भर्खरै :

हो चि–मिन्ह र हाम्रा पूर्व सेनापतिहरू

नेपाली र भारतीय जनताबीच तथा दुई देशका सरकारबीचको सम्बन्धबारे सारा नेपाली जनता अवगत छन् । इतिहासका विभिन्न कालखण्डमा आ–आफ्नो घरेलु स्थितिअनुसार नेपाल र भारतबीचको सम्बन्धले नागबेली बाटो लियो । ब्रिटिस – भारतको बेला नेपाल–भारत सम्बन्ध शत्रुतापूर्ण थियो । बेलायती साम्राज्यवादले भारतमाथि आक्रमण गरेको बेला नेपाली जनता बेलायती उपनिवेशवादको विरोधमा थिए । नेपाली जनता भारतीय स्वतन्त्रता आन्दोलनको पक्षमा थिए भने नेपालको राणा शासन तथा शासकहरू बेलायती उपनिवेशवाद तथा उपनिवेशवादीहरूको पक्षमा थिए ।
भारतीय स्वतन्त्रतापछि पनि भारतीय शासकहरूको नेपालप्रतिको दृष्टिकोण बेलायती उपनिवेशवादीहरूकै जस्तो रह्यो र नेपाललाई भारतकै एक अङ्गको रूपमा हेर्न थालियो । यस कुराका दुई आधार छन्– एक, ‘स्वतन्त्र’ भारतको छिमेकी देशहरूप्रतिको व्यवहार बेलायती उपनिवेशवादीहरूकै शासन र शैली जस्तै रह्यो । यसमा पुनः भारतीय उप–महादेशमा आफ्नो साम्राज्यवादी र उपनिवेशवादी नीति लागु गर्ने बेलायती साम्राज्यवादीहरूको गुप्त मनसाय लुकेको थियो ।
दोस्रो, भारतीय शासक वर्गको पढाइलेखाइ र उठ–बस बेलायती साम्राज्यवादी र उपनिवेशवादीहरूसँगै रह्यो । बेलायती साम्राज्यवादी र उपनिवेशवादी संस्कृतिकै कारण भारतीय विस्तारवादको उदय भयो । बेलायती उपनिवेशवादीहरू बेलायत फर्के पनि भारतमा बेलायती पुँजी, त्यसका दलालहरू र तिनको संस्कृतिको कारण भारतीय पुँजी आफै विस्तारवादको रूपमा विकास भयो । यसको उदाहरण भारतसँगको खुला सीमा, १९५० को नेपाल–भारत सन्धि, नेपालको बजारमा भारतीय वस्तुको एकहती र नेपालमा भारतको राजनैतिक, प्रशासनिक एवम् सांस्कृतिक प्रभाव हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भारतीय थिचोमिचो, दक्षिण र पूर्वी नेपाली सीमामा भारतीय अतिक्रमण आदि सबै भविष्यमा गर्ने आक्रमणको निहुँ र तयारी हो । जब नेपाली काङ्ग्रेसको सरकार आउँछ तब नेकाका एक क्षेत्रका कार्यकर्ताले सुल्झिसकेको नेपाल–चीन सीमा सम्झौतामा खलल पार्ने तथा दलाई लामा र स्वतन्त्र तिब्बतको विषय उठाएर छिमेकी र मित्र राष्ट्र चीनको आन्तरिक मामिलामा अनावश्यक बखेडा झिक्ने असफल प्रयास गर्दै आएका छन् ।
नेपालका केही क्षेत्रमा विश्व हिन्दू महासङ्घलगायत धार्मिक सङ्गठनको विस्तार, पाइलट बाबादेखि अनेक योग र विपाश्यनाजस्ता सांस्कृतिक गतिविधिमा समेत चाणक्य नीतिका प्रभावहरू देखिनु आश्चर्यको विषय होइन । मुद्रा अपचलन, हत्या–हिंसा, लागूपदार्थको व्यापार, तस्करीजस्ता अनेक अपराधलाई भारतीय छिमेकी नीतिबाट अलग्ग गरी हेर्नु सा¥है सरलता हुनेछ ।
यसकारण, नेपालको राजनैतिक डबलीमा बरोबर नेपालको प्रशासन, सेना, प्रहरी र गुप्तचर संस्थामा समेत साम्राज्यवादविरोधी तथा उपनिवेशवादविरोधी एसिया, अफ्रिका, ल्याटिन अमेरिका र टापु देशका स्वतन्त्रता एवम् मुक्तिको इतिहास र राजनीतिबारे छलफल आवश्यक रहेको आवाज उठ्ने गरेका हुन् । नेपोलियन, हिटलर, मुसोलिनी, जापानी सैन्यवाद र चर्चिलजस्ताका पुरानपन्थी र साम्राज्यवादी दृष्टिकोण वर्तमान परिवेशमा म्याद नाघेको साबित भइसकेको छ । संरा अमेरिकाको मुनरोदेखि ट्रम्पसम्मको आक्रामक नीतिबाट कोरिया प्रायःद्वीप, हिन्द–चीन (भियतनाम, लावस र कम्बोडिया) इराक, लिविया, सिरिया, अफगानिस्तान आदिमा जन–धनको क्षति भयो । ती नीति मानव सभ्यतालाई नास गर्ने नकारात्मक साबित भइसकेका छन् । यसबारे अमेरिकी स्वतन्त्र बुद्धिजीवीहरूसमेत समीक्षा गर्दै छन् । तर, वर्तमान भारतीय शासक दलका नेता तथा सुरक्षासम्बन्धी क्षेत्रले यसबारे समीक्षा गरेको जानकारी नेपाली जनताले प्राप्त गरेका छैनन् ।
इराक र लिवियाको पतनमा त्यहाँका प्रशासन, सेना, प्रहरी र गुप्तचर विभागको कमजोरी र नकारात्मक भूमिका थियो । हो चि–मिन्हले आफ्नो देश स्वतन्त्र तथा मुक्त भएपछि सहयोगी सबै मित्र देशका जनताप्रति कृतज्ञता दिन आउने प्रतिज्ञा पूरा गर्ने बताउँदै सोभियत नेताहरूको लेनिन पुरस्कार लिन जान नमिल्ने भनी दुःख प्रकट गरेका थिए । तर, हाम्रा ‘आठ जना पूर्वप्रधान सेनापतिहरूलाई भारतको निम्तो’ (नेपाल समाचारपत्र, २० भदौ २०७८) को समाचारले नेपाली जनतालाई झस्काएको छ । सुनिन्थ्यो– हाम्रा हरेक अवकाशप्राप्त प्रधान सेनापतिलाई भारतको पुना वा अन्य ठाउँमा उपहारको रूपमा ‘भवन’ तयार भएको हुन्छ । हाम्रो, आशा र विश्वास छ– त्यो समाचार सत्य नहोस् ! ‘दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकप्टर’ (नागरिक, १९ भदौ २०७८) को समाचारले पनि हाम्रा नेपाली अवकाशप्राप्त प्रधान सेनापतिहरूको मन र मस्तिष्कलाई जरुरै छोएको होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *