भर्खरै :

पदक सम्मान होस्, बक्सिस होइन

संविधान दिवसको अवसर पारेर सरकारले घोषणा गरेको पदक तथा विभूषण लिनेभन्दा नलिनेका कुराले बढी चर्चा पायो । आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित पदक र विभूषण पाउनेको नामावलीमा आफ्नो पनि नाम देखेपछि मात्र सरकारबाट आफू ‘सम्मानित’ भएको थाहा पाउने केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत पदक नलिने घोषणा गरे । यसरी पदक नलिनेमध्ये केहीले पदक वितरणको प्रक्रियाप्रति विमति राखे त कतिले आफ्नो निष्ठाको कारण पदक नलिने घोषणा गरेका छन् । हचुवामा, बिनामापदण्ड, सरकारमा सामेल दलसँग निकटताको आधारमा, बिना पूर्वजानकारी पदक दिइएको प्रति विमति राख्नेहरूले पदक वितरणको प्रक्रियाप्रति विमति जनाएका छन् । पदक पाउनेले संविधान दिवसको दिन सरकारी स्वामित्वमा रहेको गोरखापत्र दैनिकमा प्रकाशित भएपछि मात्र आफू सम्मानित भएको थाहा पाउने अवस्था पदक पाउनेको लागि सम्मान हो वा अपमान ? के कस्ता आधारमा कसलाई किन पदक वा विभूषण दिइयो भन्ने कुराको कुनै टुङ्गो नै नभएको पदक लिनु सम्मान ग्रहण हो वा आफैमा सरकारको ताबेदारी ¤
दोस्रो थरीका व्यक्तित्वहरूले आफ्नो निष्ठा र सरकारको कार्यशैलीप्रति विमति जनाउँदै पदक अस्वीकार गरेका छन् । सरकारले दिएको पदक ग्रहण गर्नुको अर्थ सरकारलाई आलोचना गर्ने अधिकारप्रति नैतिक निषेध पनि हुनसक्ने निष्ठा र नैतिकतालाई विचार गरेर पदक र विभूषण नलिने व्यक्तिहरू पनि छन् । सरकारले गरेका गतिविधिप्रति असन्तुष्टि वा विमतिको कारण विरोधस्वरूप पनि साङ्केतिक हिसाबमा पदक बहिष्कार गर्ने पनि छन् ।
सरकारकै कारण पदक र विभूषणको उचाइ घटेकोमा भने विमति छैन । पदक पाउने कुनै आधार नभएका तर सरकारमा सामेल व्यक्तिहरूसँगको निकटता र सिफारिसकै आधारमा पदक वितरण गर्ने परिपाटीको कारण पनि संविधान दिवसको दिन गरिने सम्मानको गरिमा होचो बनेको छ । सम्मानित हुने व्यक्तिले पदक पाएर जति गौरव गर्नुपर्ने हो, त्योभन्दा बढी खिसिट्युरी र व्यङ्ग्यको पात्र बन्ने अवस्थामा निष्ठापूर्ण जीवन बाँच्नेले पदक त्याग्नु अनौठो कुरा भएन ।
सरकारले दिने पदक र विभूषण पाएर गौरवानुभूति गर्ने अवस्था बने र ती व्यक्तित्वप्रति सिङ्गो देशले सम्मान गर्ने अवस्था बनेमात्र त्यस्तो सम्मानको मूल्य उँचो हुन्छ । सिङ्गो देश र जनताको निम्ति अतुलनीय योगदान गर्ने व्यक्तित्वहरूले पदक पाउने अवस्थामा मात्र त्यो उच्च सम्मान हुनसक्छ । तर, नेपालमा राजतन्त्र छँदा राजा र राजपरिवारलाई खुसी बनाउने आफ्ना भाइभारदार, आसेपासे, ढोके–हुक्के, भान्छे, चाकडीबाजलाई बक्सिस दिएकै शैलीमा अहिले पनि पदक र सम्मान गर्नुले शासकका अनुहार बदलिए पनि सोच परिवर्तन नभएको देखिएको छ । आजका शासकहरू पनि हिजोका राजाहरूजस्तै आफू निकटका आफ्नो सेवा गर्ने मान्छेलाई खुसी बनाउन वा सेवाबापतको पुरस्कार दिन पदक र विभूषणको दुरूपयोग गरिरहेको देखिन्छ । फलतः पदक र विभूषण सम्मान कम, बक्सिस बढी भएको देखिन्छ ।
निःसन्देह कुनै पनि राज्यले दिने पदक र विभूषण देश र जनताको सेवा गरेबापतकै सम्मान हो । त्यसमा राजनीतिक सङ्कीर्णता, सामन्तवादको कुइगन्ध, नातावादको रोग लाग्नु हुन्न । त्यसमा पक्षपात सङ्क्रमण हुनुहुन्न । सम्मानित व्यक्तित्व त्यस्ता हुन् जसप्रति सरकारमात्र होइन, सिङ्गो देश र जनताको शिर सम्मानले निहुरियोस् । त्यस्तो व्यक्तित्वप्रति कसैले कुनै कालो दाग लगाउने मौका नै नपाओस् । सम्मानित व्यक्तित्वले आफू वास्तवमै सम्मान भएको अनुभव गरोस् । राम्रो मान्छेलाई होइन, हाम्रो मान्छेलाई पदक दिने सङ्कीर्ण परिपाटीको अन्त्य हुनुपर्छ । संविधान दिवसको दिन पाएको पदकलाई सम्मान पाउनेले जीवनको ठूलो उपलब्धि र योगदानको कदर मानोस्, सरकारको चाकडी गर्दाको बक्सिस नठानोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *