भर्खरै :

दोस्रो पटक भयो कलेजो प्रत्यायोजन

भक्तपुर, २५ असार । मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । केन्द्रले अब प्रत्येक महिनामा कलेजो प्रत्यारोपण शल्यक्रिया गर्ने भएको छ ।
काठमाडौंको लगन बस्ने ५७ वर्षीय हीराकाजी महर्जनको ११ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो । महर्जनलाई छोरी सरिताले कलेजो दान दिनुभएको हो । जुन कलेजो गएको असार १८ गते सफल प्रत्यारोपण गरिएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार करिब ३० जना चिकित्सक तथा नर्सहरूको टोलीबाट सफल कलेजो प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपण विशेषज्ञ, शल्यचिकित्सक तथा प्राध्यापक डा. सुभास गुप्ताको सहयोगमा दोस्रोपटक सफल कलेजो प्रत्यारोपण भएको हो ।
डा. गुप्ता भारतको नयाँदिल्लीस्थित म्याक्स हेल्थकेयरका लिभर तथा बिलाइरी साइन्सेसका प्रमुख हुनुहुन्छ । डा. गुप्ताको नेतृत्वमा भारतका १० जना प्राविधिकहरूको टोली प्रत्यारोपणमा संलग्न रहेको थियो । नेपाली टोलीको नेतृत्व भने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नै गर्नुभएको थियो । नेपाली टोलीमा केन्द्रका डा. सुबोध अधिकारी, डा. क्षेतेनयोञ्जन तामाङ, डा. प्रवीण जोशी, डा. आरती राई, डा. किरण अधिकारी, डा. महालक्ष्मी देउजा, डा. दीपेश गुरूवाचार्य, डा. निरज जोशी, डा. सुवास आचार्यलगायत संलग्न हुनुभएको केन्द्रले जनाएको छ ।
केन्द्रले गएको मंसिर २२ गते नेपालमै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको थियो । उक्त प्रत्यारोपण दक्षिण कोरियाली कलेजो प्रत्यारोपण विशेषज्ञको टोलीले प्राविधिक सहयोगमा गरेको थियो । केन्द्रका कन्सल्टेन्ट फिजिसियन तथा पेटरोग÷कलेजो रोग विशेषज्ञ डा. निरज जोशीले नेपालमा हरेक वर्ष एक हजारभन्दा बढीको कलेजो फेल भएको पाइएको बताउनुभयो । अध्ययनअनुसार नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *