भर्खरै :

९/११ पछिको २० वर्ष : संरा अमेरिकाको “आतङ्कवादविरोधी” युद्धका परिणाम के ?

(सेप्टेम्बर ११ वा ९/११ विश्वमा यस सहश्राब्दीको सबभन्दा प्रमुख घटनामध्ये एक हो । दुई दशकअगाडि, आतङ्कवादीहरूले अपहरण गरेका तीन विमानमध्ये दुईवटा विमान उडाएर न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रको उत्तर र दक्षिणका टावरहरूमा तथा अर्को एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काए । उक्त आक्रमणमा संरा अमेरिका र विश्वकै ठूलो नोक्सानी भयो । उक्त आक्रमणमा झन्डै ३ हजार मानिस मारिए र संयुक्त राष्ट्र सङ्घले प्रकाशित गरेको प्रतिवेदनअनुसार उक्त हमलाबाट संरा अमेरिकालाई २०० अर्ब अमेरिकी डलर र विश्व अर्थतन्त्रमा १० खर्ब आर्थिक नोक्सानी भयो ।
९/११ पछि संरा अमेरिकाले आतङ्कवादविरोधी युद्धको नाममा अफगानिस्तानविरुद्ध युद्ध थालनी ग¥यो । अफगानीहरूलाई अमेरिकी शैलीको प्रजातन्त्र लागु गर्न बाध्य पा¥यो र त्यसको परिणामस्वरूप त्यहाँ स्थानीय सामाजिक अस्थिरता उत्पन्न भयो तथा जनता गरिबी अनि दुःखकष्टमा बाँच्न बाध्य भए । आतङ्कवादविरोधी युद्धकै बहानामा संरा अमेरिकाले इराक, सिरिया र यमनमा युद्ध थोप¥यो । विगत २० वर्ष लामो संरा अमेरिकाको आतङ्कवादविरोधी युद्धले न आतङ्कवादलाई उन्मूलन गर्न सक्यो न त्यस युद्धमा सर्वसाधारण निर्दोष नागरिकलाई सुरक्षित गर्न र युद्धको पीडाबाट जोगाउन सक्यो । ती युद्धले उल्टो क्षेत्रीय रणनीतिक सन्तुलनलाई बिगा¥यो, क्षेत्रीय स्थितिलाई खराबबाट झन् खराब बनायो र विश्व शान्तिमै हानी पु¥यायो ।

अफगानिस्तानमा अमेरिकी सेनाको बमबारी


संरा अमेरिकाको ब्राउन विश्वविद्यालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार २००१ देखि २०१९ सम्ममा आतङ्कवादविरोधी युद्धको नाममा संरा अमेरिकाले ८० खर्ब डलर खर्च ग¥यो र विश्वका ८५ देशमा युद्ध तथा सैनिक परिचालन ग¥यो । त्यस क्रममा उसले ९ लाख २९ हजार मानिस मा¥यो, मरेकामध्ये झन्डै चार लाख निर्दोष सार्वसाधारण नागरिक थिए । युद्धका कारण ३ करोड ८० लाखभन्दा बढी मानिस आफ्नो थातथलोबाट विस्थापित भए ।
संरा अमेरिकाले युद्ध निर्यात ग¥यो र विश्व व्यवस्थामा बाधा पु¥यायो
“त्यसअघि विश्व व्यवस्था धेरै राम्रो अवस्थामा पक्कै थिएन र ९/११ पछिको २० वर्षको युद्धमार्फत संरा अमेरिकाले विश्व व्यवस्थाको ख्यातीमा र आर्थिकरूपले झन् खराब अवस्थामा पु¥यायो ।” चीन–अमेरिका अध्ययन प्रतिष्ठानका वरिष्ठ अनुसन्धाता सौरभ गुप्ताले भने ।
उनले अगाडि भने, “म ठोकुवा गरेरै भन्न सक्छु बितेको २० वर्षको अवधि संरा अमेरिकी विदेश नीतिको इतिहासमा शीतयुद्ध टुङ्गिएपछिको सबैभन्दा विध्वंसकारी युग रहेको छ । शीतयुद्धपछि संरा अमेरिकाले विश्व नेतृत्व सहमतिकै आधारमा प्राप्त गर्न सक्ने मार्ग छनोट गर्न सक्थ्यो तर उसले विश्वमाथि संरा अमेरिका निर्देशित विश्व व्यवस्थाको दृष्टिकोण थोपर्ने नीति छनोट ग¥यो ।”
राजनीतिक विद्वानहरूले सेप्टेम्बर ११ को आक्रमणपछि संरा अमेरिकाले आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय युद्ध थालेदेखिन् त्यसको विदेश नीति विशेषगरी सैनिक हस्तक्षेपको माध्यमले आफ्नो हितअनुकूल मध्यपूर्वको पुनर्संरचना गर्नेमा केन्द्रित भयो । उसले ती देशका जनताको हितको विषयबारे सोच्नै सकेन ।
अर्का विद्वान इडवार्ड लोजान्स्कीले ‘वासिङ्टन टाइम्स’ मा अगस्त ३१ का दिन प्रकाशित आफ्नो लेखमा संरा अमेरिकाले त्यसभन्दा अगाडि स्थिर रहेका देशहरू इराक, सिरिया र लिवियालाई ध्वस्त गरेको र ती देशहरूलाई तुलना नै गर्न नसकिने अराजकता, अस्थिरता र हिंसाको तहमा पु¥याएको औँल्याएका छन् ।
“संरा अमेरिका त्यस्तो प्रजातन्त्र हो जहाँको प्रशासन प्रत्येक चार वर्षमा परिवर्तन भइरहन्छ र त्यससँगै त्यसको युद्ध रणनीति पनि बदलिरहन्छ । त्यसको फलस्वरूप परिणाममा गडबड हुने गरेका छन् । संरा अमेरिकाले अफगानिस्तानमा भ्रष्टाचार बढ्न दियो । अमेरिकी सरकारले के गरिरहेको छ भने अमेरिकी जनतालाई केही पनि थाहा छैन”, पूर्वअफगान राष्ट्रपति हामिद कारजाइका सल्लाहकार रहिसकेका राजनीतिक विश्लेषक तोरेक फरहादीले भने ।
‘आतङ्कवादमाथिको युद्ध’ ले अपुरणीय मानवीय सङ्कट
युद्धले अपुरणीय मानवीय सङ्कट सिर्जना गरेको युद्धको तथ्याङ्कले छर्लङ्ग पार्छ । अमेरिकी युद्धका कारण झन्डै चार करोड मानिस विस्थापित भएर अन्यत्रै शरणार्थी जीवन व्यतित गर्न बाध्य भए । अमेरिकी आक्रमण र उक्साहटका कारण युद्धभूमि बनेका देशहरू अफगानिस्तान, इराक, पाकिस्तान, यमन, सोमालिया, लिविया, सिरियालगायत देशका जनता ज्यान जोगाउन आफ्नै देशको अर्को भागमा वा विभिन्न देशमा भाग्न बाध्य भए ।
अफगानिस्तान युद्ध (२००१–२०२१)
आधिकारिक तथ्याङ्कको अभावमा अफगान युद्धको क्रममा कति सङ्ख्यामा नागरिकको हताहती भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन तर संरा अमेरिका स्वयम्ले स्वीकारेको छ कि युद्धका क्रममा अमेरिकी सेनाको गलत निशानामा परेर ३० हजार नागरिकले ज्यान गुमाए भने ६० हजार घाइते भए र करिब १ करोड १० लाख शरणार्थी सिर्जना ग¥यो । वास्तविक सङ्ख्या यसको दोब्बर – तेब्बरसम्म पुग्न सक्छ ।
अमेरिकी समाचारपत्र ‘द न्यूयोर्क टाइम्स’ को वेबसाइट पोर्टलमा जुलाई ३०, २०१९ मा प्रकाशित एक समाचारमा २०१९ को पहिलो ६ महिनामा अमेरिकी बम हमलाका कारण ८९ बालबालिकासहित ३६९ जना निर्दोष सर्वसाधारणको मृत्यु भएको ठोकुवा गरिएको थियो । काबुल विश्वविद्यालयका विद्वान प्राध्यापकहरूले अफगान युद्धको सुरुको दिनदेखि दैनिक २५० जनाको हताहती र ६ करोड डलरको आर्थिक नोक्सानी भएको अध्ययन निष्कर्ष निकालेका छन् ।
संयुक्त राष्ट्र सङ्घले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनअनुसार सन् २०२० मा भएको हिंसात्मक द्वन्द्वमा परी ८ हजार ८२० अफगान नागरिक घाइते भए वा मारिए । २०२१ को पहिलो ६ महिनामा १६ सय ५९ जना मारिए भने ३२ सय ५४ जना घाइते भए । त्यो सङ्ख्या अघिल्लो वर्षको भन्दा सोही अवधिको सङ्ख्याभन्दा ४७ प्रतिशतले बढी हो । त्यतिमात्र होइन, युद्ध अन्त्य भएको त्यस देशमा ३० लाख बालबालिकासहित ६० लाख मानिसलाई बाँच्नका लागि मानवीय सहायता जरुरी रहेको राष्ट्र सङ्घीय निकायहरूले जनाएका छन् ।
इराक युद्ध (२००३–२०११)
इराक युद्धका क्रममा नागरिक घाइते भएका र युद्धले प्रभावित भएका मानिसको वास्तविक तथ्याङ्क पाउन मुश्किल छ तर अमेरिकी हमलामा प्रत्यक्ष मृत्यु हुनेको सङ्ख्या १६ हजार रहेको तर अप्रत्यक्षरूपमा ज्यान गुमाउनेको सङ्ख्या २ लाखदेखि साढे दुई लाख भएको अनुमान छ ।
संयुक्त राष्ट्र सङ्घको अनुमानअनुसार इराकमा अहिले पनि २ करोड ५० लाख माइन्स लगायत विष्फोटकहरू निकाल्न बाँकी छन् र तिनका कारण दैनिक सयौँको ज्यान गइरहेको छ ।

इराकको एक बस्तीमाथि अमेरिकी हवाई हमला


सिरिया युद्ध (२०११– अहिलेसम्म)
अरब स्प्रिङका नाममा सत्ता परिवर्तन गर्ने ध्येयले रङ्गीन क्रान्ति २०११ देखि सुरु गराएको थियो । संरा अमेरिकाले २०१४ देखि प्रत्यक्षरूपमा त्यहाँका विद्रोही समूहहरूलाई आर्थिक र हतियार सहायता गर्न थाल्यो । २०१६ देखि २०१९ सम्ममा युद्धमा परी निधन हुने नागरिकहरूको सङ्ख्या ३३ हजार ५८४ पुगेको थियो । त्यस्तै प्रत्यक्ष अमेरिकी हवाई हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ३,८३३ पुग्यो त्यसमध्ये आधा त महिला र केटाकेटी थिए । पब्लिक वेबसाइट ब्रोडकास्टिङको वेबसाइटमा नोभेम्बर ९, २०१८ मा प्रकाशित प्रतिवेदनअनुसार संरा अमेरिकाले सिरियाको रक्का क्षेत्रमा तथाकथित ‘इतिहासमै सबैभन्दा सही हवाई हमला’ मा १,६०० सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।
विश्व खाद्य कार्यक्रमले अप्रिल, २०२० मा गराएको अध्ययनअनुसार करिब एकतिहाइ सिरियालीहरूले अहिले खाद्य सङ्कटको सामना गरिररहेका छन् र ८७ प्रतिशत सिरियालीहरूको बैङ्क खातामा निक्षेप (पैसा) जम्मा छैन । विश्वका डाक्टरहरू – एमडीएमको अनुमानअनुसार करिब १५ हजार सिरियाली चिकित्सकहरू (सिरियाका कुल चिकित्सकमध्ये झन्डै आधा) देश छाडेर भागेका छन् । ६५ लाख सिरियालीहरू आफ्नो घरसहर छोडेर भागेका छन् र तीमध्ये ५० लाख सिरियालीहरू घरवारविहीन भएर विश्वका विभिन्न देशको शरणमा छन् ।
आतङ्कवादको मनोवैज्ञानिक छाया बाँकी नै छ
संरा अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्ट (गृह मन्त्रालय) का अनुसार ९÷११ को २० औँ वार्षिकी नजिकिँदा कट्टरपन्थी आतङ्कवादी आक्रमणको आशङ्का बढेको छ । २००१ को आक्रमणको ‘भूत’ले अझै तर्साइरहेको छ । उदाहरणका लागि वासिङ्टनका सडक किनारामा ‘यदि तपाईँले केही देख्नुभयो भने केही भन्नुहोस् ¤’ लेखिएका ९÷११ को आक्रमणपछिका नारा बोर्डहरूमा र सवारीहरूमा अझै देख्नसक्नुहुन्छ । अमेरिकी विमानस्थलहरूमा अत्यन्त कडा सुरक्षा जाँचले गर्दा संसारको कुनै पनि देशमा भन्दा त्यहाँ यात्रामा कठिनाइ भएको र उनीहरूको गोप्यता हनन भएको अनुभव यात्रुहरूले गर्ने गरेका छन् ।
करिब दुईतिहाइ अमेरिकी नागरिकले संरा अमेरिकाबाहिरका अतिपन्थी समूहहरूको तर्फबाट देशमाथिको धम्कीलाई लिएर आफूमाथि अनावश्यक ‘अति चासो’ राखिएको र महिनौँसम्म केरकार गरिएको बताए । एसोसियटेड प्रेस र सार्वजनिक मामिला अनुसन्धानका लागि नोर्क सेन्टरले संयुक्तरूपमा गरेको मतसर्वेक्षणमा अमेरिकीहरूले उक्त गुनासो गर्नुका साथै आफ्नो भविष्यबारे चिन्ता व्यक्त गरेका थिए ।

सिरियाको एक सहरमाथि अमेरिकी हवाई हमलापछि


अमेरिकी जनताको चिन्ता अस्वाभाविक पनि होइन । ९÷११ को आक्रमणपछिको तथाकथित आतङ्कवादीविरुद्धको युद्धपछि आतङ्ककारी आक्रमणमा झन् वृद्धि भएको छ । त्यसपछि जुलाई ७, २००५ को दिन लन्डनमा ५२ जनाको मृत्यु र करिब ७ सयजना घाइते हुनेगरी लन्डन बम हमला भएको थियो । भारतको मुम्बईमा जुलाई ११, २००६ मा भएको आतङ्ककारी हमलामा २०९ जनाको ज्यान जानुको साथै ८ सत्र्न्दा बढी घाइते भएका थिए । त्यस्तै, २०११ को नर्वे आक्रमणमा ७७ जनाको मृत्यु, नोभेम्बर १३, २०१५ मा पेरिसमा भएको आतङ्ककारी आक्रमणमा १३७ जनाको मृत्यु र ३०० जनाभन्दा बढी घाइते र न्यूजील्यान्डको एक मस्जिदमा मार्च १५, २०१९ मा भएको आतङ्ककारी राइफल हमलामा ५१ जनाको मृत्यु र ५० जना घाइते भएका थिए ।
अमेरिकाका मुस्लिमहरूको परिस्थिति झन् खराब
हुन त मुस्लिमहरूप्रतिको अविश्वास ९÷११ को घटनापछि मात्र उत्पन्न भएको होइन । अमेरिका र पश्चिमा समाजमा मुस्लिमहरूप्रतिको घृणा धेरै अघिदेखि नै थियो । तर, ९÷११ को आतङ्ककारी आक्रमणपछि अमेरिकाभित्रै मुस्लिमहरूमाथिको अन्यायपूर्ण घृणामिश्रित हमलामा नाटकीयरूपले वृद्धि भयो । ९÷११ पछि मुस्लिमहरूमाथि अपराधको अभियोग लगाउने र मुस्लिमहरूलाई लक्ष्य बनाएर गरिने अपराधको दरमा पनि निकै तीव्र वृद्धि भएको छ । धेरै अमेरिकी मुस्लिमहरूको नयाँ पुस्ता ९÷११ को छायामा शत्रुता, आशङ्का, आस्थाबारे सोधपुछ, उनीहरू अमेरिकी भएकोमै द्विविधा आदिको सामना गर्नुपर्ने गरी हुर्किरहेका छन् ।
“मुस्लिम हुनु भनेको इस्लाम धर्मप्रति तपार्इँको सामान्य आस्थाको सम्बन्ध मात्र हो भन्ने कुरालाई अनदेखा गर्दै, अर्को कुनै पनि परिचय र ख्यातीलाई बेवास्ता गरी मुस्लिम हुनु भनेको एउटा छुट्टै परिचयजस्तो मानेर व्यवहार गर्ने गरिएको छ ?”, शिकागो विश्वविद्यालयका समाजशास्त्री इमान अबदेल्हाहीले भने । प्यु रिसर्च सेन्टरले मार्च २०२१ मा गरेको एक अध्ययनमा अधिकांश जवाफदाताहरूले अमेरिकामा अरू धर्मकाहरूले भन्दा मुस्लिम अमेरिकीहरूले अति धेरै ‘निगरानी’ व्यहोरिरहेको बताएका थिए । सन् २०१७ मा आधा अमेरिकी मुस्लिम वयस्कहरूले आफ्नो धर्मकै कारण व्यक्तिगतरूपमा पहिलेका वर्षहरूमा भन्दा बढी विभेदको सामना गर्नुपरेको बताएका थिए ।
-9/11 20 years on : What US ‘anti-terrorism’ wars left behind_
–Chinadaily.com.cn
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *