भर्खरै :

काठमाडौँको तीन नगरमा एमसीसीविरुद्ध जुलुस तथा सभा

काठमाडौँ २८, भदौ । नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताको विरोधमा जुलुस तथा सभा कार्यक्रमलाई निरन्तरता दिएको छ । काठमाडौँमा पनि विभिन्न नगरपालिकामा एमसीसीविरुद्ध जुलुस तथा सभा चालू छ । त्यसैक्रममा सोमबार शंखरापुर, कागेश्वरी मनहरा र गोकर्णेश्वर तीनवटै नगरपालिकामा एमसीसीविरुद्ध जुलुस तथा सभा भयो ।
शंखरापुर नगरपालिकामा साँखु महादेवस्थानबाट सुरु भएको जुलुस सांखु बजार नगर परिक्रमा गरी पुनः महदेवस्थानमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा समाजसेवी, बुद्धिजीवी, वरिष्ठ ई.राजदास श्रेष्ठले अमेरिकी साम्राज्यवादले विभिन्न देशमा खर्बौँ डलर खर्चेर त्यहाँको राजनीतिक, आर्थिक, सांस्कृतिकरूपमा ध्वस्त गरेको स्मरण गर्दै नेपालमा पनि त्यही स्थितिमा ल्याउन एमसीसी सम्झौता अघि सारेको हो भन्नुभयो ।
नेपालमा विद्युत उत्पादन गरेर भारतमा लैजाने योजनामात्र होइन समाजवादी चीनविरुद्ध लड्न घेराबन्दी गर्ने लक्ष्य थियो, उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महनर्जनले देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले एमसीसी सैन्य रणनीतिअनुरूप ल्याएकोले देशको सार्वभौमिकतामाथि आक्रमण गर्न सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा रमेश डंगोलले पनि बोल्नुभएको थियो ।
त्यसैगरी कागेश्वरी मनहरा नगरमा भएको विरोध जुलुस तथा सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष राजवीर डंगोल, नेक्राविसङ्घ अध्यक्ष प्रकाश गुरुङ र सह–अध्यक्ष सुरेश परियारले एमसीसी सम्झौता देशघाती भएकोले खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
गोकर्णेश्वर नगरमा भएको एमसीसीविरुद्धको जुलुस तथा सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महनर्जन, नेक्राविसङ्घ अक्ष्यक्ष प्रकाश गुरुङ र सह–अध्यक्ष सुरेश परियारले एमसीसी सम्झौता देशघाती भएकोले सबै नेपाली जनता सडकमा उर्लेर सरकारलाई दबाब दिनुपर्ने र खारेज नभएसम्म सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *