्लै भए पनि जनताको सेवा गर्ने हो । चित्त बुझ्दैन भने अलग्ग हुनु र जे छ बहुमतको आधारमा निर्णय लिनु उचित हुन्छ । कि त राजीनामा गर्नुपर्ने हुन्छ कि त पार्टीले कारबाही गर्नुपर्ने हुन्छ । साम्यवादी सिद्धान्तअनुसार भौटै दिनुपरे पनि खराबमध्ये असल यो हो भन्ने हिसाबले जानुपर्दछ । चुनावमा दलहरूको घोषणापत्रअनुसार काम नभएपछि खण्डन गर्ने, विरोध गर्ने काम हुन्छ । नेपालमा वैचारिक अभ्यासहरू धेरै कममात्र भएका छन् । शासक दलहरू जनादेशमा जान नचाहनुको कारण चुनावमा धेरै पैसा खर्च गर्नुपर्छ र यदि हारियो भने त सम्पत्ति खतम हुन्छ भनेरै हो । अस्ति चुनावमा लिएको ऋण नै तिर्न सकेका छैनन् होला कतिले ¤ पैसा खर्च गरेर चुनाव लड्ने बानीले गर्दा यिनीहरूमा चुनाव जितिएला भन्ने सोचै हुँदैन । कार्यकर्तालाई पैसा बाँड्ने, मासुभात खुवाउने, तेल राखिदिने, पानीभन्दा बढी बीयरमा खर्च गर्ने हुनाले आत्तिएका छन् । भोलि कुनै देशसँग लडाइँ भयो भने लड्ने नेपाली सेना भनेकै हुँदैन । किनकि युवाहरूलाई यी पुँजीवादी पार्टीहरूले भ्रष्ट पारिसकेका छन् । शासक दलहरूले एकदमै गलत गरेका छन् ।
गलत गरेका छन्, यो प्रणालीले दिनुपर्ने सेवा दिएको छैन, यो व्यवस्था नै समस्या हो भन्ने बुझाइ राख्ने दल हो तपाईँको । सारा जीवन दिनुभयो तर कम्युनिस्ट आन्दोलन जीर्ण भयो भन्ने गरिन्छ, कम्युनिस्ट आन्दोलन अब के हुन्छ कसरी अगाडि बढ्छ ? नेपालको कम्युनिस्ट आन्दोलन कुन चरणमा आइपुगेको छ, बताइदिनुस् न !
व्यापारीहरूले नाफा नलिई व्यापार गर्दैनन् । राजनीतिक नेता कार्यकर्ताले व्यापारीले जस्तो नाफा खोज्ने होइन । समाज रूपान्तरणको प्रक्रियामा ऐतिहासिक काल लाग्न सक्छ भन्ने बुझेर यसमा लागेका हौँ । धान र गहुँजस्तै ६÷६ महिनामा बाली फर्काउने काम राजनीतिमा सम्भव छैन । आमूल परिवर्तनका लागि ऐतिहासिक युग नै लाग्न सक्छ । त्यसको मतलब हाम्रै पालामा सबै कुरो ठिक हुन्छ भन्ने होइन । कार्ल माक्र्सले आफ्नै पालामा, आफ्नै छोराको पालामा साम्यवाद आउँछ भन्नुभएको थिएन । बुद्ध जन्मेको २५ सय वर्ष भइसक्यो तर अहिलेसम्म चोर बढिरहेकै छन्, हत्याहिंसा बढेकै छ भनेर बुद्धलाई गाली गर्ने पनि छन् । यो त झूटा मान्छे हो, भन्छन् । तर, वास्तविकता त्यसो होइन । बुद्धले त्यति शिक्षा नदिएका भए झन् योभन्दा बढ्ता ‘पाप’ हुन्थ्यो, अपराध बढ्थ्यो । धर्ममा पनि केही काम लाग्ने चीज बाँकी रहेको हुनाले समाज बाँकी रहेको हो । नत्र त समाजमा लुँछाचुँडी भइसक्थ्यो । त्यसकारण, ‘बुद्ध धर्म’ को महत्व छ । यसले दक्षिण एसियामा मात्र सीमित नभई एसियाबाहिर पनि प्रभाव कायम राखेको छ । बुद्ध अनिश्वरवादी हुन्, भौतिकवादी हुन् । तर, उनले पूजा गर्न लगाए । चाणक्यहरू चलाख हुन्छन् । भिक्षुहरूमा जातको भेद नगर्ने भनिन्छ तर काठमाडाँैमा दलित भिक्षु र अन्यबीचको भेद कायमै छ । समाजमा आमूल परिवर्तनको आवश्यकता त्यसबेलासम्म रहन्छ, जहिलेसम्म समाजमा आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर रहँदैन । वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ ।
समाजवाद ल्याउँछौँ, समाजवादउन्मुख संविधान ल्याउँछौँ भन्नेहरूले जुन किसिमको बेइमानी गरे के त्यसले कम्युनिस्टको लक्ष्य, भावना र मर्ममाथि प्रहार गरेको छैन ? के नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ ?
समाजवाद कुनै एक देशमा मात्र पनि स्थापना हुन सम्भव भएको कुरो सोभियत सङ्घले देखाइदियो । तर, एकचोटि समाजवादमा पुगिसकेको देश पनि सामाजिक साम्राज्यवादमा पतन हुनसक्ने यथार्थ रुसी कम्युनिस्ट पार्टीको इतिहासबाट स्पष्ट हुन्छ । साँचो मानेमा कम्युनिस्टको लक्ष्यमा एक दिन जरुर पुगिन्छ किनकि मानिस जन्मेपछि मर्छ, कम्युनिस्ट पनि कहिलेकाहीँ पराजित हुनसक्छ । जसरी मानिस स्वास्थ्यप्रति सचेत नहुँदा एक पटक रोग लागिसकेपछि निको हुने र फेरि पनि रोगी हुने, मर्नेे सम्भावना हुन्छ, त्यसरी नै जनतालाई राजनीतिकरूपमा सचेत नपारेसम्म कम्युनिस्ट आन्दोलनमा अन्योलको स्थिति रहने निश्चित छ । नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यअनुसार कार्यक्रम लिएर गाउँगाउँमा गई जनताको सेवा गरिरहेको छ । बन्दुक बोकेर लडाइँ गर्दा समेत परिवर्तन भएन । बन्दुक बोकेरै ल्याएको शासन व्यवस्था सधैँ टिक्न सक्छ भन्ने होइन । राजा पृथ्वीनारायण शाहले पनि बन्दुककै भरमा राज गरेका हुन् तर खोइ त टिक्न सकेनन् ¤ नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढाउन भारतको वामपन्थी आन्दोलन र सर्वसाधारणको समर्थन चाहिन्छ । अन्तर्राष्ट्रिय समर्थन लिन सकेमात्र क्रान्ति या समाजवादमा पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *