भर्खरै :

नेपाली काङ्गे्रस, एमाले, माओवादीबीचको आरोप प्रत्यारोप झूट साबित !

काठमाडौँ, ३० भदौ । नेपाली काङ्गे्रसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को घोषणापत्रको पृष्ठ १३ र १४ मा एमाले र माओवादीविरुद्ध यसरी लेखियो, “नेकपा एमाले एवम् नेकपा माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएका छन् ।”
“नेकपा एमालेले राजनीतिक चरित्र गुमाएको छ । आफ्ना नेता र कार्यकर्ताका भ्रातृ सङ्गठनको माध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैङकिङ क्षेत्रमा लगानी र स्वार्थ भएका घरानाको भूमिकामा आफूलाई परिवर्तन गर्दै लगेको छ । त्यसैले नेकपा एमाले सत्ताको केन्द्रमा बसेर नियमित पुँजीवाद (क्रोनो क्यापिटालिज्म) को संरक्षण गर्ने कम्युनिस्ट पार्टी बनेको छ । यस अर्थमा, नेकपा एमालेले राष्ट्रिय पुँजीको होइन, आफ्नो पार्टी नियन्त्रित पुँजीको प्रवद्र्धन गर्दै छ । यस्तो पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न र आर्थिक विकास गर्नसक्दैन ।”
घोषणापत्रमा नेपाली काङ्गे्रसले माओवादीविरुद्ध यसरी लेखियो– “माओवादीले अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति प्रकट ग¥यो । देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेको बेला दृढ सङ्कल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।”
एमाले र नेकपा माओवादीका बीच २०७४ असोज १७ गते भएको संयुक्त निर्वाचन गठबन्धनलाई घोषणापत्रमा यसरी लेखियो– “यो कम्युनिस्ट गठबन्धनको घोषित उद्देश्य एउटै कम्युनिस्ट पार्टी बनाउने, कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने रहेको छ । यो गठबन्धनका योजनाकारहरूले प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन् ।”
एमाले र माओवादीको साझा घोषणा २०७४ मा नेपाली काङ्गे्रसबारे लेखियो– “सत्तामा रहँदा सधँै अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने, कानुनी राज्यको उपहास गर्ने, पृथकतावाद र साम्प्रदायिकतालाई प्रश्रय दिने, आस्थाको आधारमा वैमनस्यता फैलाउने, निजी स्वार्थमा राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने, भ्रष्टाचार तथा विकृति र विसङ्गतिलाई पक्षपोषण गरिरहनेछ । यसको मुख्य नीति सामन्ती निरङ्कुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीसँग सम्झौतापरस्त र आत्मसमपर्णवादी रहँदै आएको छ । यस पार्टीका नीतिहरू अहिले मुलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् । नेकाले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना नेकासँग छँदै छैन ।”
नेका, एमाले र माओवादी तीनवटै पार्टी आ–आफ्नो घोषणापत्रमा इमानदार भएको भए नीतिहरूबीच सत्ता समीकरण वा गठबन्धनको सम्भावना थिएन, छैन । तर, माओवादी र एकीकृत समाजवादीको प्रस्तावमा नेकाका शेरबहादुर देउवा प्रम भए । एमालेका केपी ओलीसँग सैद्धान्तिकभन्दा पनि व्यक्तिगत रिसइवीका कारण एकीकृत समाजवादीका माधव गुट अलग भएको हो । एमाले र एकीकृत समाजवादीका बीच सिद्धान्तमा भिन्नता छैन ।
नेकाका देउवाले यसअघि एमाले सरकारको पालामा संवैधानिक आयोगलगायत राजदूतहरूमा भागबन्डा लिएका थिए । यसको ताजा उदाहरण देउवाका सासू प्रतिमा राणाको जापानको निम्ति राजदूत थमौती हुनु हो भने संवैधानिक आयोगमा नियुक्ति ४५ जनामध्ये देउवाको सिफारिसका ११ जना समावेश हुनु पनि हो । यस्तै ओली, देउवा र दाहालकै मिलिमतोमा वाइडबडी, ललिता निवास, गोकर्ण रिर्सोट, तारा गाउँ विकास समिति, गिरीबन्धु टी स्टेट, पोखराको मणिपाल कलेज बिक्री, एनसेल, नेटवर्किङ धन्दाको ठगी, ओम्नी गु्रपको भ्रष्टाचार, विराटनगर जुट मिलको शेयर बिक्री र मेसिनरी पार्टपुर्जा चोरी आदि भ्रष्टाचारको छानबिन नभएका थप उदाहरणहरू हुन् ।
नेका, एमाले, माओवादीका घोषणापत्र, पार्टीका कार्यक्रम र सिद्धान्त जनतालाई ‘मूर्ख’ बनाउने दस्तावेज हो । यसबारे नेपाली जनता सचेत हुँदै छन् ।
आफ्नो आदर्शअनुसार बहुमतको सरकार गठन गर्न जनादेशको निम्ति नयाँ निर्वाचनमा जानु पार्टीहरूको राजनीतिक संस्कार र इमानदारीता हो । तर, २०४६ सालयताको राजनीतिक तस्बिरलाई अध्ययन गर्दा नेका, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपामा राजनीतिक संस्कार देखिएन । अलग भएर बस्नु जरुरी छैन, एउटै पार्टी हुनुमा समस्या हुँदैन । एउटै चरित्रका यी पार्टीहरूले निर्वाचनमा सामान र पैसा बाँडेर, भोज खुवाएर जनतालाई विभाजन गर्नु अनैतिक हो । नेकाको घोषणापत्रमा एमाले र माओवादीबीचको कम्युनिस्ट गठबन्धन भन्ने आरोप गलत हो । एमाले र माओवादीले साम्यवाद स्थापना गर्ने नेकाको आरोप पनि बेठीक हो । किनभने, एमाले र माओवादीको चरित्र काङ्गे्रससँगै मिल्छ, कम्युनिस्टसँग मिल्दैन । यसैले नेकपाबाट अलग भएको माओवादी र एकीकृत समाजवादीको समर्थनमा नेकाका देउवा प्रम भएका हुन् । यसबारे पनि नेपाली जनता सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *