भर्खरै :

अफगानिस्तानमा संरा अमेरिकी युगको अन्त्य : के सिक्ने र कसरी अघि बढ्ने ?

अगस्ट ३१ को बिहानीअघि अफगान भूमिमा अमेरिकी सर्वोच्चता अन्त्यको घोषणा गर्दै अफगानिस्तानबाट संरा अमेरिकाको अन्तिम विमान उड्यो । संरा अमेरिकी नीति निर्माता, अफगान जनता र सिपाहींको निम्ति अफगानिस्तानबाट अमेरिकाको पूर्णतः फिर्ता हुनु सपना जस्तै बनेको थियो ।
दुर्भाग्यवश, अल्पदृष्टि र बेइमानीको कारण पराजयमा रूपान्तरण भएको सम्पूर्ण घटनाक्रम गलत अभियान, रक्तपात, विध्वंस, युद्ध अपराध र नीतिगत गल्तीले भरिएको थियो । जसले अफगान युद्ध र फिर्ता अपमानपूर्ण बनाएको छ । संरा अमेरिकाको अनैतिक र गैरजिम्मेवार फिर्ताको परिणामस्वरूप अफगानिस्तानले लामो समय दुःखको सागरमा डुब्नुपर्नेछ ।
मलाई अझै पनि चिन्ता लाग्ने विषय भनेको यो पराजय पछि पनि संरा अमेरिकाले अझै पनि पाठ सिकेको छैन । यसको कारण संरा अमेरिकी नीति निर्माताहरूले यसअघि पनि यस्ता प्रतिकूल सामना गर्दा पनि कुनै पाठ सिकेका थिएनन् । आधुनिक समयमा संरा अमेरिकाले आफ्नो भूभागबाहिर पनि धेरै युद्ध लडिसकेको छ ।
पहिलो लडाइँ भियतनाममा भएको थियो । अनि लेवनान र अफगानिस्तानमा भएको लडाइँ गरेको थियो । अनि इराकमा यो शिलशिला जोडियो । लडाईले कुनै पनि देशलाई भित्रैबाट ध्वस्त बनाउँछ । त्यो समाजको मूल तन्तु नै क्षतविक्षत बनाउँछ । त्यहाँको अर्थतन्त्र र पूर्वाधारमा गम्भीर प्रभाव पार्छ । जनतालाई शारीरिक र मनोवैज्ञानिक दुवै थरी घाउ दिन्छ ।
जे भए पनि संरा अमेरिकाको अहिलेको पुस्तालाई युद्धको आतङ्कबारे असचेत छन् । संरा अमेरिका फिर्ता भएपछि धेरै अफगान जनताले आफूलाई धोखा भएको महसुस गरे । विशेषतः संरा अमेरिकी सरकारलाई मद्दत गर्ने अफगानहरूले यस्तो अनुभव गरेका छन् । संरा अमेरिकी सेनाले गरेको उद्धारको क्रममा पनि उनीहरू अफगानिस्तानमै छुटेका छन् ।
संरा अमेरिका र नाटोका धेरै युद्धवीरहरू जे भयो त्यसबाट आश्चर्यचकित र आलोचक छन् । बितेको २० वर्षमा भएको पुनःनिर्माण प्रक्रिया र आतङ्कवादविरोधी प्रयास सबै पानीको फोका जस्तै क्षणभरमै फुटे । धेरैको लागि ‘के यो प्रश्नको कुनै अर्थ थियो’ भन्ने जिज्ञासा वर्षौं वर्ष रहनेछ ।
सिकेको शिक्षा
यो घटनाबाट विश्व शक्तिले केही पाठ सिक्नुपर्छ । सशस्त्र विद्रोह र हिंसालगायत गम्भीर विश्वव्यापी मुद्दाको समाधान सैनिकमुखीभन्दा राजनीतिक हुनुपर्छ । सैनिक शक्ति र प्रगति एउटा हतियार हो । हतियारले युद्ध जित्न सकिन्न न त त्यसले दिगो सुधार नै गर्नसक्छ । प्रस्ट रणनीति र मनसाय बिनाको युद्ध दुई दसकपछि पनि खर्बौँ रूपैयाँ खर्च गरे पनि नराम्ररी असफल हुनसक्छ । त्यसबाहेक स्थानीय संस्कृति, सामाजिक मूल्यमान्यता र आम मनोविज्ञान बुझ्नु ज्यादै महत्वपूर्ण छ । यो क्षेत्र, त्यहाँका देश, विषयवस्तु र युद्धबारे फरक कोणबाट अध्ययन गर्ने अहिले सबभन्दा उपयुक्त समय हो । एक अर्कालाई आरोप प्रत्यारोपको खेल खेलेरमात्र पुग्ने अवस्था छैन ।
सबै देशमा प्रजातन्त्रको संरा अमेरिकी संस्करणको उपादेयता हुने कुरा सही होइन । पश्चिमले सबैलाई आफ्नै ‘सभ्यता’ सिकाइरहनु जरुरी छैन । अफगानिस्तानको आजको परिस्थिति हेर्दा संरा अमेरिका अहिलेसम्ममा यो शिक्षा लिइसकेको हुनुपथ्र्यो ।
दीर्घकालीन रूपमा साझेदार शक्तिहरूमाथि आरोप लगाएर कसैको भलो हुँदैन । संरा अमेरिकाले युद्धग्रस्त देशलाई परित्याग गर्नु अथवा पुनःनिर्माणका सबै कुरा छोड्नुको सट्टा आफ्नो गल्ती स्वीकार्नुपथ्र्यो । युरोपले पनि भविष्यका हरेक दुःस्साहसी काममा संरा अमेरिकालाई समर्थन नगरी कसैसँग हात मिलाउनुअघि गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।
अफगानिस्तान भनेको काबुल, हेरात र मजारमात्र होइनन् । मोर्चाबन्द शक्तिहरूको जोड र पुनःनिर्माण प्रक्रिया मूलतः यी सहरहरूमा केन्द्रित छन् । जसले विकासको आयाम, सरकारी संरचनामा विभाजन र अफगानी राजनीतिक शासक वर्गमा भ्रष्टाचारको महामारी उजागर गरेको छ । त्यसले सम्पूर्ण देशमाथि कब्जा जमाउन तालिवान किन केही दिनमै सफल भयो भन्ने कुरा पुष्टि गरेको छ ।
विशेषतः संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायलाई अब भविष्यको लागि रणनीतिले सुसज्जित बनाउनुपर्छ । कुनै पनि महाशक्तिलाई मनपरी देश छोड्न दिनुहुन्न । कब्जा जमाएको शक्तिले आफूले कब्जा गरेको अवस्थाभन्दा छोड्दा त्यो देशको परिस्थितिमा प्रगति भएको सुनिश्चित गर्नुपर्छ । त्यहाँको सुरक्षा संयन्त्रले चुस्त काम गरेको अवस्था बन्नुपर्छ ।
शरणार्थीहरूको व्यवस्थापन निकै अल्पकालीन रणनीति हो । संरा अमेरिकाले सुरक्षित अफगानिस्तान सुनिश्चित गर्नुपर्छ ताकि शिक्षित र मध्यवर्गीय अफगानहरू देश छोडेर भाग्ने र अर्को देशमा बस्न लालायित हुनुको सट्टा एउटा प्रगतिशील देशमा बस्ने र काम गर्ने अवस्था बन्नुपर्छ ।
अगाडिको बाटो
तालिवान यथार्थ थियो र हो । पश्चिमले पनि आज यो सत्य स्वीकार्नुपर्छ । दिगो शान्ति निर्माण र पुनःनिर्माण कार्यको लागि अफगानिस्तानमा अहिले तालिवान नै सबभन्दा महत्वपूर्ण हिस्सेदार भएको कुरा संसारले बुझ्न जरुरी छ । विश्व शक्तिहरूले अफगानिस्तानका तालिवान र अन्य राजनीतिक खेमाहरूबीच विश्वासको अवस्था बनाउन उपयुक्त व्यवहारिक रणनीतिक विकास गर्नुपर्छ ।
अफगानी जनतालाई सहायता गर्ने योजना अघि बढाउन संसार अघि बढ्नुपर्छ जसले अहिले विद्यमान मानवीय सङ्कट समाधान गर्न सकियोस् । अफगान जनतालाई बाँच्न, टिक्न र हुर्कन अरू कुनै पनि समयमा भन्दा अहिले अन्तर्राष्ट्रिय समुदायको सहायताको खाँचो छ ।
बितेका केही दसकमा अफगानी राजनीतिक शासक वर्गको बद्मासी र अयोग्यताले निम्त्याएको परिस्थितिलाई ध्यानमा राखेर राज्यकोषको अनुगमन गर्न अन्तर्राष्ट्रिय समुदायलाई पर्यवेक्षकको रूपमा राखेर पुनःनिर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ ।
पाकिस्तान, रुस र चीनजस्ता क्षेत्रीय खेलाडीहरूलाई तालिवानसहितको समावेशी सरकारसँग उत्पादनमूलक सम्बन्ध राख्न अघि बढ्नुपर्छ ।
विग्रह निम्त्याउने र आतङ्कवादी समूहले कुनै पनि आउन सक्ने जस्तोसुकै परिस्थितिबाट लाभ उठाउन नसकून् भनेर पाकिस्तानका जीजी आईएसआई लेफ्टिनेन्ट जनरल फैज हमिद गत सेप्टेम्बर ४ मा अफगानिस्तानको समग्र सुरक्षा अवस्थाबारे बुझ्न एकदिने भ्रमणको लागि काबुल पुगेका थिए ।
यसअघि ‘अफगानिस्तानको मिलेर पुनःनिर्माण गरौँ’ भन्ने नाराका साथ पाकिस्तान–अफगानिस्तान युवा मञ्चको अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अफगानिस्तानबाट पाकिस्तानलाई कुनै पनि खतरा हुन नहुने र पाकिस्तानले दुई पक्षीय व्यापारलाई ध्यानमा राखी शान्ति प्रक्रियालाई सहायताको क्रम जारी राख्नुपर्ने बताए ।
इटालीबाट प्रकाशित हुने एउटा पत्रिकामा मुजाहिदले भने, “चीन हाम्रो मुख्य साझेदार हुनेछ । चीन हाम्रो लागि ठूलो अवसर हो किनभने चीन हाम्रो देशमा लगानी गर्न र पुनःनिर्माणमा सहयोग गर्न तयार छ ।” यसअघि तालिवानले चीनलाई अफगानिस्तान कुनै पनि देशको सुरक्षाविरुद्ध प्रयोग नहुने वाचा गरेको थियो ।
तालिवानबाट आएका यी सबै प्रतिबद्धताले आगामी समय अफगानिस्तानको लागि बलियो सहायता प्रणाली विकास गर्नेमा क्षेत्रीय देशहरू आशावादी छन् ।
(लेखक द्वन्द्व अध्ययन र सैनिक मनोविज्ञानको क्षेत्रमा अध्ययन गरिरहेका इस्लामाबादका स्वतन्त्र अध्येता हुनुहुन्छ । )
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *