भर्खरै :

अफगानिस्तान अफगानी जनताको हो !

अफगानिस्तान संसारको एक विकट देशमध्ये एक हो । दुई सय वर्षअगाडि नै बेलायत र जारकालीन रुसबीच मध्यस्थ वा बफरस्टेटको रूपमा स्वीकारिएको देश हो । तर, बेलायती साम्राज्यवादले त्यसैबेला बरोबर पश्चिम र दक्षिण चीनमा सशस्त्र दबाब दिएर पूर्वी चीनमा आक्रमण गर्ने योजना बनाएकै हो । यसको प्रत्यक्ष उदाहरण सन् १८४०–१८४२ को अफिम युद्ध हो र त्यसपछि चीनलाई ‘खुला गर्ने’ नाउँमा असमान सन्धि गर्दै अनि चिनियाँ अर्थतन्त्रमा हातहाल्दै हङकङलाई ९९ वर्षसम्मको निम्ति ठेक्का वा ‘लीज’ मा लिएकै थियो ।
दक्षिणबाट चीनमाथि हमला गर्न बेलायती शासकहरूले काठमाडौँका राणा प्रधानमन्त्रीहरूलाई प्रयोग गरी बरोबर ल्हासा वा तिब्बतमा चिनियाँ गतिविधिबारे जानकारी राख्न तथा पेकिङको अधिकारी र तिब्बती स्थानीय अधिकारीहरूबीचमा मनमुटावको बिउ छर्न एवम् तिब्बती अधिकारीहरूलाई घूस दिएर कलकत्तामा लगी अनेक अनाधिकार कागजपत्रमा हस्ताक्षर गराउँथे र सुराकी बनाउँथे । आज संसारका सबै ठाउँ र देशमा अमेरिकी साम्राज्यवादले मित्रघात गर्दै, मित्र देशहरूमा आफै ‘बोक्सी’ र आफै धामी बन्दै, दुवैतिर हतियार किन्न बाध्य पार्दै क्षेत्रीय युद्धहरू गराउँदै छ । कोरिया प्रायःद्वीप, हिन्द चीन (भियतनाम, लावस र कम्बोडिया), भारत – चीनको सीमा भिडन्त, अफगानिस्तान, इराक, लिबिया, सिरिया आदि क्षेत्रको तनाव यसका उदाहरण हुन् ।
आखिर सबैजसो आक्रान्त देशलाई खरानी बनाउँदै अमेरिकी साम्राज्यवाद भाग्दै छ र फेरिफेरि आफ्ना देशी – विदेशी दलालहरूमार्फत पुनः उपद्रव मच्चाउने र नवउपनिवेश बनाउने खेल खेलिरहेको छ । संरा अमेरिकाको यो दुष्ट नीति उसको अन्तिम दिनसम्म कायम रहनेछ तर एक दिन उसले इतिहासको एक अवधिमा संसारको सबै देश र जनताको घेरामा दुवै हात उठाउनुपर्नेछ जसरी मुसोलिनी, हिटलर र तोजोले गरेका थिए । संरा अमेरिका आफू एक्लै चिहानमा जाने छैन बरु आफ्नै साथी (नोकर चाकरहरू) लाई पनि आफ सिकार बनाउनेछ – कोरियाली राष्ट्रपति सिङ्गमन री र दक्षिण भियतनामको राष्ट्रपति थ्युकी जस्तै । हिंस्रक पशुले नयाँ – नयाँ सिकार नपाएसम्म आफ्नो मुखको चारैतिर सिकारको सुकेको रगत पनि जिब्रोले चाट्ने काम गरिरहन्छ ।
भियतनामबाट हेलिकप्टरमा झुन्डिँदै भाग्नुपर्दाको अपमान र लाजको बदला अमेरिकाले मोजाहिद्दीनहरूलाई उचालेर अफगानिस्तानमा रुससँग लिएको थियो । भियतनामबाट जसरी संरा अमेरिका भाग्न बाध्य भयो त्यस्तै अफगानिस्तानलाई रुसको ‘भियतनाम’ बनायो – अमेरिकाले । तर, आज रुससँग तालिवानको मैत्रीपूर्ण सम्बन्ध देखियो । त्यसकारण, रुसी राष्ट्रपति पुटिनले भने, “अफगानिस्तानमा सबक पाउँदा पनि सुध्रेनन् पश्चिमाहरू ।”
अफगानिस्तानबाट संरा अमेरिका र पश्चिमा देशहरूको पलायनलाई नेपालको एक दैनिक पत्रिकाले लेख्यो, “अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग ।” तीन वटा तस्बिरसहितको त्यस समाचारमा लेखियो, “बोलायती सेनाको यस्तो हतारको बहिर्गमनले ९२ वर्षअघिको एउटा घटनालाई स्मरण गराएको छ । सन् १९२८ मा अफगानिस्तानका आदिवासीबीच बेमेलको अवस्था अहिलेकै जस्तो थियो ।” (नागरिक, १९ भदौ २०७८)
तर, संरा अमेरिका पुनः फर्किन दाउ छोड्ने छैन । के संरा अमेरिकाले अफगानिस्तानको उचाइबाट मध्य एसियाको खनिज क्षेत्रको परिचित सोभियत सङ्घबाट छुट्टिएका मुसलमान गणतन्त्रहरू अजरबैजान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, कज्जाखस्तान र चीनको पश्चिमी भागको सिन्च्याङ–उइगुर प्रदेशलाई त्यसै छोड्ला ?¤
अमेरिकी राष्ट्रपति निक्सनको पालामा थाइवान, तिब्बत, हङकङलाई चीनकै अभिन्न अङ्ग मानेर जनवादी गणतन्त्र चीनसित कूटनैतिक सम्बन्ध जोडेको संरा अमेरिकी ट्रम्प प्रशासनले थाइवानलाई हातहतियार बेचेर चीनसँग अलग राज्य घोषणा गर्न उक्सायो । हङकङमा बेलायती पिछलग्गूहरूमार्फत उपद्रव गर्न दियो र चीनलाई विभाजन गराउन दलाई लामा गुटलाई विदेशमा गतिविधि चर्काउन मद्दत ग¥यो । तर, त्यही कूटनैतिक मर्यादाविपरीत जो बाइडेन प्रशासन ट्रम्पकै पद चिन्ह पछ्याउँदै छ । काबुलमा महिलाहरूको तालिवानविरोधी जुलुस प्रदर्शन (समाचारपत्र, ११ भदौ २०७८) र तालिवानको विरोधमा प्रतिरोधकारीद्वारा ठाउँ – ठाउँमा गोली हानाहान र हताहतको समाचार २० भाद्रको टेलिभिजनहरूले दिँदै थिए ।
अफगानिस्तान पनि अन्य देशहरूजस्तै एक स्वतन्त्र देश हो । विदेशी स्वार्थको निम्ति अफगानी जनतालाई प्रयोग गर्न बन्द गरिनुपर्छ । त्यहाँका जनतालाई आफ्नो इच्छाअनुसारको व्यवस्था रोज्न लगाई शान्तिपूर्ण विकास गर्न दिनु न्यायोचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *