भर्खरै :

‘हात खुट्टा बाँधेर काम गराउन खोज्नु गलत छ’

भक्तपुर, असार २६ गते ।
भक्तपुर नगरपालिकाका गतिविधिसम्बन्धमा नगरबासीबीच सल्लाह–सुझावका लागि नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाइको आयोजना ग¥यो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पारदर्शीताको नमूना नगर बनाउने लक्ष्यसहित कार्य अगाडि बढाइरहेको उल्लेख गर्दै जनभावना र निर्वाचन घोषणापत्रमा उल्लेख भएका योजनाहरु क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पदभार ग्रहण गरेपछि मापदण्डअनुसार प्रक्रिया पु¥याई दर्ता गरिएका नक्साहरुले सार्वजनिक तथा छिमेकीका जग्गाहरु अतिक्रमण नगरेको अवस्थामा नक्सापास प्रक्रियालाई छरितो बनाएको, वर्षौंदेखि नटुंगिएका मुद्दाहरु फर्छौट गर्र्दै आएको, खानेपानी तथा फोहर ढल व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रष्ट पार्नुभयो ।

१५ वर्षसम्म जनप्रतिनिधि नहुँदा थुप्रिएका जनताका समस्याहरु समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै सरकारले समयमै स्थानीय तह सञ्चालनसम्बन्धि ऐन–कानुन नबनाएकोले काम गर्न अप्ठेरो भएको बताउनुभयो । प्रमुख प्रजापतिले स्थानीय स्वायत्त शासन ऐन २०५५ विपरीत सरकारले आदेशको भरमा जनप्रतिनिधिहरुको अधिकार कटौती गरिरहेको उहाँको भनाइ थियो । ‘आदेशले देश चलाउनु निरंकुशता हो र हात खुटा बाँधेर काम गराउन खोज्नु गलत छ’, उहाँले भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका सबै नगरबासीहरुको साझा संस्था भएकोले नगरपालिकाको हरेक कार्यमा जनताले सचेततापूर्वक आलोचना गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुप्रति विश्वास रहेको उल्लेख गर्दै जनभावनाअनुसार कार्य गर्न आग्रह गर्नुभयो । उहाँहरुले अनलाईन माध्यमबाट नक्सा दर्ता एवं नक्सापास प्रक्रिया अघि बढाउनु पर्ने, भक्तपुर औद्योगिक क्षेत्रका ठूला उद्योगहरुलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने, पर्यटकहरुका लागि ठाउँ ठाउँमा शौचालयहरु निर्माण गर्नुपर्ने, नगरक्षेत्रभित्र विहान ८ बजेदेखि साँझ ६ बजेसम्म ठूला गाडीहरु प्रवेश निषेध गर्नुपर्ने, पुरातात्विक सम्पदाहरु पुनः निर्माणको सम्पूर्ण कार्यहरुको भिडियो डकुमेन्टी बनाउनुपर्ने, भुस्याहा कुकुर तथा छाडा चौपाया नियन्त्रण गर्नुपर्ने लगायत सुझावहरु दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, आयोजना प्रमुख ओमहरि थाश्रेष्ठ, मुद्दा शाखा प्रमुख गणेशलाल फोजू, स्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवाल लगायतले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *