भर्खरै :

संयुक्त राष्ट्र सङ्घको महासभामा नेपाल

यो साता संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभा हुँदै छ । मङ्गलबार त्यसको शुभारम्भ भयो । महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्दै छन् । कोभिड महामारीको परिस्थितिलाई ध्यानमा राखी सभा अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट हुने बताइएको छ । सभास्थलमा सीमित सङ्ख्यामा प्रतिनिधिको सहभागिता भए पनि भर्चुअल माध्यमबाट संसारका प्रमुख नेताहरूले महासभामा बोल्ने कार्यक्रम छ ।
राष्ट्र सङ्घको महासभा हरेक वर्षको तत्कालीन विश्व परिस्थितिको चर्चा र समीक्षामा केन्द्रित हुने गरेको छ । एवम्रीतले यो वर्षको महासभामा पनि आजको विश्वको चर्चा हुनेछ । सन् २०१९ बाट सुरु भएको कोभिड महामारीबाट संसार अझै पनि मुक्त भइसकेको छैन । खोपले महामारीको कहर केही सहज भए पनि त्यसबाट पूर्ण मुक्ति अझै टाढा देखिन्छ । महामारीबाट त्राण पाउन अहिलेको संसारको निम्ति सबभन्दा ठुलो चुनौती भनेको खोपमा असमानता हो । एकातिर धनी देशले आफूलाई आवश्यक खोपभन्दा बढी खोपको सञ्चय गरिरहेको छ । धनी देशमा खोप लगाउनेको दर निकै उँचो छ । तर, गरिब देशमा भने अझै पनि खोपको अभावका कारण बहुमत जनताले खोप लगाउन पाएका छैनन् । खोप असमानता रहेसम्म महामारीको पूर्ण समाधान हुन सम्भव छैन । त्यसकारण, महासभामा नेपालले विकासशील देश हुनुको नाताले खोप असमानताको विरोधमा आवाज उठाउन जरुरी छ । धनी देशका नागरिकले मात्र खोप लगाइसक्दैमा संसार महामारीबाट मुक्त हुनसक्दैन । त्यसकारण, गरिब र विकासशील देशलाई पनि खोपमा सहज र पुग्दो पहुँचको विकास गर्न नेपालले बोल्नुपर्छ ।
संरा अमेरिका उत्तरदायित्वविहीनरूपमा अफगानिस्तानबाट ‘भागेपछि’ त्यहाँको अवस्था भयावह बनेको छ । अफगानी जनताको जीवनप्रति राष्ट्र सङ्घले समेत चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा तत्कालै मानव सहायता दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । अफगानिस्तान नेपाल अध्यक्ष रहेको सार्कको सदस्य देश हो । त्यसकारण, अफगानिस्तानको अवस्था सुधार गर्न नेपालले पनि उत्तरदायित्व बहन गर्नुपर्छ । राष्ट्र सङ्घको महासभामा नेपाली प्रधानमन्त्रीले अफगानिस्तानको अवस्थाबारे आवाज उठाउन जरुरी छ ।
जलवायु परिवर्तन आज संसारको साझा चासो र चिन्ताको विषय बनेको छ । कुनै बेला जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषयमा सीमित थियो भने अहिले संसार त्यसको प्रत्यक्ष कोपभाजनमा परेको छ । संसारभर जलवायु परिवर्तन प्रभावका कारण करोडौँ जनता प्रभावित बनेका छन् । नेपाल पनि त्यसबाट प्रभावित बनेको छ । संसारका धनी देशहरूले जिम्मेवारी बहन नगर्दा जलवायु परिवर्तनको सघनता अझ भयावह बन्दै छ । तसर्थ, महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दालाई अझ जोडका साथ उठाउन जरुरी छ ।
एकधु्रवीय विश्व संसारको लागि घातक छ । एउटै देशको प्रभुत्वले मात्र संसार अघि बढ्न सक्दैन । विगतमा त्यस्तो प्रयासले संसारका जनताले दुःख पाए । त्यसकारण बहुपक्षीय सहकार्य नै संसारको आजको मार्ग हुनसक्छ । संयुक्त राष्ट्र सङ्घ आफै त्यसको प्रभावकारी दबु हो । बहुपक्षीय सङ्गठन सबल बन्दामात्र संसार सही दिशामा अघि बढ्न सक्छ । द्वन्द्व र हिंसाको सम्भावना न्यून हुन्छ । महासभामा नेपालले बहुपक्षीय सहकार्यको पक्षमा प्रभुत्ववादी चिन्तनको विरोध गर्नुपर्छ । राष्ट्र सङ्घलाई न्यूनाङ्कन गर्दै आफ्नो भूरणनीतिक स्वार्थ पूरा गर्ने खेलमा लाग्ने देशहरूलाई सचेत बनाउन नेपालले महासभाको दबु प्रयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *