लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
‘नजिकको देवता हेला’ भनेझैँ भारतले आफ्ना छिमेकी मुलुकप्रति बेवास्ता गर्दै सात समुद्रपारका मुलुकसँग बढी नै हेलमेल हुन मन पराउँदा उसको विदेशी नीतिले फेरि एक पटक हावा खाएको देखिन्छ । अफगानिस्तान घटना भारतीय परराष्ट्र नीतिको असफलताको पछिल्लो उदाहरण बनेको छ ।
नेपाललाई नाकाबन्दी गरेर छिमेकी मुलुकमाथि हैकम चलाउन खोज्ने भारतीय विदेशमन्त्री एस. जयशङ्कर असफल विदेशमन्त्री भएको अफगानिस्तानको मामिलाले थप प्रस्ट पारेको छ । आफ्नो मालिक अमेरिकाले अफगानिस्तान छोड्ने समयमा एक वचन नसोध्दा भारत ‘घरको न घाटको’ भएको छ । यही असमञ्जस्यताले अहिले तालिवानले सत्ता कब्जा गरिसक्दा पनि तालिवानप्रति भारत सरकारको आधिकारिक भनाइ आउन सकेको छैन । अमेरिकाको लहैलहैमा अफगानिस्तानको अमेरिकी कठपुतली सरकारको सहयोगी भएर पाकिस्तानलाई अन्तर्राष्ट्रिय मञ्चबाट अलगअलग गर्ने सोचका साथ अफगानिस्तानमा भारतले ३ अर्ब डलर खर्च ग¥यो तर गलत विदेश नीतिको कारणले ती सबै लगानी एकै झट्कामा स्वाहा भएको छ । ट्रम्पलाई राजनीतिकरूपमा सहयोग पु¥याउन मोदीले अमेरिकी चुनावमा गरेको मूर्खतापूर्ण कार्यले अमेरिकी राष्ट्रपति बाइडेनलाई भारतको शत्रु बनाए । बाइडेनले अचानक अफगानिस्तान छोड्ने मिति घोषणा गरेर भारतलाई मझदारमा छोडे । यसअघि पूर्वराष्ट्रपति ट्रम्पले मोदीलाई नराम्ररी धोका दिए । सन् २०१८ मा कतारको दोहामा तालिवानसँग वार्ता गर्दा अमेरिकालाई रणनीतिक साझेदार मान्ने भारतलाई ट्रम्पले जानकारी समेत दिएनन् । पछि अमेरिकाको तालिवानसँगको वार्ता थाहा भएपछि भारतले तालिवानसँग सम्पर्क गर्न खोज्दा तालिवानले भारतलाई टेरपुच्छर पनि लाएन । वास्तवमा अमेरिकाको सहयोग खोज्नु भनेको देशलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न निमन्त्रणा दिनुु नै हो । अमेरिकाको इतिहास नै यस्तो छ, आफ्नो स्वार्थसिद्ध हुने भए विश्वलाई आगोको भट्टीमा झोस्न पछि पर्दैन । यस्तो मुलकको पछि लागेर मोदीले भारतको असंलग्न परराष्ट्र नीतिलाई धुजाधुजा पारेका छन् ।
एकजना सामान्य मानिसजस्तै अमेरिकाको चकाचौधको अगाडि हीनताग्रस्त मोदीले सर्वप्रथम ओबामा र त्यसपछि ट्रम्पको हातमा भारतीय विदेश नीति सुम्पिए । अमेरिकालाई खुसी बनाउन भारतले रुस, चीन र इरानसँग दूरी बढाउँदै लगे । आज रूसजस्तो मित्र पनि भारतसँग टाढा हुँदै गएको छ । हाम्रा दुई छिमेकी मुलुकमध्ये एक चीन अमेरिकालाई पछाडि पारेर विश्वको एक नम्बर राष्ट्र बन्न अगाडि बढिरहेको छ भने अर्को छिमेकी राष्ट्र भारत अमेरिकाको पछि पछि लागेर ‘अमेरिकाको पिछलग्गू राष्ट्र’ को उपाधि पाउन लालायित भएको छ । अहिले भारतको असफल विदेश नीतिमाथि मजाक उडाउँदै पर्यवेक्षकहरू भन्ने गर्दछन्, “भारतको विदेश नीति वासिङ्टनमा बन्ने गर्दछ ।”
गलत विदेश नीतिकै कारण छिमेकी देशहरूसँग भारतको सम्बन्ध दिन प्रतिदिन उतार चढावबाट गुज्रिरहेको छ । पाकिस्तान, चीन र नेपालपछि भारतको लागि श्रीलङ्कासँगको सम्बन्ध पनि मित्रवत रहन सकेन । मिडिया रिपोर्टका अनुसार श्रीलङ्कामा बन्दरगाहहरूको निजीकरणविरूद्ध एक अभियान चलिरहेको छ । ट्रेड युनियनहरू, नागरिक समाज र विपक्षी दलहरू पनि यस विरोधमा सहभागी छन् । अब श्रीलङ्का सरकारले भारतसँग ट्रान्ससीपमेन्ट परियोजनाको सम्झौताबाट पछाडि हटेको छ । यो परियोजनामा श्रीलङ्काको ५१ प्रतिशत र भारत र जापानको ४९ प्रतिशत हिस्सेदारी रहेको थियो । तर, श्रीलङ्का सरकारले सम्पूर्ण खर्च आफै व्यहोर्ने भनेर एकतर्फी घोषणा गरको छ । यसले भारतको अर्को कूटनैतिक विफलतालाई झल्काउँछ ।
अमेरिकाकै कारणले भारत र इरानबीचको सम्बन्ध पनि चिसिँदै गएको छ । इरानको चाबहार बन्दरगाह विकास गरेर त्यहीँबाट मध्य एसियामा पस्ने भारतको रणनीति थियो । इरानलाई पनि अमेरिकाविरुद्ध भारतको सहयोगको खाँचो थियो तर भारतले अमेरिकी आदेशको उल्लङ्घन गर्न नसक्दा परियोजनाको काम अगाडि बढ्न सकेन । त्यसैगरी भारतीयहरूसँग चिनियाँहरूसँग जस्तो प्रविधि र धन दुवै छैन र पाकिस्तानको ग्वादर बन्दरगाहजस्तो आधुनिक बन्दरगाह बनाउन भारतले किमार्थ सक्ने वाला थिएन । मात्रै ठाउँ ओगट्ने र चिनियाँहरूलाई पस्न नदिने उसको रणनीति थियो । इरानले त्यो कुरा बुझेर उक्त परियोजना रद्द गरी चीनसँग ५ सय अरब डलर बराबरको विकास परियोजनाको सम्झौता गरेको छ । त्यसैगरी दिल्लीमा भएको दङ्गाको लागि पनि स्वयम् इरानी धार्मिक नेता आयोतुल्लाह खोमेनीले भारत सरकारको निन्दा गरेका थिए ।
आर्थिकरूपमा निकै फाइदाजनक मित्र राष्ट्र कुबेतले हिन्दू उग्रता र अल्पसङ्ख्यकमाथि भइरहेको ज्यादतीको कारण आफ्नो देशमा रहेका करिब ४० लाख भारतीयलाई १० लाखमा झार्ने हिसाबले नयाँ कानुन पास गरेको छ । यसले गर्दा कुबेतमा काम गरेर कमाएको लगभग ५० अर्ब डलर विप्रेषणरूपमा भित्रिरहेको स्रोत भारतले गुमाउनुपर्ने देखिन्छ भने अर्कोतिर त्यतिका मानिस एकै पटक भारत फर्किदा बेरोजगारको समस्या झनै बिकराल हुने देखिन्छ । खासमा कुबेतले यो कानुन जानाजान भारतलाई अप्ठेरो पार्ने मनसायले ल्याएको हो । भारतमा पटक पटक हिन्दू मुसलमान दङ्गा भएपछि अरब मुलुकले भारतप्रति कडा नीति लिइएको देखिन्छ । त्यसैगरी भारतमा नागरिकता कानुनको मस्यौदा बङ्गलादेशबाट आएका शरणार्थीप्रति इङ्गित भएदेखि भारत र बङ्गलादेशबीचको सम्बन्ध पनि तिक्ततापूर्ण रहेको छ ।
आजको भारतीय विदेश नीति सैद्धान्तिक नभई, भावनात्मक र पूर्वाग्रहपूर्ण छ भन्न सकिन्छ । नेपालमा वामपन्थी शासन, पाकिस्तान, बङ्गलादेश इस्लामिक र श्रीलङ्कामा बौद्ध शासन छ जुन भारतको दक्षिणपन्थी र परम्परावादी हिन्दू राष्ट्रको विचारधाराको मनुवादी शासनभन्दा भिन्न छ । भारतीय शासकहरू आज पनि अङ्ग्रेजको गुलामी मानसिकताबाट स्वतन्त्र भएको छैन । अङ्ग्रेजप्रति उनीहरूको सम्मान आज पनि छ । तर, न पश्चिमा मुलुकले भारतलाई साथ दियो न एसियाली मुलुकले नै विश्वास ग¥यो । यस्तो सरकारको विदेश नीतिले ‘माया मिली न राम’ भन्नेजस्तै भएको छ ।
मोदी सरकार विदेश नीतिमा मात्र हारिरहेको छैन देशको आन्तरिक नीतिमा समेत असफल भएको छ । भारतमा प्रजातन्त्रको सट्टा सामन्ती व्यवस्था लागू भएको छ । न्यायाधीशसमेतलाई ब्लाकमेल गरेर न्यायपालिकालाई नै अपहरण गरिएको छ । स्वतन्त्रताको ७५ वर्षगाँठ मनाइरहेको समयमा संविधान बचाउ नाराका साथ भारतीय जनता सङ्घर्षरत छन् । पछिल्लो ७ वर्षमा भारतमा प्रजातन्त्र झनै कमजोर भएको छ । राजनैतिक स्वार्थमा विभिन्न जाति र धर्मका मानिसहरूलाई एकताबद्ध गर्न नसक्दा भारतीय समाज विखण्डित भएको छ ।
Leave a Reply